+
एसियन गेम्स छनोट :

एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित च्याम्पियन

२०८३ जेठ  २५ गते १५:३९ २०८३ जेठ २५ गते १५:३९

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित रहेर च्याम्पियन बनेको छ ।

एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गर्दै उपाधि जितेको छ ।
  • वर्षाका कारण खेल रोकिनुअघि हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको थियो ।
  • नेपालका कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय पारी खेले भने बलिङतर्फ शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए ।

२५ जेठ, काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित रहेर च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।

सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।

त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे ।

हङकङका लागि एहसान खान र आयुष शुक्लाले १-१ विकेट लिए ।

नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो ।

यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको सर्वाधिक सफल रन चेज थियो ।

अंशुमन राथ र शाहिद वासिफलेे शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । नेपालले १८९ रनको लक्ष्य पूरा गरेमा नेपालको टी-२०आईमा कीर्तिमानी रन चेज हुनेछ ।

हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए ।

नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

एक समय १८ ओभरमा १७९-५ को अवस्थामा भएपनि हङकङले अपेक्षित फिनिसिङ भने गर्न सकेन ।

नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित थिए ।

एसियन गेम्स क्रिकेट छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय