News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको पश्चिम बंगालमा निपा भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा जोखिममा छ।
कोरोना भाइरसको विश्वव्यापी त्रास बिर्सिन नपाउँदै अर्को एक भयानक हल्लाले तनाव सिर्जना गरिरहेको छ । मान्छेहरूको मनमा प्रश्न उब्जिन थालेको छ, ‘के फेरि हामी कोरोना भाइरसले निम्त्याएको जस्तै महामारी भोग्नेवाला छौँ ?’ मान्छेको मनमा त्रास फैलाउने विषय हो- निपाभाइरस
यो विश्वका लागि यो नयाँ नाम नभए नेपालमा त्यति नसुनिएको विषय हो । नेपालको पूर्वी सिमाना जोडिएको भारतको पश्चिम बंगालमा निपा भाइरसको संक्रमण पुष्टि भैसकेको छ । यो भनेको नेपालमा पनि खतराको घन्टी बज्नु हो । भारतमा भने यो भाइरसको संक्रमण नयां होइन ।
निपा भाइरसको उत्पति
यसको उत्पत्तिका बारेमा बुझ्न १९९० को दशकमा फर्किनुपर्छ । सन् १९९८ मा मलेसियामा सुँगुर पालन गर्ने किसानहरूमा अचानक मेनिन्जाइटिस् (मस्तिष्क जोरो )सँग मिल्दोजुल्दो लक्षण देखापर्न थाल्यो । लक्षण मिल्दोजुल्दो भएकोले यसलाई जापानिज इन्सेफलाइटिस नै करार गरियो । तर निरन्तर उपचार गर्दा पनि समस्या कम नभएपछि लामो अनुसन्धानपश्चात पत्ता लाग्यो– कुनै नयाँ भाइरसले यो समस्या निम्त्याइरहेको छ ।
त्यो समय भन्दा अगाडि विश्वमै कतै नदेखिएको भाइरस अचानक मलेसियाको काम्पुंग सुंघाई निपा भन्ने गाउँमा देखियो। यही कारणले त्यो गाउँको नामबाट यो भाइरसको नाम राखियो– निपा भाइरस ।
सन् १९९९ मा मलेसियाबाट बिरामी सुँगुरहरू आयात गरेपछि सिङ्गापुरमा पनि यो संक्रमण फैलियो । त्यसपछि यी दुवै देशमा नयाँ संक्रमण देखिएको छैन । सन् २००१ मा भारत र बंगलादेशमा यो भाइरस पहिलो पटक भेटिएको थियो । बंगलादेशमा त्यसबेलादेखि लगभग हरेक वर्ष संक्रमणका रिपोर्ट आइरहेकाछन्। जनवरी २०२६ मा भारतको पश्चिम बंगाल राज्यको दुईवटा प्रयोगशाला गरिएको जाँचमा यो भाइरस फेला परेपछि फेरि चर्चा सुरु भएको छ ।
के हो यो भाइरस ?
निपाह एक जोनोटिक भाइरस हो जुन पशुबाट मान्छेमा सर्ने गर्दछ । फलफूल खाने चमेरोलाई यो भाइरसको प्राकृतिक घरको रूपमा लिइन्छ । यहीबाट मानिस सम्म पुगेको हो भन्ने निष्कर्ष अहिलेसम्मको अध्ययनको छ । चमेरो एक यस्तो चरा हो जसले फलफूल अत्यन्त रुचाएर खाने गर्दछ । उक्त चमेरोले जुठो हालेको फल सुँगुर अथवा मान्छेले खाएमा यो भाइरस सजिलै सर्ने हुन्छ ।
जब यो भाइरसको एकपटक कुनै मानिसमा देखिन्छ, त्यसपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । मानिसमा संक्रमण हुँदा यसको मृत्यु दर निकै डरलाग्दो छ । कोरोना भाइरसको मृत्युदरसँग तुलना गर्दा यो तथ्य भयानक लाग्न सक्छ । यो भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशत भनिएको छ, जुन अत्यन्तै डरलाग्दो अवस्था हो ।
यसै कारणले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले यो भाइरसलाई ‘अनुसन्धान र विकास खाका’ मा प्राथमिकता प्राप्त रोगको रूपमा सूचीबद्ध गरेको छ । यसको अर्थ, यो रोगको गम्भीरता र महामारी निम्त्याउन सक्ने क्षमतालाई मध्यनजर गर्दै नयाँ औषधि र खोप बनाउन विश्वभर प्राथमिकताका साथ अनुसन्धान भइरहेको छ भन्ने बुझिन्छ।
निपा भाइरस सर्ने प्रक्रिया
प्राकृतिक वासस्थान र वाहक
‘फ्रुट ब्याट्स’ (फलफूल खाने चमेरो) निपा भाइरसका मुख्य प्राकृतिक वाहक हुन् । यी चमेरोहरू एसिया, अस्ट्रेलिया र अफ्रिकाका विभिन्न भागमा पाइन्छन् । नेपालमा पनि यी चमेराहरू प्रशस्तै पाइन्छन् । ध्यान दिनुपर्ने कुरा के छ भने, यो भाइरसका कारण ती चमेरोहरू आफैँ भने बिरामी पर्दैनन् ।
मानिसमा कसरी सर्छ ?
संक्रमित जनावरसँगको सम्पर्क जस्तै संक्रमित चमेरो, सुँगुर वा घोडा जस्ता जनावरहरूसँग प्रत्यक्ष सम्पर्कमा आउँदा वा मासु खादा यो भाइरस मानिसमा सर्न सक्छ । दूषित खानपान जस्तै: संक्रमित चमेरोले टोकेका फलफूल खाएमा वा तिनीहरूको पिसाब, र्यालबाट पनि सर्छ । दूषित बनाएको काँचो खजुरको रस पिउनाले मानिसमा संक्रमण फैलिने जोखिम रहन्छ ।
यो भाइरसले सुँगुर जस्ता फार्ममा पालिने जनावरहरूमा गम्भीर रोग निम्त्याउन सक्छ, जसले गर्दा कृषकहरू थप जोखिममा पर्छन् ।त्यस्तै गरी मानिसबाट मानिसमा ; संक्रमित व्यक्तिको थुक, पिसाब वा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट पनि यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ ।
लक्षण तथा चिह्नहरू
भाइरस शरीरमा प्रवेश गरेपछि लक्षण देखिन सामान्यतया ३ देखि १४ दिन लाग्छ । यसलाई यसको रोग देखा पर्ने समय अर्थात इन्कुवेसन पिरियड भनिन्छ । केही दुर्लभ परिस्थितिमा यो अवधि ४५ दिनसम्म पनि पुग्न सक्छ । यो रोगका सुरुवाती लक्षण केही मानिसमा नदेखिन सक्छ ।
वास्तवमा यो भाइरसले मानिसको मस्तिष्कमा असर गर्ने भएकाले मस्तिष्क सुनिने अवस्था हुन्छ । गम्भीर लक्षण देखिएको खण्डमा लक्षण देखिएको २४ देखि ४८ घण्टामै बिरामी कोमामा जान सक्ने जोखिम समेत हुन्छ ।
अधिकांशमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । अन्य सामान्य लक्षणमा जाडो लाग्ने, थकान महसुस हुने, धेरै निद्रा लाग्ने, रिंगटा लाग्ने, बान्ता हुने र पखाला लाग्ने रहेका छन् । गम्भीर बिरामीहरूको प्राय मृत्यु हुने सम्भावना उच्च हुन्छ । त्यसैले बिरामीको निरन्तर निगरानी र आवश्यक हुन्छ । हालसम्म यसको कुनै विशेष खोप वा उपचार उपलब्ध छैन । यस कारण लक्षणका आधारमा सहयोगी उपचार गरिन्छ ।
यो रोग कोभिड-१९ संक्रमण भन्दा कैयौं गुणा घातक छ । तर यो कोभिड जस्तै छिट्टै सर्ने र फैलिने रोग भने होइन् । यसलाई फैलिनका लागि कुनै नजिकको सम्पर्क चाहिन्छ कोरोना भाइरस जसरी सहजै सर्दैन ।
नेपाल कति जोखिममा ?
निपा भाइरसको प्राकृतिक स्रोत मानिने चमेरो नेपालमा सजिलै पाइन्छ । नेपालसँग सिमाना जोडिएको त्यो पनि खुला सिमाना रहेको देश भारत यो भाइरस संक्रमण फेला पर्नुले नेपाल खतरामुक्त छ भन्ने अवस्था छैन । त्यसैमाथि यो भाइरसको लक्षण देखा पर्ने समय लामो भएको कारणले सिमानामा कडाइ गर्न समेत कठिनाइ पर्ने अवस्था देखिन्छ ।
मृत्युदर अधिक भएकाले सानो समूहमा फैलिँदा पनि यसले ठूलो क्षति पुर्याउन सक्छ ।
रोकथाम कसरी गर्ने ?
भारतको पश्चिम बंगाल र केरलामा संक्रमण देखिएसँगै सरकारले नेपालका सीमा नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई उच्च सतर्कतामा राखेको छ। शंकास्पद बिरामीहरूको पहिचान र रिपोर्टिङ गर्न देशभरका अस्पतालहरूलाई निर्देशन दिएको छ । विमानस्थल र सीमा नाकाहरूमा निगरानी तथा परीक्षणका निर्देशिकाहरू जारी गरेको छ । नेपालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशहरूमा देखिएको संक्रमणलाई मध्यनजर गर्दै निपा भाइरसको शंकास्पद बिरामीहरूको व्यवस्थापनका लागि निपा भाइरस परीक्षण सम्बन्धी अन्तरिम निर्देशिका समेत जारी गरेको छ ।
व्यक्तिगत र सामुदायिक सावधानी
आम नागरिकले सामन्य सावधानी आपनाएर निपा भाइरसको रोकथाम गर्न सकिन्छ । फलफूल धुने, चराले जुठो हालेका वा भुइँमा झरेका फलफूल नखाने र प्रयोग गर्नुअघि राम्ररी पखाल्ने । बिरामी सुँगुर वा अन्य जनावरसँग प्रत्यक्ष सम्पर्कमा नआउने, सकेसम्म सुँगुरको मासु नखाने, खानै परेर राम्रोसँग पकाएर मात्र खाने । साबुन पानीले नियमित हात धुने र संक्रमित व्यक्तिको हेरचाह गर्दा पीपीई वा मास्क र पन्जाको प्रयोग गर्ने ।
नेपालमा निपा भाइरसको संका लागेमा नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा व्यवस्था मिलाइएको छ । यदि कसैलाई एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
(लेखक बिनिता खनाल पूर्वाञ्चल विश्वद्यालयमा जनस्वास्थ्यमा स्नातक अध्ययनरत छिन् )
प्रतिक्रिया 4