News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
- आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जनाएको छ ।
- टेक्निकल डाइरेक्टर जगदिश भट्टले यो लिगले नेपालको महिला भलिबल विकासमा ठूलो सहयोग पुग्ने बताए ।
२५ जेठ, काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जनाएको हो ।
फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि दशैंअघि प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ । स्तरोन्नति सम्पन्न भइसकेको कभर्डहलमा हालै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना भएकाले यसपटक काठमाडौंलाई नै प्रतियोगिता स्थलका रूपमा छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित इडब्लुभिएलले नेपाली महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ । यसअघि पहिलो संस्करण काठमाडौंमा र दोस्रो संस्करण पोखरामा सुरु भएको थियो । दोस्रो संस्करणका केही खेल तथा फाइनल भने प्राविधिक कारणले काठमाडौंमा सम्पन्न गरिएको थियो ।
साविक विजेता कर्णाली यशविसले पहिलो र दोस्रो दुवै संस्करणको उपाधि जितेको थियो । दोस्रो संस्करणमा कर्णाली यशविससँगै ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए ।
इडब्लुभीएलका टेक्निकल डाइरेक्टर जगदिश भट्टले तेस्रो संस्करण अघिल्ला संस्करणभन्दा अझ भव्य र प्रतिस्पर्धात्मक हुने बताए ।
‘एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण गत वर्ष भन्दा अझ भव्य र उत्कृष्ट हुनेछ । किनभने नेपालको महिला भलिबल अहिले एफआईभिबी विश्व वरियतामा पनि समावेश छ, एसियाको शीर्ष दस वरियतामा पुगेको छ र जापानमा हुजे एसियन गेम्समा पनि छनोट भएको छ’ भट्टले भने ।
‘यस पटक काठमाडौमै लिग हुँदैछ । यो लिगले खेलाडीहरुले आर्थिक रुपमा पनि केही आर्जन गर्नेछन् । यसले गर्दा पनि यो लिगले नेपालको महिला भलिबल विकासमा ठूलो सहयोग पुग्छ’ उनले थपे ।
प्रतिक्रिया 4