+

के हो सोडियम ? शरीरमा कम वा बढी हुनु दुवै हानिकारक 

२०८२ फागुन  ४ गते १३:११ २०८२ फागुन ४ गते १३:११

सोडियमलाई नियन्त्रण गर्न दैनिक २ ग्राम भन्दा कम नुन सेवन गर्ने प्रयास गर्नुपर्छ, जुन करिब सानो एक चम्चा बराबर हुन्छ ।

के हो सोडियम ? शरीरमा कम वा बढी हुनु दुवै हानिकारक 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोडियम नुनको एउटा भाग हो र शरीरका कोष, स्नायु, मांसपेशी र मुटुको सामान्य कामका लागि आवश्यक छ।
  • दैनिक २ ग्रामभन्दा बढी सोडियम सेवनले उच्च रक्तचाप र मुटुको दीर्घकालीन समस्या निम्त्याउन सक्छ।

हामीले दैनिक खाने नुनले हाम्रो खानाको स्वाद मात्र होइन, शरीरको सन्तुलन, मुटुको स्वास्थ्य र जीवनको गुणस्तरसँग गहिरो सम्बन्ध राख्छ । सोडियमको कमी वा बढी दुवै अवस्थाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

सोडियम के हो, शरीरलाई किन आवश्यक छ, कति मात्रा सुरक्षित हुन्छ र बढी हुँदा कस्ता जोखिम आउँछन् भन्ने विषयमा मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग गरिएको कुराकानी :

सोडियम के हो र शरीरलाई किन आवश्यक छ ?

सोडियम भनेको वैज्ञानिक नाम हो ।  सरल भाषामा यो नुनको एउटा भाग हो ।  यो एक खनिज तत्व हो ।  हामीले हरेक दिन यसलाई खान्छौं र यो हाम्रो शरीरका लागि अत्यन्त महत्वपूर्ण खनिज तत्वमध्ये एक हो।

सोडियमबिना शरीरका कोषहरू, स्नायु, मांसपेशी र मुटुले सामान्यरूपमा काम गर्न सक्दैन । यो पानी सन्तुलन, रक्तचाप, सिग्नल ट्रान्समिशन (संकेत प्रसारण) र मांसपेशी कार्यका लागि अत्यावश्यक छ । तर बढी सोडियमले उच्च रक्तचाप र मुटुको समस्या निम्त्याउँछ, त्यसैले ठीक मात्रामा राख्नु जरुरी हुन्छ ।

सोडियमको कमी हुँदा शरीरमा के हुन्छ ?

सोडियमले हाम्रो शरीरले राम्रोसँग सन्तुलनमा राख्छ । यो रगतमा, मांसपेशीमा, कोषहरूमा र शरीरका अन्य भागमा हुन्छ । धेरैजसो रगतमै हुन्छ । यो खनिज तत्व नभए कोषहरूले काम गर्न सक्दैनन् ।  मांसपेशी, मुटु, मस्तिष्क सबैलाई यसको आवश्यकता पर्छ । आवश्यक मात्राभन्दा कमी भयो भने शरीरमा नकारात्मक असर पर्छ ।

यसको कमीले मांसपेशीले काम गर्न सक्दैन, स्नायु प्रणाली प्रभावित हुन्छ, मुटु र अन्य अंगहरूमा समस्या हुन्छ । यसलाई हाइपोनाट्रेमिया भनिन्छ । यसलाई आवश्यक मात्रामा राख्नुपर्छ । हरेक दिन करिब ५०० मिलिग्राम सोडियम चाहिन्छ, तर नुनको मात्रा २.३ ग्रामभन्दा बढी नहोस् भन्ने सिफारिस छ । यो २.३ ग्राम भनेको सानो एक चम्चा बराबर पनि हुँदैन ।

सोडियम नुनमा मात्र हो कि अन्यमा खानेकुरामा पनि पाइन्छ ?

हरियो सागसब्जी, फलफूल, दूध, दही, चिज, माछा, मासु, अण्डा जस्ता खानेकुरामा नुन नहाल्दैमा सोडियम हुन्छ, तर मात्रा कम हुन्छ ।

दैनिक कति नुन खाने भन्ने कुरा ठ्याक्कै मापन गरेर भन्न गाह्रो छ, तर यी तरिकाले अनुमान गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले वयस्कका लागि दैनिक २ ग्राम सोडियम भन्दा कम सिफारिस गर्छ । यो करिब सानो एक चच्चा नुन बराबर हो ।

नुनमा मात्र होइन, खानेकुरामा थपिएका र सागसब्जीहरूमा पनि सोडियम पाइन्छ । थपेर खाने सोडियम २.३ ग्रामभन्दा बढी नहोस् भन्ने हो । मापन गर्दा सानो चम्चा प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, चार जनालाई तरकारी पकाउँदा सानो चम्चा नुन हाल्दा पुग्छ । साधाहरणतया दैनिक एक सानो चम्चा जति मात्रै नुन खानु ठीक हुन्छ ।

सोडियम बढी हुँदा के हुन्छ ?

