वि.सं.२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएर प्रजातन्त्रको स्थापना भयो । त्यसैले यस दिनलाई हामीले विशेष दिनका रूपमा महत्वका साथ सम्झने गर्ने गर्छौँ ।
२००७ सालको राजनीतिक परिवर्तन ल्याउनमा रानजीतिक पार्टी, राजा त्रिभुवन र सचेत नेपाली जनताको प्रत्यक्ष संलग्नता थियो । यसमा भारतीय पक्षले पनि सहयोग गरेको थियो । तर पर्दापछाडि रहेर त्यस राजनीतिक परिवर्तनलाई सहयोग गर्ने व्यक्तित्वहरू थुप्रै थिए । इतिहासमा उनीहरूको खासै चर्चा भएको छैन ।
राणा शासन अन्त्यको अभियानमा केही विदेशी स्वास्थ्यकर्मीहरूले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूबारे खासै चर्चा भएको पाइँदैन
१.एरिका ल्युक्ट्याग
एरिका ल्युक्ट्याग जर्मन फिजियोथेरापिस्ट हुन् । हिटलरको निरंकुशताका कारण उनी देश छाडेर बेलायतमा शरणार्थी हुनुपरेको थियो । वि.सं.२००५ सालतिर भारतको पटियालाकी महारानीको पाहुना भएर बसेकी थिइन् । सोही समयमा उनलाई एक युरोपियन चिकित्सकले नेपालको राजदरबारमा आई सेवा दिन सिफारिस गर्दै पत्र पठाए । त्यो आग्रह स्वीकार गर्दै उनी काठमाडौं आउन तयार भइन् ।
नेपालको विदेश विभागको अनुमति लिई मासिक २ हजार रुपैयाँ पारिश्रमिक लिने गरी २००५ फागुनदेखि राजा त्रिभुवनकी जेठी महारानी कान्ति राज्यलक्ष्मीको शारीरिक उपचारकका रूपमा दरबारमा प्रवेश गरिन् ।
यसपछि एरिकाको राजा भित्रुवनसँग निकै आत्मीय सम्बन्ध रह्यो । उनीहरू एक–अर्कालाई विश्वास गर्न थाले र आन्तरिक कुराहरू पनि हुन्थे । एरिकाले भित्रुवनलाई अद्धितीय पुरुषत्व भएको व्यक्ति ठानिन् । राजा त्रिभुवनले एरिका नेपालबाट भारत फर्कने बेलामा ‘म अब तिम्रो हातमा छु’ भन्नेसम्मको विश्वास व्यक्त गरेका थिए ।
निकट सम्बन्ध हुन थालेपछि त्रिभुवन र एरिकाको बीचमा राजनीतिक विषयमा पनि कुराकानी हुन थाल्यो । राणाहरूको शासनबाट राजा स्वतन्त्र हुन चाहन्छन् भन्ने कुरा एरिकाले भित्रुवनमार्फत थाहा पाइन् । त्यसमा एरिकाले कसरी सहयोग गर्न सक्छिन् भनेर योजना बन्यो ।
तत्कालीन नेपालका लागि भारतीय राजदूत सुरजीत सिंह मजिठिया र एरिका यसअघि नै परिचित थिए । भारतको पटियाला दरबारमा पहिले नै उनीहरूको भेटघाट र चिनजान भइसकेको थियो । यहाँ पनि उनीहरूबीच नियमित भेटघाट र कुराकानी भइरहन्थ्यो । राणाहरूको निगरानीबाट निराश र हतास राजा त्रिभुवनलाई संवैधानिक राजा भएर बस्ने राजनीतिक वातावरण बनाउन राजदूत मजिठिया र एरिका सहमत भए ।
यस विषयमा मजिठिया र एरिकाबीच छलफल भएपछि राजदूत मजिठियाले तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूलाई यसबारे अवगत गराए । उनीबाट भावी योजनाका लागि स्वीकृति लिए ।
त्यसपछि राजा त्रिभुवन, एरिका र राजदूतका बीचमा भावी योजनाका बारेमा कुराकानी गर्ने वातावरण बनाउन एरिकाले रणनीति बनाउन थालिन् ।
राजा र एरिकाको बीचमा चिठ्ठी पत्र आदान–प्रदान गर्नका लागि विश्वासिलो र भरपर्दो व्यक्तिको खोजी भयो । त्यसका लागि त्यो समय वीर अस्पतालमा कार्यरत बंगाली मुलका चिकित्सक डा.देवव्रतदास गुप्ता छानिए । सो कामका लागि डा.गुप्ता पनि तयार भए । उनले दरबारमै गएर राजपरिवारको उपचार पनि गर्थे ।
चिठीपत्रको आदान–प्रदान अति गोप्य हुनु अनिवार्य थियो । त्यसका लागि राजा र एरिकाका बीचमा कुराकानी गर्न कोड भाषाका लागि सांकेतिक शब्दहरू चयन गरियो । जस्तैः भारतीय प्रधानमन्त्री नेहरूलाई ‘डाक्टर’ भन्ने सहमति भएको थियो । त्यसैगरी राणालाई ‘सर्प’, चिठीलाई ‘फूल’, राजदूतलाई ‘चरा’, डाक्टर गुप्तालाई ‘परेवा’, भारतीय सहयोगलाई ‘मिठाइ’, दरबारलाई ‘बगैंचा’ भन्ने गरी कोड शब्दहरू तय गरिएको थियो । यस्ता अन्य थुप्रै सांकेतिक शब्दहरू थिए ।
यी कुराहरू मिलाइसकेपछि करिब ६ महिना काठमाडौं बसेकी एरिका त्रिभुवनसँग विदा भएर भारतको सिमलातिर लागिन् ।
सिमलाबाट एरिकाले राजा त्रिभुवनलाई प्रत्येक दिनजस्तै पत्र लेख्थिन् । ती पत्रहरू डा.गुप्तामार्फत राजा त्रिभुवनको हातमा पर्थ्यो । भारतमा बसेर नेपालीहरूले राणाविरोधी के–कस्ता गतिविधि गरेका छन् ती सबै विवरण एरिकाले त्रिभुवनलाई पठाउँथिन् ।
एरिका भारत गएपछि भारतीय राजदूतले प्रधानमन्त्री नेहरूलाई भेटेर राजा त्रिभुवनलाई नेहरूले लेखेको पत्र लिई नेपाल फर्किए । त्यो पत्र राजाकहाँ पुर्याए ।
यस विषयमा त्रिभुवनले एरिकालाई पत्र लेखेका थिए । एरिकालाई पठाएको पत्रमा उनले लेखका थिए, ‘चराले बगैंचामा आएर मलाई डाक्टरको फूल दिए ।’ यस्ता पत्रमा त्रिभुवनलाई एचलाल र एरिकालाई लक्ष्मी भनेर सम्बोधन गरिएको हुन्थ्यो।
यसरी जर्मनमा जन्मिएर स्वीडेनमा शारीरिक चिकित्सा सम्बन्धी तालिम लिई भारतको सिमलामा कार्यरत स्वास्थ्यकर्मी एरिकाले राणा शासनको अन्त्य गर्न योगदान पुर्याइन् । उनले राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूका बीचमा सम्पर्क स्थापित गराइदिने सेतु/सुत्रको काम गरिन् ।
उनी नभएको भए राणा शासनको पतन त्यति छिट्टै सम्भव हुन्थ्यो कि हुँदैन थ्यो ? भन्ने प्रश्न हाम्रोसामु उभिन्छ ।
२.डा.देवव्रतदास गुप्ता
राण शासनको समयमा वीर अस्पतालमा काम गर्ने चिकित्सकहरू भारतका कलकत्ता लगायतका ठूला शहरहरूबाट ल्याइन्थ्यो । डा.देवव्रतदास गुप्ता बंगाली मुलका चिकित्सक थिए । उनी वीर अस्पतालको प्रमुख भएर समेत काम गरे । राजपरिवारको चिकित्सकका रूपमा पनि काम गर्थे । उनले इटालीको रोमबाट चिकित्सासम्बन्धी पढाइ र तालिम लिएका थिए ।
वीर अस्पतालमा कार्यरत रहँदा श्रीमती र ३ छोराछोरीसहित सरकारले उपलब्ध गराएको आवासमा बस्ने गर्थे ।
राणा शासनको अन्त्यतिर एरिका ल्युक्ट्यागको सम्पर्कमा आएपछि राजा त्रिभुवन र एरिकाको बीचमा भएका चिठीपत्रहरूको आदान–प्रदान अन्त्यन्तै गोप्य किसिमले यिनीमार्फत नै हुन्थ्यो । यिनले नेपालस्थित भारतीय दूतावाससँग पनि उत्तिकै नजिक रहेर काम गरे ।
राजा त्रिभुवन र भारतीय राजदूतबीचका भित्री कुराहरू ओसार–प्रसार गर्दथे ।
डा.गुप्ता समाजसेवी दरावीरसिंह कंसाकार, वासुपासाहरूसँग मिलेर राजा त्रिभुवन दिल्लीको शरणमा पुगेपछि ‘राजा छिटो फर्केर नआए नेपालमा अराजकता फैलिन्छ, त्यसकारण राजा र नेता चाँडै फर्किआऊ’ भन्ने कागज बनाएर सामूहिक हस्ताक्षर गराई दिल्ली पठाउने काम गर्थे ।
यसरी डा.देवव्रतदास गुप्ता चिकित्सा सेवामा मात्रै सीमित नभई नेपालको राजनीतिक परिवर्तनको मिसनमा समेत सहभागी बने ।
३.डा.सीता राव
यिनी दक्षिण भारतकी बासिन्दा हुन् । यिनलाई लेडी डाक्टर राव र कसै–कसैले लङ्गडी डाक्टर पनि भन्थे । वि.सं. १९९१ सालदेखि वीर अस्पताल र राजदरबारमा सेवा दिन थालेकी थिइन् ।
यिनले कविकेशरी चित्तधर हृदयकी बहिनी मोलीलक्ष्मी र केही स्थानीयसँग मिलेर म्याक्सिम गोर्कीको ‘आमा’ जस्ता क्रान्तिकारी साहित्यिक पुस्तक र पत्रिकाहरू राजा त्रिभुवनलाई पुर्याउँथिन् । यस्ता पत्रिका र पुस्तकहरूको अध्ययनले राजालाई राजनीतिक परिवर्तनको पक्षमा उभिन ऊर्जा मिल्यो ।
४.डा. हजारा
यिनी भारतीय मुलका चिकित्सक हुन् । राणा कालमा वीर अस्पतालमा कार्यरत थिए । डा.देवव्रतदास गुप्ता र अमृत भण्डारका मालिक बीएल शर्मासँग मिली डा.हजाराले राजा त्रिभुवन र भारतीय राजदूतका खबरहरू गोप्यरूपमा आदान–प्रदान गर्दथे । जसले राणा शासन विरोधी आन्दोलनलाई सहयोग पुर्यायो ।
००० ०००
यहाँनेर भुल्नै नहुने विषय के छ भने एरिका ल्युक्ट्यागलाई नेपालको राजदरबारमा आउन प्रेरित गर्ने युरोपियन चिकित्सक र बेलायती राजदूतावासमा काम गर्ने धेरै बेलायती चिकित्सकहरूको पनि राणा शासन अन्त्य गर्न योगदान छ ।
उनीहरूले नेपथ्यमा रहेर राणा शासनको अन्त्य र नागरिक अधिकारका लागि योगदान दिएका थिए । उनीहरूको बारेमा पनि खोजी र अनुसन्धान आवश्यक छ ।
प्रतिक्रिया 4