News Summary
Generated by OK AI. Editorially reviewed.- प्रारम्भिक चरणमै स्तन क्यान्सर पत्ता लागे उपचार सम्भव छ र धेरै बिरामी पूर्णरूपमा निको हुन्छन्।
- स्तन क्यान्सर उपचारमा आधुनिक प्रविधिले केवल गाँठो भएको भाग मात्र हटाउने शल्यक्रिया गरिन्छ र पुनर्निर्माण सम्भव छ।
स्तन क्यान्सर विश्वभर महिलामा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
पहिले यो रोग उमेर पुगेका महिलामा मात्र हुन्छ भन्ने सोच थियो । तर अहिले युवतीदेखि वृद्ध महिलासम्ममा स्तन क्यान्सर देखिन थालेको छ । अझै पनि धेरै महिलाले स्तनमा गाँठो देखिँदा डर, लाज वा बेवास्ताका कारण अस्पताल जाँदैनन् ।
कतिपयलाई स्तन क्यान्सर भनेपछि स्तन काट्नैपर्छ भन्ने डर हुन्छ भने कतिलाई यो रोग लागेपछि बाँच्न सकिँदैन भन्ने भ्रम हुन्छ । तर विशेषज्ञहरूका अनुसार स्तन क्यान्सर समयमै पत्ता लागे उपचार सम्भव छ र धेरै बिरामी पूर्णरूपमा निको पनि हुन्छन् ।
स्तन क्यान्सरबारे सही जानकारी नहुँदा धेरै महिलाले ढिलो गरी उपचार सुरु गर्छन् । त्यसैले, यसको लक्षण, कारण, जाँच र उपचारबारे स्पष्ट जानकारी हुनु अत्यन्त आवश्यक छ ।
भारतकी चर्चित स्तन क्यान्सर सर्जन डा. राजिन्दर कौरका अनुसार अहिले चिकित्सा क्षेत्रमा निकै प्रगति भएको छ र प्रारम्भिक चरणमै रोग पत्ता लागे धेरैजसो बिरामीलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।
के स्तन क्यान्सर भए स्तन हटाउनैपर्छ ?
धेरै महिलाको मनमा स्तन क्यान्सर भए स्तन काटेर हटाउनुपर्छ भन्ने डर हुन्छ । पहिले उपचारको मुख्य उपाय नै स्तन हटाउनु नै मानिन्थ्यो । तर अहिले आधुनिक प्रविधिका कारण अवस्था धेरै बदलिएको छ ।
डा. राजिन्दर कौरका अनुसार अहिले ‘अन्कोप्लास्टिक ब्रेस्ट कन्जर्भिङ सर्जरी’ नामक आधुनिक शल्यक्रिया गरिन्छ । यदि रोग सुरुको चरणमै पत्ता लाग्यो भने चिकित्सकले केवल गाँठो भएको भाग मात्र हटाउने प्रयास गर्छन् । बाँकी स्तनलाई मिलाएर पुरानै आकारमा राख्न सकिन्छ ।
कतिपय अवस्थामा स्तन ठूलो भए आकार मिलाएर पुनः निर्माण पनि गर्न सकिन्छ । अहिले प्लास्टिक सर्जरी र पुनर्निर्माण प्रविधि धेरै विकसित भएकाले स्तन हटेपछि पनि कृत्रिम वा आफ्नै टिस्यु प्रयोग गरेर स्तनको आकार पुनः बनाइन्छ । यसले महिलाको आत्मविश्वास जोगाउन मद्दत गर्छ ।
चिकित्सकहरूका अनुसार सबै बिरामीमा स्तन हटाउनैपर्छ भन्ने छैन । क्यान्सर कुन चरणमा छ, गाँठो कति ठूलो छ र क्यान्सर फैलिएको छ कि छैन भन्ने आधारमा उपचार तय गरिन्छ ।
के पुरुषलाई पनि स्तन क्यान्सर हुनसक्छ ?
