News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध ३७ ओभरमै १९६ रनको लक्ष्य पूरा गर्दै शानदार जित निकाल्यो।
- कुशल भुर्तेलले १२० बलमा १२० रनको अविजित शतक प्रहार गर्दा आसिफ शेखले ५८ रन बनाएर आउट भए।
- दीपेन्द्रसिंह ऐरीले ७ ओभर ३ बलमा ४ विकेट लिएर अमेरिकाको बलिङ कमजोर पारे।
२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाविरुद्ध नेपालले शानदार जित निकाल्यो । लिग–२ मा बलियो देखिएको अमेरिकाविरुद्ध नेपाल शनिबार खम्बा बनेर उभियो ।
अमेरिकामाथि जित निकाल्दा नेपालको टप अर्डर ब्याटिङ शानदार रह्यो । पछिल्लो समय टाउको दुखाई बन्दै आएको टपअर्डर ब्याटिङले शनिबार भने आश फर्काउन सफल भयो ।
पछिल्लो समय ओपनिङसहित टपअर्डर फ्लप हुँदा नेपाल धेरै खेलमा पराजित हुँदै आएको छ । लिग–२ अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको टपअर्डर ब्याटिङ लामो समयदेखि धरासायी बन्दै आएको छ । त्यसकारण पनि नेपालले नयाँ खेलाडीको प्रयोग गर्दै आएको छ ।
केही दिनअघि मात्रै भएको नेपाल–ओमन–यूएई सिरिजको पहिलो दुई खेलमा आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । दुवै खेलमा सुरुवात राम्रो हुन सकेन । पहिलो खेलमा ८ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो खेलमा एक रनमै पहिलो विकेट गुमाउन पुग्यो ।
त्यसपछि तेस्रो खेलमा ओपनिङ जोडी परिवर्तन भयो । तेस्रो खेलमा यूएईविरुद्ध विनोद भण्डारी र अर्जुन कुमालले ओपनिङ गरे । उक्त खेलमा २५ रनमा नेपालले पहिलो विकेट गुमायो । चौथो खेलमा पनि ओपनिङ जोडी परिवर्तन भयो । विनोद र आसिफले चौथो खेलमा ओपनिङ गरे । आसिफले राम्रो ब्याटिङ गरेपनि विनोद कुनै पनि रन नजोडी आउट हुन पुगे ।
त्यसपछि अहिले भइरहेको सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध पनि विनोद र आसिफले नेपालको ओपनिङ गरे । तर, उनीहरु पनि सफल भएनन् । दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपाल पुरानै ओपनिङ जोडीलाई ओपनिङको रुपमा खेलाउन बाध्य भयो ।
विकल्पविहीन हुँदै पुरानै जोडीलाई ओपनिङ गराएको नेपालकोे लागि यो खेलमा भने कुशल–आसिफ जोडीले पुनः एकपटक ओपनिङ जोडी मजबुत रहेको सन्देश दियो ।

अमेरिकाविरुद्ध ओपनर कुशल र आसिफले १४५ रनको ओपनिङ साझेदारी गरे । जुन नेपालको जितको आधार बन्यो । कुशलले उत्कृष्ट अविजित शतक प्रहार गर्दा आसिफ ५८ रन बनाएर आउट भए ।
त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमै भेट्टायो । नेपालका लागि ओपनर कुशलले ११८ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले ।
उनले १३ चौका र ४ छक्का प्रहार गरे । यो कुशलको व्यक्तिगत उच्च स्कोर र ओडीआईमा दोस्रो शतक हो । यसअघि उनले सन् २०२३ मा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । आफ्नो प्रदर्शनबारे कुशल भन्छन्, ‘टपअर्डरले राम्रो सुरुवात दिइराखेको थिएन । आज आसिफ र मैले सुरुवात राम्रो दिँदाखेरि खुसी लागेको थियो, आफ्नो शतकभन्दा पनि ।’
कुशल र आसिफको अमेरिकाविरुद्धको साझेदारी ओडीआई ओपनिङमा नेपालले गरेको दोस्रो सबैभन्दा ठूलो साझेदारी हो । पहिलो ठूलो साझेदारी कुशल–आसिफ जोडीले सन् २०२३ मा जिम्बाब्बेविरुद्ध १७१ रनको साझेदारी गरेका थिए । यो जोडीले ओडीआईमा नेपालका लागि हालसम्म ४ शतकीय ओपनिङ साझेदारी गरेका छन् ।
अमेरिकाविरुद्ध अर्का ओपनर आसिफ ७२ बलमा ५८ रन बनाएर आउट हुँदा डेब्यु गरेका इसान पाण्डे ३० बलमा २० रन बनाएर अविजित रहे । एउटा गएपछि अर्काे पनि गइहाल्ने समस्यालाई डेब्यु म्यान इसानले रोक्न सफल भए । उनले कुशललाई साथ दिँदै नेपालको जितको बाटो कोरे ।
प्लानिङअनुसार आज सफल भएको कुशल बताउँछन् । ‘आसिफ र मेरो कुरा भइराखेको थियो । टप अर्डर राम्रो भयो भने जहिले खेल जित्छौं हामीलाई थाहा छ । त्यहि मात्र प्लानिङ भइराखेको थियो । आज सफल हुँदा खेरि खुसी लागेको छ,’ उनी भन्छन् ।
दीपेन्द्रले दिलाएको मोमेन्टम

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले २२ रन जोड्दा पहिलो विकेट गुमायो । त्यसपछि ओपनर स्मित पटेलले दोस्रो विकेटका लागि शेहान जयसुरियासँग शतकीय साझेदारी गर्दै अमेरिकालाई बलियो स्थितिमा पुर्याए ।
दुवैले अर्धशतक पूरा गरिसकेका थिए । यो साझेदारी टिकेमा नेपाल समस्यामा पर्न सक्थ्यो । नेपालले ८ बलर प्रयोग गर्दा पनि स्मित र शेहानको विकेट लिन सकेको थिएन ।
२३औं ओभरको चौथो बलमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरिसकेका शेहानलाई लङअफमा गुल्सन झाको हातबाट क्याच आउट गराए । त्यसपछि खेल नेपालको पोल्टामा पल्टियो ।
अमेरिकाले लगातार विकेट गुमाइराख्यो । १२२-१ को अवस्थाबाट अमेरिकाले थप ७३ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो । अमेरिकाका ७ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
७ ओभर ३ बल बलिङ गरेका दीपेन्द्रले २४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २, सन्दीप लामिछाने र गुल्सन झाले १-१ विकेट लिन सफल भए ।
प्रतिक्रिया 4