News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानले भुटानविरुद्धको खेलमा नेपाली खेलाडीहरूबाट भएको 'टाइमआउट' अपिलको घटनाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ ।
- एसीसी प्रिमियर कपअन्तर्गत भुटानका ब्याटर मैदान प्रवेश गर्न ढिला भएपछि नेपाली खेलाडीहरूले अम्पायरसमक्ष टाइमआउटको अपिल गरेका थिए ।
- क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा यो घटना क्रिकेटको मूल्य र खेलभावनाअनुरूप नभएको उल्लेख गरिएको छ ।
२१ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भुटानविरुद्धको खेलमा नेपाली खेलाडीहरूबाट भएको ‘टाइमआउट’ अपिल भएको घटनाप्रति माफी मागेको छ ।
क्यानले विज्ञप्ति जारी गर्दै उक्त घटना आफूहरूले अंगिकार गर्ने क्रिकेटको मूल्य र खेलभावनाअनुरूप नभएको जनाएको छ ।
‘यो आउट क्रिकेटको नियमभित्र रहेर गरिएको भए पनि खेलको भावना लिखित नियमभन्दा माथि हुन्छ र त्यो सधैं हाम्रो व्यवहारको केन्द्रमा रहनुपर्छ भन्ने हामी स्वीकार गर्छौं’ क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
क्यानले नेपालजस्तो विकासशील क्रिकेट राष्ट्रका लागि खेल भावना, पारस्परिक सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राखिने उल्लेख गर्दै उक्त घटनाले ती मान्यताअनुसार व्यवहार गर्न नसकेको स्वीकार गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट उत्पन्न हुन गएको निराशाप्रति हामी दुःख व्यक्त गर्छौं ।’
क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा सरोकारवालासमक्ष क्षमायाचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना तथा उच्च नैतिक मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ ।
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीच आज विहान भएको खेलमा भुटानले जवाफी ब्याटिङ गर्दा इनिङको पहिलो बलमै विकेट गुमेपछि वान डाउन ब्याटर आउन केही ढिला भएको थियो ।
सो क्रममा नेपाली खेलाडीले अम्पायरसँग प्रश्न गर्दै अपिल गरेका थिए । नियमानुसार यो मान्य हुने भएपनि खेलभावना विपरित मानिँदै आएको छ ।

प्रतिक्रिया 4