News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा ४८ टोली सहभागी भएर सुरु हुँदैछ।
- विश्वकपमा १२ समूहमा विभाजन गरी समूह विजेता, उपविजेता र उत्कृष्ट ८ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
- यस पटक नकआउट चरणमा राउण्ड अफ ३२ थपिएको छ र फाइनल खेल्ने टोलीले ८ खेल खेल्नेछ।
५ जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २३औं संस्करण सुरु हुन अब केही साता मात्र बाँकी छ ।
फिफा विश्वकप २०२६ मा विश्वभरबाट छानिएर आएका उत्कृष्ट ४८ टिमले प्रतिस्पर्धा गर्दैछन् । उत्तर अमेरिकी महादेशको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि फुटबलको महाकुम्भ फिफा विश्वकप सुरु हुँदैछ ।
यसअघि विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्दै आएकोमा यस पटक धेरै टिमलाई अवसर दिनका लागि फिफाले टिम संख्या बढाएर ४८ पुर्याएको हो ।
अहिलेसम्मकै धेरै टिम र धेरै खेल हुने यस विश्वकपमा ४८ टिम हुँदा खेलहरु कुन फर्म्याटमा खेलाइन्छ भन्ने अहिले धेरैको चासो र जिज्ञासा पनि छ । टिम संख्या बढ्दा कस्तो नतिजा आउला, खेलहरु कसरी सञ्चालन होला भन्ने स्वभाविक चासो पनि हो ।
टिमसंख्या बढ्दा कतै प्रतिस्पर्धा कम रोमाञ्चक र कम प्रतिस्पर्धात्मक हुने हो कि भन्ने चिन्ता पनि छ । तर पहिलो पटक ४८ टिमले खेल्न लागेको अहिलेसम्मकै ठूलो विश्वकपलाई लिएर विश्वभरका फुटबल समर्थकहरु उत्साहित छन् ।
४८ राष्ट्र मध्ये आयोजक तीन राष्ट्र स्वत: विश्वकपमा छनोट भएका हुन् भने बाँकी ४५ राष्ट्रले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन् ।
यस्तै यस पटक चार नयाँ टिमले पनि विश्वकपमा डेब्यू गर्दैछन् । टिम संख्या बढ्दा कुराकाओ, केप भर्डे, जोर्डन र उज्वेकिस्तान जस्ता टिम पनि विश्वकपमा पहिलो पटक छनोट भएका छन् ।
हरेक समूहमा ३ टिम समावेश गर्दै १६ समूह बनाउने चर्चा पनि चलेको थियो । तर समूहमा थोरै म्याच हुने भएकोले फिफाले यसलाई मानेन । यसले समर्थकहरुका लागि एकै खेल हेर्नका लागि धेरै यात्रा गर्नुपर्ने बाध्यता पर्ने लगायत समस्या हुने फिफाको निष्कर्ष थियो ।
विश्वकपमा सहभागी ४८ टिमलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टिम छन् । यसअघि जस्तै समूह चरणमा हरेक टिमले एक आपसमा खेल्नेछन् । यसअघि सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो । यस पटक भने १२ समूह बनाइएको छ ।
समूह चरणमा कूल ७२ खेल हुनेछन् । समूह चरणको खेल सकिएपछि राउण्ड अफ ३२ हुँदै नकआउट चरणका खेलहरु सुरु हुनेछन् ।
समूह चरणको खेलपछि यसअघि जस्तै हरेक समूहको विजेता र उपविजेता स्वत: नकआउट चरणमा प्रवेश गर्नेछन् । जसमा २४ टोली सिधै नकआउट चरणमा पुग्नेछन् ।
यसबाहेक १२ समूहको तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउनेछन् ।
तेस्रो हुने टिमका लागि पनि नकआउट चरणमा पुग्ने अवसर रहेकोले हरेक समूहका हरेक खेल उत्तिकै महत्वपूर्ण बन्नेछ । तेस्रो हुने ४ टिम मात्र समूह चरणबाट बाहिरिनेछन् । यस्तै चौथो हुने १२ टोलीको यात्रा पनि समूह चरणमै समाप्त हुनेछ ।
समूह चरणबाट समूह विजेता १२, समूह उपविजेता १२ र उत्कृष्ट ८ तेस्रो हुन टोली गरी ३२ टोली नकआउट चरणमा पुग्नेछन् भने १६ टोली घर फर्कनेछन् ।
नकआउट चरणमा सुरुमा राउण्ड अफ ३२ हुनेछ । यस पटक थपिएको नकआउट राउण्ड हो यो ।
यसमा फिफाले को-को सँग खेल्ने भने तालिका तय गरिसकेको छ । तर तेस्रो हुने टिम पनि नकआउट चरण पुग्ने भएकोले कुन समूहको तेस्रो हुने टिमले कुन समूहको टिमसँग खेल्ने भन्ने विषय समूह चरणको खेलपछि नै टुङ्गो लाग्नेछ ।
यसपटक समूह चरणको खेलहरु पनि प्रतिस्पर्धात्मक हुन सक्छन् अर्थात निराश पनि हुन सक्छ ।
एक जितले पनि नकआउट चरण पुग्ने सम्भावना हुन्छ । त्यसैले धेरै टिमले बचेर पनि खेल्न सक्छन् । कुनै टिमले समूह चरणमा तीनवटै खेल बराबरी खेलेर पनि नकआउट चरणमा पुग्न सक्छ ।
यस पटक राउण्ड अफ ३२ थपिँदा बलिया र उपाधि दाबेदार टिमहरुका लागि थप एक खुड्किलो पार गर्नुपर्ने हुन्छ । त्यसैले यो चुनौती पनि बन्न क्छ ।
यो थपिएपछि समूह चरण बाहेक फाइनलसम्म पुग्ने टिमले ५ खेल खेल्नुपर्नेछ । फाइनल खेल्ने टिमले कूल ८ खेल खेल्नेछ । यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्थे ।
यस्तै तेस्रो स्थानको लागि खेल्ने टिमले पनि ८ खेल नै खेल्नेछन् । हरेक टोलीको लक्ष्य कम्तीमा समूह चरण पार गर्ने हुनेछ त्यसपछि नकआउट चरणमा सबैको असली परिक्षा हुनेछ ।
टिम संख्या बढ्दा यस पटक नआउट चरणमा राउण्ड अफ ३२ पनि थपिएको छ । त्यसपछि प्रि क्वाटरफाइनल हुँदै क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।
यी हुन् सहभागी ४८ टोली
सन् १९३० मा पहिलो पटक विश्वकप आयोजना हुँदा कुनै छनोट प्रतियोगिता भएको थिएन । १३ टिमलाई निमन्त्रणा गरेर विश्वकप खेलाइएको थियो । विश्वकपको ९६ वर्षको इतिहासमा २३औं संस्करणसम्म आइपुग्दा टिम संख्या बढेर ४८ पुगेको छ ।
सन् १९९८ देखि ३२ टिमको विश्वकप हुँदै आएको थियो । जसमा ८ समूह र कूल ६४ खेल मात्र हुन्थे ।
यसअघि १९९४ को फिफा विश्वकप र २०१६ को युरोकपमा पनि उत्कृष्ट तेस्रो टिमहरू नकआउट चरणमा पुगेका थिए ।
यस पटक फिफा विश्वकपमा अहिलेसम्मकै धेरै ४८ टिमले प्रतिस्पर्धा गर्ने भएपछि हरेक महादेशबाट टिम संख्या पनि बढेको छ ।
जसमा युरोपबाट सर्वाधिक १६ टिम छनोट हुँदा अफ्रिकाबाट १०, एसियाबाट ९ टिमले विश्वकप खेल्नेछन् । यस्तै उत्तर तथा मध्य अमेरिका र ल्याटिन अमेरिकाबाट ६-६ तथा ओसिया क्षेत्रबाट १ टिम छन् । टिम संख्या बढ्दा ओसियानाबाट एक टिम सोझै छनोट हुने प्रावधान छ ।
युरोपबाट अष्ट्रिया, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, क्रोएसिया, चेक रिपब्लिक, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड र टर्किएले विश्वकप खेल्नेछन् ।
अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छनोट भएका छन् ।
एसियाबाट अस्ट्रेलिया, इरान, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनोट भएका छन् ।
उत्तर तथा मध्य अमेरिकाबाट आयोजक अमेरिका, मेक्सिको र क्यानडासहित कुरासाओ, हैटी र पनामा तथा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वे विश्वकपमा छनोट भएका छन् । ओसियानाबाट न्युजिल्यान्डले विश्वकप खेल्दैछ ।
समूह विभाजन
समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
समूह बी : क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, कतार, स्वीट्जरल्यान्ड
समूह सी : ब्राजिल, मोरोक्को, हाइटी, स्कटल्यान्ड
समूह डी : अमेरिका, पाराग्वे, अस्ट्रेलिया, टर्किए
समूह इ : जर्मनी, कुराकाओ, आइभरीकोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह आई : फ्रान्स, सेनेगल, इराक, नर्वे
समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के : पोर्चुगल, डीआर कंगो, उज्वेकिस्तान, कोलोम्बिया
समूह एल : इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
प्रतिक्रिया 4