सोडियम बढी हुँदा शरीरमा विभिन्न नकारात्मक असरहरू पर्छन् । किनभने सोडियमले पानीलाई आकर्षित गर्छ । बढी सोडियम भएपछि शरीरले पानी जम्मा गर्छ, रगतको मात्रा बढ्छ, रक्तनलीहरूमा दबाब बढ्छ । यसले गर्दा सबैभन्दा ठूलो समस्या उच्च रक्तचाप हुन्छ, जसले मुटु, मस्तिष्क, मिर्गौला आदिलाई दीर्घकालीन हानि पुर्‍याउँछ ।

सोडियमको कमी वा बढी हुँदा कस्ता लक्षणहरू देखिन्छन् ?

सोडियमको कमी (हाइपोनाट्रेमिया) वा बढी (हाइपरनाट्रेमिया) हुँदा शरीरमा विभिन्न लक्षणहरू देखा पर्छन्, जुन मुख्य रूपमा मस्तिष्क र स्नायु प्रणालीमा असर पर्ने कारणले आउँछन्।

सोडियम कमी ‘रगतमा सोडियम १३५ मिलिइक्विभालेन्ट प्रतिलिटर’ हुँदा

मुख्य लक्षणहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, थकान वा कमजोरी महसुस हुने, मांसपेशीमा कमजोरी, ऐंठन हुने, भ्रम वा चक्कर लाग्ने, चिडचिडाहट वा ब्लड प्रेसर कम हुने, रिंगाटा लाग्ने, बेहोस् हुने वा मान्छे कोमा पुग्न सक्छ।

सोडियम बढी ‘रगतमा सोडियम १४५ मिलिइक्विभालेन्ट प्रति लिटर’ हुँदा

सोडियम बढी हुँदा अत्यधिक तिर्खा लाग्नु, थकान महसुस हुनु वा सुस्तपन, झुक्किनु वा भ्रम हुनु, चिडचिडाहट देखिनु, मांसपेशी फड्किनु वा ऐंठन हुनु, मुख र छाला सुक्खा हुनु, मुटुको धड्कन छिटो हुनु जस्ता समस्या देखिन सक्छन् ।

यी लक्षणहरू पहिचान गर्न घरमै अनुमान गर्न सकिन्छ यदि टाउको दुखाइ, थकान, भ्रम, ऐंठन, बेहोसी जस्ता समस्या देखिएमा तुरुन्त डाक्टरकहाँ जानुपर्छ । यी लक्षण अन्य रोगसँग पनि मिल्न सक्छन् ।  तर सबैभन्दा सही र भरपर्दो तरिका भनेको रगत जाँच गरेर रगतमा सोडियमको मात्रा हेर्नु हो ।

सोडियमले मुटु स्वास्थ्यमा कसरी प्रभाव पार्छ ? 

बढी सोडियमले मुटुलाई दुई मुख्य तरिकाले असर पार्छ । पहिलो, यसले उच्च रक्तचाप उत्पन्न गरी मुटु र रक्तनलीहरूमा अतिरिक्त दबाब दिन्छ । दोस्रो, रगतको मात्रा बढ्दा मुटुले बढी रगत पम्प गर्नुपर्ने हुन्छ, जसका कारण मुटुको बायाँ तल्लो काेठा (भेन्ट्रिकल) को मांसपेशी बाक्लो वा ठूलो हुने अवस्था ‘लेफ्ट भेन्ट्रिकुलर हाइपरट्रोफी’ देखा पर्न सक्छ वा मुटु कमजोर हुने जोखिम बढ्छ ।

यसका साथै, बढी सोडियमले सहानुभूतिक स्नायु प्रणाली सक्रिय बनाउँछ, रक्तनलीको भित्री तहको कार्यक्षमता कमजोर बनाउँछ र सूजन बढाउँछ, जसले मुटु तथा रक्तनलीहरूमा थप क्षति पुर्‍याउँछ । उच्च रक्तचाप भएका वा मुटुरोगी व्यक्तिहरूमा यसको असर झन् गम्भीर हुन्छ, किनकि यसले शरीरमा अत्यधिक तरल पदार्थ जम्मा हुने अवस्था बढाएर मुटुमाथि थप बोझ पार्छ ।

सोडियमलाई कसरी नियन्त्रण गर्ने ?

-सोडियमलाई नियन्त्रण गर्न मुख्य रूपमा दैनिक सेवन २  ग्राम भन्दा कम राख्ने प्रयास गर्नुहोस्, जुन करिब ५ ग्राम नुन एउटा सानो चम्चा बराबर हुन्छ ।

-घरमा ताजा खाना बढी पकाएर खानुपर्छ । प्रशोधित÷प्याकेट खानेकुरा जस्तै चिप्स, नुडल्स, ससेज, ब्रेड, सोया सस आदि सकेसम्म कम गर्नुपर्छ । खाना पकाउँदा र खाँदा नुन थोरै मात्र राख्नुपर्छ ।

-प्याकेट खानेकुराको लेबल हेरेर सोडियम जाँच्नुपर्छ र कम सोडिम भएको विकल्प छान्नुपर्छ ।

-फलफूल, सागसब्जी र दही जस्ता पोटासियमयुक्त खानेकुरा बढी खानुपर्छ । जसले सोडियमको नकारात्मक असर कम गर्छ ।

नुन सोडियम
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय