+
+
Shares
मध्य-मीमांसा :

सुकुमवासी : बालेनको ‘शो-पीस’ !

क्षणभंगुर बस्तीका अवला नागरिकहरू अहिले राज्यको न्यूनतम सुविधाविहीन लजमा निसास्सिरहेका छन्। हजारौं बालबालिकाको शिक्षाको दीप निभेको छ। सुत्केरीहरू चिसो भुइँमा भोलिका तिम्रा भोटरहरू बचाउन हरसम्भव मिहिनेत गरिरहेका छन्।

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०८३ वैशाख १९ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बल्खु र टेकुका सुकुमवासी बस्तीहरूमा बुल्डोजर चलाएर १५ सय परिवारको आवास अधिकार खण्डन गरेको छ।
  • सुकुमवासीहरूलाई आफ्नो जमीन र आवासबाट विस्थापित गरिँदा उनीहरूको जीवन, शिक्षा र स्वास्थ्य सेवामा ठूलो असर परेको छ।
  • प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमवासीहरूको समस्या बेवास्ता गर्दै रंगशालामा कार्यक्रम गर्दैछन् भने बस्तीवासीहरू न्यूनतम सुविधाविहीन अवस्थामा छन्।

यहाँ कुनै युद्ध चलिरहेको छैन ! तर, मनोहरा खोला किनार बस्तीको दृश्य देख्दा लाग्छ प्यालेस्टाइनमा इजरायलले बम खसाइसकेको छ। बस्तीका मान्छेहरू बमको छर्राबाट बच्नको लागि भागदौड गरिरहेका छन्। जिजीविषाका खातिर घरभित्रका लत्ताकपडा र अन्नपातहरू हत्तासिंदै तानिरहेका छन्। घिसारिरहेछन्। बमको अर्को भीमकाय प्रहरको बीभत्सबाट छल्न आमाहरूले आफ्नो बच्चाहरूलाई मजेत्रोभित्र लुकाउने चेष्टा गर्दैछन्। दुश्मनको घेराबन्दीमा परेर छेउ लागेकाहरू आफ्ना ध्वस्त घरमा अन्योलग्रस्त नजर घुमाउँदै आँखाबाट विलौना गरिरहेछन्।

आफ्नै अघि कम्ब्याट ड्रेसमा उभिन आइपुगेको बुट, लाठी र बन्दुकअघि शक्तिहीन उनीहरूका मुख खुल्न सकेका छैनन्। बमको धाराप्रवाह विस्फोटले कान टिनिन्न भएका छन्। भयभीत केटाकेटीहरू भग्नावशेषमा आफ्ना खेलौना र किताब–कापी खोजिरहेका छन्। दुश्मन यति क्रुद्ध छ कि मानौं बस्तीका मान्छेहरूले सम्पूर्ण शक्ति र स्रोतमा कब्जा जमाएका छन् र उनीहरूको कत्लेआम जरूरी छ। दुश्मन यति निर्मम छ, मानौं उनीहरू देशद्रोही हुन् र उनीहरूको सफाया अनिवार्य छ।

कम्ब्याटको माखेसाङ्लो बाहिरबाट हेरिरहेका दर्शकहरूको भीडले विजयोत्सवको थपडी बजाइरहेको छ। प्रदर्शनार्थ बस्तीको दुर्दशामा आफ्नो उज्ज्वल भविष्य देखेर आत्मसन्तोषको सास तानिरहेको छ। खित्का छाड्दै दिग्विजयको गीत गाइरहेको छ। यसरी कि यसअघि नै उनीहरू आफ्नै हातले बस्तीवासीलाई गलहत्याउन चाहन्थे।

फड्के किनाराको साक्षी मेरो संवेदना भने विलखबन्दमा छ। दर्शकसँगै लोली मिलाएर हाँसौं, विल्लीबाठ पारिएकाहरूको आवासविहीन क्रन्दन टोक्न आइपुग्छ। बर्बरता देखेर आँशु झारौं, विजयोत्सवमा मग्न दर्शक रगतपच्छे हुने गरी चिथोर्न घोप्टिन्छन्। अनि मैले आफैंलाई चिमोट्छु– ए ! यो त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश पो ! बन्दुकभन्दा माथि विधि छ। शासकभन्दा माथि संविधान छ। गाँस, बास, कपास, स्वास्थ्य, शिक्षासहित नागरिकले सम्मानजनक बाँच्न पाउने मौलिक हक छ। बस्तीवासीहरू त यही देशको सार्वभौम नागरिक(सुकुमवासी) पो हुन्। यहाँ बम होइन बुल्डोजर बज्रिएको छ ! प्रकृतिलाई उधिन्दा उधिन्दा थाकेको त्यो डोजर मान्छेलाई पो किच्न आइपुगेको छ !

उनीहरूले डेढ महिनाअघि मात्र आफ्नै हातले स्वस्तिक चिन्हमा छाप हानेर खुशी खुशी आफ्नो शासकको छनोट गरेका थिए। निर्वाचनताका कसैले भोट केमा ? भनेर सोध्दा प्रश्न फुत्किन नपाउँदै बस्तीका बच्चाहरू समेत चिच्याउँदै हाँस्थे– घण्टीमा !!! कालो चस्मा लगाएर गाडीमा मुन्टो निकाल्दै हुँइकिने दाह्रीवाल बस्तीवासीका आदर्श र आशा थिए। दाह्रीवालले मन मात्र जितेनन्, मत पनि जिते। उसलाई आफ्नो तक्दिर तय गर्न आफ्नै प्रतिनिधि बनाएर उनीहरूले सर्वोच्च पदमा विराजमान गराइदिए। एक महिनाअघि मात्र उसले शीतलनिवासमा भव्य धार्मिक अनुष्ठान गरी सुरक्षाकर्मीको हुलसहित बालुवाटारको आलिसान ‘एन्टिक’ महलमा प्रवेश गरेको थियो। ‘के एक शब्द पनि नसोधी हाम्रो वास खोस्न झिसमिसेमै हतियारधारी फौज र डोजर पठाउने त्यही शासक हो ? त्यही प्रतिनिधि हो, गाँस खोस्दै उद्देश्यहीन गन्तव्यको बसमा कोच्ने ? आदर्श मानेको हाम्रै प्रतिनिधिले हामीलाई नै अपराधी देख्न सक्छ ?’ सर्वस्व लुटिंदा पनि उनीहरूलाई विश्वास गर्न गाह्रो परिरहेको छ।

बल्खुमा सरकारले डोजर चलाएपछि घरबारविहीन बनेका नागरिकहरु ।

हुकुमवासीको भाष्यमा १५ सय परिवारको आवासको अधिकार छिन्दै सुकुम्वासीको आत्मामाथि डोजर चलाइयो। न्यूनतम मानवीय मूल्य र उनीहरूको भविष्य पनि बुल्डोजरको ब्लेडमुनि किचियो। रमिता हेरेर हाँस्ने र अझै बेदखल पुगेन भन्दै दाह्रा किट्ने र उनीहरूको बीचमा के नै फासला थियो र ? उनीहरू पनि आफू समानकै नागरिक थिए। जाबो एउटा पुर्जाको सिमाना ! सुकुम्वासीहरू पनि त चाहन्थे – नेपाल हाँसेको हेर्न।

जीवन च्याम्बरमा निसास्सिएका उनीहरू तंग्रिन सके भने आफूहरूलाई गलहत्याउने शासकलाई पक्कै पनि सोध्लान्– यसरी बाघले बाख्राको शिकार गरे जसरी झन्टिन आइपुग्ने गरी हामीले के गल्ती गरेका थियौं ? के गरिबीमा बाँच्नु नै हाम्रो अपराध थियो ? श्रम बजारमा हातपाउ खियाएर धङ्धङिदै उभिन सक्ने हुनु नै राजद्रोह हो ?

