News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले चीनविरुद्धको खेलमा २० ओभरमा ३१३ रन बनाउँदै विशाल योगफल खडा गरेको छ ।
- नेपालले चीनविरुद्धको खेलमा एकै इनिङमा कुल २९ छक्का प्रहार गर्दै सर्वाधिक छक्काको विश्व कीर्तिमान बराबर गरेको छ ।
- नेपाली ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै बाउन्ड्रीबाट सर्वाधिक ११६ रनको नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।
१७ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आइतबार विहान एसियन गेम्स छनोटअन्तर्गत चीनसँगको खेलमा आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ३१३ रनको विशाल योगफल खडा गर्यो ।
उक्त योगफल बनाउने क्रममा केही कीर्तिमानहरू पनि बनेका छन् । नेपाल टी-२०आई क्रिकेटमा दुईपटक ३०० रन पूरा गर्ने पहिलो टिम बन्यो । यसअघि नेपालले सन् २०२३ मा एसियन गेम्सअन्तर्गतकै खेलमा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।
टी-२०आईमा पहिलोपटक ३०० रन कटाउने टिम पनि नेपाल नै थियो । त्यसपछि जिम्बाबेले गाम्बियाविरुद्ध सन् २०२४ मा ३४४ रन बनाएर नेपालको कीर्तिमान तोडेको थियो ।
यस्तै आइतबार नेपालले चीनविरुद्ध कुल २९ छक्का प्रहार गर्यो । यो पनि एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान (संयुक्त रूपमा) हो । स्पेनले पनि सन् २०२५ मा क्रोएसिया विरुद्ध २९ छक्का प्रहार गरेको थियो ।
त्यसैगरी, कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेर दुर्लभ रेकर्ड बनाउन सफल भए । यो रेकर्ड बनाउने उनी नेपालका लागि दोस्रो खेलाडी हुन् भने समग्रमा छैटौं खेलाडी हुन् ।
यस्तै कुशल भुर्तेलले प्रहार गरेको १६ छक्का कुनैपनि नेपाली ब्याटरले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि कुशल मल्लले मंगोलियाविरुद्ध १२ छक्का प्रहार गरेका थिए ।
सर्वाधिक छक्काको विश्व कीर्तिमान भने इस्टोनियाका साहिल चौहानको नाममा छ । उनले साइप्रसविरुद्ध सन् २०२४ मा १८ छक्का प्रहार गरेका थिए ।
यस्तै कुशल भुर्तेलले बाउन्ड्रीबाट सबैभन्दा धेरै रन जोड्ने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले चीनविरुद्ध बाउन्ड्रीबाट मात्र ११६ रन जोडेका थिए, यसअघि कुशल मल्लको १०४ रनको रेकर्ड थियो ।
प्रतिक्रिया 4