+
+
Shares
रिपोर्ट :

बीमा बन्द भएपछि बिरामीको बिलौना- उपचार गर्न सक्दिनँ, अब घरै फर्किन्छु

टिचिङ अस्पतालमा पुग्ने हजारौं बिरामीका लागि स्वास्थ्य बीमाले उपचारमा राहत दिएको थियो। तर, सेवा नै बन्द हुँदा उनीहरू असहाय बनेका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ माघ ९ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिचिङ अस्पतालले १ माघदेखि स्वास्थ्य बीमाबाट सेवा बन्द गरेपछि गरिब बिरामीहरू उपचार खर्च तिर्न असमर्थ भएका छन्।
  • स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी राख्दा अस्पतालहरूले सेवा स्थगित गरेका छन्।
  • स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलले सेवा प्याकेज पुनरावलोकन र भुक्तानी व्यवस्थापनमा सुधार गरिने जानकारी दिए ।

९ माघ, काठमाडौं । टिचिङ अस्पतालको ओपीडी टिकट काउन्टर बाहिर टुसुक्क बसेका छन् ८२ वर्षीय कृष्णप्रसाद गैरे । भुइँको चिसोले शरीर सिरिङ्ग भएको छ । त्यो भन्दा गहिरो पीडा उनको मनमा छ ।

गैरे पाल्पाको तानसेनबाट दुई हप्ताअघि हर्नियाको उपचार गर्न काठमाडौं आइपुगेका थिए ।

तीन वर्षदेखि हर्नियाले सताएको थियो । हिँड्न, बस्न र सुत्न कठिन थियो । हर्नियाले दिएको सास्तीबाट मुक्ति पाउने आशा लिएर १४ हजार रुपैयाँ जोहो गरी उनी काठमाडौंतिर लागे ।

उनलाई विश्वास थियो, स्वास्थ्य बीमाबाट एक लाखसम्मको उपचार पाइन्छ । तर टिचिङ अस्पताल टेक्नेवित्तिकै पाएको खबरले गैरेलाई झस्कायो- स्वास्थ्य बीमामार्फतको सेवा त बन्द हुँदै छ रे !

१ माघदेखि अस्पतालले बीमाबाट पाइने सेवा बन्द गरिसकेको रहेछ । केही जाँच, केही परीक्षणमै उनले घरबाट ल्याएको सबै पैसा सकियो । त्यसपछि उपचारको बोझ काठमाडौंमै बस्दै आएका छोरी–ज्वाईंको काँधमा पर्‍यो ।

‘बीमाले हामीजस्ता गरिबलाई ठूलो राहत दिएको थियो,’ आँखाभरि आँसु पार्दै गैरे भन्छन्, ‘सेवा बन्द भएपछि ४० हजार सकियो । धेरै मर्कामा परियो ।’

कृष्णप्रसाद गैरे

गैरेको उपचार पाल्पाबाटै सुरु भएको थियो । पाल्पापछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुगे । त्यहाँ पनि शल्यक्रिया हुन सकेन । केही वर्षअघि मात्रै मुटुको अप्रेसन गराएका कृष्णलाई दमको पनि समस्या छ । अनेक दीर्घरोगले थलिएका उनलाई डाक्टरले टिचिङ अस्पतालमै हर्नियाको शल्यक्रिया गर्न सुझाव दिए ।

९ भदौका लागि टिचिङमा अप्रेसनको मिति तय भयो । काठमाडौंको चिसो मौसमले उनलाई फेरि गाँज्यो । दम बढ्यो, शरीरले साथ दिएन । अप्रेसन स्थगित भयो ।

अहिले कृष्णप्रसाद एक्लै हिँड्न पनि सक्दैनन् । छोरीको सहारामा विस्तारै पाइला चाल्छन् । उपचारका लागि छोरी, ज्वाईं र आफन्तसँग हात फैलाउनुपरेको छ । घरबाट ल्याएको पैसा सकिएपछि अब उनी पाल्पा फर्किने तयारीमा छन् ।

‘कतिञ्जेल अरूसँग पैसा मागेर चलाउनु ?,’ उनी भक्कानिन्छन्, ‘अब घर गएर ऋण खोजेर ल्याउँछु । बीमाले राम्रै सेवा दिएको थियो । सेवा नै बन्द भएपछि कहाँ गएर उपचार गर्ने ?’

०००

ओपीडी काउन्टर अगाडि चुपचाप उभिएका थिए भुवन थापा । हातमा स्वास्थ्य बीमाको कार्ड थियो, तर मनभरि असह्य चिन्ता ।

छेउमै उभिएकी उनकी हजुरआमा न्युरोको समस्याले थलिएकी छिन् । ‘स्वास्थ्य बीमा सेवा लिन पाइन्छ भनेर ढुक्क भएर आयौं । तर बन्द रहेछ,’ भुवनले भने ।

सिन्धुली घर भएका भुवनकी हजुरआमाको यो पहिलो पटक उपचार होइन । केही वर्ष अगाडि पनि टाउकोको अप्रेसन गरिसकेका हजुरआमालाई पुनः त्यही डाक्टरले नै हेर्नुपर्ने अवस्था थियो । समस्या फेरि बल्झिएपछि उनीहरू टिचिङ अस्पताल आइपुगेका छन् । तर बीमा बन्द भएकोले सबै खर्च आफैंले व्यहोर्नुपर्ने अवस्था आइलाग्यो ।

स्वास्थ्य बीमाको प्रिमियम तिरेर बीमा गराएका भुवन राज्यप्रति प्रश्न उठाउँछन् । ‘हामीले सित्तैमा गरेको छैन । राज्यले भनेको पैसा तिरेको हौं । तर जुन बेला साँच्चै आवश्यक पर्यो, त्यही बेला बीमा बन्द भयो,’ उनले गुनासो गरे ।

भुवन थापा

भुवन बीमा कार्यक्रमलाई स्वास्थ्य क्षेत्रमा एउटा क्रान्तिकारी कदमको रूपमा लिन्छन् । उनका अनुसार बीमा कार्यक्रम विशेषगरी गरिब र पैसा नहुने सर्वसाधारणको लागि वरदान साबित भएको थियो । ‘भुइँ मान्छेको लागि बीमा एकदम राम्रो छ । पैसा नहुनेले उपचार सहज रूपले लिएका थिए,’ भुवन भन्छन् ।

भुवनको राज्यसँग स्पष्ट माग छ । ‘अरू ठाउँका अनावश्यक खर्च कटौती गरेर बरु बीमा चलाउनुपर्छ । विकास निर्माणको खर्च कटौती गर्दा हुन्छ । तर स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो,’ भुवन भन्छन् ।

०००

दुर्गाप्रसाद उप्रेतीको आवाजमा पीडा र निराशा मिसिएको छ । मिर्गौलाको समस्याले अस्पताल पुगेका उनी आर्थिक संकटमा छन् । त्यो संकटको जड हो, अस्पतालले अचानक बन्द गरेको स्वास्थ्य बीमा कार्यक्रम ।

दुर्गा जस्ता तल्लो वर्गका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रम नीति मात्रै होइन, जीवनको आशाको किरण पनि थियो ।

एक लाखसम्मको उपचार खर्च सरकारले बेहोर्ने र गम्भीर रोगको अवस्थामा थप एक लाख उपलब्ध गराउने व्यवस्थाले उनीहरूलाई ठूलो राहत दिएको थियो । तर त्यो सहुलियत टिचिङ अस्पतालले एकाएक हटाएपछि उनी चिन्तामा छन् ।

‘निम्न वर्गका मान्छेका लागि स्वास्थ्य बीमाले धेरै ठूलो सहयोग गर्थ्यो,’ दुर्गाले गुनासो गरे, ‘एक लाख रुपैयाँ स्वास्थ्यमा खर्च गर्नु सानो कुरा होइन । पैसा हुनेलाई त समस्या नहोला, तर हामीलाई यही नै ठूलो आशा थियो ।’

