News Summary
Generated by OK AI. Editorially reviewed.- विकसित देशहरूमा प्रणाली र अनुशासन दुरुस्त भए तापनि मानिसहरू चरम एक्लोपन तथा भावनात्मक विच्छेदको शिकार भइरहेका छन् ।
- नेपाली समाजमा सार्वजनिक अनुशासनको केही कमी देखिए पनि आपसी आत्मीयता, सामाजिक सहानुभूति र परस्पर निर्भरताको चेत जीवितै छ ।
- सभ्यता र 'सिभिक सेन्स' लाई केवल नियम पालनामा मात्र सीमित नगरी मानवीय सम्बन्ध र हेरचाहका रूपमा बुझ्नु आवश्यक छ ।
झरी परिरहेको दिउँसो म र मेरो दाइ राजनीति बारे कुरा गर्दैथियौं। राष्ट्रपति सरकारले ल्याएको नीति तथा कार्यक्रम पढिरहनुभएको बेला प्रधानमन्त्री हिंडेको दृश्य मलाई अझै पचेको थिएन।
मेरो दाइ अलि व्यवस्थाप्रेमी मान्छे हुनुहुन्छ। सानैदेखि त्यस्तै। अनुशासन उहाँलाई मन पर्छ, अझ त्यो अनुशासन लागू गर्न पाए झन् रमाउनुहुन्छ।
मलाई त्यो घटना असभ्य लाग्यो। राष्ट्रपति भनेको आखिर मेरो पनि राष्ट्रपति हो। कुर्सीमा को बसेको छ भन्नेभन्दा पनि त्यो कुर्सीले प्रतिनिधित्व गर्ने संस्थाको सम्मानको कुरा हो भन्ने लाग्थ्यो।
दाइ सहमत हुनुभएन। ‘ठीक छ, मानें व्यवहार राम्रो भएन’ उहाँले भन्नुभयो, ‘तर पदमा बसेकै भरमा कसैलाई किन सम्मान गर्ने? मान्छे महत्वपूर्ण कि पद? तिमी आफैं भन त, त्यो पद बाहेक अरू केही नसोच्ने राष्ट्रपतिलाई तिमी सम्मान गर्न सक्छ्यौ?’
उहाँले भन्न खोजेको कुरा मैले बुझेकी थिएँ। किनभने केही वर्ष अगाडि मात्रसम्म पनि म त्यही सोच्थें।
‘तर दाइ; व्यक्ति मन नपर्न सक्छ। विचार मन नपर्न सक्छ। राजनीतिसँग असहमति हुन सकिन्छ। संस्था व्यक्तिभन्दा ठूलो हुन सकेन भने त प्रणाली टिक्दैन नि त!’ मैले भनें।
दाइ हाँस्नुभयो। ‘प्रणाली? नेपालमा? नेपालीलाई त सामान्य सिभिक सेन्स पनि छैन!’
आहा! राष्ट्रिय रोगको आधिकारिक निदान।
नेपालमा जे समस्या भए पनि अन्तिम निष्कर्ष यही हुन्छ, नेपालीलाई सिभिक सेन्स छैन।
ट्राफिक हेर्यो, सिभिक सेन्स छैन।
लाइन बिग्रियो, सिभिक सेन्स छैन।
हर्न बज्यो, सिभिक सेन्स छैन।
कसैले बाटोमा फोहोर फाल्यो, सिभिक सेन्स छैन।
मैले यो यति धेरै सुनिसकें कि अब यो वाक्य तथ्यभन्दा पनि मन्त्र जस्तो भइसकेको छ। प्रश्नै नगरी दोहोर्याइने मन्त्र।
विशेषगरी शहरिया मध्यमवर्ग र आफूलाई निकै ‘सभ्य’ ठान्ने जमातमा त नेपाल सिभिक सेन्सविहीन राष्ट्र हो भन्ने निष्कर्ष लगभग स्थापित भइसकेको छ। र अझ, हामीले सभ्यताको परिभाषा कतै पश्चिममा लेखिएको हुन्छ, हामी त्यसको नक्कल गर्दै हिंड्ने विद्यार्थी हौं, र त्यसमा सधैं पछि परिरहेका छौं भन्ने कुरा लगभग स्वीकार गरिसकेका छौं।
तर यी सबैका बीच मेरो एउटा प्रश्न— यो सिभिक सेन्सको परिभाषा कसले बनायो? सभ्यता भनेको साँच्चै लाइनमा उभिन सक्नु मात्र हो?
यदि त्यही मापदण्ड हो भने, स्विट्जरल्यान्ड, जर्मनी वा जापान हामीभन्दा धेरै अगाडि छन्। रेल समयमै आउँछ। सडक व्यवस्थित छन्। सार्वजनिक ठाउँहरू शान्त छन्। कसैले अनावश्यक प्रश्न गर्दैन। छोराछोरी चाँडै घर छोड्छन्। आमाबाबुले हस्तक्षेप गर्दैनन्। छिमेकीले आफ्नो काम गर्छन्। सबै कुरा मिलेको देखिन्छ। तर भावनात्मक दूरीले आफूलाई सभ्यताको खोल ओढाएर अत्यन्त सभ्य समाजको सूचकचाहिं कसरी बनायो ?
जापानमा ‘कोदोखुशी’ भन्ने शब्द छ। नेपालीमा त्यसको ठ्याक्कै समानार्थी शब्द छैन। यसले एक्लै बस्ने मानिसको मृत्यु भएको कैयौं दिन, कहिलेकाहीं हप्तौंसम्म कसैलाई थाहा नहुने अवस्थालाई जनाउँछ।
अनि बेलायतको प्रसङ्ग छ, जहाँ एक्लोपन यति ठूलो सामाजिक तथा सार्वजनिक स्वास्थ्य समस्याको रूपमा देखा पर्यो कि त्यसका लागि सरकारले छुट्टै मन्त्री नै नियुक्त गर्नुपर्यो।
अमेरिका र अस्ट्रेलियामा लाखौं वृद्धवृद्धा केयर होममा बस्छन्। सन्तान कहिलेकाहीं बिदाको बेला भेट्न आउँछन्। किनकि आधुनिक जीवनले परस्पर निर्भरताका लागि धेरै ठाउँ छाडेको छैन।
यी समस्या बिग्रिएका सडक, अस्तव्यस्त ट्राफिक वा नमिलेका लाइनहरू भन्दा कैयौं गुणा विकराल छन्। यी त मानव सम्बन्धमा परेका चिरा हुन्, जसले मानिसहरू सम्बन्धहरूको बीचमा भएर पनि कति एक्लो हुन सक्छन् भन्ने तस्वीर देखाउँछन्। तर अझै पनि यिनै समाजहरूलाई हामी सभ्यताको अन्तिम नमूना मानेर हेरिरहेका हुन्छौं। किनकि उनीहरू लाइन राम्रोसँग बस्छन्!
पूर्वी युरोप, सिंगापुर र यस्तै विकसित भनिने देशहरू घुम्दा मैले एउटा कुरा भने सिकें। त्यहाँ दक्षता (इफिसियन्सी) लाई असाध्यै उच्च प्राथमिकता दिइँदो रहेछ। व्यक्तिगत गोपनीयता (प्राइभेसी) लाई पनि। सबै कुरा व्यवस्थित, छरितो र नियमबद्ध। तर सहानुभूति भने कताकता अलि टाढै छोडिएको जस्तो लाग्यो। वैकल्पिक जस्तो। तर नेपालमा मैले अर्कै कुरा देखेकी छु।
एकपटक कामको सिलसिलामा पर्सा पुगेकी थिएँ। एउटा रूखमुनि चार जना महिला गफ गरिरहेका थिए। म पनि गएर बसें। कुराकानी शुरु भयो छोराछोरी, घरव्यवहार, खेतीपाती, जीवन विषयमा। कुराकानी गर्दागर्दै कहिले म उहाँहरूमध्ये एक जनाको काखमा टाउको राखेर सुस्ताएँ, कहिले उहाँले मेरो कपाल सुम्सुम्याउनुभयो, मलाई पत्तै भएन। अपरिचितहरू बीच पनि आत्मीयता उम्रिन सक्ने यस्तो क्षण शायद नेपालले मात्र सम्भव बनाउँछ। र शायद हामीले आफ्नै समाजबारे नबुझेको कुरा यही हो।
हामी प्रश्न सोध्छौं। चासो राख्छौं। कहिलेकाहीं हस्तक्षेप गर्न पनि पछि पर्दैनौं। कहिलेकाहीं आवश्यकताभन्दा धेरै पनि। हो, हामीमध्ये केहीलाई एकपटक सहयोग गरेर त्यसको कथा अर्को दश वर्षसम्म सुनाइरहन मन लाग्छ।
यी सबै कमजोरीका बावजुद पनि मलाई यस्तै समाज प्रिय लाग्छ। कम्तीमा यहाँ मानिसहरूले सहयोग गरेको बढाइँचढाइ त गर्छन् तर एकअर्कालाई पूर्ण रूपमा बेवास्ता गर्दैनन्।
हाम्रो समाजमा कसैलाई दुःख पर्दा त्यो दुःखसँग आफ्नो पनि केही सम्बन्ध छ भन्ने चेत अझै जीवित छ। र शायद त्यही सिभिक सेन्सको अझ विकसित रूप हो— लाइन बस्ने, ट्राफिक बत्ती मान्ने वा फोहोर डस्टबिनमा फाल्नेभन्दा धेरै माथिको। परस्पर निर्भरता बोधको। हामी एकअर्कालाई छलेर, टारेर, बेवास्ता गरेर बाँचेका पृथक् जीव होइनौं भन्ने बुझाइको।
हो, सार्वजनिक अनुशासन आवश्यक छ। फोहोर डस्टबिनमै फाल्नुपर्छ। लाइनमा आफ्नो पालो कुर्नुपर्छ। ट्राफिक नियम पालना गर्नुपर्छ। तर सिभिक सेन्सलाई त्यतिमै सीमित गरिदिनु अन्याय हो। किनभने सभ्यता शान्ति, दूरी र व्यवस्थित लाइनबाट नापिंदैन।
सिभिक सेन्सको अझ विकसित रूप समाजले आफ्ना वृद्धवृद्धालाई कसरी हेर्छ, उनीहरूको जिम्मेवारी कसरी बहन गर्छ, र उनीहरूलाई कति साथ दिन्छ भन्ने कुरामा पनि देखिन्छ।
छिमेकीले कसैलाई धेरै दिन नदेख्दा खोजखबर गर्छ कि गर्दैन?, अझै ‘खाना खानुभयो?’ भन्ने प्रश्न बाँकी छ कि छैन?, बस र टेम्पोमा अझै ‘घर कहाँ हो?’ भनेर गफ शुरु हुन्छ कि हुँदैन? मलाई लाग्छ, सभ्यता त्यहाँ पनि देखिन्छ।
हामीसँग सार्वजनिक अनुशासनको कमी हुन सक्छ। तर आधुनिक दुनियाँले सिभिक सेन्सको परिभाषालाई यति धेरै व्यावहारिक दक्षतामा सीमित गरिदिएको छ कि सभ्यताको उद्देश्य अरू पनि केही हुन सक्छ भन्ने कुरा हामीले बिर्सिन थालेका छौं।
यदि समाजसँग भावनात्मक सम्बन्ध तोड्दै, चुपचाप लाइनमा उभिनु नै विकासको अन्तिम खुड्किलो हो भने, शायद हामी साँच्चै अविकसित नै हौं। तर लाइन र प्रणालीलाई पूर्णता दिएको भन्दै, एक्लोपन, भावनात्मक विच्छेद र आफ्नै समाजले बुझ्न संघर्ष गरिरहेका हिंसालाई सामान्य बनाएका समाजबाट सभ्यताको पाठ सिक्न म भने अलि हच्किन्छु।
प्रतिक्रिया 4