+

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

२०८२ फागुन  १० गते १२:१२ २०८२ फागुन १० गते १२:१२
Shares
के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाइपरड्रोसिसमा शरीरका पसिना ग्रन्थी अत्यधिक सक्रिय भएर आवश्यकता भन्दा धेरै पसिना उत्पादन गर्छन्।
  • प्राइमरी हाइपरहाइड्रोसिस किशोरावस्था वा युवावस्थामा सुरु हुन्छ र हात, खुट्टा, काँखी र अनुहारमा सीमित हुन्छ।
  • हाइपरहाइड्रोसिसको उपचारमा औषधि, बोटक्स इन्जेक्सन, आयोनटोफोरेसिस र गम्भीर अवस्थामा सर्जिकल प्रक्रिया प्रयोग गरिन्छ।

हातमा पसिना आउनु सामान्य कुरा हो । गर्मी लाग्दा, डर लाग्दा वा तनाव हुँदा पसिनाले हात भिज्नु स्वाभाविक हो । तर, चिसो हावामा बस्दा पनि हात सधैं भिजिरहन्छ भने यसलाई सामान्य मानिँदैन । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘हाइपरड्रोसिस’ भनिन्छ ।

हाइपरहाइड्रोसिसमा शरीरका पसिना ग्रन्थी अत्यधिक सक्रिय हुन्छन् र आवश्यकता भन्दा धेरै पसिना उत्पादन गर्छन् । यसले दैनिक जीवन, आत्मविश्वास र सामाजिक व्यवहारमा समेत असर पार्न सक्छ ।

हाइपरहाइड्रोसिस कस्तो समस्या ?

सामान्यतया शरीरले तापक्रम सन्तुलन राख्न पसिना निकाल्छ । तर हाइपरहाइड्रोसिसमा शरीरलाई त्यति आवश्यकता नहुँदा पनि पसिना ग्रन्थी अत्यधिक सक्रिय भइदिन्छन् । यसको कारणले हात सधैं भिजेको, चिप्लो वा चिसो महसुस हुन्छ । यसले दैनिक जीवनमा असहजता मात्र होइन, आत्मविश्वासमा पनि असर पुर्‍याउन सक्छ, जस्तै कसैसँग हात मिलाउँदा लाज लाग्नु, कागज समाउँदा भिज्नु वा मोबाइल प्रयोग गर्दा समस्या हुनु ।

हाइपरहाइड्रोसिस दुई प्रकारको हुन्छ, प्राइमरी र सेकेन्डरी ।

प्राइमरी हाइपरहाइड्रोसिस प्रायः किशोरावस्था वा युवावस्थामा सुरु हुन्छ र स्पष्ट रोगबिना देखिन्छ । यो प्रायः हात, खुट्टा, काँखी र अनुहारमा सीमित हुन्छ । सेकेन्डरी हाइपरहाइड्रोसिस भने कुनै अन्य स्वास्थ्य समस्या, हर्मोन असन्तुलन वा औषधिको प्रभावका कारण हुन्छ । यसमा शरीरका ठूला भागमा समेत पसिना आउन सक्छ । सही प्रकार पहिचान गर्न चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

हातमा धेरै पसिना आउनुका सम्भावित कारण

हातमा अत्यधिक पसिना आउनुका विभिन्न कारण हुन सक्छन् । सबैभन्दा सामान्य कारण पसिना ग्रन्थीको अत्यधिक सक्रियता हो, जसले शरीरको तापक्रम सामान्य भए पनि पसिना उत्पादन गरिरहन्छ ।

वंशाणुगत कारण पनि महत्वपूर्ण हुन्छ । परिवारका सदस्यमा यस्तो समस्या भएमा अर्को पुस्तामा पनि देखिन सक्छ । मानसिक तनाव, चिन्ता, सामाजिक डर वा ‘स्टेज फियरले सिम्पेथेटिक नर्भस सिस्टम’ सक्रिय पार्छ, जसले तुरुन्तै हात चिसो र पसिनायुक्त बनाउँछ ।

मधुमेह भएका व्यक्तिमा रगतमा चिनीको स्तर घट्दा चिसो पसिना आउन सक्छ । थाइराइड ग्रन्थीको अत्यधिक सक्रियता (हाइपरथाइराइडिज्म) हुँदा शरीरको मेटाबोलिज्म बढ्छ र पसिना बढी आउँछ ।

रजोनिवृत्ति अर्थात् महिनावारी सुक्ने समयमा महिलामा हर्मोन परिवर्तनले पनि हात र शरीरमा पसिना बढाउन सक्छ । मोटोपना, मुटुसम्बन्धी समस्या, स्नायु प्रणालीको गडबडी तथा केही औषधिको साइड इफेक्टले पनि यस्तो समस्या निम्त्याउन सक्छ ।

कहिले चिन्तित हुने ?

हातमा पसिना आउनु सधैं गम्भीर रोगको संकेत नहुन सक्छ । तर केही अवस्थाहरूमा यसलाई गम्भीर रूपमा लिन आवश्यक हुन्छ । यदि अचानक अत्यधिक पसिना सुरु भयो, राति सुत्दा पनि हात भिजिरह्यो, वा दैनिक काम गर्न असहज हुने गरी समस्या बढ्यो भने चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।

विशेषगरी पसिनासँगै तौल घट्नु, मुटुको धड्कन तीव्र हुनु, अत्यधिक थकान, चक्कर आउनु वा हात काँप्नु जस्ता लक्षण देखिएमा थप जाँच आवश्यक हुनसक्छ । यदि छाती दुखाइ, श्वास फेर्न गाह्रो हुनु र चिसो पसिना एकैसाथ आयो भने यो आपतकालीन अवस्था पनि हुन सक्छ ।

मधुमेह भएका बिरामीमा अचानक पसिना आउनु लो ब्लड सुगरको संकेत हुन सक्छ, जसलाई तुरुन्त नियन्त्रण गर्नुपर्छ । बालबालिकामा अत्यधिक पसिना देखिएमा पनि बालरोग विशेषज्ञसँग सल्लाह लिनु उचित हुन्छ । समयमै जाँच गराउँदा गम्भीर समस्या भए पनि प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिन्छ ।

उपचार के–के छन् ?

हाइपरहाइड्रोसिसको उपचार समस्या कति गम्भीर छ भन्ने आधारमा फरक–फरक हुनसक्छ । सामान्य अवस्थामा चिकित्सकले पसिना ग्रन्थीको सक्रियता घटाउने औषधि प्रयोग गर्न सल्लाह दिन सक्छन् ।

यदि यसले काम नगरेमा केही औषधि दिइन्छ, जसले नर्भ सिग्नललाई नियन्त्रण गरी पसिना कम गर्छ । तर औषधि चिकित्सकको निगरानीमा मात्र लिनुपर्छ ।

बोटक्स इन्जेक्सन अर्को प्रभावकारी विकल्प हो । यसले पसिना उत्पादन गर्ने नर्भ सिग्नललाई अस्थायी रूपमा रोक्छ र केही महिनासम्म राहत दिन सक्छ ।

‘आयोनटोफोरेसिस’ नामक विधिमा हल्का विद्युत् प्रवाह प्रयोग गरेर हातको पसिना घटाइन्छ । अत्यन्त गम्भीर अवस्थामा सर्जिकल प्रक्रियाबाट पसिना नियन्त्रण गर्न नर्भलाई काटिन्छ, तर यो अन्तिम विकल्प हो ।

उपचार सुरु गर्नुअघि कारण पहिचान गर्नु अत्यन्त जरुरी हुन्छ, किनकि सेकेन्डरी कारण भए मूल रोगको उपचार गर्नुपर्ने हुन्छ ।

जीवनशैली परिवर्तन

जीवनशैली सुधारले हातको पसिना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । सास फेर्न मिल्ने हल्का कपडा लगाउनु, अत्यधिक मसलेदार खाना, क्याफिन र तातो पेय पदार्थ कम गर्नु उपयोगी हुन्छ ।

नियमित व्यायामले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ र हर्मोन सन्तुलनमा सहयोग पुर्‍याउँछ । तनाव कम गर्न ध्यान, योग, गहिरो श्वास अभ्यास तथा पर्याप्त निद्रा आवश्यक हुन्छ।

यी उपायहरू अस्थायी राहतका लागि मात्र हुन् ।

दीर्घकालीन वा गम्भीर समस्या भएमा विशेषज्ञ चिकित्सकको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय हो ।

छाला पसिना
प्रा. डा. सविना भट्टराई
लेखक
प्रा. डा. सविना भट्टराई
छाला तथा कस्मेटिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २७०१ एमबीबीएस (कोलकाता मेडिकल कलेज), एमडी (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) काठमाडौं मेडिकल कलेजकी पूर्वउपाध्यक्ष तथा विभागीय प्रमुख, हाल काठमाडौंको नागपोखरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम