+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

नेपाली समाजमा देखिएका यी ४ ‘डेटिङ कल्चर’

उनीहरू घुमफिर गर्छन् । कुराकानी गर्छन् । कहिलेकाहीँ शारीरिक सम्बन्ध राख्छन् । तर, भावनात्मक रूपमा धेरै गहिरो जाँदैनन् ।

सापेक्ष सापेक्ष
२०८२ फागुन २ गते १२:५५

प्रणय सप्ताहान्तमा प्रेम र सम्बन्धका कुरा हुनु स्वाभाविक हो । अहिले नेपाल विभिन्न क्षेत्रका व्यक्ति, आम मान्छेदेखि नेपाल प्रहरीसम्मले आफ्ना अभिव्यक्ति तथा गतिविधिमा प्रेम विषयलाई जोडिरहेका छन् । खासमा हामीले सम्बन्धबारे अझ कुरा गर्नु आवश्यक हुन्छ । यसले सचेतना फैलाउने मात्र नभएर कतिपय खराब कुरा हुनबाट समेत बचाउँछ ।

उ बेला नेपाली समाजमा प्रेम र यौनका कुराहरू गर्नु बन्देजसमान थियो । लाजको विषय थियो । त्यसकारण यी विषयमा धेरैले खुलेर कुरा गर्दैनथे । समयको बदलाब र शहरी रहनसहनको प्रभावले उक्त प्रवृत्तिमा परिवर्तन ल्याउँदै गयो ।

त्यसपछि प्रेम गर्ने र साथी रोज्ने चलन नेपालमा सतहमा देखिन थाले । हुलाकमार्फत पत्र पठाएर साथी बनाउने, मनपरेका व्यक्तिहरूलाई प्रेम पत्र पठाएर प्रेमप्रस्ताव राख्ने देखि हिरो, हिरोइनका फोटो भएका पोस्टकार्डहरू पठाउने चलन आए । शहरतिर फिल्म हलको पछिल्लो सिटमा जोडीहरू सँगै देखिने र पार्कहरू नारिएर बस्ने ढर्राहरू आए ।

यद्यपि निश्चित वृत्तबाहेकमा आफ्नो जोडीलाई लुकाउने अथवा परिवार/आफन्तलाई छलेर ‘लुकीछिपी’ भेट्ने चलन भयो, रहिरह्यो । जसलाई अङ्ग्रेजी शब्द ‘डेटिङ’का नामले चर्चित बनाइयो । अर्थात् प्रेमी-प्रेमिका भेट्नु, घुम्न जानु अथवा सँगै समय बिताउनुलाई डेटिङ भनेर चिनियो ।

अहिलेको नेपाली समाजमा डेटिङमा केही खुलापन र आधुनिकता आएको देखिन्छ । तर सबैमा यो लागू हुँदैन ।

परिचय खुलाउन नचाहने केही व्यक्ति र अनलाइन रिसर्चका आधारमा हामीले नेपालमा प्रचलित केही डेटिङ कल्चरहरूबारे उल्लेख गरेका छौं ।

अनलाइन डेटिङ

अधिकांश विकसित देशमा अनलाइन डेटिङ सामान्य हो । डेटिङकै खातिर भनेर कतिपय ठाउँमा त मोबाइल एप नै बनाइएका पनि छन् । प्राय: अनलाइन डेटिङ क्लचरलाई ‘लेफ्ट-राइट स्वाइप’को उपमाले समेत सम्बोधन गर्ने गरिन्छ । यसको खास उद्देश्य त आफ्ना लागि पार्टनर खोज्ने नै हो । तर, नेपालमा भने तुलनात्मक रुपमा त्यस्तो प्रवृत्ति कमै भएको पाइयो ।

यद्यपि साइनो, डार्लिभो जस्ता नेपाली प्लेटफर्म ‘एक्जिस्ट’मा छन् भने टिन्डर, बम्बल, तान तान जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्म पनि प्रयोगमा छन् । यसले नेपालमा अनलाइन डेटिङ चलनमा रहेको पुष्टि गर्छ ।

त्यस्तै नेपालीका रेडिटतिरका अनलाइन डेटिङ अनुभव पढ्दा प्राय: शहरी क्षेत्रका व्यक्तिहरूले यस्तो गर्ने पाइयो । आफ्नो रुचि मिल्ने व्यक्ति भेट्न सजिलो हुने भएकाले अनलाइन डेटिङ सजिलो हुने उनीहरूको तर्क रहेको पाइन्छ ।

यद्यपि धेरैले भने सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम)लाई नै अनलाइन डेटिङको माध्यम बनाइरहेको पाइयो । यी प्लेटफर्महरूको मुल उद्देश्य सामाजिककरण हो । तर, डेटिङ पनि सामाजिकरणकै पाटो भएकाले यसमा अनलाइन डेटिङ अभ्यासमा रहेको हामीले कुराकानी गरेका पात्रहरूले बताए । अनलाइनमा देखिनेलाई फ्रेन्ड रिक्वेस्ट पठाउने, च्याट गर्ने र भेट्ने– यसरी सम्बन्ध स्थापित भएको उनीहरूले उदाहरण दिए ।

क्याजुअल डेटिङ

अहिलेका शहरिया युवापुस्ताबीच क्याजुअल डेटिङ ह्वात्तै बढेको पाइयो । लेखका लागि कुराकानी गर्दा उनिहरूले ‘सिरियस’ सम्बन्धभन्दा ‘क्याजुअल’ राम्रो हुने बताए । किनकि सामान्य सम्बन्धमा जस्तो यसमा तनाव नहुने, डर नहुने, बाध्यता नहुने, धोका नहुने तर्क उनीहरूले दिए ।

खास क्यासुअल डेटिङ भनेको पूर्ण ‘प्रतिबद्धता’ बिना गरिने सम्बन्ध हो । यसमा ब्वाइफ्रेन्ड/गर्लफ्रेन्डको लेबल लाग्दैन । स्ट्रिङ्स अट्याचमेन्ट हुँदैन । तर, पनि उनीहरू घुमफिर गर्छन् । कुराकानी गर्छन् । कहिलेकाहीँ शारीरिक सम्बन्ध राख्छन् । तर, दुवै पक्ष भावनात्मक रूपमा धेरै गहिरो जाँदैनन् ।

कतिपयले परिस्थितिलाई नै क्याजुअल डेटिङको अर्थमा समेत लिने गरेको बताए । यो अहिलेको समयको अलि जटिल तर चर्चित ट्रेन्ड हो । यसमा दुई जनाबीच राम्रो कनेक्सन हुन्छ । नियमित च्याट र डेट हुन्छ । तर, ‘हाम्रो सम्बन्ध के हो ?’ भनेर उनीहरूले कहिल्यै पनि स्पष्ट कुरा गर्दैनन् ।

कफी डेट

हाम्रो कुराकानीमा आएका धेरैले पहिलो भेट (भौतिक)का लागि कफी डेट गर्ने बताए । सुरक्षित दूरी पनि कायम हुने, धेरै खर्चिलो पनि नहुने अर्थात् म्युचुअल ग्राउन्ड हुने भएकाले कफी डेट राम्रो भएको उनीहरूले सुनाए ।

कतिपयले भने सम्बन्ध स्थापित भइसकेको लामो समयसम्म पनि यसलाई नै निरन्तरता दिने बताए । राम्ररी कुरा गर्न पाइने, छोटोदेखि लामो बसाइ गर्न सकिने, कफी शपको शान्त वातावरण र मधुर संगीतको आनन्द लिन पाइने जस्ता कुराहरू कफी डेटमा सहजता भएको उनीहरूले सुनाए । महँगा होटलमा डिनर अथवा लञ्चका लागि जान समस्या हुँदा पनि कफी डेट प्राथमिकतामा परेको उनीहरूको स्पष्टोक्ति छ ।

त्यस्तै कफी डेटका लागि साँझ नै कुर्नुपर्दछ भन्ने छैन । अफिसको ब्रेकमा, कलेज पछिको समयमा वा दिउँसोको फुर्सदमा पनि कफी डेट सेट गर्न सकिने उनीहरूको भनाइ छ । त्यसमा कतिपयले पैसा तिर्ने सन्दर्भमा एक जनाले मात्र नतिरेर ‘स्प्लिट द बिल’ पनि अभ्यास रहेको सुनाए । यो भनेको उठेको खर्च आधाआधा बेहोर्ने हो ।

केही भने कफी डेटसँगै, हाइकिङ, फिल्म हेर्ने, मल जाने, सपिङ जाने, कन्सर्टमा जाने पनि गरेको पाइयो ।

लङ डिस्टेन्स

सम्बन्धहरू एउटै ठाउँ, एउटै क्षेत्रका व्यक्तिहरूसँग मात्र हुन्छ भन्ने छैन । आजकल टाढाटाढा व्यक्तिहरू पनि सम्बन्धमा रहन्छन् । अनि कोही भने सम्बन्ध स्थापित भएपछि रोजगारी वा अध्ययनका सिलसिलामा टाढा रहनुपर्ने बाध्यात्मक अवस्था आइदिन्छ ।

यस प्रकारका सम्बन्धलाई लङ डिस्टेन्स रिलेसनसिप भनिन्छ । यस्तोमा भिडियो कल अथवा सामाजिक सञ्जालमार्फत गरिने ‘डिजिटल डेटिङ’ले धेरै राहत दिएको छ । हाम्रो कुराकानीका लागि सम्पर्क आएका मध्ये केही जना लङ डिस्टेन्समा थिए ।

यदि नेपाल भित्र नै भए उनीहरूले वर्षमा केही पटक विशेष परिस्थितिमा एकअर्कासँग भेट्ने गरेको बताए । विदेशमा रहेकाले भने ‘अब आफू पनि विदेश जाने’ अथवा ‘कुर्ने’ बताए ।

यसरी अहिले नेपाली समाजमा डेटिङ कल्चर परम्परागत र आधुनिकताको संगममा उभिएको देखिन्छ । यसले एकातिर स्वतन्त्रता र छनोटको अवसर दिएको छ भने अर्कोतिर सम्बन्धमा अस्थिरता र केही चुनौतीहरू पनि पक्कै थपेको छ । तर जे भए पनि स्वस्थ संवाद र सम्मान नै जुनसुकै डेटिङको आधार हुनुपर्ने धेरैले बताउँछन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?