News Summary
Generated by OK AI. Editorially reviewed.- ठाकुर बेलवासेले प्रेम विषयमा ३८ कविताको संग्रह \'चोटहरूको उत्सव\' लिएर आएका छन् जसले प्रेमका विभिन्न आयामहरू समेट्छ।
- उनका कविताहरूमा प्रेम र विछोडको अन्तरसम्बन्ध भावुक तर सरल भाषामा प्रस्तुत गरिएको छ र पाठकलाई गहिरो अनुभूति गराउँछन्।
प्रेम जीवनमा ऊर्जा भर्ने ओखती हो । प्रेमको परिधि अनन्त छ । पक्ष विराट छ । जहाँ प्रेम छ, त्यहाँ उज्यालो छ, सुख छ, शान्ति छ र अमनचयन छ । प्रेम मात्र प्राप्ति होइन, उत्सर्ग हो । जब प्रेमले मन-मस्तिष्क संगीतमय हुन्छ, त्यतिबेला मान्छेले दुनियाँ बिर्सन्छ । दुनियाँमा प्रेमका अनेकानेक मानक छन् । प्रेम सम्बन्धको उत्कर्षमा पुगेका अनेक मिथक र उदाहरण सुनिएको छ, पढिएको छ ।
लैला-मजनु, सोनी-महिवाल, हिर-राँझा, रोमियो-जुलियट, सिरिन-फरहाद, मुना-मदनका सैयौं उदाहरण छन् । प्रेमलाई विषय बनाएर कैयन कृति जन्मेका छन् । कैयन चलचित्र बनेका छन् । प्रेमलाई लिएर विश्वमा थुप्रै युद्धसमेत भएका छन् ।
प्रेमकै विषयमा ३८ थान कविताको सङ्ग्रह लिएर कविताको क्षितिजमा पुनः उदाएका छन् ठाकुर बेलवासे । यसअघि ‘सागरको वरिपरि मनहरूको समारोह’, ‘त्रासमा ईश्वर’, ‘अचानक यो साँझ’ प्रकाशित गरिसकेका बेलवासे अहिले ‘चोटहरूको उत्सव’ लिएर पाठकमाझ आएका छन् । झन्डै तीन दशक कविताकर्मको साधनामा लागेका उनी सञ्चारकर्मीसमेत हुन् । वास्तवमै उनको कविताकर्म लोभलाग्दो छ ।
प्रेमिल कविता सिर्जना चुनौतीपूर्ण हुन्छ । जहाँ मन र प्रेमको अन्तरंग सम्बन्ध हुन्छ । मनमा प्रेम पैदा हुन्छ, विस्तारै अङ्कुराउँछ, बढ्छ र कसैमा गएर पस्किन्छ । प्रेमको असली परिभाषा त मलाई थाहा छैन । तर यत्ति थाहा छ- प्रेमले दया, माया र स्नेहको प्रतिनिधित्व गर्छ । यो भावनात्मक कुरा भएकोले मनसँग यसको अन्तरसम्बन्ध हुन्छ । त्यसैले प्रेमलाई शब्दमा परिभाषा गर्न गाह्रो छ । प्रेम अनुभूत गर्न मात्र सकिन्छ ।
यो कठिन विषय छानेर कविता सिर्जना गरेका बेलवासेका सुन्दर प्रेम कविताहरू पढेपछि केही कोर्न मन लाग्यो । कवि प्रेममा परेका छन् । त्यसैले त आफ्ना मनका उद्वेग र भावनालाई शब्दमार्फत कवितामा अभिव्यक्त गर्न सफल भएका हुन् ।
मनका पल्लवित प्रेमिल फूलहरू गोडमेल गर्दै फुलाउने उनको कवितात्मक प्रयास छ । उनी प्रेम र विछोडको अन्तरसम्बन्धलाई भोगाइले पर्गेलेर लेख्न खप्पिस देखिन्छन् । प्रेमका बहुआयामिक भाव पोख्छन् कवितामा । मनको भावनालाई कवितामा उधिनिए जस्तो लाग्छ । ठाकुरका कविता उनको विगतको भोगाइ पो हो कि भन्ने सोच्न पाठकलाई बाध्य बनाउँछ ।
कवि प्रेममा तरङ्ति भएर मादक कविताको नसामा पाठकलाई लठ्याउँछन् । प्रेमको गहिरो महासागरमा डुबेर लेखिएका कविताहरू उम्दा लाग्छन् । कुनै कविताले असफल भएको प्रेमको स्मरणमा डुबेर लेखिएको भान हुन्छ । वास्तवमा यो विषयमा गम्भीर रूपमा अनुभूत गरेका कविता कोर्ने चुनौतीमा पार पाएका छन् कविले ।
कविको मनमा चलखेल भएका भावनाहरू उन्मुक्त भएर कवितामा अनुदित भई पाठक सामु आएको छ, जहाँ बिम्व र प्रतीकका सुन्दर लेपन लागेका छन् । अलंकारको भरपूर प्रयोग भएका छन् । जटिल विषयमा सरल बनाएर शब्दहरूमा खिप्न सक्नुमा कविको खुवी देखिएको छ ।
वास्तवमै ह्रदयलाई स्पर्श गराउने विषयका कविता पढ्दा पाठकहरू आकर्षित हुन्छन् । सर्सर्ती हेर्दा प्रेमको बारेमा सरल तर मार्मिक कविता पढ्दा लाग्छ, उनले आफ्नो ह्रदयले लेखेका हुन् । प्रेमको सुकोमल स्पर्शमा परेका कवि प्रेम फुलाउने यत्न पनि गरिरहेछन् । प्रेम हिमालको हिउँ जस्तै पग्लेर सकिए पनि उनको विश्वास जमेको छैन । सम्झनामा उनी आफ्नो प्रेम खोज्छन् । मनमा खोज्छन्, तनमा खोज्छन् ।
आँट उमालेर कविता कोर्ने कविले मज्जैले खुलेर बोलेका छन् प्रेमको बारेमा । स्मृतिदंशको गहिराइमा पुगेका छन् कवि । मान्छेले प्रेममा सहनशिलता दर्शाउँछ भन्ने भाव पनि कविताहरूले दिएका छन् । दुखेका मनमा मल्हम पनि बन्न सक्छन् कुनैकुनै कविता ।
प्रेमलाई दर्शनको संज्ञा दिने कविले विक्षिप्त मनस्थितिले प्रेमको छायालाई छोप्दै पनि स्पष्टताका साथ कविता कोरेका छन् । कविताले दिने भाव भनेकै प्रेम हो । कविताको विषयवस्तु नै प्रेम हो । उनका कविता प्रेमकै जगमा बडो मजबुत ढंगले उभिएका छन् । प्रेमलाई कसैले पन्छाउन नसक्ने विषय भएको उनका कविताले बोलेका छन् ।
प्रेममा जहिल्यै मिलन हुँदैन । जीवनमा सुख मात्र आउँदैन । दुःखको आरिघोप्टे पानीले निथ्रुक्क भिजाउन पनि सक्छ । यस्तै पीडालाई कविले सुन्दर तर भावुक ढंगले पोखेका छन् ।
म हाँस्न लाग्दा
तिमीले म मरेको देख्यौ
साँच्चै भन न !
मेरो खुसीमा आँसुको बाढी किन पस्छ ? (आँसुको बाढी)
कविले प्रेमलाई पाठशाला मानेका छन्- प्रेम गर्नेहरूले त्यहाँ सिकुन् । प्रेमको परिभाषा खोजुन् । जीवन र प्रेमको अर्थ बुझुन् । प्रेममा हारजीत हुँदैन भन्ने मर्म बुझुन् । जिन्दगीलाई जिउन सिकाउने प्रेम । विश्वास गर्न लगाउने प्रेम । माया गरेर जीवन सहज बनाउने प्रेम । अनि कुनै पनि परिभाषामा कसरी डोरीले बाँधिन्थ्यो त प्रेम ।
पत्याउनुहुन्छ ?
जिन्दगी बाँच्न
अनुहारको अँध्यारो पखालिने गरी हाँस्न
र मनका सबै रहरहरू डुबाउने गरी रुन
अनि मन सिमलको भुवा जस्तो बनाउन
त्यही मनलाई फलामको झिरजस्तो बनाउन पनि त
प्रेमले नै सिकाएको हो (प्रेम एउटा पाठशाला)
आफूले प्रेम गरेको मान्छेसँग बिछोडिनु पर्दा मन चोइटा जस्तो हुन्छ । यसपछि प्रेमपीडित व्यक्तिको दैनिकी, निर्णय शक्ति, क्षमता र भावनामा पार्ने प्रभाव नकारात्मक मात्र हुँदैन सकारात्मक पनि हुन्छ । उनी कवितामार्फत आशावादी भाव जागृत गराउँछन् ।
प्रेममा विछोड हुनसक्छ । आशा र भरोशामा विश्वासघात हुनसक्छ । र, पनि प्रेमको महात्म्य गाउन छोड्दैनन् कवि । प्रेममा कविको भोगाइ, प्रेमप्रतिको बुझाइ उनका कविताहरूमा प्रष्ट झल्केका छन् । निष्कर्ष छ कविको- प्रेमको आयु हुँदैन । प्रेम कुनै सीमा भित्र कैद हुन सक्दैन । लिनु मात्र प्रेम हैन, दिनु पनि प्रेम हो । पाउनु मात्र हैन, गुमाउनु पनि प्रेम हो । स्वार्थको खास्टो ओढ्नेले प्रेम गर्न सक्दैन । र, प्रेममा सब कुरा जायज हुन्छ ।
कृतिमा समावेश कविताहरूको मर्मलाई शीर्षकले आत्मसात गरेको देखिन्छ । जटिल बिम्वरहित कविताहरूमा शब्दको जटिलताको उस्तै अभाव छ । अनावश्यक शब्द थोपरिएको छैन । विषयगत रूपमा हेर्दा पनि जुन विषयमा कविता कोरिए ती बलशाली छन् । श्रृँगारिक लाग्छन् ।
मिठासपूर्ण भाषाशैली, सलल र बोधगम्य कविताले भरिएको संग्रह ‘चोटहरूको उत्सव’ मा लिपिबद्ध कविता पाठकका रोजाइ बन्न सक्छन् ।
प्रतिक्रिया 4