+

पाकिस्तानमा बन्छ फिफा विश्वकपमा खेलिने बल, यस्तो छ यस संस्करणको बल ‘ट्रिओन्डा’

२०८३ जेठ  २२ गते १७:१२ २०८३ जेठ २२ गते १७:१२

फिफा विश्वकप २०२६ मा खेलाइने आधिकारिक बल ट्रिओन्डा एडिडासले डिजाइन गरेको धेरैलाई थाहा भएपनि उत्तरपूर्व पाकिस्तानको सानो शहर सियालकोटमा यो बल उत्पादन हुन्छ भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ ।

पाकिस्तानमा बन्छ फिफा विश्वकपमा खेलिने बल, यस्तो छ यस संस्करणको बल ‘ट्रिओन्डा’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकप २०२६ को आधिकारिक बल 'ट्रिओन्डा' पाकिस्तानको सियालकोटस्थित फरवार्ड स्पोर्ट्स कम्पनीले उत्पादन गरेको छ ।
  • एडिडासले डिजाइन गरेको यस बलमा आयोजक तीन राष्ट्रको प्रतिनिधित्व गर्ने तारा, मेपलको पात र चीलको चिह्न राखिएको छ ।
  • यो उच्च प्रविधियुक्त बलमा भिडियो असिस्टेन्ट रेफ्रीलाई वास्तविक समयमै डाटा पठाउनका लागि ५०० हर्ट्जको मोसन सेन्सर चिप जडान गरिएको छ ।

२२ जेठ, काठमाडौं । पाकिस्तान अहिलेसम्म फिफा विश्वकपमा छनोट हुन सकेको छैन । तर पछिल्ला संस्करणको फुटबल विश्वकप आउँदै गर्दा पाकिस्तानको नाम पनि जोडिन्छ । हरेक पटक विश्वकपको खेल भइरहँदा त्यहाँ पाकिस्तानीहरूको सपना जोडिएको हुन्छ ।

फिफा विश्वकप २०२६ यही जुन ११ देखि उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । त्यसमा पाकिस्तान छनोट भएको छैन । एसियाली छनोटको पहिलो चरणमा कम्बोडियालाई हराएको पाकिस्न दोस्रो चरणमा समूह जी मा सबै ६ खेलमा पराजित हुँदै पूछारमा रहेर बाहिरियो ।

यहाँ चर्चा गर्न खोजिएको विषय पाकिस्तानको फुटबल टिमको होइन । तर फिफा विश्वकपमा कुनै न कुनै रूपमा पाकिस्तान जोडिएको विषयमा चर्चा गरिएको छ ।

प्रसंङ्ग हो फिफा विश्वकपमा प्रयोग हुने बलको ।

अहिले विश्वकपमा खेलाइने बल पाकिस्तानमै उत्पादन गरिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । जुन ११ देखि सुरु हुने २३औं संस्करणको फिफा विश्वकपमा पनि पाकिस्तानमै बनेको बल खेलाइनेछ ।

अहिलेसम्मकै ठूलो विश्वकपमा कूल १०४ खेल हुँदा त्यहाँ पाकिस्तानमै बनेको बलहरू मैदानमा देखिनेछ । विश्वकै उत्कृष्ट खेलाडी देखि उदीयमान प्रतिभाहरूले पनि यही बललाई खेल्नेछन् ।

फिफा विश्वकप २०२६ मा खेलाइने आधिकारिक बल ट्रिओन्डा एडिडासले डिजाइन गरेको धेरैलाई थाहा भएपनि उत्तरपूर्व पाकिस्तानको सानो शहर सियालकोटमा यो बल उत्पादन हुन्छ भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ ।

फिफा विश्वकप २०२६ मा प्रयोग गरिने बल उच्चतम प्रविधियुक्त बनाइसकेको छ । विश्वकपमा खेलिने बल कस्तो छ भन्ने विषयमा चर्चा गर्नुअघि यो बल कहाँ कसरी बन्छ भन्ने विषयमा यहाँ उल्लेख गरिएको छ ।

यो उच्च प्रविधियुक्त बल पाकिस्तानको सियालकोटमा रहेको ‘फरवार्ड स्पोर्ट्स’ (Forward Sports) कम्पनीले उत्पादन गरेको हो ।

फरवार्ड स्पोर्ट्स सन् १९९१ मा पाकिस्तानको पञ्जापस्थित सियालकोटमा स्थापना भएको कम्पनी हो । यसको मुख्य काम नै फुटबलहरू उत्पादन गर्नु नै हो । जसले विश्व चर्चित ब्राण्ड एडिडास लगायतका कम्पनीका लागि बल निर्माण गर्छ ।

सन् १९९४ देखि नै फरवार्ड स्पोर्ट्सले एडिडाससँग सहकार्य गरेर विभिन्न प्रतियोगितमाहरूमा बल निर्माण गर्दै आएको छ । पछिल्लो चार संस्करणमा पाकिस्तानकै कम्पनीले विश्वकपको बल उत्पादन गरिसहेको छ भने युईएफए च्याम्पियन्स लिगको लागि पनि बल उत्पादन गरेको छ ।

उक्त कम्पनीले यसअघि विभिन्न संस्करणको युरोपियन च्याम्पियन्स लिगको लागि पनि बल बनाएको छ । यस्तै सन् २०१४ को फिफा विश्वकपदेखि विश्वकपमा खेलाइने बल पनि बनाउँदै आएको छ ।

फरवार्ड स्पोर्ट्सले सन् २०१४ को फिफा विश्वकपमा ब्राजुका, २०१८ को फिफा विश्वकपमा टेलस्टरा १८, २०२२ को फिफा विश्वकपमा अल रिहला र अहिले २०२६ को विश्वकपमा ट्रिओन्डा नामक बल निर्माण गरेको छ ।

यस कम्पनीले फुटबल बलका साथै ह्यान्डबल, बिच बल, इन्डवर बल, गोलकिपिङ ग्लोभ्स, स्पोर्ट्स ब्यागहरू समेत निर्माण गर्दै आएको छ ।

विश्वकै ठूलो फुटबल उत्पादक कम्पनीको रूपमा रहेको फरवार्ड स्पोर्ट्स ले तीन दशकको अनुभव र अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै वार्षिक रूपमा २ करोड (२० मिलियन) भन्दा बढी फुटबलहरू उत्पादन गर्दछ ।

फिफा विश्वकपका आधिकारिक म्याच बलहरूदेखि लिएर विश्वका उत्कृष्ट लिग प्रतियोगिताहरूसम्मका लागि हरेक पटक, प्रत्येक बलमा सटिकता, उच्च गुणस्तर र नवीनता प्रदान गर्ने कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

विश्वभरका उच्च गुणस्तरका र हातले सिलाइएका फुटबलहरूमध्ये करिब ७० प्रशित फुटबल पाकिस्तानले उत्पादन गर्दछ । जुन वार्षिक रूपमा अनुमानित ४ देखि ६ करोड (४०-६० मिलियन) बल हो । यस उद्योगले त्यहाँका १ हजार भन्दा बढी कारखानाहरूमा करिब ६० हजार जनालाई रोजगारीको अवसर दिएको छ ।

फरवार्ड स्पोर्ट्सका इन्जिनियर र डिजाइनरले सुरुमा बलको डिजाइन र डिजिटल मोडलिङ तयार पार्छन् ।

हावामा हुँदा बलको सन्तुलन देखि हावाको अवरोधसम्मको विषयलाई सुक्ष्म तरिकाले हेरिन्छ । त्यसपछि कच्चा पदार्थ छनोट गरी लेयरिङ गरिन्छ । पानीको मात्रलाई शुन्य बनाउन विश्वकपको बलमा परम्परागत छालाको प्रयोग नगरी उच्च गुणस्तरको सिन्थेटिक सामाग्री प्रयोग रिन्छ ।

बकलको भित्री भागमा उच्चर गुणस्तरको ब्लुटाइल रबरबाट ब्लाडर बनाइन्छ जसले हावाको चापलाई लामो समयसम्म कायम राख्छ । यस्तै बाहिरी भागमा ब्लाडरमाथि सिन्थेटिक लेयर र इभीए फोमहरूको पत्रहरू थपिन्छ । जसले बललाई लचकता र बाउन्स प्रदान गर्छ ।

त्यसपछि प्यानल काट्ने र छपाई गर्ने का हुन्छ भनी कनेक्टेड बल प्रविधि जडान गरी थर्मल बन्डिङ गरिन्छ । त्यसपछि इम्बोसिङ र टेक्सचरिङ गरिन्छ । बललाई तयार गरेर बाहिर पठाउनुअघि बलको गुणस्तर परिक्षण गरिन्छ ।

फिफा विश्वकप २०२६ को अफिसियल बल ट्रिओन्डा

फिफा विश्वकप २०२६ मा प्रयोग गरिने आधिकारिक म्याच बलको नाम ‘ट्रिओन्डा’ (TRIONDA) हो । विश्वकै चर्चित खेलकुद खेलकुद सामग्री देखि जर्सी निर्माता कम्पनी एडाडासले यो बलको निर्माण गरेको हो ।

स्पानिस शब्द ट्रिओन्डाको अर्थ थ्री वेभ्स वा तीन छालहरू भन्ने हुन्छ । ट्रिको अर्थ तीन र ओन्डाको अर्थ तरङ्ग अर्थात छालहरू भन्ने हुन्छ ।

इतिहासमै पहिलो पटक तीन राष्ट्र मिलेर फिफा विश्वकप २०२६ आयोजना गर्न लागेको अवसरमा यस पटकको बलमा आयोजक तीनवटै राष्ट्रको रङ र सिम्बोललाई समेटेको छ ।

बलमा विश्वकप आयोजक तीनवटै राष्ट्रको प्रतिनिधित्व गर्ने चिन्हहरू समावेश गरिएको छ । जसमा अमेरिका, क्यानडा र मेक्सिकोको एकतालाई दर्साउने गरी बल निर्माण गरिएको हो ।

क्यानडाका लागि ‘मेपलको पात’ (maple leaf), मेक्सिकोका लागि ‘चील’ (eagle) र संयुक्त राज्य अमेरिकाका लागि ‘तारा’ (star) राखिएको फिफाले जनाएको छ । ।

यस्तै बलको जीवन्त डिजाइनमा रातो, हरियो र नीलो रंगको संयोजन गरिएको छ । जसले तीनवटै आयोजक राष्ट्रप्रतिको सम्मान दर्शाउँछ ।

यस बलमा नयाँ प्रविधि र बनोट प्रयोग गरिएको छ । यो बल अहिलेसम्मकै सबैभन्दा कम अर्थात् मात्र ४ वटा प्यानल जोडेर बनाइएको छ । यसको गहिरो सिलाइले हावामा बलको गतिलाई सन्तुलित र स्थिर राख्न मद्दत गर्छ ।

फिफाका अनुसार यी प्यानलहरू बलको केन्द्रमा जोडिएर एउटा त्रिकोण बनाउँछन्, जसले तीन आयोजक राष्ट्रहरूको ऐतिहासिक एकतालाई संकेत गर्दछ ।

साथै फिफा विश्वकप ट्रफीको सम्मानमा यसमा सुनौलो रंग पनि प्रयोग गरिएको छ । जसले फिफाको यस प्रतिष्ठित प्रतियोगिताले प्रदान गर्ने मञ्चको गरिमालाई झल्काउने फिफाले जनाएको छ ।

ट्रिओन्डामा प्रदर्शनलाई उत्कृष्ट बनाउने धेरै प्रमुख र नवीन प्रविधिहरू समावेश गरिएका छन् । यसको चार-प्यानल संरचनामा विशेष रूपमा गहिरा सिलाईहरू राखिएका छन् । यसले बल हावामा गुडिरहँदा पर्याप्त र समान रूपमा हावाको अवरोध सुनिश्चित गरी उडानको समयमा बललाई उत्कृष्ट स्थिरता प्रदान गर्दछ ।

यसका साथै, नजिकबाट मात्र देखिने गरी कोरिएका बाह्य चिह्नहरूले ओसिलो वा अत्यधिक पानी परेको मौसममा पनि बललाई प्रहार गर्दा वा ड्रिब्लिङ गर्दा खेलाडीको पकड लाई बलियो बनाउँछन् ।

फिफा विश्वकपको यस आधिकारिक म्याच बलमा ‘कनेक्टेड बल टेक्नोलोजी’ को प्रयोग गरिएको छ । बल भित्र अत्याधुनिक ५०० हर्ट्ज मोशन सेन्सर चिप राखिएको छ । यसले बलको चालको प्रत्येक पक्षको विस्तृत जानकारी प्रदान गर्दछ ।

यो प्रविधिले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) वास्तविक समयमै (रियल टाइम) डाटा पठाउँछ, जसले गर्दा अफसाइड र अन्य कठिन निर्णयहरू चाँडो र सही तरिकाले लिन रेफ्रीहरूलाई मद्दत पुग्छ ।

ट्रिओन्डा फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय