News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को समूह 'एच' अन्तर्गत जर्जियाको अट्लान्टा स्टेडियममा युरोपेली च्याम्पियन स्पेन र नवप्रवेशी केप भर्डे पहिलो पटक भिड्दैछन् ।
- युरो २०२४ को उपाधि जितेर उच्च लयमा रहेको स्पेन जितका साथ प्रतियोगिता शुरू गर्ने रणनीतिका साथ मैदान उत्रनेछ ।
- अफ्रिकी छनोटमा क्यामरुनलाई पन्छाउँदै पहिलो पटक विश्वकपमा छनोट भएको केप भर्डे बलियो स्पेन विरुद्ध आश्चर्यजनक नतिजा निकाल्ने दाउमा छ ।
फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत जर्जियाको अट्लान्टा स्टेडियममा युरोपेली च्याम्पियन स्पेन र इतिहासमै पहिलो पटक विश्वकप खेल्न लागेको अफ्रिकी टापु राष्ट्र केप भर्डे आमनेसामने हुँदैछन् ।
फिफा विश्वकपको इतिहासमै यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् । युरो २०२४ को उपाधि जितेर उच्च लयमा रहेको स्पेन सुखद सुरुवातका साथ उपाधि यात्रा तय गर्न चाहन्छ ।
अर्कोतर्फ अफ्रिकी छनोटमा क्यामरुन जस्तो बलियो टोलीलाई पन्छाउँदै सनसनीपूर्ण रूपमा विश्वकपको टिकट काटेको केप भर्डे विश्व फुटबललाई आश्चर्यचकित पार्ने दाउमा छ ।
यस खेलमा मुख्य प्रभाव पार्न सक्ने दुवै टोलीका ६ मुख्य खेलाडीहरूको विवरण यसप्रकार छ ।
स्पेन
रोड्री (मिडफिल्डर) : स्पेनिस मिडफिल्डका मेरुदण्ड रहेका रोड्री इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका मुख्य खेलाडी हुन् । विश्वकै उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर मानिने रोड्रीले हालैको गम्भीर चोटबाट पूर्ण रूपमा निको भई विश्वकपका लागि टोलीमा पुनरागमन गरेका हुन् । मैदानको मध्यभागबाट खेलको लय (टेम्पो) नियन्त्रण गर्ने, विपक्षीको काउन्टर अट्याकलाई सुरुमै रोक्ने र डिफेन्सलाई सुरक्षा दिने उनको रणनीतिक शैली स्पेनको बलियो पकडका लागि सबैभन्दा महत्त्वपूर्ण हतियार हुनेछ ।
पेड्री (मिडफिल्डर) : स्पेनिस राष्ट्रिय टोलीमा सिर्जनशीलताको मुख्य स्रोत मानिने पेड्री स्पेनिस क्लब बार्सिलोनाका भरपर्दा स्टार हुन् । प्रशिक्षक लुइस डी ला फोन्टेको रणनीतिक योजनाका मुख्य खेलाडी पेड्रीसँग विपक्षी डिफेन्डरहरूको कडा मार्कसिङका बीच पनि सहजै बल नियन्त्रणमा राख्ने र अचुक पासहरू निकाल्ने अद्भुत क्षमता छ । केप भर्डेको रक्षात्मक पर्खाललाई तोड्न र आफ्ना फरवार्डहरूका लागि गोलको अवसर सिर्जना गर्न मैदानमा उनको भूमिका निर्णायक रहनेछ ।
मिकेल ओयारजबाल (फरवार्ड) : स्पेनिस आक्रामक पङ्क्तिका सबैभन्दा घातक हतियार मिकेल ओयार्जाबाल रियाल सोसिडाडका मुख्य स्ट्राइकर हुन् । विश्वकप छनोट खेलहरूमा ६ गोल र ४ असिस्ट गर्दै स्पेनका लागि सर्वाधिक १० गोल योगदान दिएका २९ वर्षीय ओयार्जाबाल ठूला प्रतियोगिताहरूमा सधैं लयमा देखिन्छन् । लामिन यमाल र निको विलियम्स हालैको सामान्य चोटका कारण सुरुवाती ११ मा रहने सम्भावना कम रहेकाले, स्पेनलाई सुरुवाती खेलमै गोल दिलाउने मुख्य जिम्मेवारी ओयारजबालकै काँधमा रहनेछ ।
केप भर्डे
रायन मेन्डेज (फरवार्ड) : केप भर्डेका ऐतिहासिक कप्तान तथा टोलीका सबैभन्दा अनुभवी खेलाडी रायन मेन्डेज टर्कीको क्लब इड्गिर एफकेबाट व्यावसायिक फुटबल खेल्छन् । देशका लागि ९७ खेल खेल्दै सर्वाधिक २२ अन्तर्राष्ट्रिय गोल गरिसकेका ३६ वर्षीय मेन्डेज केप भर्डेको फुटबल इतिहासकै सबैभन्दा ठूला लिडर हुन् । आफ्नो विङ्गर भूमिका र ठूला खेलहरूको अनुभव प्रयोग गर्दै स्पेनको बलियो डिफेन्स विरुद्ध काउन्टर अट्याक सिर्जना गर्ने र टोलीको नेतृत्व गर्ने मुख्य जिम्मेवारी उनकै हुनेछ ।
डाइलन लिभ्रामेन्टो (स्ट्राइकर) : इटालीको प्रसिद्ध क्लब हेल्लास भेरोना (हाल लोनमा कासा पिया) बाट व्यावसायिक फुटबल खेल्ने २५ वर्षीय युवा फरवार्ड डाइलन लिभ्रामेन्टो हाल केप भर्डेको आक्रमणका मुख्य हतियार हुन् । विश्वकप छनोटका पछिल्ला ५ खेलहरूमा ४ महत्त्वपूर्ण गोल गर्दै टोलीलाई इतिहासमै पहिलो पटक विश्वकपमा पुर्याउन उनी नायक बनेका थिए । उनको तीव्र गति, चलाखीपूर्ण बडी-पोजिसनिङ र उत्कृष्ट फिनिसिङ क्षमता स्पेनिस डिफेन्डरहरूका लागि खेलभरि नै टाउको दुखाइ बन्न सक्छ ।
लोगान कोस्टा (डिफेन्डर) : स्पेनिस ला लिगाको प्रतिष्ठित क्लब भियारियाल सीएफका मुख्य सेन्टर-ब्याक लोगान कोस्टा केप भर्डेको रक्षापङ्क्तिका कडा चट्टान हुन् । छनोट चरणका घरेलु खेलहरूमा विपक्षीलाई एउटै पनि गोल गर्न नदिई क्लिन शिट राख्न कोस्टाले डिफेन्समा महत्त्वपूर्ण भूमिका खेलेका थिए । स्पेनिस लिगमै व्यावसायिक फुटबल खेलिरहेका कारण स्पेनका फरवार्डहरूको रणनीति राम्रोसँग बुझेका कोस्टाको उत्कृष्ट ट्याकल र एरियल एबिलिटी केप भर्डेको डिफेन्सका लागि मेरुदण्ड साबित हुनेछ ।
प्रतिक्रिया 4