धेरैलाई स्तन क्यान्सर महिलाको मात्र रोग हो भन्ने लाग्छ । तर पुरुषलाई पनि स्तन क्यान्सर हुन सक्छ । यद्यपि महिलाको तुलनामा पुरुषमा यो निकै कम देखिन्छ ।
पुरुषको निप्पलमुनि पनि स्तनसम्बन्धी टिस्यु हुने भएकाले त्यहाँ क्यान्सर विकास हुन सक्छ । चिकित्सकका अनुसार करिब १०० जना महिलालाई स्तन क्यान्सर हुँदा पुरुषमा १ जना पुरुषमा यो समस्या देखिन्छ ।
पुरुषमा स्तन क्यान्सरका लक्षण पनि महिलामा जस्तै हुन्छन् । स्तनमा गाँठो देखिनु, निप्पलबाट पानी वा रगत आउनु, निप्पल भित्र धस्सिनु वा छालामा परिवर्तन आउनु यसको संकेत हुनसक्छ ।
समस्या के हो भने पुरुषहरूले यस्तो लक्षणलाई गम्भीर रूपमा लिँदैनन् । उनीहरूलाई स्तन क्यान्सर पुरुषलाई पनि हुन सक्छ भन्ने जानकारी नै हुँदैन । त्यसैले, धेरैजसो अवस्थामा ढिलो गरी रोग पत्ता लाग्छ ।
स्तन क्यान्सरका लक्षण के हुन् ?
स्तन क्यान्सर समयमै पत्ता लगाउन यसका लक्षण चिन्नु अत्यन्त आवश्यक हुन्छ । प्रारम्भिक चरणमा रोगको कुनै दुखाइ नहुन पनि सक्छ । यही कारण धेरै महिलाले गाँठोलाई सामान्य सम्झेर बेवास्ता गर्छन् ।
स्तनमा दुखाइ नभएको गाँठो देखिनु यसको सबैभन्दा सामान्य लक्षण हो । निप्पलबाट पानी, रगत वा अन्य तरल पदार्थ आउनु पनि खतराको संकेत हुनसक्छ ।
कतिपय महिलामा निप्पल भित्र धस्सिने, स्तनको छाला बाक्लो वा रातो हुने तथा सुन्तलाको बोक्राजस्तो देखिने समस्या पनि हुन्छ । स्तनको आकार वा बनावट परिवर्तन हुनु, बगलामा गाँठो आउनु वा छालामा घाउ देखिनु पनि स्तन क्यान्सरका लक्षण हुन सक्छन् ।
विशेषज्ञहरूका अनुसार स्तनमा कुनै पनि असामान्य परिवर्तन देखिए तुरुन्त चिकित्सकसँग जाँच गराउनुपर्छ ।
स्तन क्यान्सर किन हुन्छ ?
स्तन क्यान्सर हुने एउटै कारण हुँदैन । धेरै कारणले यसको जोखिम बढाउन सक्छ । कम उमेरमै महिनावारी सुरु हुनु र ढिलो उमेरसम्म महिनावारी भइरहनु स्तन क्यान्सरको जोखिम बढाउने कारण मानिन्छ । शरीरमा लामो समयसम्म इस्ट्रोजन हर्मोन सक्रिय रहँदा स्तनका कोशिकामा असर पर्न सक्छ ।
मोटोपना पनि अर्को महत्वपूर्ण कारण हो । विशेषगरी महिनावारी बन्द भएपछि पेटमा बोसो जम्ने महिलामा जोखिम बढी हुन्छ । शारीरिक व्यायाम नगर्ने, अस्वस्थ खाना खाने, मदिरा सेवन गर्ने र धूम्रपान गर्ने महिलामा पनि स्तन क्यान्सरको सम्भावना बढ्छ ।
बच्चा नहुनु वा बच्चालाई स्तनपान नगराउनु पनि जोखिमसँग जोडिएको छ । अध्ययनहरूले स्तनपान गराउने महिलामा स्तन क्यान्सर कम देखिने बताएका छन् ।
यदि परिवारमा पहिले आमाबुबा, दिदीबहिनी वा नजिकका आफन्तलाई स्तन क्यान्सर भएको इतिहास छ भने पनि जोखिम बढ्न सक्छ । कतिपय अवस्थामा आनुवंशिक कारणले पनि यो रोग सर्न सक्छ ।
जीवनशैली परिवर्तनले कसरी बच्न सकिन्छ ?
