News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी तेस्रो ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
- प्रतियोगिताको क्वाटरफाइनलमा डीएभी, केएमसी, अपी, सैनिक आवासीय, मोक्षदा, जेम्स, नेपाल पुलिस र रत्नराज्य माध्यमिक विद्यालय प्रवेश गरेका छन् ।
- आगामी २६ जेठसम्म सञ्चालन हुने यस प्रतियोगितामा देशभरका कुल २४ विद्यालय टोलीले सहभागिता जनाएका छन् ।
२२ जेठ, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगितामा समूह चरणका खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
गत १९ गतेदेखि सुरु भएको प्रतियोगितामा समूह चरणका अन्तिम खेलहरू शुक्रबार सकिएपछि अन्तिम आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल शनिबार बिहान ९ बजे हुनेछ, जसमा डीएभी स्कुलले केएमसी स्कुलसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी शनिबार दिउँसो १ः३० बजे हुने दोस्रो क्वाटरफाइनल खेलमा अपी स्कुल र सैनिक आवासीय महाविद्यालय आमनेसामने हुनेछन् ।
आइतबार बिहान ९ बजे तेस्रो क्वाटरफाइनलमा मोक्षदा स्कुलले जेम्स स्कुलसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैदिन दिउँसो १ः३० बजे हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुलले रत्नराज्य माध्यमिक विद्यालयसँग भिड्नेछ ।
समूह चरणको अन्तिम नतिजा
शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा रत्नराज्य माध्यमिक विद्यालयले संस्कृति इन्टरनेशनल स्कुललाई ९१ रनले पराजित गरेको थियो। जितसँगै टोलीले दुई खेलमा दुई अंक जोड्दै अन्तिम आठमा स्थान बनाएको हो ।
सोही मैदानमा सम्पन्न दोस्रो खेलमा मोक्षदा स्कुल र क्लिन्टन स्कुलबीच वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडे । दुई खेलमा एक जित र एक बराबरीसहित तीन अंक जोडेको मोक्षदा क्वाटरफाइनलमा प्रवेश गर्यो ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सैनिक आवासीय महाविद्यालयले क्रिएटिभ एकेडेमीलाई १० विकेटले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । दुवै खेल जितेको सैनिक चार अंकसहित क्वाटरफाइनल पुगेको हो ।
सोही मैदानमा डीएभी स्कुलले रेडियन्ट रिडर्स स्कुललाई १७८ रनले पराजित गर्दै दुई खेलमा दुई जितसहित समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो ।
तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा जेम्स स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्दै समूह ‘जी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो ।
सोही मैदानमा सम्पन्न अर्को खेलमा नेपाल पुलिस स्कुलले पिक प्वाइन्ट एकेडेमीलाई डकवर्थ–लुइस (डीएलएस) विधिअनुसार ४९ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । जितसँगै समूह ‘एच’ मा दुई खेलमा चार अंकसहित समूह विजेताका रूपमा पुलिस क्वाटरफाइनलमा प्रवेश गर्यो ।
आगामी जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया 4