दुर्गाप्रसाद उप्रेती

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सबै प्रारम्भिक परीक्षण कार्डियो, इको, एक्स–रे, युरो लगायतका परीक्षण उनले गरिसकेका छन् । तर बीमा सेवा बन्द भएपछि अब उपचार अघि बढाउने कि बीचमै रोक्ने भन्ने गम्भीर प्रश्न उनका सामु खडा भएको छ ।

दुर्गाप्रसादले अस्पताल प्रशासनसँग पनि कुरा गरे । तर स्पष्ट जवाफ पाएनन् । यही अन्योलताले उनलाई राज्यको दायित्वबारे प्रश्न उठाउन बाध्य बनाएको छ ।

‘राज्यले आफ्ना नागरिकको स्वास्थ्य उपचारको जिम्मा लिन्छु भनेर स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको थियो,’ दुर्गाले प्रश्न गरे, ‘अब भुक्तानी दिन नसक्ने भएपछि बन्द गर्दा राज्यले नागरिकप्रतिको दायित्व कति पूरा गर्‍यो ?’

०००

ओपीडी कक्षमा डाक्टरको पालो कुरिरहेकी थिइन् मसिना परियार मिजार । बाथका कारण उनका हातखुट्टा सुन्निएका छन्, दुख्ने समस्या छ ।

बिरामी हुँदा स्वास्थ्य बीमाले ठूलो राहत दिन्छ भनेर परियारले नियमित रूपमा नवीकरण गर्दै आएकी थिइन् । तर उपचारको बेला भने बीमाले साथ दिएन ।

बीमा हुँदा उपचार गर्न सहज थियो । टिकट सस्तो, जाँच खर्च कम लाग्थ्यो । तर अहिले अवस्था उल्टो बन्यो । मिजारले पैसा तिरेर उपचार गराइरहेकी छिन् ।

मसिना परियार मिजार

‘छिमेकीसँग पैसा मागेर आएकी हुँ । पैसा आउने कतै बाटो छैन,’ परियारले भनिन्, ‘दुखाइ खपेर बस्न सकिएन । उपचार त गर्नै पर्यो ।’

मसिनाको अहिलेसम्म २५ हजार खर्च भइसकेको छ । एक वर्षअघि उपचार गर्दा बाथको समस्या सुधार भएको थियो । तर बीचमै पैसाको अभावले उपचार रोकिएको उनले बताइन् ।

‘स्वास्थ्य बीमा राम्रो कार्यक्रम हो । हामीसँग पैसा लिएपछि टिचिङ अस्पताललाई तिर्दैनौं भन्न त हुँदैन नि,’ परियारले आक्रोष पोखिन् । स्वास्थ्य बीमा रोक्ने होइन, सुधार गरेर चलाउनुपर्ने उनको भनाइ छ ।

०००

सुरज बोहरा आँखा देख्न सक्दैनन् । उनलाई यताउति गर्न पनि अरूको सहारा चाहिन्छ । बिहीबार दिँउसो टिचिङ अस्पतालको प्रांगणमा भेटिएका बोहराले स्वास्थ्य बीमा सेवा बन्द भएपछि निकै गाह्रो परिरहेको सुनाए ।

आइतबार श्वासप्रश्वासमा समस्या भएपछि तनहुँका बोहरा काठमाडौं आएका थिए । स्वास्थ्य बीमाबाटै उपचार लिने सोचले उनले धेरै पैसा बोकेनन् । तर अस्पताल पुगेपछि मात्रै कार्यक्रम बन्द भएको थाहा पाए ।

अहिले बोहरा जाँचकै क्रममा छन् । डाक्टरले आवश्यक परीक्षण गरिरहेका छन् र रिपोर्ट शुक्रबार आउने बताएका छन् । तर उपचार प्रक्रिया चलिरहँदा सबैभन्दा ठूलो चिन्ता खर्चको छ ।

‘हामी जस्ता भुइँ मान्छे, धेरै आम्दानी नहुनेका लागि त स्वास्थ्य बीमा ठूलो राहत थियो,’ बोहरा भन्छन्, ‘अहिले बीमाबाट सेवा नपाउँदा निकै गाह्रो परिरहेको छ ।’

सुरज बोहरा

कम आयस्तर भएका नागरिकका लागि सहज र उपयोगी बीमा कार्यक्रम बीचमै बन्द हुन नहुने उनको ठम्याइ छ ।

‘यो अवस्था आउनु हुँदैनथ्यो,’ बोहरा भन्छन्, ‘सरकारले जसरी भए पनि पैसा तिर्ने वातावरण बनाएर जनतालाई सेवा दिनुपर्छ ।’

सेवा बन्द भएपछि स्वास्थ्य बीमा भएका तर आर्थिक अवस्था कमजोर भएका बिरामीहरू मारमा परेका छन् ।

टिचिङ अस्पतालमा पुग्ने हजारौं गरिब बिरामीका लागि स्वास्थ्य बीमा जीवनरेखा थियो । सेवा नै बन्द हुँदा उनीहरू असहाय बनेका छन् ।

उपचारका लागि ऋण खोज्नुपर्ने, घर फर्किनुपर्ने र अन्ततः उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाले गरिब बिरामीको पीडा अझ गहिरिएको छ ।

उनीहरूले महँगो शुल्क तिरेर उपचार लिनुपर्ने बाध्यता आएको छ । यसको साथै टिचिङमा सेवा प्रभावित हुँदा यसको सिधा भीड वीर लगायतका अन्य ठूला सरकारी अस्पतालमा लागेको छ ।

अस्पताल प्रशासन भन्छ– केही नीतिगत सुधार र भुक्तानी भएमा सेवा सुरु गर्छौं 

स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई असोज मसान्तसम्म ११ अर्ब रकम भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये एक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हो ।

लामो समयसम्म भुक्तानी नदिएपछि संस्था आर्थिक संकटतिर गएको भन्दै केही ठूला अस्पतालले बीमा कार्यक्रम स्थगित गरिसकेका छन् । सरकारले समयमै बोर्डलाई पैसा तिर्न नसकेपछि यसबीच बोर्डका निर्देशक डा. रघुराज काफ्लेले दबाब झेल्न नसकेर राजीनामा दिएका छन् । मन्त्रालयले बोर्डको जिम्मेवारी अहिले नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेललाई दिएको छ ।

अस्पतालका उपनिर्देशक डा. पवनराज चालिसे बीमा कार्यक्रम स्थगन गर्नुमा बाध्यात्मक अवस्था भएको बताउँछन् ।

अस्पताल र सरकारबीच २०७७ सालदेखि लागु हुँदै आएको स्वास्थ्य बीमा सम्झौतालाई निरन्तरता गरिएको थियो । तर पछिल्ला वर्षमा बीमासँग सम्बन्धित नीतिगत जटिलता र भुक्तानी प्रक्रियामा लामो ढिलाइका कारण समस्या चुलिँदै गएको डा. चालिसे बताउँछन् ।

डा. पवनराज चालिसे

‘बीमा कार्यक्रमलाई निरन्तरता दिँदै नीतिगत सुधारमार्फत सहज रूपमा अस्पताल सञ्चालन गर्न चाहन्थ्यौं, ५५ करोडभन्दा बढी बक्यौता बाँकी भएपछि धान्न नसक्ने अवस्था बन्यो,’ डा. चालिसेले अनलाइनखबरसँग भने ।

उनका अनुसार अस्पतालले मासिक ५ देखि ६ करोड बराबरको बीमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको थियो ।

तर, त्यसको एक करोड रुपैयाँ हाराहारीमा विभिन्न नीतिगत कारण देखाउँदै बीमा दाबी (क्लेम) अस्वीकृत हुने गरेको डा. चालिसे दाबी गर्छन् । त्यसमाथि पनि रुजु भइसकेको रकम पनि समयमै नआउँदा अस्पताल सञ्चालनमा गम्भीर समस्या सिर्जना भएको उनको गुनासो छ ।

अस्पतालको तथ्यांकअनुसार दैनिक ७०० हाराहारीले स्वास्थ्य बीमामार्फत सेवा लिने गरेको छन् । भर्ना, शल्यक्रिया तथा जटिल उपचारसमेत बीमाअन्तर्गत हुँदै आएको थियो ।

जटिल रोगका लागि आवश्यक बहुविधि परीक्षणहरू बीमाको दायरा भित्र नपर्दा अस्पतालले दिएको सेवा क्लेममा अस्वीकृत हुँदा आर्थिक भार थपिएको उनी बताउँछन् ।

‘शिक्षण अस्पताल रेफरल सेन्टर भएकाले जटिल केसहरू आउँछन् । एकै रोगका लागि विभिन्न विभागबाट परीक्षण गर्नुपर्छ । तर ती सबै सेवा बीमा भित्र नपर्दा आर्थिक भार अस्पतालमै पर्यो । बोर्डले रोग अनुसार प्याकेज शुल्क तोक्दा सेवा दिन नसक्ने अवस्थामा पुग्यौं,’ डा. चालिसे भन्छन् ।

बोर्ड भन्छ- छिट्टै सेवाप्रदायक संस्थालाई भुक्तानी दिन्छौं

पछिल्लो समय स्वास्थ्य संस्थाले बीमा सेवा बन्द गर्दा बिरामीहरू प्रभावित भइरहेको सन्दर्भमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, गंगालाल लगायतका अस्पतालहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।

बीमा प्रणालीमा देखिएका चुनौतीको समाधानका लागि सेवा प्याकेज पुनरावलोकन, भुक्तानी व्यवस्थापन र संघ–प्रदेश–स्थानीय तहबीचको समन्वय भइरहेको उनको भनाइ छ ।

उनका अनुसार त्रिवि अन्तर्गतका अस्पतालले उठाउँदै आएको प्याकेजिङसम्बन्धी चासोलाई सम्बोधन गर्न विज्ञ समूहले हाल सेवा प्याकेजको पुनरावलोकन गरिरहेको छ । जसले धेरै समस्या समाधान गर्ने अपेक्षा गरिएको डा. पौडेल बताउँछन् ।

डा. कृष्णप्रसाद पौडेल

सेवा प्रदायक संस्थालाई दिनुपर्ने भुक्तानीको विषयमा भने डा. पौडेलले मन्त्रालयमार्फत अधिकांश रकम सुनिश्चित भइसकेको र थप स्रोतको व्यवस्थापन तत्काल गरिने बताए ।

स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित गर्न डिजिटलाइजेसन, क्लेम व्यवस्थापन सुधार र प्याकेज रिभिजनलाई क्रमशः अघि बढाइने डा. पौडेलको भनाइ छ । हालै बोर्ड अध्यक्ष र स्वास्थ्य मन्त्रीको उपस्थितिमा छलफल भएको र छिट्टै बोर्ड बैठक बसेर सुधारको स्पष्ट मार्गचित्र सार्वजनिक गरिने उनले जानकारी दिए ।

‘बीमाको विकल्प बीमा नै हो । अहिलेका चुनौती सम्बोधन गर्दै अघि बढ्नुको विकल्प छैन,’ डा. पौडेल भन्छन्, ‘सबै राज्य संयन्त्रसँग मिलेर काम गर्दा स्वास्थ्य बीमा प्रणाली क्रमशः सहज र प्रभावकारी बन्दै जानेछ ।’

तस्वीर र भिडियो : कमल प्रसाईं

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?