स्तन क्यान्सर पूर्ण रूपमा रोक्न सकिने रोग नभए पनि स्वस्थ जीवनशैली अपनाएर जोखिम धेरै कम गर्न सकिन्छ । विशेषज्ञहरू नियमित व्यायाम गर्न सुझाव दिन्छन् । दैनिक कम्तीमा आधा घण्टा हिँड्ने वा शारीरिक गतिविधि गर्ने महिलामा जोखिम कम हुने देखिएको छ ।
तौल नियन्त्रणमा राख्नु पनि महत्वपूर्ण छ । अत्यधिक मोटोपनाले शरीरमा हर्मोनको असन्तुलन ल्याउँछ, जसले क्यान्सरको सम्भावना बढाउन सक्छ ।
सन्तुलित आहार, फलफूल, हरियो सागसब्जी र पोषणयुक्त खाना खानुपर्छ । मदिरा, धूम्रपान र सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ । चिकित्सकका अनुसार ३० वर्षअघि बच्चा जन्माउनु र कम्तीमा एक वर्षसम्म स्तनपान गराउनु फाइदाजनक मानिन्छ ।
स्तन क्यान्सर कसरी पत्ता लगाउने ?
२० वर्षको उमेरपछि प्रत्येक महिलाले महिनामा एकपटक आफ्नै स्तन जाँच गर्नुपर्छ । यसलाई ‘सेल्फ ब्रेस्ट एग्जामिनेसन’ भनिन्छ । यसरी नियमित जाँच गर्दा स्तनको सामान्य अवस्था थाहा हुन्छ र कुनै नयाँ गाँठो वा परिवर्तन भए तुरुन्त पत्ता लगाउन सकिन्छ ।
वर्षमा एकपटक चिकित्सकबाट स्तन जाँच गराउनु पनि आवश्यक हुन्छ । सो परीक्षणलाई ‘क्लिनिकल ब्रेस्ट एग्जामिनेसन’ भनिन्छ ।
म्यामोग्राफी स्तन क्यान्सर पत्ता लगाउने सबैभन्दा प्रभावकारी परीक्षणमध्ये एक हो । यो स्तनको एक्स–रे जाँच हो, जसले सानोभन्दा सानो गाँठो पनि देखाउन सक्छ । विशेषज्ञहरूका अनुसार ४० वर्षपछि नियमित म्यामोग्राम गराउँदा स्तन क्यान्सरबाट हुने मृत्युको जोखिम धेरै कम गर्न सकिन्छ ।
स्तनपानले कसरी बचाउँछ ?
बच्चालाई स्तनपान गराउनु स्तन क्यान्सरबाट बच्ने प्राकृतिक उपायमध्ये एक मानिन्छ ।
स्तनपानका बेला शरीरमा इस्ट्रोजन हर्मोन कम सक्रिय हुने भएकाले स्तनका कोशिका परिपक्व हुन्छन् । यसले क्यान्सरको जोखिम घटाउन मद्दत गर्छ।
कुन चरणसम्म उपचार सम्भव छ ?
स्तन क्यान्सर जति छिटो पत्ता लाग्यो, उपचार त्यति सफल हुन्छ ।स्टेज–१ र स्टेज–२ मा ९० देखि ९५ प्रतिशत बिरामी पूर्ण रूपमा निको हुन सक्छन् । यस चरणमा शल्यक्रिया, किमोथेरापी र रेडिएसन थेरापी प्रभावकारी हुन्छ ।
स्टेज–३ मा क्यान्सर केही फैलिसकेको हुन्छ । यस्तो अवस्थामा पहिले किमोथेरापी गरेर गाँठो सानो बनाइन्छ र त्यसपछि शल्यक्रिया गरिन्छ ।
स्टेज–४ मा क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको हुन्छ । यस्तो अवस्थामा रोग पूर्णरूपमा निको नहुन पनि सक्छ । तर आधुनिक उपचारले बिरामीको जीवन लम्ब्याउन र सहज बनाउन मद्दत गर्छ ।
उपचारका दुष्प्रभाव के–के हुन् ?
क्यान्सर उपचारका क्रममा केही दुष्प्रभाव देखिन सक्छन् । किमोथेरापीका कारण कपाल झर्नु, थकान हुनु, वाकवाकी लाग्नु वा कमजोरी महसुस हुनु सामान्य हो ।
कतिपय महिलाले स्तन हटाउनुपर्दा मानसिक तनाव पनि अनुभव गर्छन् । उनीहरूमा आत्मविश्वास कम हुने, डर लाग्ने वा निराशा आउने समस्या हुन सक्छ ।
तर चिकित्सकहरूका अनुसार अधिकांश दुष्प्रभाव अस्थायी हुन्छन् । उपचार सकिएपछि कपाल फेरि उम्रिन्छ र शरीर बिस्तारै सामान्य अवस्थामा फर्किन्छ ।
आयुर्वेदले क्यान्सर निको हुन्छ ?
कतिपय मानिस आयुर्वेदिक औषधिले क्यान्सर निको हुन्छ भन्ने विश्वास गर्छन् । तर विशेषज्ञहरूका अनुसार आयुर्वेदले प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्न सक्छ, तर क्यान्सर पूर्णरूपमा निको पार्छ भन्ने प्रमाण अहिलेसम्म छैन ।
यदि बिरामीले आधुनिक उपचार नगरी केवल वैकल्पिक उपचारमा भर परे रोग झन् फैलिन सक्छ । त्यसैले चिकित्सकको सल्लाहबिना उपचार रोक्नु हुँदैन ।
निको भएपछि फेरि हुन सक्छ ?
केही अवस्थामा स्तन क्यान्सर उपचारपछि फेरि हुनसक्छ । विशेषगरी सुरुमा रोग धेरै फैलिएको थियो भने वा बिरामीले उपचार पूरा नगरेको अवस्थामा जोखिम बढ्छ ।
त्यसैले, उपचारपछि पनि नियमित जाँच र फलोअप अत्यन्त आवश्यक हुन्छ । चिकित्सकले दिएको औषधि र सल्लाह निरन्तर पालना गर्नुपर्छ ।
परिवारको भूमिका किन महत्वपूर्ण छ ?
स्तन क्यान्सर केवल एक महिलाको रोग होइन, यो सम्पूर्ण परिवारको संघर्ष हो ।
उपचारका क्रममा महिलालाई मानसिक र भावनात्मक रूपमा धेरै साथ चाहिन्छ । धेरै महिला डर, तनाव र निराशाबाट गुज्रिन्छन् । यस्तो बेला परिवारको माया, सहयोग र सकारात्मक व्यवहारले उनीहरूलाई ठूलो हौसला दिन्छ ।
विशेषगरी श्रीमान्, छोराछोरी र परिवारका सदस्यको साथले बिरामीमा आत्मविश्वास बढाउँछ । उपचारका क्रममा साथ दिने, समयमै अस्पताल लैजाने र सकारात्मक वातावरण बनाउने काम अत्यन्त महत्वपूर्ण हुन्छ ।
प्रतिक्रिया 4