News Summary
Generated by OK AI. Editorially reviewed.- प्लानिङ ब्वाइज युनाइटेड क्लबले एनआरटीलाई २–० गोलले हराउँदै बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
- खेलको ४३औं मिनेटमा केबेले र ८२औं मिनेटमा स्याम मुर्मुले गोल गर्दै प्लानिङ ब्वाइजलाई जित दिलाए।
- प्लानिङ ब्वाइजका गोलरक्षक योगेश धिमाललाई म्यान अफ द म्याच घोषित गरियो र उनले नगद १० हजार रुपैयाँ पाए।
२४ माघ, सुनसरी । धरान रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै प्लानिङ अगाडि बढेको हो ।
एनआरटीलाई २–० गोलले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुग्न सफल भयो। प्लानिङ ब्वाइजका लागि खेलको ४३औं मिनेटमा केबेले रोमन भुजेलको क्रस पासमा सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ८२औं मिनेटमा रोमन भुजेलकै उत्कृष्ट पासमा स्याम मुर्मुले अर्को गोल थप्दै जित सुनिश्चित गरे।
पहिलो गोल खाएपछि आक्रामक बनेको एनआरटीले भने अवसरहरू सिर्जना गरे पनि गोल फर्काउन सकेन। खेलको ६५औं मिनेटमा बिबेक गुरुङको फ्रिकिकमा आशिष गुरुङले गरेको हेडर पोस्टमा लागेर फर्किएको थियो। मनिष डाँगीको शक्तिशाली प्रहार पनि लक्ष्यभन्दा बाहिरिएको थियो।
खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाइजका गोलरक्षक योगेश धिमाल घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
अब प्लानिङ ब्वाइजले सेमिफाइनलमा लालीगुराँस क्लब र आयोजक धरान फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनियनबीच खेल हुनेछ।
प्रतिक्रिया 4