उनीहरूले उभिनको लागि शहरमा के केसम्म गरेनन् ? विवशताको बन्दी भएर विभिन्न आन्दोलन हुँदै अनकण्टार पहाड र देहातबाट शहर छिरे। शहरको निर्ममता झेल्दै जति नै दुर्गन्धित किन नहोस् घाम र पानीबाट छेलिन बञ्जर झाडी फाँडेर आफ्नो छाना खोजे। उनीहरू कहिले खोलाको बालुवामा हेलिए त कहिले शहरका अग्ला–अग्ला भवनहरूको सस्तो श्रमिक बनिदिए। बिहान बेलुकीको छाक टार्न ठेला र डोकोमा बोकी बोकी निम्न र मध्यम वर्गीयलाई सस्तो मूल्यमा तरकारी खुवाए। चोक–चोकमा मकै पोलेर, चटपटे बनाएर उनीहरूको पेट भरिदिए। उच्च वर्गको अपार्टमेन्टमा गएर खाना पकाइदिए, भाँडा माझिदिए, कपडा धोइदिए, घर सफा गरिदिए। सस्तो रेक्युरिटी गार्ड बनेर बिजनेस कम्प्लेक्स र बैंकहरूको रक्षा गरे। बच्चाको विद्यालयको शुल्क तिर्न नदीकिनारमै लोकल कुखुरा, हाँस र बट्टाईका अण्डा बेचेर शहरमा गाउँलाई जीवित बनाए। गाई पालेर शुद्ध दूध खुवाए। थोरै बचेको बञ्जर माटोमा तरकारी फलाएर मलिलो बनाइदिए। खोला किनारका जमिनलाई भूमाफियाको अधिग्रहणबाट बचाइदिए। आफूलाई उभ्याउन कष्टका निकै अग्ला अग्ला महलहरू छिचोले उनीहरू। यस बापत के पाए ?

उही जस्ताका टहरामुनिको चिस्यान, उही संघर्षका महाभारत, उही राज्यको त्रास, उही शहरको तिरस्कार, उही दुर्गन्धको शिकार। अहिले त झन् राज्यसँगै अधिकांश जनताले महान् पदवी पहिराइदिएका छन्– हुकुमवासी।

टेकुको सुकुमवासी बस्ती भत्काउँदै गरेको दृष्य नियालिरहेका एक बालक ।

बाटो हिंड्दा हिंड्दै कोही खाडी पुगे होलान्, कोही आफ्नो प्रतिभाले पश्चिमा देश पनि हेर्न भ्याए होलान्। कोही गायक, सर्जक र खेलाडी निस्किए होलान्। दशकौं लगाएर केहीले त्यही जमिनमा बनाए होलान् थप सुरक्षित बास। केही चतुर जग्गा किनबेचमा पनि लागे होलान्, दलाली गरे होलान्, कोही आपराधिक कर्ममा पनि संलग्न भए होलान्। तर, यसको तथ्यांक सरकारले भन्ने हो न कि मनोगत सामाजिक सञ्जालले। उनीहरूलाई कारबाही गर्ने छुट राज्यलाई बेदखल छ। तर, केही दलालको नाममा सम्पूर्ण सुकुमवासीको जीवनलाई बिल्लीबाठ पार्न देशको कुन कानूनले छुट दिन्छ ? उनीहरूको पहिचान र सभ्यता नै नासिने गरी सफाया गर्ने हुकुम दिन संसारको कुन चाहिं मानवअधिकारको सन्धिले अनुमोदन गर्छ ? आफ्नै सारथीमाथि क्रुद्ध हे नेपाली जनता तिमी भ्रमबाट बाहिर निस्क। हुकुमवासीको अर्थ छिचोल। आजको सबैभन्दा ठूलो हुकुमवासी भनेको यो देशका प्रधानमन्त्री– श्री बालेन्द्र शाह हुन्।

