+

लुइस डियाज : विश्वकपमा कोलम्बियाको भरोसा

२०८३ जेठ  २१ गते १६:५९ २०८३ जेठ २१ गते १६:५९
लुइस डियाज : विश्वकपमा कोलम्बियाको भरोसा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा कोलम्बिया पोर्चुगल, उज्बेकिस्तान र डीआर कंगोसँगै समूह ‘के’ मा प्रतिस्पर्धा गर्दैछ ।
  • सन् २०२२ को विश्वकप गुमाएको कोलम्बियाका लागि विंगर लुइस डियाज पहिलोपटक विश्वकप खेल्ने तयारीमा छन् ।
  • बायर्न म्युनिखका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले डियाजबारे ‘उनमा अराजक शैलीको सिर्जनशीलता छ’ भनी टिप्पणी गरेका छन् ।

२० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा कोलम्बिया विंगर लुइस डियाजको उत्कृष्ट लयसँगै मैदान उत्रँदैछ । सन् २०१४ को ब्राजिल विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेर बनाएको आफ्नो उत्कृष्ट विश्वकप यात्रालाई उछिन्ने लक्ष्यसहित कोलम्बिया समूह ‘के’ मा पोर्चुगल, उज्बेकिस्तान तथा डीआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ ।

२९ वर्षीय डियाजले आफ्नो करियरमा घरेलु क्लब जुनियरदेखि पोर्चुगलको एफसी पोर्टो, इङ्ल्यान्डको लिभरपुल र जर्मनीको बायर्न म्युनिखसम्म सफलता हासिल गरेका छन् । बारान्कासमा जन्मिएका डियाजले उत्कृष्ट ड्रिब्लिङ र आक्रमणकारी क्षमताका कारण किशोर अवस्थामै स्काउटहरूको ध्यान खिचेका थिए ।

उनले जुनियरबाट कोपा कोलम्बिया, कोलम्बियन सुपरलिगा र दुई लिग उपाधि जितेपछि पोर्टोमा स्थान बनाए । पोर्टोका लागि १२५ खेलमा ४१ गोल गर्दै उनले दुई प्रिमाइरा लिगा, दुई टासा डे पोर्चुगल र एक घरेलु सुपर कप जित्न योगदान दिए ।

उनको प्रदर्शनबाट प्रभावित भएर लिभरपुलले जनवरी २०२२ मा ठूलो रकम खर्चेर अनुबन्ध गरेको थियो । एनफिल्डमा उनले मोहमद सालाह, साडियो माने, कोडी गाक्पो र दिवंगत डियोगो जोटासँग उत्कृष्ट साझेदारी गरेका थिए ।

सन् २०२२/२३ सिजनमा चोटका कारण लामो समय बाहिर रहे पनि उनले २०२४/२५ मा लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले ।

जुलाई २०२५ मा जर्मन महारथी बायर्न म्युनिखले उनलाई भित्र्यायो । बायर्नसँग आबद्ध भएको एक महिनामै उनले जर्मन सुपर कप जिते । मार्च २०२६ को अन्तर्राष्ट्रिय विश्रामअघिसम्म उनले सबै प्रतियोगितामा ३८ खेल खेल्दै २२ गोल र १८ असिस्ट गरेका थिए ।

बायर्न प्रशिक्षक भिन्सेन्ट कोम्पानीले डियाजबारे भनेका छन्, ‘उनमा अराजक शैलीको सिर्जनशीलता छ । फाइनल थर्डमा पुग्दा उनी धेरै सोच्दैनन्, स्वाभाविक खेल्छन् र डिफेन्डरलाई छल्ने प्रयास गर्छन् । लुचो (डियाज) लाई रोक्न खोज्दा आक्रमण सकियो जस्तो लाग्छ, तर अचानक उनी गोलतर्फ दौडिरहेका हुन्छन् वा फाउल निकाल्छन् । यही कारण उनी खतरनाक छन् ।’

कोलम्बियाका कप्तान जेम्स रोड्रिग्वेजले पनि डियाजको प्रशंसा गर्दै भने, ‘म उनको धेरै नजिक छु, उनी निकै सरल स्वभावका छन् । उनले ठूला उपाधि जितून् भन्ने मेरो चाहना छ । भविष्यमा पनि लुचो जस्ता खेलाडीहरू देख्न पाइयोस् ।’

डियाज २०२१ को कोपा अमेरिका २०२१ का संयुक्त सर्वाधिक गोलकर्ता थिए । उनले चार गोल गर्दै लियोनल मेस्सीसँग शीर्ष स्थान बाँडेका थिए । यस विश्वकप छनोटमा पनि उनले सात गोल गरे, जुन दक्षिण अमेरिकी छनोट चरणमा दोस्रो सर्वाधिक थियो  ।

७१ अन्तर्राष्ट्रिय खेलमा २१ गोल गरेका डियाज कोलम्बियाका चौथो सर्वाधिक गोलकर्ता हुन् । यो सूचीमा राडामेल फाल्काओ ३६ गोलसहित शीर्ष स्थानमा छन् भने जेम्स रोड्रिगेज ३१ र आर्नोल्डो इगारन २५ गोलसहित अगाडि छन् ।

सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बियाका लागि यो डियाजको पहिलो विश्वकप हुनेछ । स्थिर टोली, अनुभवी खेलाडी र स्पष्ट रणनीतिका कारण कोलम्बिया यसपटक विश्वकपमा प्रभाव पार्न सक्ने टोलीका रूपमा हेरिएको छ ।

बहुपयोगी क्षमता, निर्णायक प्रदर्शन गर्ने खुबी र उत्कृष्ट फुटबल बौद्धिकताका कारण डियाज कोलम्बियाको सफलताको मुख्य आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।

कोलम्बिया फुटबल फिफा विश्वकप फिफा विश्वकप २०२६ लुइस डियाज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय