+

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

२०८२ फागुन  २६ गते १५:१८ २०८२ फागुन २६ गते १५:१८

नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रम सुरु भएको झण्डै एक दशक भइसके पनि यो अझै पूर्णरूपमा सुदृढ हुन संघर्षरत छ ।

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा अंग प्रत्यारोपण नीति तथा कानुन समयानुकूल, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ।

नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको छ । तर अंग फैल हुने समस्याबाट पीडित हजारौं बिरामीहरू आज पनि जीवन र मृत्युको संघर्षमा छन् । पर्याप्त अंग उपलब्ध नहुनु, कमजोर समन्वय प्रणाली, सीमित पूर्वाधार र जनचेतनाको कमीका कारण धेरै बिरामीहरू प्रत्यारोपणको प्रतीक्षामै ज्यान गुमाउन बाध्य छन् ।

यस अवस्थालाई बदल्न नेपालमा राष्ट्रिय अंग प्रत्यारोपण नीति तथा कानुन निर्माण तथा सुधार अति आवश्यक भइसकेको छ । त्यसलाई समयानुकूल, पारदर्शी र प्रभावकारी बनाउनु जरुरी छ ।

अंगदानसम्बन्धी जनचेतना विस्तार गर्नु पहिलो महत्वपूर्ण कदम हो । अझै पनि धेरै नेपाली परिवारहरूमा अंगदानबारे स्पष्ट जानकारी छैन । जानकारी हुँदा पनि सामाजिक तथा सांस्कृतिक भ्रमका कारण यस विषयमा कुरा गर्न हिच्किचाउँछन् ।

सञ्चारमाध्यम, विद्यालय, सामुदायिक कार्यक्रम तथा स्वास्थ्य संस्थामार्फत व्यापक जनचेतना अभियान सञ्चालन गर्न सके अंगदानप्रति सकारात्मक सोच विकास गर्न सकिन्छ। यससँगै स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिनु आवश्यक छ, ताकि सम्भावित दाताको पहिचान, परिवारसँग संवाद तथा दान प्रक्रिया प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकियोस् ।

अंगदानलाई दीर्घकालीन रूपमा समाजमा स्थापित गर्न शिक्षा प्रणालीको भूमिका पनि महत्वपूर्ण हुन्छ । उच्च माध्यमिक तहको पाठ्यक्रममा अंगदान र प्रत्यारोपणसम्बन्धी विषय समावेश गरिनुपर्छ, ताकि नयाँ पुस्ताले सानैदेखि यसको महत्व बुझ्न सकुन् । त्यस्तै एमबीबीएस, नर्सिङ तथा अन्य स्वास्थ्यसम्बन्धी तालिम कार्यक्रमहरूमा पनि अंगदान प्रणाली, नैतिकता तथा प्रत्यारोपण समन्वयसम्बन्धी विषय समावेश गर्न आवश्यक छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको अंग प्रत्यारोपण प्रणालीप्रति जनविश्वास निर्माण गर्नु हो । कतिपय मानिसहरू अंगदान गर्न इच्छुक भए पनि अंग वितरण प्रक्रिया निष्पक्ष हुन्छ कि हुँदैन भन्ने चिन्ताले पछि हट्ने गर्छन् । त्यसैले अंग वितरण प्रणाली पूर्णरूपमा पारदर्शी, उत्तरदायी र वैज्ञानिक मापदण्डका आधारमा सञ्चालन हुनुपर्छ ।

यसका लागि डिजिटल र सहज पहुँचयोग्य राष्ट्रिय अंगदाता दर्ता प्रणाली स्थापना गर्नु आवश्यक छ । नागरिकहरूले अनलाइन वा सरकारी सेवामार्फत सजिलै आफूलाई अंगदाता भनेर दर्ता गर्न सक्ने व्यवस्था हुनुपर्छ ।

अझ प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्रमा अंगदाता बन्ने इच्छा जनाउने विकल्प समावेश गरिएमा दाताहरूको संख्या उल्लेखनीय रूपमा बढ्न सक्छ । यसले व्यक्तिको निर्णयलाई आधिकारिक रूपमा अभिलेख गर्न र आवश्यक परेको अवस्थामा स्वास्थ्य प्रणालीलाई तुरुन्त जानकारी उपलब्ध गराउन मद्दत पुर्‍याउँछ।

त्यसैगरी केन्द्रीय, स्वतन्त्र र कम्प्युटराइज्ड प्रतिक्षा सूची तथा अंग वितरण प्रणाली स्थापना गर्नु पनि अत्यन्त जरुरी छ । हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अन्तर्गत रहेको ब्रेन डेथ डोनेशन कार्यक्रम समन्वय इकाइले प्रतिक्षा सूची व्यवस्थापन गर्दै आएको छ । तर यस प्रणालीलाई अझ स्वतन्त्र, समावेशी र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने बनाइनुपर्छ ।

स्वतन्त्र र पारदर्शी अंग वितरण प्रणालीले अंग वितरण प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउँदै जनविश्वास बढाउन मद्दत गर्छ । देशका धेरै अस्पतालहरू हालको समन्वय संरचनासँग पूर्ण रूपमा सहकार्य गर्न हिच्किचाइरहेका देखिन्छन् ।

यसको एउटा कारण समन्वय प्रणाली पर्याप्त समावेशी नभएको र सबै सरोकारवालालाई समान रूपमा सहभागी गराउने वातावरण अझै सुदृढ हुन नसकेकोले हो । प्रभावकारी राष्ट्रिय प्रत्यारोपण प्रणाली विकास गर्न अस्पतालहरू, सरकारी निकायहरू तथा सम्बन्धित संस्थाहरूबीच खुला, पारदर्शी र समावेशी सहकार्य अत्यन्त आवश्यक छ ।

नीतिगत समन्वय र नेतृत्वको सवाल पनि उत्तिकै महत्वपूर्ण छ । अंग प्रत्यारोपण नीति तथा कार्यक्रमबारे जानकारी लिन खोज्दा स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीहरूबाट स्पष्ट र पर्याप्त जानकारी प्राप्त गर्न कठिन हुने गरेको अनुभव धेरै सरोकारवालाले गरेका छन् ।

कतिपय अवस्थामा अधिकारीहरू आफैं पर्याप्त जानकारीमा नदेखिने र सम्पूर्ण विवरण एक–दुई व्यक्तिमाथि मात्र निर्भर रहेको जस्तो देखिन्छ । यस्तो अवस्था अत्यन्त दुःखद् र चिन्ताजनक छ ।

जब देशमा अझ धेरै जीवन बचाउन अंग प्रत्यारोपण कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता छ, त्यतिबेला संस्थागत जानकारी, उत्तरदायित्व र नेतृत्वको अभावले कार्यक्रमको विकासमा अवरोध सिर्जना गर्न सक्छ।

त्यसैले स्वास्थ्य मन्त्रालयभित्र अंग प्रत्यारोपणसम्बन्धी नीति, कार्यक्रम तथा समन्वय प्रणालीलाई स्पष्ट, संस्थागत र उत्तरदायी बनाउनु अत्यन्त आवश्यक छ । नेपालको प्रत्यारोपण कानुनमा पनि समयानुकूल संशोधन आवश्यक छ । हालको कानुनी व्यवस्था सीमित दायरामा केन्द्रित छ ।

भविष्यमा मृतक दाताबाट मुटु, फोक्सो, प्यान्क्रियाज तथा सानो आन्द्राको प्रत्यारोपण गर्न सक्ने व्यवस्था कानुनमा समावेश गरिनुपर्छ । यसले अंग विफलताबाट पीडित धेरै गम्भीर बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपालमा सडक दुर्घटनाबाट हुने मृत्युको संख्या अत्यन्त चिन्ताजनक छ । प्रत्येक वर्ष देशभरि सयौं मानिसहरूले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । यस्ता धेरै घटनामा गम्भीर मस्तिष्क चोटका कारण ब्रेन डेथ हुने अवस्था आउन सक्छ, जसमा अंगदान सम्भव हुन्छ ।