उनले बस्ती उधिनेर रंगशालामा सुकुमवासीका दुःखलाई शो–केस गरिरहेका छन्। सार्वजनिक ठाउँमा कुर्सी राखेर गरिब जीवनको पापन गर्दै हुर्मत लिएका छन्। लाइन लगाएर आफ्नै नागरिकको गोपनीयताको हक छिन्दै यो देशमा बाँचेको मोल खोजिरहेका छन्। अनि राधास्वामी सत्संग ब्यासको खुल्ला टहरामुनि पशुसरह मिल्काइदिएर गरिबलाई आफ्नो हैसियत सम्झाउँदै छन्। यता डेराविहीनहरूको थापाथली, मनोहरातिर अभावको रोड–शो चलिरहेको छ। के यही त होइन एक्काइसौं शताब्दीको ग्यास च्याम्बर ? झप्प दाह्री सुहाएन प्रधानमन्त्रीज्यू, छाँटकाँट गरेको जुंगा पाल्ने कि !

यता सुकुमवासी र भूमिहीन विरुद्ध थपडी बजाउनेको अन्त्यहीन जुलुस छ। जसको जीवनमा उनीहरूको कुनै सरोकार र योगदान छैन। सुकुमवासीले दुःख बाँचेको भूमि छिनिंदा पनि उनीहरूले कुनै लाभ पाउनेवाला छैनन्। आफू शरणार्थी भएर अर्कै देशमा जीवन काटिरहेकाहरूले चर्को स्वरमा भनिरहेका छन्– लुट्न पल्केकाहरूलाई ठोक्नुपर्छ। प्रदेशमा घरको लोन भुक्तान गर्न १८ घण्टा काममा जोतिएकाहरूले सुकुमवासीको क्रन्दनमा हर्षोल्लास मनाइरहेका छन्। गाउँमा दुई चार सुर्का खेतबारी भएर घरको छानो फेर्न खाडीको घाममा खरिएकाहरूले भनिरहेका छन्– हुकुमवासीलाई खेद। आफ्नो अधिकारका निम्ति लड्ने नेपाली आफ्नै नागरिकलाई राज्यविहीन बनाइँदा दश हात उफ्रने चेतना कहाँबाट आइपुग्यो ? जुन देशका ८० लाख मानिस विदेशमा सुकुम्वासी छ, त्यो देशको नागरिकले भूमिहीनको आँशुको कसरी हुर्मत लिन सक्छ ? त्यहाँको राज्यले उसको सफाया गर्‍यो भने उसको मुखबाट कस्तो शब्द निस्किएला ? म यसको जवाफ खोजिरहेको छु।

खैर, ती क्षणभंगुर बस्तीका अवला नागरिकहरू अहिले राज्यको न्यूनतम सुविधाविहीन लजमा निसास्सिरहेका छन्। हजारौं बालबालिकाको शिक्षाको दीप निभेको छ। सुत्केरीहरू चिसो भुइँमा भोलिका तिम्रा भोटरहरू बचाउन हरसम्भव मिहिनेत गरिरहेका छन्। र, माटोसँग खेलेर हुर्किएका सुकुम्वासीहरूले छट्पटिंदै भनिरहेका छन्– हामीलाई टिको लाउने भए पनि माटो चाहियो ! ओ देशभरको माटो बोकेर कंक्रिटको बरण्डामा टहलिरहेको शासक – उनीहरूको टिको लगाउने माटो तिमीसँग छ कि छैन ? के तिमीले उनीहरूको क्षतिपूर्ति भरण गर्न सक्छौ ? भन त तिमीलाई कानून लाग्छ कि लाग्दैन ?

लेखक
विश्वास खड्काथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?