News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण एसियामा पुरुष बाँझोपन तीव्र रूपमा बढिरहेको छ र यसको मुख्य कारण शुक्रकीटको संख्या र गुणस्तरमा समस्या हो।
- धूम्रपान, मदिरा सेवन, अत्यधिक गर्मी, मोटोपन, संक्रमण, हर्मोन समस्या र मानसिक तनाव पुरुष बाँझोपनका प्रमुख कारण हुन्।
- नेपालमा पुरुष बाँझोपनको उपचार सम्भव छ र जीवनशैली सुधार, आधुनिक प्रविधि र सही जानकारीले दम्पतीको सन्तान प्राप्ति सम्भव हुन्छ।
३५ वर्षीय एक युवक श्रीमतीसँग क्लिनिकमा आउँदा निकै तनावमा थिए । विवाह भएको पाँच वर्ष भइसकेको थियो । बच्चा भएको थिएन । परिवारदेखि आफन्त र गाउँलेसम्मले पत्नीलाई दोष दिइरहेका थिए । तर वीर्य परीक्षण गर्दा थाहा भयो समस्या पत्नीमा होइन उनमा रहेछ । वीर्यमा शुक्रकीटको संख्या अत्यन्त कम थियो ।
समाजमा यस्ता समस्या धेरै छन् । यो दक्षिण एशियाका हजारौं दम्पतीको वास्तविकता हो । हाम्रो समाजमा अझै पनि बच्चा नहुनुको दोष महिलामाथि नै थोपर्ने चलन छ । तर बाँझोपनका करिब ४०–५० प्रतिशत केसमा पुरुष पक्षको पनि भूमिका हुन्छ ।
आज पुरुष बाँझोपन विश्वव्यापी रूपमा बढ्दो जनस्वास्थ्य समस्या बन्दै गएको छ । पछिल्ला अध्ययनहरूका अनुसार दक्षिण एसियामा पुरुष बाँझोपनको भार तीव्र रूपमा बढिरहेको छ ।
पुरुष बाँझोपन भनेको के हो ?
यदि कुनै दम्पतीले एक वर्षसम्म नियमित यौनसम्पर्क गर्दा पनि गर्भधारण हुन सकेन भने त्यसलाई बाँझोपन भनिन्छ । पुरुष बाँझोपन भन्नाले पुरुषको वीर्य, शुक्रकीट, हार्मोन वा यौन कार्यसम्बन्धी समस्याका कारण गर्भ रहन नसक्ने अवस्था बुझिन्छ ।
पुरुष बाँझोपनका मुख्य कारणहरू
शुक्रकीटको संख्या वा गुणस्तरमा समस्य यो सबैभन्दा सामान्य कारण हो । समस्या निम्न प्रकारका हुन सक्छन् :
-शुक्रकीट कम हुनु
-शुक्रकीट नै नहुनु
-शुक्रकीट राम्रोसँग नचल्नु
-शुक्रकीटको आकार असामान्य हुनु
-आजकल विश्वभर शुक्रकीटको औसत संख्या घट्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
शुक्रकीटमा समस्या देखिनुको काराण
धूम्रपान, मदिरा र नशालु पदार्थ
नेपाल र दक्षिण एशियामा धूम्रपान तथा मदिराको प्रयोग धेरै छ । चुरोटले शुक्रकीटको डिएनए बिगार्न सक्छ, शुक्रकीटको गतिशीलता घटाउँछ र शुक्रकीटको संख्या कम गर्छ । अत्यधिक मदिरा सेवनले टेस्टोस्टेरोन हार्मोन घटाउन सक्छ । गाँजा, स्टेरोइड र अन्य लागुपदार्थले पनि पुरुष प्रजनन क्षमता घटाउन सक्छन् ।
अत्यधिक गर्मी
शुक्रकीट उत्पादनका लागि अण्डकोष शरीरभन्दा केही कम तापक्रममा हुनुपर्छ । लामो समय मोटरसाइकल चलाउने, काखमा ल्यापटप राख्ने, अत्यधिक तातो वातावरणमा काम गर्ने र साउना वा हट बाथको अत्यधिक प्रयोग गर्ने बानीले शुक्रकीट उत्पादनमा असर गर्न सक्छ । नेपालका केही अध्ययनहरूले कार्पेट उद्योग वा रसायनसँग काम गर्ने पुरुषमा बाँझोपन बढी देखिएको उल्लेख गरेका छन् ।
मोटोपन र अस्वस्थ जीवनशैली
आजभोलिको बजारमा पाइने प्रशोधित खानेकुरा धेरै खाने प्रचलन छ, निद्राको कमी, तनाव र शारीरिक गतिविधिको अभावले पनि पुरुष प्रजनन क्षमतामा असर गरिरहेको छ । यी सबको कारण मोटोपनाको समस्या बढ्छ र मोटोपनले हार्मोन असन्तुलन गराउँछ, टेस्टोस्टेरोन घटाउँछ र शुक्रकीट उत्पादन कम गर्छ । दक्षिण एसियामा बढ्दो मधुमेह र मोटोपनलाई पनि पुरुष बाँझोपनसँग जोडिएको पाइन्छ ।
भेरिकोसिल
अण्डकोष वरिपरिका नसाहरू फुल्ने अवस्थालाई भेरिकोसिल भनिन्छ । यसले अण्डकोषको तापक्रम बढाउँछ र शुक्रकीट उत्पादन घटाउँछ । यो पुरुष बाँझोपनको उपचार गर्न मिल्ने सबैभन्दा सामान्य कारणमध्ये एक हो ।
संक्रमण
केही संक्रमणले शुक्रकीट उत्पादन वा मार्गलाई क्षति पुर्याउन सक्छ, जस्तै मम्प्स, यौनरोग, एपिडिडिमाइटिस वा प्रोस्टेट संक्रमण । नेपालका पुराना अध्ययनहरूले मम्प्स र संक्रमणलाई पुरुष बाँझोपनको महत्वपूर्ण कारण मानेका छन् ।
हर्मोनको समस्या
मस्तिष्क, पिट्यूटरी ग्रन्थी वा अण्डकोषबाट निस्कने हार्मोनमा गडबडी हुँदा शुक्रकीट उत्पादन कम हुन सक्छ । थाइराइड रोग, मधुमेह तथा केही औषधिहरूले पनि असर गर्न सक्छन् ।
वंशाणुगत कारण
कतिपय पुरुषमा जन्मजात क्रोमोजोम वा जीनसम्बन्धी समस्या हुन्छ । यस्तो अवस्थामा शुक्रकीट उत्पादन नै बन्द हुन सक्छ र शुक्रकीटको विकास असामान्य हुन सक्छ । हाल वंशाणुगत परीक्षणको महत्व बढ्दै गएको छ ।
मानसिक तनाव र यौन समस्या
दीर्घकालीन तनाव, डिप्रेसन, वैवाहिक तनाव तथा कार्यक्षेत्रको दबाबले पनि यौनइच्छा र प्रजनन क्षमतामा असर गर्न सक्छ । यसका साथै, उत्तेजना कमी, लिंग उत्तेजित हुन नसक्ने समस्या र शीघ्रपतन अर्थात चाँडै वीर्यस्खलन हुने समस्याहरूले पनि गर्भधारणमा असर पुर्याउन सक्छन् ।
दक्षिण एशिया र नेपालमा किन बढ्दैछ समस्या ?
पछिल्ला अध्ययनहरूका अनुसार दक्षिण एशियामा पुरुष बाँझोपनको दर विश्वका अन्य क्षेत्रको तुलनामा तीव्र रूपमा बढिरहेको छ । यसका सम्भावित कारणहरू: प्रदूषण, कीटनाशक तथा रसायन, अस्वस्थ खानपान, धूम्रपान र मदिरा, तनावपूर्ण जीवनशैली, ढिलो विवाह र ढिलो सन्तान योजना, शारीरिक निस्क्रियता लगायत हुन ।
नेपालमा अझै पनि धेरै पुरुष परीक्षण गराउन हिच्किचाउँछन् । सामाजिक लाज, ‘पुरुषमा समस्या हुँदैन’ भन्ने सोच र जानकारीको कमीले उपचार ढिलो हुने गरेको छ ।
कहिले जाँच गराउने ?
-एक वर्षसम्म गर्भ नरहेमा
-उमेर बढी भएमा
-यौन समस्या भएमा
-मम्प्स, अण्डकोषमा चोट वा शल्यक्रिया भएको इतिहास भएमा
के पुरुष बाँझोपनको उपचार सम्भव छ ?
धेरै अवस्थामा सम्भव छ ।
समस्या हुन नदिन के गर्ने ?
-जीवनशैली सुधार
-धूम्रपान बन्द
-तौल नियन्त्रण
-संक्रमणको उपचार
-हार्मोन उपचार
-भेरिकोसिल शल्यक्रिया
आयूआई, आईभीएफ, आइसीएसआई जस्ता आधुनिक प्रविधि
आज धेरै दम्पतीले आधुनिक प्रजनन प्रविधिबाट सफलतापूर्वक सन्तान प्राप्त गरिरहेका छन् । बच्चा नहुनु केवल महिलाको समस्या होइन । यो दम्पतीको साझा स्वास्थ्य अवस्था हो । समयमै परीक्षण, सही जानकारी, स्वस्थ जीवनशैली र वैज्ञानिक उपचारले धेरै दम्पतीको सपना पूरा हुन सक्छ ।
पुरुषले पनि आफ्ना प्रजनन् स्वास्थ्यबारे खुला रूपमा कुरा गर्न सिक्नुपर्छ । किनकि ‘पुरुषत्व’ केवल सन्तान जन्माउन सक्ने क्षमताले होइन, जिम्मेवारी र सहकार्यले मापन हुन्छ ।
प्रतिक्रिया 4