गएको २३ नोभेम्बर, इथियोपियाको ‘हाइली गुबी’ मा ज्वालामुखी विस्फोटका कारण १५ किमी माथिसम्म उडेको खरानी मिश्रित धुवाँले लालसागर पार गरी मध्यपूर्वी मुलुक हुँदै दक्षिणएशियाको आकाश घेर्दा यी क्षेत्रका धेरै उडान प्रभावित भए र नेपाल पनि अछुतो रहेन । सुषुप्त रहेको यो ज्वालामुखी १२ हजार वर्षपछि विस्फोट भएको भनिएको छ । यो समाचारले दुई वर्षअघि त्यही ठाउँमा रहेको सक्रिय ज्वालामुखी हेर्न पुगेको याद झलझली आँखासामु आयो । धन्न आफू त्यहीं रहेको बेला त्यो फुटेनछ भनी सम्झँदा आङै जिरिङ्ग भयो ।
नेपालबाट झण्डै ४ हजार ४०० किमीको दूरीमा रहेको यो हाइली गुबी ज्वालामुखी त्यस बखत सुषुप्त भएकोले घुम्ने सूचीमा थिएन तर त्यहाँबाट मात्र १३ किमीको दूरीमा रहेको सक्रिय ज्वालामुखी ‘दानाकिल’ भने नजिकैबाट हेरिएको थियो । भौगोलिक विविधताले भरिएको इथियोपिया अफ्रिकी महादेशको ठूलै मुलुकमा गनिन्छ ।
नेपालभन्दा साढे सात गुणा ठूलो यहाँ प्रशस्त घुम्ने ठाउँ भए पनि सशस्त्र आन्तरिक द्वन्द्व र राजनीतिक तनावका कारण आफ्नो दोस्रो दुईवर्षे कार्यकाल सकिनै लाग्दा पनि यो विशेष ठाउँ घुम्ने रहर रहरमै सीमित हुने हो कि भनी खिन्न लागको थियो तर सौभाग्यवश मुलुक छाड्नु एक महिनाअघि २०२३ को डिसेम्बरमा हामी चार जना नेपालीले यो क्षेत्र भ्रमण गर्न सफल भयौं ।
अन्यत्र विरलै पाइने विशेषता भएको संसारकै होचो मध्येको (समुद्र सतह भन्दा पनि), उच्च तापक्रम हुने, वर्षा नभई सुख्खा रहने अनि सक्रिय ज्वालामुखी, नुनिलो पानीका ताल र रंगीन अम्लीय तलाउहरू हेर्न को लालायित नहोला ? एकै भूखण्डको सानो परिधि भित्र यी विविधताको संगमस्थल अफार क्षेत्र हो । पृथ्वीलोककै अद्वितीय भौगोलिक विविधताले भरिएको यो क्षेत्रको भ्रमण गर्न पाउनु पनि आफैंमा एउटा सौभाग्य झैं लाग्छ । हजारौं किमी टाढासम्म प्रभाव पार्न सक्ने ज्वालामुखी विस्फोट भएको त्यो भूक्षेत्र र आसपास आफैंले प्रत्यक्ष साक्षात्कार गरेका पलहरू बेला–बेला स्मृतिमा आइरहन्छन् ।

इथियोपियाको राजधानी आदिस अबाबाबाट झण्डै ५०० किमी पश्चिम–उत्तरमा बाह्र मध्येको एक क्षेत्रीय राज्य ‘अफार’ इरिट्रियासँग सीमा जोडिएर रहेको छ । आधा नेपाल जत्रो अफारको उत्तरमा दबिएर रहेको होचो भूभागलाई ‘डानाकिल डिप्रेसन’ भनी चिनिन्छ । झण्डै दुइतिहाइ क्षेत्रफल नै उजाड, मरुभूमि र बन्जर रहेको अफार क्षेत्रमा जनसाङ्ख्यिक उपस्थिति अत्यन्त पातलो छ भने सबैभन्दा होचो क्षेत्रको क्षेत्रफल लम्बाइमा १५० र चौडाइमा ७५ किमीसम्म रहेको र यसको सतह प्राय: लाभा वा बालुवाले ढाकेको निर्जन रहेछ । त्यसैले त्यहाँ जाँदा रसदपानी आफैंले बोकेर जानुपर्छ ।
स्थानविशेषमा अन्वेषण र पर्यटकीय पहुँचका लागि लाभामाथि वा यसको किनारै किनार सडक निर्माण गरिएका छन् । विमानस्थल रहेको सदरमुकाम सेमेराबाट उत्तर लागेपछि सडक आसपास कतैकतै बहुतै पातलो गाउँहरू देखिन्छन् । यिनै भौगोलिक कमजोरीलाई शक्तिमा बदल्ने उद्देश्यले यो क्षेत्रलाई पर्यटनसँग जोडिएको रहेछ र हामीले पनि यहाँबाट अविस्मरणीय अनुभव सँगाल्न पायौं ।
विना ओतको सुताइ
भ्रमणको पहिलो दिन सबेरै आदिस अबाबाबाट डेढ घण्टाको उडानमा सेमेरा विमानस्थल अवतरण गर्दा टूर एजेन्टले स्वागत गरे र झटपट कलेवा ग्रहण पश्चात् हामी चार जना एउटा र अरू सहयोगीहरू अर्कोमा गरी दुईवटा ल्याण्डकुजरमा उत्तरतिर लागियो । बाटो लगभग पूरै मरुभूमि नै थियो । धेरै जसो बालुवा, कतै कतै स–साना झाडी नत्र लाभाले पुरिएको कालै फाँट । गर्मी पनि यति थियो कि गाडीको एसीले नभ्याउने ।
सवा दुई सय किमीको यात्रापछि दिवा खानाको लागि एफडेरा ताल नजिकैको एउटा लोकल रेस्टुराँमा देशकै राष्ट्रिय खाना इन्जेरा र पास्ताको लन्च गरी बाटो लागियो । दुई दिनपछि फर्किआउँदा भने ठिक्क न्यानो तापक्रम र २६ किमीसम्म लम्बाइ भएको यस नुनिलो तालमा पौडी खेलियो । नुनले गर्दा पौडिन नआउनेलाई पनि डुबाउँदो रहेनछ ।
अर्को सवा सय किमी यात्रा सूर्यास्तसँगै हामेदइला गाउँको पुछारमा टुंगियो । एजेन्टले बस्न–सुत्नको लागि खुला चौरमा हाम्रो तराईमा पाइने जस्तो डोरीवाला खटिया लहरै राखेर फोम बिछ्याइदिए । छेउमै गाउँ रहे पनि त्यहाँका घर–टहराहरू अति साना र पर्यटकका लागि उचित नभएर होला सबै जना त्यसरी नै सुत्नुपर्ने रहेछ ।

जीवनमै पहिलो पटक खुला आकाश मुनि चउरमा कुनै ओत विना सुतियो । मौसम तराईको गर्मी जस्तै थियो । सहयात्रीसँग गफिंदै र जूनतारासँग मुखामुख गर्दै लहरै खटियामा सुतियो । आँखामा पट्टी लगाएर नसुतेको भए त के निदाइन्थ्यो होला र तैपनि दिनभर कच्ची सडकमा गाडी चढेको थकानले होला निन्द्रादेवी पनि छिट्टै आइछन् ।
लघुशंका आदि नित्यकर्म गर्न पनि पूर्णत: प्रकृतिमै गर्नुपर्ने रहेछ । प्रकृतिसँगको यस्तो साक्षात्कार यत्तिमै टुंगिएन पनि । त्यस्तो पर्यटकीय क्षेत्रमा पनि यस्ता आधारभूत सुविधा नहुनु चाहिं कष्टकर रह्यो । किन यस्तो त भनी बुझ्दा केन्द्रीय र प्रादेशिक सरकार बीच संरचना निर्माण र आय बाँडफाँडको विवाद भनियो । कहाँ हाम्रोमा मात्रै यस्तो हुनु ? आफ्नो मुलुक पनि सम्झिएँ । फेरि यो पनि कहाँको विकसित मुलुक हो र भने जस्तो लागेर चित्त बुझाइयो ।
नुनिला ताल, नुनका पहाड र रंगीन अम्लीय तलाउ
दोस्रो दिन बिहान ४:३० बजे झिसमिसे अघि नै उठाइयौं । नित्यकर्मको लागि महिलाहरू लागेभन्दा विपरित दिशातिर लागेर कर्म समापन गरी नौलो दिनको लागि तयार भइयो । पन्ध्र मिनेटको सफर पछि झिसमिसेमै कारुम ताल पुगियो । १७ किमी लम्बाइको यो ताल पनि नुनिलो भेटिएपछि थाहा पाइयो यो क्षेत्रमा रहेका लगभग सबै ताल नुनिला रहेछन् । पानी पनि हल्का तातै र किनार पनि हाम्रोमा तुषारो त के, हिउँ नै परे झैं नुनले छोपिएको सेतै । नुनमाथि हिंड्दै ताल प्रवेश गरियो । तालको पूर्वी क्षितिजबाट भएको सूर्योदयको दृश्य पनि अलौकिक रह्यो ।
अझ यो त मुलुककै सबैभन्दा ठूलो नुन आपूर्ति गर्ने ताल पो रहेछ । यहाँबाट पनि प्रशोधनको लागि ठूलो मात्रामा नुन ओसारिंदो रहेछ । खासमा अफ्रिकाको तेस्रो ठूलो भूपरिवेष्टित राष्ट्र हुँदा पनि नुनको राष्ट्रिय मागलाई पूर्णत: सम्बोधन गर्न सक्ने क्षमता हुँदा पनि झण्डै ८० प्रतिशत माग मात्र आन्तरिक उत्पादनबाट हुने रहेछ र त्यसको ९० प्रतिशत आपूर्ति त अफार क्षेत्रबाट हुँदोरहेछ ।

नुन उत्पादन हुने प्रमुख तालहरूमा पहिलो यो कारुम र दोस्रो एफडेरा ताल रहेछन् । यी दुवै ताल वरपर नुन उत्पादनको लागि पानी वा सुकेर नुनले भरिएका पोखरीहरू देखियो । नुन उत्पादन गर्न समुद्र नै हुनुपर्ने रहेनछ भन्ने यहीं देखियो । यत्रो ठूलो र भूपरिवेष्टित मुलुक नुनमा झण्डै आत्मनिर्भर हुनसक्नु पनि मुलुकको लागि वरदान नै रहेछ ।
यस तालबाट उत्तरतर्फ झण्डै २० किमी नुनकै विशाल फाँटमा मोटरको चक्काले उधिनेको बाटो पछ्याउँदै मुख्य डालोल डिप्रेशन पुगियो । यो नै सबैभन्दा होचो ठाउँ रहेछ, समुद्री सतह भन्दा झण्डै १२५ मिटर मुनि दबिएको । अंग्रेजी शब्द ‘डिप्रेशन’ ले होचो दबिएको भाग भन्ने जनाउँदो रहेछ र खासमा हामी पुगेको सम्पूर्ण ठाउँ डानाकिल डिप्रेशनकै भाग भए पनि सबैभन्दा होचो यही भाग रहेछ ।
