+
+
Shares

कांग्रेसका नेताले एक महिना छलफल गरे, अन्तिममा देउवाकै मुख ताके

विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा

केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका थिए । संस्थापन पक्षका शीर्ष तहका नेताहरू चुनावअघि महाधिवेशनका लागि तयार नहुँदा सहमति जुट्न सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते २२:१९

३० कात्तिक, काठमाडौं । जेनजी आन्दोनलमा भौतिक आक्रमणमा परेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी काममा निष्क्रिय रहने गरी पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । पार्टीभित्र नेतृत्व परिवर्तनको माग समेत चर्किएकाले देउवा जिम्मेवारी हस्तान्तरण गरेर सिंगापुरतर्फ लागे ।

यता असोज २८ बाट सुरु भएको पार्टीको बैठक नियमित कि विशेष महाधिवेशन, अनि चुनाव अघि कि पछि भन्ने गलफत्तीमा एक महिनासम्म अल्झियो । बैठक नसकिँदै गत शुक्रबार देउवा सिंगापुरबाट फर्किइसकेका छन् । निष्क्रिय रहने भन्दै हिँडेका देउवा फर्केपछि फेरि कांग्रेसको अनिर्णित अवस्थालाई टुंगोमा पुर्‍याउन नेताहरूले उनको मुख ताक्न थालेका छन् ।

कार्यवाहक सभापति खड्काले महाधिवेशनको सम्बन्धमा पार्टीभित्र उठेका विषयलाई टुंगोमा पुर्‍याउन सकेनन् । बरु देउवा फर्केपछि संस्थापन पक्षका नेताहरू उनीसँग छलफल गर्न थालेका छन् ।

देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरे । देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् ।

शनिबार साँझ भएको छलफलमा प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवादबारे छलफल गरेका हुन् ।

भेटमा सहभागी महतले अनलाइनखबरसँग भने, ‘चुनावको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको विवाद तपाईंहरू मिलाउनुस् भन्ने आशय थियो । उहाँको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो ।’

कांग्रेसमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने दुई प्रकारका धारणाहरू आएका छन् । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडान राखिरहेका छन् ।

संस्थापनइतरका नेता डा.शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन् ।चुनाव अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अघि महाधिवेशन गर्नुपर्ने बैठकबाट निर्णय गरेका छन् । चुनाव अघि महाधिवेशन गर्नुपर्ने माग सहित २४ नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।

शनिबार साँझ दुई घण्टा बढी कुराकानी गरेका चार नेतासँग सभापति देउवाले पार्टी विवादका बारेमा जानकारी लिएका थिए । सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेट्ने भएका छन् ।

आइतबार चाहीँ महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर विधानसम्मत माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्न नमिल्ने चेतावनी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक।

महाधिवेशन प्रतिनिधिले विधानको आधारमा हस्ताक्षर संकलन गरेर लिखित माग गरेको विषय विपरीत हुने गरी पार्टीले निर्णय गरे महामन्त्री पदबाट राजीनामा गर्ने समेत महामन्त्री शर्माले सभापति देउवालाई बताएका छन् ।

शुक्रबार सिंगापुरबाट फर्केका सभापति देउवालाई भेट्न महामन्त्री शर्मा आइतबार मध्यान्ह पुगेका थिए । सभापति देउवासँग झण्डै डेढ घण्टा कुराकानी गरेका शर्माले विधानसम्मत मागलाई वेवास्ता गर्न नहुने विचार सभापति देउवासँग राखेका थिए । देउवालाई भेटेर फर्केलगत्तै महामन्त्री शर्माले पार्टीका सीमित नेतालाई आफूले सभापतिसँग राखेका धारणा सुनाएका थिए ।

हात्तिसारस्थित एक रेष्टुरेन्टमा पार्टी नेताहरूसँग कुरा गर्ने क्रममा महामन्त्री शर्माले सभापतिलाई आफूले राखेको विचार सुनाएका हुन् । विशेष महाधिवेशन विधानले गरेको व्यवस्था भएको हुँदा बाध्यकारी भएको शर्माले देउवालाई बताएका थिए ।

‘संसद् विघटन संविधान भन्दा बाहिरबाट गरिएको भनेर संविधानसम्मत नभएको कांग्रेसले भनेको छ । विशेष महाधिवेशन पार्टीको विधानसम्मत् माग हो । त्यसलाई सम्बोधन गरिएन भने हामी विधानसम्मत चलेको हुँदैन,’ देउवालाई राखेका धारणा महामन्त्री शर्माले पार्टी नेतालाई सुनाएका थिए ।

महामन्त्री शर्माले विशेष महाधिवशेनको सम्बोधन नगरी पार्टीले अन्य निर्णय गरेमा पदबाट राजीनामा दिने समेत बताएका थिए ।

‘कांग्रेस विधान सम्मत नचल्नेगरी फरक तरिकाले चल्ने निर्णय गर्‍यो भने त्यो निर्णय गरेकै मितिबाट लागू हुने गरी महामन्त्री छोड्छु,’ शर्माले देउवालाई भनेका थिए ।

कांग्रेस नेताहरूका अनुसार महामन्त्री शर्माले देउवालाई आज राखेका धारणा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेका छन् ।

कांग्रेस विधानको धारा १७ (२) मा विशेष महाधिवेशनको व्यवस्था छ । केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यकता देखेर निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

विधानको यही धारा अन्तर्गत रहेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक।

विशेष महाधिवेशनका लागि लिखित माग गरेको ३ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । असोज २९ गते विशेष महाधिवेशनका लागि लिखित माग पेश गरिएको हुँदा तीन महिने अवधि पुस २८ मा सकिने छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन पुस १६ देखि १९ सम्म हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव समेत गरेका थिए ।

संस्थापन पक्षका शीर्ष तहका नेताहरू चुनावअघि महाधिवेशनका लागि तयार नहुँदा सहमति जुट्न सकेको छैन । २८ असोजदेखि जारी केन्द्रीय समितिको बैठकमा चुनावपछि महाधिवेशन हुनुपर्ने संस्थापन पक्षका शीर्ष नेताहरूले जोड दिइरहेका छन् । दुई महामन्त्री थापा र शर्मा नियमित गर्न नसक्ने भए विशेषमा जानै पर्ने विचार राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?