यदि मृतक दाता प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने एक व्यक्तिको अंग दानले धेरै बिरामीहरूको जीवन बचाउन सक्छ । दुर्भाग्यवश, व्यवस्थित मृतक अंगदान प्रणालीको अभावका कारण धेरै सम्भावित अंगहरू उपयोग हुन नपाई खेर गइरहेका छन् ।

हाल काठमाडौं उपत्यकाका केही अस्पतालहरूमा मात्र मिर्गौला र कलेजो प्रत्यारोपण सेवा उपलब्ध छन्, जसले गर्दा देशभरिका बिरामीहरूको पहुँच अझै सीमित छ । नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रम सुरु भएको झण्डै एक दशक भइसके पनि यो अझै पूर्णरूपमा सुदृढ हुन संघर्षरत छ ।

यसको प्रमुख कारण उच्च लागत, सीमित पूर्वाधार तथा विशेषज्ञ जनशक्तिको अभाव हो । यसको विपरीत मिर्गौला प्रत्यारोपण कार्यक्रमलाई सरकारले अनुदान दिएको कारण बिरामीहरूको पहुँच बढेको छ ।

यही मोडल कलेजो प्रत्यारोपणमा पनि विस्तार गर्न आवश्यक छ।विशेषगरी जन्मजात तथा मेटाबोलिक रोगबाट पीडित बालबालिकाका लागि कलेजो प्रत्यारोपण जीवनरक्षक उपचार हो । तर कलेजो प्रत्यारोपण अत्यन्त महँगो भएकाले धेरै परिवारका लागि यसको खर्च धान्न कठिन हुन्छ । त्यसैले यस्ता बालबालिकाका लागि कलेजो प्रत्यारोपणलाई सरकारले अनुदानयोग्य उपचारका रूपमा समावेश गर्नुपर्छ ।

नेपालको अंग प्रत्यारोपण सम्बन्धी कानुनका निम्न पक्षहरूमा तत्काल संशोधन आवश्यक छ ।

१.ब्रेन डेथ दाताबाट फोक्सो, मुटु, अग्न्याशय र सानो आन्द्राको प्रत्यारोपणलाई कानुनी रूपमा अनुमति दिने व्यवस्था।

२.स्वतन्त्र, पारदर्शी र कम्प्युटराइज्ड राष्ट्रिय अंग प्रतिक्षा सूची स्थापना।

३.डिजिटल र सजिलै पहुँचयोग्य राष्ट्रिय अंग दाता दर्ता प्रणाली, जसलाई राष्ट्रिय परिचयपत्र सँग एकीकृत गर्ने।

४.स्वतन्त्र, पारदर्शी र कम्प्युटराइज्ड राष्ट्रिय अंग वितरण प्रणाली स्थापना।

५.स्वास्थ्य मन्त्रालयअन्तर्गतको अंगदान समन्वय समितिमा संरचनात्मक सुधार गरी यसलाई सक्रिय र प्रभावकारी बनाउने।

६.जन्मजात तथा मेटाबोलिक रोगबाट पीडित बालबालिकाका लागि अनुदानसहितको कलेजो प्रत्यारोपण कार्यक्रम सञ्चालन।

७.उच्च माध्यमिक शिक्षा, नर्सिङ शिक्षा तथा एमबीबीएस पाठ्यक्रममा अंगदान र अंग प्रत्यारोपण सम्बन्धी पाठ समावेश गर्ने।

यस्तो सुधार र प्रभावकारी व्यवस्थापनमार्फत अंगदान र अंग प्रत्यारोपण प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउँदै धेरै नेपाली नागरिकहरूले यसको लाभ लिन सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।

यदि जनचेतना, शिक्षा, पारदर्शी नीति, डिजिटल प्रणाली तथा सरकारी समर्थनलाई सुदृढ बनाउन सकियो भने अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सकिन्छ। यसले नेपालको स्वास्थ्य प्रणालीलाई आधुनिक मात्र बनाउने छैन, असंख्य बिरामीहरूलाई नयाँ जीवन दिने अवसर पनि प्रदान गर्नेछ ।

अंगदान प्रत्यारोपण कानुन
लेखक
डा. प्रदेज सापकोटा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय