News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा शैक्षिक योग्यतासँगै विद्यार्थीको अभिवृत्ति, नैतिकता र सञ्चार क्षमताको मूल्याङ्कन गर्नेबारे बहस आवश्यक देखिएको छ।
नेपालमा एमबीबीएस, बीफार्मेसी, बीएससी नर्सिङ, बीपीएच तथा अन्य स्वास्थ्य विज्ञानका कार्यक्रमहरूमा भर्नाका लागि चिकित्सा शिक्षा आयोगमार्फत प्रतिस्पर्धात्मक प्रवेश परीक्षा सञ्चालन हुँदै आएको छ ।
यसले योग्य विद्यार्थी छनोट गर्न र पारदर्शिता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तर आज एउटा गम्भीर प्रश्नमा राष्ट्रिय बहस आवश्यक देखिन्छ– के केवल प्रवेश परीक्षाको अंकले नै भविष्यका स्वास्थ्यकर्मीको सम्पूर्ण क्षमता निर्धारण गर्न सक्छ ?
स्वास्थ्य सेवा केवल विज्ञान र प्राविधिक ज्ञानमा सीमित हुँदैन । एक चिकित्सक, फार्मासिस्ट, नर्स वा जनस्वास्थ्यकर्मीले बिरामीसँग संवेदनशील व्यवहार गर्न, नैतिक निर्णय लिन, प्रभावकारी सञ्चार गर्न, टोलीमा काम गर्न तथा समाजप्रति जिम्मेवार बन्न सक्नुपर्छ । उच्च अंक ल्याउने विद्यार्थी सधैं उत्कृष्ट स्वास्थ्यकर्मी बन्ने ग्यारेन्टी हुँदैन ।
विश्वका धेरै देशहरू जस्तै:- बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्यान्ड, आयरल्याण्ड र सिंगापुरले स्वास्थ्य शिक्षा प्रवेश प्रक्रियामा शैक्षिक योग्यतासँगै अभिवृत्ति, नैतिकता, सञ्चार क्षमता, सहानुभूति तथा व्यावसायिकताको समेत मूल्यांकन गर्ने अभ्यास अपनाएका छन् । यसका लागि अन्तर्वार्ता, तथा परिस्थितिजन्य निर्णय परीक्षणजस्ता विधिहरू प्रयोग गरिन्छन् ।
यस्ता परीक्षणहरूमा विद्यार्थीलाई बिरामीको गोपनीयता, नैतिक द्वन्द्व, टोलीगत कार्य वा सामाजिक जिम्मेवारीसँग सम्बन्धित परिस्थिति प्रस्तुत गरिन्छ र उनीहरूको सोच, निर्णय क्षमता तथा व्यवहारिक दृष्टिकोणको मूल्यांकन गरिन्छ।
नेपालमा पनि स्वास्थ्य सेवाको गुणस्तर, बिरामीसँगको व्यवहार, व्यावसायिक नैतिकता र जनविश्वासका विषयमा बेला–बेला प्रश्न उठ्ने गरेका छन् । यस्ता समस्याको समाधान केवल भर्ना प्रणाली परिवर्तनबाट सम्भव नहुन सक्छ । तर, प्रारम्भिक चरणमै सेवामुखी, जिम्मेवार र सकारात्मक अभिवृत्ति भएका विद्यार्थी छनोट गर्न सकियो भने दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्न सक्छ ।
यसको अर्थ हालको प्रवेश परीक्षा प्रणाली हटाउनुपर्छ भन्ने होइन । शैक्षिक योग्यता स्वास्थ्य शिक्षाको आधारभूत आवश्यकता हो । तर त्यससँगै सीमित प्रतिशतमा भए पनि अभिवृत्ति, नैतिकता, सेवा भावना, सञ्चार क्षमता र स्वास्थ्य पेशाप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्ने व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा अध्ययन र बहस हुन आवश्यक छ ।
चिकित्सा शिक्षा आयोग, विश्वविद्यालयहरू, पेशागत परिषद्, शिक्षक, विद्यार्थी, स्वास्थ्य संस्थाहरू तथा आम नागरिकबीच यस विषयमा खुला छलफल हुनुपर्छ । आजको आवश्यकता केवल ‘सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी’ खोज्नु मात्र होइन, ‘भोलिको जिम्मेवार, संवेदनशील र नैतिक स्वास्थ्यकर्मी’ पहिचान गर्नु पनि हो ।
स्वास्थ्य शिक्षा केवल ज्ञान आर्जन गर्ने प्रक्रिया मात्र होइन, यो भविष्यका स्वास्थ्यकर्मीको व्यक्तित्व, व्यावसायिकता र सेवाभाव निर्माण गर्ने आधार पनि हो । कक्षाकोठामा अत्यधिक अहंकारी, असहयोगी वा अनुशासनहीन व्यवहार भएका विद्यार्थीहरूले शिक्षक र सहपाठीहरूको सिकाइ वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता व्यवहारले टोलीगत कार्य, सम्मानजनक संवाद र सहयोगात्मक सिकाइ संस्कृतिलाई कमजोर बनाउने जोखिम हुन्छ ।
स्वास्थ्य पेशा मूलतः सेवामुखी र मानवीय पेशा हो । बिरामीको पीडा बुझ्ने क्षमता, सहानुभूति, धैर्यता, नैतिकता, जिम्मेवारीबोध र सम्मानजनक व्यवहार जस्ता गुणहरू यस पेशाका आधारभूत अपेक्षाहरू हुन् । यदि भर्ना प्रक्रियामा यी पक्षहरूलाई पूर्ण रूपमा बेवास्ता गरियो भने, भविष्यमा प्राविधिक रूपमा दक्ष तर बिरामी र समाजसँग प्रभावकारी रूपमा जोडिन नसक्ने जनशक्ति उत्पादन हुने सम्भावना रहन्छ ।
यसैले प्रश्न केवल ‘कसले बढी अंक ल्यायो ?’ भन्ने मात्र होइन, ‘कसले स्वास्थ्य पेशाको मूल्य, जिम्मेवारी र मानवीय पक्षलाई आत्मसात् गर्न सक्छ ?’ भन्ने पनि हुनुपर्छ । किनकि आज स्वास्थ्य शिक्षा संस्थाले भर्ना गरेका विद्यार्थीहरू नै भोलि लाखौं नागरिकको स्वास्थ्य, सुरक्षा र जीवनसँग प्रत्यक्ष जोडिनेछन् । त्यसैले प्रवेश प्रक्रियाले ज्ञानसँगै व्यावसायिक अभिवृत्ति, नैतिकता र सेवामुखी सोचलाई पनि उचित महत्व दिनु समयको आवश्यकता हुन सक्छ ।
स्वास्थ्य सेवाको गुणस्तर केवल ज्ञानमा निर्भर हुँदैन । त्यसमा मानवीयता, सहानुभूति, नैतिकता र सेवाभावको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले नेपालले अब स्वास्थ्य शिक्षा प्रवेश प्रक्रियामा यी पक्षहरूको मूल्यांकन आवश्यक छ कि छैन भन्ने विषयमा गम्भीर राष्ट्रिय बहस प्रारम्भ गर्नुपर्छ ।
प्रतिक्रिया 4