+

यस्तो छ फिफा विश्वकप २०२६ खेल्ने ४८ वटा टिमको बेस क्याम्प

२०८३ जेठ  १८ गते १२:१६ २०८३ जेठ १८ गते १२:१६
यस्तो छ फिफा विश्वकप २०२६ खेल्ने ४८ वटा टिमको बेस क्याम्प

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ का लागि तीन आयोजक राष्ट्रमा सहभागी ४८ टोलीका लागि ४८ फरक प्रशिक्षण स्थल तय गरिएको छ ।
  • सहभागी टोलीमध्ये ७ मेक्सिकोमा, २ क्यानडामा र बाँकी ३९ अमेरिकामा रहने बेस क्याम्पमा बस्नेछन् ।
  • प्रमुख कार्यकारी अधिकारी हाइमो शिर्गीले 'टिम बेस क्याम्पहरू कुनै पनि फिफा विश्वकपको संरचनाका अभिन्न अङ्ग हुन्' भनी बताए ।

१८ जेठ, काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकप २०२६ नजिकँदै गर्दा अहिले सहभागी टिमहरू आयोजक राष्ट्र जाने क्रम जारी छ ।

जुन ११ देखि उत्तर अमेरिकाको तीन राष्ट्रमा सुरु हुने फुटबलको महाकुम्भको तयारीका लागि सहभागि टिमले तयारी सुरु गरिसकेका छन् । केही जाने क्रममा छन् भने केही टिम अझे भिसाको प्रतिक्षामा छन् ।

विश्वकपका खेलहरु तीन राष्ट्रको १६ शहरमा आयोजना हुँदैछ । तर त्यसअघि सहभागी ४८ वटै टिमको आ-आफ्नो ट्रेनिङ स्थल अर्थात टिम बेस क्याम्प (टीबीसी) मा रहनेछन् । विश्वकपमा सहभागी टिमका लागि तीन आयोजक राष्ट्रमा ४८ फरक ट्रेनिङ बेस क्याम्प छुट्याइएको छ ।

विश्वकपको इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकपमा प्रतिस्पर्धा गर्न तयारी गरिरहेका टिमहरुका लागि यो बेसक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सहभागी प्रत्येक टोलीले छनोट गरेका यी विश्वस्तरीय प्रशिक्षण सुविधाहरू उनीहरूको घर बाहिरको घर बन्नेछन् । जहाँ खेलाडीहरू, प्रशिक्षकहरू र अफिसयलहरुले समूह चरणको अवधिभर आफ्नो महत्त्वपूर्ण समय बिताउनेछन् ।

यी ४८ वटा प्रशिक्षण स्थलहरू फिफा विश्वकपको प्रभावका लागि महत्त्वपूर्ण हिस्सा हुनेछन् । ती ट्रेनिङ स्थलहरूमा कुनै खेल आयोजना हुने छैन ।

उत्तर अमेरिकामा धेरै यस्ता सहर र नगरहरू छन् जसले उत्कृष्ट पूर्वाधार र १६ वटा आयोजक सहरहरूसँग सहज पहुँच प्रदान गर्दछन् । यी समुदायहरूमा बस्ने र प्रशिक्षण लिने टोलीहरूका साथै उनीहरूलाई पछ्याउने प्रशंसक र सञ्चारकर्मीहरूको उपस्थितिले ठूलो सामाजिक-आर्थिक विकासमा मद्दत पुर्‍याउने विश्वास छ । धेरै भन्दा धेरै स्थानका मानिसहरूले फिफा विश्वकपको उत्साह महसुस गर्न पाउने कुरा सुनिश्चित हुने फिफाले जनाएको छ ।

फिफा विश्वकप २०२६ का प्रमुख कार्यकारी अधिकारी (सीओओ) हाइमो शिर्गीले टिम बेस क्याम्पहरु विश्वकपका लागि अभिन्न अंक जस्तै रहेको बताउँछन् । ‘टिम बेस क्याम्पहरू कुनै पनि फिफा विश्वकपको संरचनाका अभिन्न अङ्ग हुन्’ उनले भने ।

यो त्यस्तो ठाउँ हो जहाँ टोलीहरू बस्छन्, प्रशिक्षण गर्छन्, थकान मेट्छन् र प्रतियोगिताको दैनिक लयको अनुभव गर्छन्, उनले भनेका छन्, ‘फिफा विश्वकप २०२६ का लागि टिम बेस क्याम्प प्रशिक्षण स्थलहरूको अन्तिम सूची तयार हुनु विशेष गरी यसको अभूतपूर्व स्तरका कारण निकै उत्साहजनक छ । जसले हामीलाई यस ऐतिहासिक प्रतियोगितामा अझ बढी समुदाय र प्रशंसकहरूलाई संलग्न गराउने उत्कृष्ट अवसर प्रदान गर्दछ ।’

टीबीएसी प्रशिक्षण स्थल छनोट प्रक्रिया निकै व्यापक र सहयोगात्मक थियो । सन् २०२४ मा आधिकारिक रुपमा टिम बेस क्याम्प छनोट प्रक्रिया सुरु भएको थियो र २०२५ मा यसलाई परिष्कृत गरिँदै विश्वकपको अन्तिम ड्र भएपछि करिब ६० स्थलको विकल्प पेश गरिएको थियो । त्यसबाट अन्तिम ४८ बेस क्याम्पको टुङ्गो लगाइएको हो ।

कोलम्बिया, इरान, दक्षिण कोरिया, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया र उरुग्वे गरी सात सहभागी टोलीहरू मेक्सिकोमा बेस क्याम्पमा बस्नेछन् । यस्तै क्यानडा र पानामा दुवैको प्रशिक्षण स्थल क्यानडामा हुनेछ भने बाँकी ३९ टोलीहरू अमेरिकामा रहनेछन् ।

१६ आयोजक सहरहरू बाहेक २५ वटा अन्य समुदायहरूले पनि राष्ट्रिय टोलीहरूलाई यसही प्रशिक्षण स्थलको लागि आतिथ्यता प्रदान गर्नेछन् । जसमा क्यानडाको न्यू टेकमसेथ, मेक्सिकोको कान्कुन, पाचुका र टिजुआना छन् ।

यस्तै अमेरिकाका अलेक्जान्ड्रिया, अस्टिन, बोका रटन, चार्लोट, च्याटानुगा, कोलम्बस, गोल्टा, ग्रीनब्रियर, ग्रीन्सबोरो, इर्वाइन, मेसा, न्यासभिल, पाम बीच गार्डेन्स, पोर्टल्याण्ड, रेन्टन, सान डिएगो, स्यान्डी, सान्ता बारबरा, स्पोकेन, ट्याम्पा र विन्स्टन-सलेम हुन् । यी स्थलहरुमा विश्वकपका खेल हुने छैनन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय