News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सेली विङ्गर माइकल ओलिसले यस सिजन ३० असिस्ट गर्दै युरोपका शीर्ष पाँच लिगमा एकै सिजन सर्वाधिक असिस्ट गर्ने फ्रान्सेली खेलाडीको कीर्तिमान बनाए ।
- २४ वर्षीय फ्रान्सेली खेलाडी माइकल ओलिस पहिलोपटक फिफा विश्वकप खेल्ने तयारीमा जुटेका छन् ।
- ह्यारी केनले ओलिसका बारेमा "उनी अहिले विश्वकै उत्कृष्ट विंगर हुन्" भने ।
२६ जेठ, काठमाडौं । माइकल ओलिस मैदानबाहिर शान्त स्वभावका देखिए पनि मैदानमा उनको खेल भने बिल्कुलै फरक छ । बायर्न म्युनिखमा बिताएका दुई वर्षमै उनले टोलीको राइट विङ पोजिसनमा आफ्नो स्थान पक्का गरिसकेका छन् । अब २४ वर्षीय फ्रान्सेली खेलाडी पहिलोपटक फिफा विश्वकप खेल्ने तयारीमा छन् ।
इङ्ग्ल्यान्डको ह्यामर्स्मिथमा नाइजेरियन पिता तथा फ्रान्सेली-अल्जेरियन आमाबाट जन्मिएका ओलिसको खेलशैलीमा विभिन्न संस्कृतिको प्रभाव देखिन्छ । उनले सन् २०१९ मा रिडिङबाट व्यावसायिक डेब्यू गरेका थिए । त्यसपछि सन् २०२१ मा क्रिस्टल प्यालेस पुगेका उनले क्लबका लागि २१औं शताब्दीका सबैभन्दा कान्छा गोलकर्ता बन्ने कीर्तिमान बनाए ।
विश्वका ठूला क्लबहरूको चासोबीच उनले बायर्न म्युनिख रोजे । जर्मन कपमा उल्म १८४६ विरुद्धको डेब्यु खेलमा मैदान प्रवेश गरेको दुई मिनेटमै असिस्ट गर्दै प्रभाव छाडेका उनले त्यसयता बायर्नबाट दुई बुन्डेसलिगा र एक जर्मन सुपर कप जितिसकेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनको उकालो यात्रा निरन्तर रहेको छ । थियरी अन्रीको प्रशिक्षणमा पेरिस ओलम्पिक २०२४ मा फ्रान्सलाई फाइनलसम्म पुर्याउने क्रममा उनले दुई गोल र पाँच असिस्ट गरे ।
त्यसपछि प्रशिक्षक डिडिएर डेसच्याम्प्सले उनलाई सिनियर टोलीमा बोलाए । उनले सन् २०२४ सेप्टेम्बर ६ मा इटालीविरुद्ध यूईएफए नेसन्स लिगबाट फ्रान्सका लागि डेब्यू गरेका थिए ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले ओलिसलाई खेल परिवर्तन गर्न सक्ने खेलाडीको रूपमा व्याख्या गरेका छन् । ‘उनले हाम्रो खेललाई सहज बनाउँछन् । उनको प्राविधिक क्षमता उत्कृष्ट छ र उनी खेलको दिशा परिवर्तन गर्न सक्ने खेलाडी हुन् । उनीसँग अझै धेरै सम्भावना छ’ उनले भनेका छन् ।
फिफा क्लब विश्वकप २०२५ मा पनि ओलिसले उत्कृष्ट प्रदर्शन गरेका थिए । अकल्यान्ड सिटीविरुद्धको पहिलो खेलमा उनले दुई गोल र दुई असिस्ट गर्दै बायर्नलाई १०-० को जित दिलाए । बोका जुनियर्सविरुद्ध उनले गरेको निर्णायक गोलले बायर्नलाई २-१ को जित दिलाएको थियो ।
यद्यपी बायर्न क्वार्टरफाइनलमा पेरिस सेन्ट-जर्मेनसँग पराजित हुँदै बाहिरिएको थियो । अब भने ओलिस विश्वकप २०२६ मा फ्रान्सका प्रमुख हतियारका रूपमा अमेरिकी भूमिमा पुनः आफ्नो जादु देखाउने तयारीमा छन् ।
उनले बायर्नका लागि १०५ खेलमा ४२ गोल र ५३ असिस्ट गरेका छन् । यस सिजन ह्यारी केनपछि बायर्नका लागि सर्वाधिक गोल योगदान गर्ने खेलाडी उनी नै हुन् । केनले ६२ तथा ओलिसले ५२ गोलमा योगदान दिएका छन् ।
बायर्नमा ओलिसका सहकर्मी रहेका इंग्लिस स्टार ह्यारी केनले ओलिसलाई विश्वकव उत्कृष्ट विंगर भनेका छन् । ‘उनी अहिले विश्वकै उत्कृष्ट विंगर हुन् । उनले धेरै अवसर सिर्जना गर्छन् र ड्रिब्लिङ गर्न कहिल्यै डराउँदैनन् । उनी हाम्रो टोलीका मुख्य खेलाडीमध्ये एक हुन्’ केनले भनेका छन् ।

ओलिस पेरिस ओलम्पिक २०२४ मा पाँच असिस्टसहित सर्वाधिक असिस्ट गर्ने खेलाडी बनेका थिए । प्रतियोगितामा दुई गोलसहित फ्रान्सका १४ गोलमध्ये सात गोलमा प्रत्यक्ष योगदान दिएका थिए ।
यस सिजन सबै प्रतियोगितामा ३० असिस्ट गरेका उनले युरोपका शीर्ष पाँच लिगमा खेल्ने फ्रान्सेली खेलाडीमध्ये एकै सिजन सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
विश्वकप २०२६ मा फ्रान्सको आशा
किलियन एमबाप्पे र उस्मान डेम्बेलेसँगै ओलिसले फ्रान्सको आक्रमणपंक्तिलाई विश्वकै सबैभन्दा बलियोमध्ये एक बनाएका छन् । रायन चेर्की र डिजायर डुएजस्ता युवा खेलाडीको उदयले टोलीको गहिराइ अझ बढाएको छ ।
फ्रान्स लगातार तेस्रो विश्वकप फाइनलमा पुग्ने लक्ष्यसहित विश्वकपमा सहभागी हुँदैछ । यसअघि यस्तो उपलब्धि केवल पश्चिम जर्मनी र ब्राजिलले मात्र हासिल गरेका थिए ।
फ्रान्सले तेस्रो विश्वकप उपाधि जितेमा १४ वर्षपछि टोली छाड्न लागेका प्रशिक्षक डिडिएर डेसच्याम्प्सका लागि त्यो उत्कृष्ट बिदाइ हुनेछ ।
प्रतिक्रिया 4