News Summary
Generated by OK AI. Editorially reviewed.- आन्द्रा मानव शरीरको पाचन प्रणालीको हिस्सा हो र खाना पचाउने, पोषक तत्व शोषण गर्ने तथा रोग प्रतिरोध क्षमता बढाउने काम गर्छ।
- सानो आन्द्रा लगभग ६-७ मिटर लामो हुन्छ र डुओडेनम, जेजुनम र इल्युम भागमा विभाजित छ जसले पोषक तत्व शोषण गर्छ।
- ठूलो आन्द्रा लगभग १.५ मिटर लामो हुन्छ र पानी, इलेक्ट्रोलाइट्स शोषण गरी फोहोर पदार्थ शरीरबाट बाहिर निकाल्छ।
आन्द्रा मानव शरीरको स्वास्थ्यका हिसाबले धेरै महत्वपूर्ण अंग हो। यो शरीरको पाचन प्रणालीको हिस्सा हो । यसले खाना पचाउने, पोषक तत्व शोषण गर्ने, र शरीरको रोग प्रतिरोध क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्दछ । आन्द्रा दुई भागमा बाँडिएको हुन्छ- सानो आन्द्रा र ठूलो आन्द्रा ।
सानो आन्द्राले मुख्य रूपमा खाना पचाउने र पोषक तत्व शोषण गर्ने काम गर्छ भने ठूलो आन्द्राले पानी र मिनरल्स शोषण गरी फोहोर पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ।
सानो आन्द्रा र यसको कार्य
सानो आन्द्रा लगभग ६-७ मिटर लामो हुन्छ र यसमा तीन भाग हुन्छन्- डुओडेनम, जेजुनम र इल्युम। डुओडेनमले पेटबाट आएको अन्न र पाचक रसलाई मिश्रण गरेर पचाउन मद्दत गर्छ । यसले पाचक इन्जाइमको सहयोगले कार्बोहाइड्रेट, प्रोटिन र फ्याटलाई टुक्रा गर्छ । जेजुनम र इल्युमले पचेका खानाबाट पोषण तत्व शोषण गर्छ । यहाँबाट शरीरलाई आवश्यक पोषक तत्व, जस्तै भिटामिन, मिनरल्स, अमीनो एसिड र फ्याट्स, रक्तमा प्रवेश गर्छन्।
ठूलो आन्द्रा र यसको कार्य
ठूलो आन्द्रा लगभग १.५ मिटर लामो हुन्छ । यसले मुख्य रूपमा पानी, इलेक्ट्रोलाइट्स र मिनरल्स शोषण गर्छ । यहाँ फोहोर पदार्थ (फेस) जम्मा हुन्छ र शरीरबाट बाहिर पठाइन्छ । ठूलो आन्द्रामा रहेका बैक्टेरिया पनि स्वास्थ्यका लागि महत्वपूर्ण छन्। यी ‘गुड ब्याक्टेरिया’ले हानिकारक ब्याक्टेरियालाई नियन्त्रण गर्छन्, पाचन प्रणालीलाई सन्तुलित राख्छन् र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछन्।
आन्द्राको महत्त्व
स्वस्थ आन्द्रा केवल खाना पचाउने मात्रै होइन, मानसिक स्वास्थ्य र रोग प्रतिरोध क्षमतासँग पनि जोडिएको हुन्छ । आन्द्रामा रहेका ब्याक्टेरियाले हाम्रो मस्तिष्कसँग ‘गट–ब्रेन एक्सिस’ मार्फत संवाद गर्छन् भन्ने कुरा वैज्ञानिक अनुसन्धानले पनि देखाएका छन्। यसैले आन्द्रा अस्वस्थ हुँदा तनाव, चिन्ता र अन्य मानसिक समस्याहरू देखा पर्न सक्छन् ।
आन्द्रा स्वस्थ छ भन्ने संकेत
-पाचन प्रक्रिया राम्र हुनु, पेटमा अपच, डकार वा ग्यासको समस्या न्यून हुनु
-रोग प्रतिरोध क्षमता राम्रो हुनु
-शरीरको ऊर्जाको स्तर स्थिर हुनु
आन्द्रा सफा र बलियो बनाउने उपाय
१.सन्तुलित आहार सेवन गर्ने
फलफूल, तरकारी, दाल, ताजा अन्न, नट्स रफाइबरयुक्त खानेकुराले आन्द्रा बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । फाइबरले खाना सही तरिकाले पचाउन मद्दत गर्छ र आन्द्रामा जमेका फोहोर पदार्थलाई बाहिर निकाल्छ।
२.पर्याप्त पानी पिउने
पानी शरीरको सबै क्रियाकलापका लागि आवश्यक छ । आन्द्रा सफा राख्न पर्याप्त पानी पिउनु आवश्यक छ।
३.प्रोबायोटिक्स र फर्मेन्टेड खानेकुरा खाने
फर्मेन्टेड खाना जस्तै दही, अचार, सोया उत्पादनहरूले गुड ब्याक्टेरियालाई बढाउँछन्।
४.नियमित व्यायाम गर्ने
नियमित हिँडाइ, योग वा हल्का व्यायामले पाचन प्रक्रिया सहज बनाउँछ र आन्द्रालाई सक्रिय राख्छ।
५.तनाव कम गर्ने
मानसिक तनावले पाचन प्रक्रियामा असर पुर्याउँछ। ध्यान, प्राणायाम र गहिरो सास लिनु तनाव घटाउन सहयोगी हुन्छ।
६.अत्यधिक चिनी र प्रशोधित खाना कम खाने
बढी चिनी र प्रशोधित खानेकुराले हानिकारक ब्याक्टेरियालाई बढाउँछ र आन्द्रा अस्वस्थ बनाउन सक्छ।
७.धूम्रपान र मदिरा नगर्ने
धूम्रपान र मदिराले आन्द्राको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।
८.सही समयमा खाना खानु
अत्यधिक राति ढिलो खाना खानु वा अनियमित खाने बानीले पाचन प्रणालीलाई प्रभावित गर्छ।
प्रतिक्रिया 4