News Summary
Generated by OK AI. Editorially reviewed.- पीएम कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत लुम्बिनी प्रदेशका म्यानेजर विजयसिंह ज्ञवालीले अम्पायर हिरालाल राउतमाथि दुर्व्यवहार गरेका छन्।
- लुम्बिनीले १२५ रनको लक्ष्य पछ्याएको खेलमा १२४ रनमा रोकिएपछि अम्पायरको निर्णयप्रति असन्तुष्टि देखाइएको थियो।
- ज्ञवालीलाई एक खेलको प्रतिबन्ध लगाइएको छ र उनले व्यक्तिगत रुपमा माफी मागिसक्नुभएको छ।
१९ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत बुधबार भएको लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ)बीचको खेलपछि अम्पायरलाई दुर्व्यवहार भएको छ ।
खेलपछि अम्पायर हिरालाल राउतमाथि लुम्बिनी प्रदेश टोलीका म्यानेजर विजयसिंह ज्ञवालीले दुर्व्यवहार गरेको स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार खेल सकिएपछि ज्ञवालीले गालीगलौज गर्दै अम्पायरको कानमा लगाएको इयरपिस तान्न खोजेका थिए । एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२४ रनमा रोकिएको थियो ।
अम्पायरले दिएको अन्तिम विकेटमा लुम्बिनीका खेलाडी र म्यानेजमेन्टले असन्तुष्ट जनाएका थिए । सुपर ओभरमा पुगेको उक्त खेल भने लुम्बिनीले जितेको थियो ।
लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यवाहक अध्यक्ष विनय राजभण्डारीले म्यानेजरबाट आवेशमा आएर गल्ती भएको स्वीकार गरे । दुर्व्यवहार गर्ने ज्ञवालीमाथि कारवाही भइसकेको राजभण्डारीले जानकारी दिए ।
‘अम्पायरले जे निर्णय गरेपनि उहाँ (ज्ञवाली) ले त्यस्तो नगर्नुपर्ने हो । आवेशमा आएर जे गर्ने त्यो गल्ती हो । उहाँले व्यक्तिगत रुपमा माफी मागिसक्नुभएको छ’ उनले भने ।
अम्पायरलाई दुर्व्यवहार गर्ने ज्ञवालीलाई म्याच रेफ्रीले एक खेलको प्रतिबन्ध लगाएको नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिएका छन् ।
विनोदका अनुसार लुम्बिनीको आगामी एक खेलमा ज्ञवाली ग्राउण्डमा रहन पाउने छैनन् ।
यसअघि लुम्बिनीको यसभन्दा अघिल्लो खेलमा पनि अम्पायरको निर्णयमाथि असन्तुष्टि जनाउँदै कप्तान देव खनालले मैदानमै बसेर विरोध जनाएका थिए ।
उनलाई पनि एक खेलको प्रतिबन्ध लागेको थियो ।
प्रतिक्रिया 4