गाडी पार्किङ गरी अलिकति उकालो चढेपछि देखिने दृश्यले आश्चर्य र डर एकैपटक पैदा गर्ने । बाफरे ! पृथ्वीमा यस्तो ठाउँ पनि हुने रहेछ ? अलौकिक अनि अविश्वसनीय लाग्ने । अनेकन् रंगले भरिएका साना पोखरी र तलाउहरू पानी झैं रंगीन तरलले भरिएका । प्राय: बीचमा हरियो छेउछाउतिर पहेंलो त्यसपछि खैरो हुँदै किनारामा गाढा रातो हुने । तलाउ भित्र पनि ठाउँठाउँमा नुन जस्तै पदार्थका इन्द्रेणी रंगका ढिस्को वा पहाड उठेका । यी सब सल्फर, पोटास, म्याग्नेसियम, फस्फेट, फलाम आदि पदार्थहरू मिश्रित रहेछन् ।

कतै भकभक उम्लिरहेको जस्तो देखिन्छ, कतै वाफ उडिरहेको छ, कतै कुहिरो लागे जस्तो, कतै सिर्का उठेका फोहोरा, कतै धुवाँ, फेरि नुनिलो र अनौठो गन्ध सँगसँगै ठसठस् र फसफस् आवाज पनि आइरहेको छ । कतै ठोस, कतै तरल; कतै लेदो जस्तो देखिन्छ । खेतका साना–साना फगटो जस्तो बनेका र माथिल्लो कान्लाबाट तलतिर रोपाईंको बेला आली काटेर झरेको पानीको भेल जस्तो पनि बगेकै छन् । तर अनौठो के भने, बगेर पनि ती खोला बनेर कतै गएका छैनन् बरु पृथ्वीको गर्भमै समाहित भएका छन् । रंगले सुन्दर देखिए पनि भावले त नर्कलोकमा पापीहरू चोपल्ने कुम्भीपाक भनेको यस्तै हुँदो हो जस्तो लाग्ने । लगभग ३ वर्ग किमीको यो क्षेत्र भित्र एकातिर बन्द हुने अर्कोतिर मूल फुट्ने क्रम पनि निरन्तर चल्दोरहेछ ।
विभिन्न एसिड मिश्रित पानीले भरिएको हुँदा हातले छुन निषेध गरिएको थियो र छुने आँट पनि गरिएन । गाइडको इशारामा बडो होशियारी साथ हिंड्नुपर्ने । फाइदा हुने भएपछि प्रकृतिको दोहन गर्न मान्छे भन्ने जात कहिल्यै पछि नपर्ने उदाहरण पनि यहीं देखियो । यस्तो विषम अजीव ठाउँमा पनि आश्चर्यजनक रूपमा केही मानव निर्मित संरचनाको भग्नावशेष देखियो । खासमा, मलखादका लागि पोटास र विस्फोटक पदार्थ निर्माणमा प्रयोग हुने सल्फर दोहन गर्न कुनै बेला इटालीले आवश्यक संरचनाहरू निर्माण गरी उपयोग गरेको रहेछ । इथियोपियाको पूर्वमा रहेको इरिट्रियालाई उन्नाइसौं शताब्दीको उत्तरार्धदेखि दोस्रो विश्वयुद्धमा ब्रिटिससँग नहारेसम्म इटालीले उपनिवेश बनाएको रहेछ र ती पदार्थहरू रज्जुमार्ग समेत प्रयोग गरी इरिट्रिया तर्फ नै लैजाने गरेको रहेछ । अति विषम परिस्थितिको कारण लामो समय नचलेर बन्द भएका रहेछन् ।

यो स्थानको अवलोकनपछि त्यहाँबाट ओरालो लागि पार्किङ स्थलको वरपर रहेका नुनका पहाड हेरियो जुन पूर्णत: नुन नभए पनि नुन र माटो मिश्रित ओसिलो पहाडहरू थिए । नजिकै कञ्चन तर नुनिलो पानीको एउटा सानो तलाउ रहेछ । जम्मा दुई तीन मिटर लम्बाइ–चौडाइ देखिए पनि जमिनमुनि भित्रसम्म फैलिएको रहेछ । यहाँ चाहिं डुबुल्की मार्न मिल्दो रहेछ । शुरुमा अम्लीय पानी हो कि भनेर डराए पनि अरू पहिल्यै पसेकाले यस्तो अद्भुत मौका छुटाउनुहुँदैन भनेर डुबुल्की मारियो । न्यानो पानी तर जिब्रोमा पर्दा पर्पराउने नुनिलो र विना कोशिश आफैं तैरिने रहेछ । बल्ल बुझें सबैभन्दा गहिरो स्थानमा रहेको नुनिलो पानीको ताल मृतसागरमा किन डुबिंदैन भनिन्छ भनेर । त्यसपछि रात बिताएको ठाउँ फर्केर खाना खाई ज्वालामुखी देखिने विशेष ठाउँ दानाकिल, आर्ता आलेतर्फ लागियो ।
लाइभ ज्वालामुखी
दिवा भोजनपछि पहिले आएकै बाटो फर्किन थाल्यौं । झण्डै ८० किमी जति उही बाटोको यात्रा पछि गाडी मोडियो पश्चिमतिर । अर्को २० किमी हल्का उकालो चढ्दै अपराह्न ५ बजेतिर आधारशिविर पुगियो दानाकिल बेसक्याम्प । आजको वासस्थान यही हो भनी देखाएको ‘रुम’ देखेर पो दंगै परियो । स–साना ढुंगाले बढीमा ३–४ फिटसम्म उचाइको पर्खालले बारेर कोठाहरू बनाइएको रहेछ त्यो पनि छानारहित । एउटा ‘रुम’ मा चार वटा फोम फिंजाएर लौ यही हो तिमीहरूको रुम भनेर दिए । अघिल्लो रात चउरमा खटिया थियो भने यो रात त भुइँमै ओछ्यान । हिजो झैं उत्तानो सुत्दा निर्मल आकाश र टहटह जून देखिने । बिहानसम्म त कतै कतै मोबाइल नेटवर्क थियो भने अब त न नेटवर्क न चार्ज ।
बाटो यात्रा गर्दा देखियो प्राय:जसो जमिन लाभाले पुरिएको थियो । कालै रंगको कतै भर्खरै बगेर सुकेको जस्तो ताजा कालो कतै धुलोले मैलो बनाएको पुरानो जस्तो देखिने । बीसौं किमी लगातार लाभाको फाँट देख्दा, कतै अहिले नै ज्वालामुखी फुटेर आफूलाई पनि पुर्ने त हैन भने जस्तो त्रास पनि पैदा हुँदोरहेछ । तर वर्षौंदेखिका अभ्यस्त गाइडलाई त पत्याउनै पर्यो र ढुक्क भइने । यी यात्रामा कतै कतै फाट्टफुट्ट केही टहरा हुने गाउँ नत्र एक दुई वटा अस्थायी छाप्रा, तिनमा बस्ने मानिस र तिनका ऊँट मात्र देखिने नत्र लगभग निर्जन ।

हल्का चमेना गरेपछि उज्यालोमा राम्ररी नदेखिने हुँदा साँझ परेपछि ज्वालामुखी हेर्ने गरी केहीबेर विश्राम गरी २ किमीको उकालो चढेर मिर्मिरेमै पुगियो गन्तव्य जो एउटा भञ्ज्याङ्ग थियो । यहाँबाट पल्लोपट्टि ज्वालामुखी देखिने रहेछ । भञ्ज्याङ्गबाट पल्लोपट्टि कैयौं किमी लामो विशाल खाल्डो देखियो, ५० मिटर जति गहिराइको । हामी त कचौराको डिल जस्तोमा बसेका रहेछौं । त्यो कचौराको बीचमा ५०० मिटर जतिको दूरीमा दुई वटा चिम्नी जस्तो उठेको थियो जसको टुप्पो वा क्रेटरबाट बेलाबेला फुस्स धुवाँ र आगोको ज्वाला लाभाका सिर्कासँगै निस्किन्थ्यो र त्योसँगै आवाज भने निरन्तर फाइटर प्लेन उडेको र ट्यांकले मिसाइल हाने जस्तो । अर्को एउटा चिम्नी जस्तो अझै पर रहेछ तर झन् कमजोर । टुप्पो मात्र आगो जस्तो रातो भएको । यसरी पहिलो पटक सक्रिय ज्वालामुखीसँग साक्षात्कार भयो ।
खाल्डोको पींध निक्खर कालो पूरै अँगारले भरिए झैं सुकेको लाभा रहेछ । अलि अलि धुवाँको गन्ध र हल्का राप पनि आउँदो रहेछ । पग्लिएको लाभा बगेकै देख्न पाएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्यो । यो लाभा दुई हप्ता जति पुरानो हो भनी गाइडले भने । ओर्लिएर तल जान मिल्ने रहेछ र गाइड पछ्याउँदै गइयो । बडो ताजा र स्पोन्ज जस्तो देखिने सुकेको लाभा आफ्नै पैताला मुनि थियो । हातले छोएर हेर्दा पाप्रा उप्किने तर शिशा जस्तो तिखो हुँदा घाउ पार्ने खालको हुँदोरहेछ त्यसपछि कोट्याइएन । त्यहीं हिंड्दाहिंड्दै झमक्क साँझ परेर अँध्यारो हुन थाल्यो र टर्चलाइट नै बाल्नु पर्यो । त्यो ज्वालामुखीको मुखको झण्डै १०० मिटर नजिकसम्म पुगियो । नजिकको लाभाबाट हल्का राप पनि आउँदै थियो । अलि अलि तातो लाभा नै भेटिन थालेकोले योभन्दा अगाडि जाँदा खतरा हुने भनी त्यहींबाट दृश्यावलोकन गरी फर्किइयो । पुन: भञ्ज्याङ्गको डिलमा आई बसेर हेर्दा अँध्यारोमा अझै राम्ररी देखिने रहेछ । झण्डै दुईघण्टा व्यतीत गरी फर्कियौं ।
गाइडले भने ‘यो त खासै केही होइन तर यदि तपाईंहरू भाग्यमानी हुनुहुन्छ भने राति ठूलै विस्फोट भई भोलि बिहान लाभाको नदी पनि देख्न सक्नुहुनेछ । यो पूर्णत: तपाईंको भाग्यमा भर पर्दछ, नत्र सूर्योदय मात्रै हेर्ने हो ।’ लौ त यत्रो लामो यात्रा गरी आइयो भाग्यले हेर्न पाउने हो कि हेर्न पाए भाग्यमानी हुने हो भन्ने सोच्दै बेसक्याम्पतिर ओर्लियौं । खानपान गरी रुममा सुतियो । मध्यरातमा बिउँझिएछु र यसो माथितिर हेरेको त क्षितिजमा बडो उज्यालो, सूर्यास्तको बेला जस्तो लाली मिश्रित धुवाँको मुस्लो उडेको पो देखियो जुन अघि साँझमा देखिएको थिएन । पक्कै पनि ठूलै विस्फोट भएछ भन्ने लाग्यो र कहिले बिहान होला र जाउँला भनी सोच्दै निदाएछु ।

सबेरै चार बजेतिर गाइडले उठाए र आज गजब भो जस्तो छ लौ जाऔं भनेकोले छिटै तयार भई हामी ५–७ जनाको टोली उकालो लाग्यो । अँध्यारो भए पनि टहटह जून लागेकोले टर्च बाल्नै नपर्ने । कहिले पुगिएला भन्ने जोशले छिट्टै पुगियो । त्यही भञ्ज्याङ्गबाट देखियो अवर्णनीय दृश्य पल्लोपट्टि खाडलमा । हामीले टिभीमा देख्ने गरेको पहाडको टाकुराबाट सीधै आकाशतिर धेरै माथिसम्म उछिट्टिने लाभा अवश्य थिएन तर बम गोलाबारुद पड्के झैं ठूलो आवाजसँगै तातेर पग्लिएको फलामको झोल झैं रातो लाभाको नदी ।
हिजो देखेकै दुईवटा ढिस्को मध्ये एउटाको क्रेटरमा भकभक उम्लिंदै लाभाका सिर्का विस्फोटक आवाज सहित निक्लने । र यो निक्लँदा विस्फोट भएको आवाजले मनमा नै तरङ्ग ल्याउने । जून लाग्दा पनि निष्पट्ट अँध्यारो र कालो पृष्ठभूमिमा चम्किलो रातो सिर्का आकाशतिर उफ्रिंदै पुन: भुईंमा झरी लाभाको भेल धर्का–धर्का बनी छेउतिर बग्दैथिए । धुवाँको मुस्लो पनि न माथितिर उड्दै थिए । बीचको अग्लो टाकुराबाट ओरालोतिर बग्दै कचौरा जस्तो खाडलको किनारामा जम्मा हुँदै वरिपरि लाभाको समुद्र जमेको ।

यो दुर्लभ दृश्यलाई अझ राम्ररी नियाल्न भञ्ज्याङबाट दायाँतिर उकालो लागेर पहाडको टाकुरामै पुगेर हेरियो । यहाँ त जमिन पनि ठाउँठाउँमा लामो लामो चिरा परेको र त्यस्तो दरारबाट पनि तातोतातो वाफ र धुवाँ आइरहेको थियो । यहीं नै विस्फोट हुने त हैन ? जमिन फाट्ने त हैन ? भने झैं डर लाग्ने । यस्तो ज्वालामुखी विस्फोट केही हप्ता वा महिना बिराएर मात्र हुने बताइयो र गाइडले हामीलाई भाग्यमानी करार गरे । सूर्योदयको दृश्य अघिल्लो बिहानको नुनिलो तालमा देखिए जस्तो त पक्कै थिएन तर ज्वालामुखीले पड्ताल गर्यो । यही दृश्य सूर्योदय हँुदासम्म अघाउञ्जेली हेरेर क्यामेरामा कैद गरेर ओरालो लागियो र चाहेर पनि नडुबिने नुनिलो अफडेरा तालमा पौडी खेली दिवा खाना खाई अपराह्नको उडानबाट राजधानी फर्कियौं ।
यसरी तीन दिनमा पृथ्वीको एउटा कुनोमा रहेका यी विचित्रका विशेषताले भरिएको प्रकृतिका उपहारहरू अवलोकन र महसुस गर्ने मौका पाइयो । त्यो बेला देखेको ज्वालामुखी र लाभा, भूगर्भबाट अनौठा पदार्थहरू निस्किरहने अनि हालै दक्षिणएशियासम्म आइपुगेको ‘हाइली गुब्बी’ ज्वालामुखीको धुवाँ हेर्दा इथियोपियाको अफार क्षेत्र त भकभकी उम्लिरहेको म्याग्मा र ग्याँसमा तैरिरहेको पो छ कि झैं लाग्दो रहेछ । यो क्षेत्रको भूबनोट हेर्दा कहींकतै अझै विनाशकारी ज्वालामुखी विस्फोट भएमा कुनै आश्चर्य नमाने हुने रहेछ । सुविधाको अभावका बाबजुद पनि प्रकृतिसँगको साक्षात्कारले हर तरिकाबाट हाम्रो यात्रा सार्थक रह्यो । अन्त्यमा, यस्तो अद्भुत प्रकृतिका सृजनाहरूलाई किन आठौं आश्चर्य नभनिएको होला भनी झन् आश्चर्य लाग्यो ।




प्रतिक्रिया 4