+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

एक-अर्कामै शंका, लम्बिइरहेको छ कांग्रेस संकट

छलफलले आकार लिन नसक्दा कतै पार्टी विभाजित त हुने होइन ? यतिबेला कांग्रेसवृत्तमा सबैभन्दा बढी चासोको विषय नै यही बनेको छ । के कांग्रेस विभाजित हुने अवस्थामा पुग्न सक्छ ?

केशव सावद केशव सावद
२०८२ मंसिर १२ गते १९:३३

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले बिहीबार राती सवा नौ बजेपछि सूचना जारी गरेर शुक्रबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्‍यो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा अर्को बैठक आइतबार दिउँसो २ बजेका तोकिएको उल्लेख थियो ।

यसअघि पनि २८ असोजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित भएको थियो । तर, बिहीबार राती बैठक स्थगित गरेलगत्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक्स ह्यान्डलमार्फत् बैठक सारिएकोप्रति सार्वजनिक रूपमै माफी मागे ।

‘माफ पाऊँ सबैसँग, बैठक सारेकोमा । गाली सबैले मलाई गर्नुस् । जसले गाली गर्न डिजर्भ गर्नुहुन्छ’ उनले लेखे, ‘जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारी रहन्छु म कार्यवाहक रहेसम्म ।’

कार्यवाहक सभापति खड्काले एक्समार्फत् घुमाउरो ढंगले महाधिवेशनको विषयमा विवाद गरी रहेकाहरूलाई सहमति जुटाएर आउन सन्देश प्रवाह गर्न खोजेको कतिपय नेता–कार्यकर्ताहरूको बुझाइ छ ।

कांग्रेस विगत डेढ महिनाभन्दा बढी समयदेखि महाधिवेशनसम्बन्धी विवादको भुमरीमा रूमल्लिएको छ । ३० असोजदेखि एजेन्डामाथि छलफल गरे पनि केन्द्रीय कार्यसमिति बैठक ६ कात्तिकमा महाधिवेनबारे कुनै निर्णयबिनै सम्पन्न भएको थियो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी केही दिनभित्र थप छलफल गरेर महाधिवेशनको विषय टुंगो लगाइने जानकारी दिएका थिए । समझदारीमा महाधिवेशनको विषय टुंगो लगाउन नसकिए विधिबाट भए पनि टुंग्याउनुपर्ने उनको भनाइ थियो ।

‘थप केही दिनभित्र छलफल गरेर समझदारीबाट, नभए कुनै विधिबाट हाम्रो बीचमा बाँकी रहेका विषय टुंग्याउनैपर्छ,’ महामन्त्री थापाको भनाइ थियो, ‘अर्को बैठकमा अरू बाँकी रहेका विषय टुंग्याउनेगरी पार्टीका कार्यक्रमहरू र अरू थुप्रै विषयहरू त्यही दिन हामी प्रस्तुत गर्छौं ।’

खड्काले ६ कात्तिकको बैठकमा महाधिवेशनबारे विभिन्न तहमा गरिएको अनौपचारिक छलफलले सहमति नजिक पुर्‍याएको बताएका थिए ।

‘हामीले विभिन्न तहमा अनौपचारिक छलफल गर्‍यौं । अहिलेसम्म यो तरिकाको छलफलले हामीलाई धेरै नजिक पुर्‍याएको छ,’ उनले बैठकमा भनेका थिए, ‘हामी सर्वसम्मत तरिकामा निर्णय गर्ने अवस्थाको नजिक–नजिक पुगेका छौं ।’

महाधिवेशनबारे पार्टीमा देखिएको तीनथरी विवादलाई समझदारीमा टुंग्याउनुपर्ने सोचका साथ आफूले काम गरिरहेको कार्यवाहक सभापति खड्काको भनाइ थियो । ‘हामीले लामो समय छलफल गर्‍यौं । छलफलकै क्रममा र छलफल सकिसके पछाडि पनि एउटा समझदारीका साथ निर्णयमा केन्द्रीय समिति पुग्नुपर्छ भन्ने सोचले हामीले काम गर्‍यौं,’ उनको भनाइ थियो, ‘अहिले पनि गरी नै रहेका छौं ।’

खड्काले केन्द्रीय कार्यसमिति बैठकमा भने झैं महाधिवेशनबारे चुलिएको विवाद समाधानका लागि कांग्रेस नेताहरू प्राय: दिनदिनै सामूहिक र छुट्टाछुट्टै छलफलमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग शुक्रबार पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छलफल गर्दैछन् ।

देउवासँग बिहीबार साँझ पनि खड्कासँगै महामन्त्रीद्वय थापा र शर्माले छलफल गरेका थिए । छलफल बिना निष्कर्ष टुंगिएको थियो । देउवाले बिहीबार नै संस्थापन पक्षीय शीर्ष नेताहरूसँग पनि पार्टीमा देखिएको विवादबारे छलफल गरेका थिए ।

कांग्रेसमा आगामी प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवेशन गर्ने कि निर्वाचन सम्पन्न भएपछि मात्रै गर्ने भन्नेमा विवाद छ । त्यसैगरी १४ औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टीसमक्ष हस्ताक्षर बुझाएका छन् ।

महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगावै कि पछाडि भन्ने र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूबीच समझदारी जुट्न नसक्दा कांग्रेस अनिर्णयको बन्दी बनेको छ ।

पटक–पटक बैठक स्थगित गरेर शीर्ष तहमा सहमतिका लागि भएका प्रयासका क्रममा संस्थापन पक्ष शर्तसहित १५ औं महाधिवेशनको कार्यतालिका ल्याउन तयार देखिएको थियो । कार्यतालिकाका लागि विशेष महाधिवेशनको माग गर्दै पार्टीमा दर्ता भएको हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त संस्थापन पक्षको थियो ।

तर, विशेष महाधिवेशन पक्षधर संस्थापन पक्षको शर्त स्वीकार्न तयार देखिएको छैन । नियमित महाधिवेशन पुसभित्रै भए विशेष महाधिवेशनको माग स्वत: निष्क्रिय हुने उनीहरूको तर्क छ ।

कांग्रेसको १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए ।

विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

महामन्त्रीहरू थापा र शर्मा आगामी पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला आगामी पुस मसान्तसम्म नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । उनी हस्ताक्षरमार्फत् नभएर केन्द्रीय कार्यसमितिले विशेषको निर्णय गर्नुपर्ने पक्षमा उभिएका छन् ।

अब के हुन्छ ?

कार्यवाहक सभापति खड्का निर्वाचन अगावै महाधिवशेन हुनुपर्ने, निर्वाचन पछाडि हुनुपर्ने र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूबीच समझदारी गराउने प्रयासमा बैठक स्थगित गरेर घनिभूत छलफलमा छन् ।

छलफलले आकार लिन नसक्दा कतै पार्टी विभाजित त हुने होइन ? यतिबेला कांग्रेसवृत्तमा सबैभन्दा बढी चासोको विषय नै यही बनेको छ । के कांग्रेस विभाजित हुने अवस्थामा पुग्न सक्छ ?

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने मध्येका एक गुरूराज घिमिरे भन्छन्, ‘अहिलेसम्म त्यो बाटोमा हिँड्ने कुनै पनि परिकल्पना नभए पनि, भोलि विशेषको मागलाई सामान्यीकरण गर्ने, केही पनि भएको छैनजस्तो गरेर नजरअन्दाज गर्ने रवैया निरन्तर जारी राख्नुभयो भने परिस्थितिले कुन मोड लिन्छ त्यो हामीले भन्न सक्दैनौं । र, यसको सम्पूर्ण जिम्मेवार उहाँहरू (संस्थापन पक्ष) नै ठहरिनु हुन्छ, हामी ठहरिदैनौं ।’

महाधिवेशनबारे चर्किएको विवाद समाधानका लागि कार्यवाहक सभापति खड्कासँगै नेताहरूसँगको छलफलमा सक्रिय नेता रमेश लेखक सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहे पनि निष्कर्षमा पुगि नसकेको बताउँछन् ।

उनले छलफलमा रहेका विकल्पहरूका बारेमा भने केही खुलाएनन् । नेता लेखकले अनलाइनखबरसँग भने, ‘सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ । अहिलेसम्म सहमति जुट्न सकिरहेको छैन ।’

स्रोतका अनुसार कांग्रेसमा अहिले सहमतिका लागि छलफलमा रहेका विकल्प दुईवटा छन् । पहिलो– आगामी पुसभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने ।

दोस्रो– आगामी वैशाखमा महाधिवेशनको कार्यतालिका ल्याउने र विशेष महाधिवेशनका लागि प्रक्रिया अघि बढाउने ।

‘आगामी पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका सर्वसम्मत ल्याउने प्रयास पहिलो प्राथमिकता हो,’ सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग छलफलमा रहेका संस्थापन पक्षीय एक नेताले भने, ‘अर्को विकल्प भनेको वैशाखको कार्यतालिका ल्याउने र सँगसँगै विशेषको प्रक्रिया पनि अघि बढाउने ।’

निर्वाचन अगाडि नियमित महाधिवेशन सम्भव नभएको बताउँदै आएका एक नेताले आफूहरूको पुरानो अडान यथावत रहेको प्रतिक्रिया दिए ।

‘हाम्रो पुरानै कुरा हो । नियमित महाधिवेशन हुनुपर्छ । चुनाव अगाडि अधिवेशन सम्भव छैन । आजको निष्कर्ष पनि त्यही हो,’ शुक्रबार नयाँ बानेश्वरमा सम्पन्न संस्थापन पक्षीय भेलाको निष्कर्ष सुनाउँदै ती नेताले भने, ‘चुनाव अघि महाधिवेशन हुनुपर्छ भन्ने पक्षले मानेनन् भने केन्द्रीय कार्यसमिति बैठकमा भेटिङ गर्नुपर्ने पक्षमा छौं । विशेष गर्ने भए पछि सनाखत गरिनुपर्ने पक्षमा हामी छौं ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?