+

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

२०८३ असार  ३ गते १३:०५ २०८३ असार ३ गते १३:०५
Shares
स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा शैक्षिक योग्यतासँगै विद्यार्थीको अभिवृत्ति, नैतिकता र सञ्चार क्षमताको मूल्याङ्कन गर्नेबारे बहस आवश्यक देखिएको छ।

नेपालमा एमबीबीएस, बीफार्मेसी, बीएससी नर्सिङ, बीपीएच तथा अन्य स्वास्थ्य विज्ञानका कार्यक्रमहरूमा भर्नाका लागि चिकित्सा शिक्षा आयोगमार्फत प्रतिस्पर्धात्मक प्रवेश परीक्षा सञ्चालन हुँदै आएको छ ।

यसले योग्य विद्यार्थी छनोट गर्न र पारदर्शिता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तर आज एउटा गम्भीर प्रश्नमा राष्ट्रिय बहस आवश्यक देखिन्छ– के केवल प्रवेश परीक्षाको अंकले नै भविष्यका स्वास्थ्यकर्मीको सम्पूर्ण क्षमता निर्धारण गर्न सक्छ ?

स्वास्थ्य सेवा केवल विज्ञान र प्राविधिक ज्ञानमा सीमित हुँदैन । एक चिकित्सक, फार्मासिस्ट, नर्स वा जनस्वास्थ्यकर्मीले बिरामीसँग संवेदनशील व्यवहार गर्न, नैतिक निर्णय लिन, प्रभावकारी सञ्चार गर्न, टोलीमा काम गर्न तथा समाजप्रति जिम्मेवार बन्न सक्नुपर्छ । उच्च अंक ल्याउने विद्यार्थी सधैं उत्कृष्ट स्वास्थ्यकर्मी बन्ने ग्यारेन्टी हुँदैन ।

विश्वका धेरै देशहरू जस्तै:- बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्यान्ड, आयरल्याण्ड र सिंगापुरले स्वास्थ्य शिक्षा प्रवेश प्रक्रियामा शैक्षिक योग्यतासँगै अभिवृत्ति, नैतिकता, सञ्चार क्षमता, सहानुभूति तथा व्यावसायिकताको समेत मूल्यांकन गर्ने अभ्यास अपनाएका छन् । यसका लागि अन्तर्वार्ता, तथा परिस्थितिजन्य निर्णय परीक्षणजस्ता विधिहरू प्रयोग गरिन्छन् ।

यस्ता परीक्षणहरूमा विद्यार्थीलाई बिरामीको गोपनीयता, नैतिक द्वन्द्व, टोलीगत कार्य वा सामाजिक जिम्मेवारीसँग सम्बन्धित परिस्थिति प्रस्तुत गरिन्छ र उनीहरूको सोच, निर्णय क्षमता तथा व्यवहारिक दृष्टिकोणको मूल्यांकन गरिन्छ।

नेपालमा पनि स्वास्थ्य सेवाको गुणस्तर, बिरामीसँगको व्यवहार, व्यावसायिक नैतिकता र जनविश्वासका विषयमा बेला–बेला प्रश्न उठ्ने गरेका छन् । यस्ता समस्याको समाधान केवल भर्ना प्रणाली परिवर्तनबाट सम्भव नहुन सक्छ । तर, प्रारम्भिक चरणमै सेवामुखी, जिम्मेवार र सकारात्मक अभिवृत्ति भएका विद्यार्थी छनोट गर्न सकियो भने दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्न सक्छ ।

यसको अर्थ हालको प्रवेश परीक्षा प्रणाली हटाउनुपर्छ भन्ने होइन । शैक्षिक योग्यता स्वास्थ्य शिक्षाको आधारभूत आवश्यकता हो । तर त्यससँगै सीमित प्रतिशतमा भए पनि अभिवृत्ति, नैतिकता, सेवा भावना, सञ्चार क्षमता र स्वास्थ्य पेशाप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्ने व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा अध्ययन र बहस हुन आवश्यक छ ।

चिकित्सा शिक्षा आयोग, विश्वविद्यालयहरू, पेशागत परिषद्, शिक्षक, विद्यार्थी, स्वास्थ्य संस्थाहरू तथा आम नागरिकबीच यस विषयमा खुला छलफल हुनुपर्छ । आजको आवश्यकता केवल ‘सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी’ खोज्नु मात्र होइन, ‘भोलिको जिम्मेवार, संवेदनशील र नैतिक स्वास्थ्यकर्मी’ पहिचान गर्नु पनि हो ।

स्वास्थ्य शिक्षा केवल ज्ञान आर्जन गर्ने प्रक्रिया मात्र होइन, यो भविष्यका स्वास्थ्यकर्मीको व्यक्तित्व, व्यावसायिकता र सेवाभाव निर्माण गर्ने आधार पनि हो । कक्षाकोठामा अत्यधिक अहंकारी, असहयोगी वा अनुशासनहीन व्यवहार भएका विद्यार्थीहरूले शिक्षक र सहपाठीहरूको सिकाइ वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता व्यवहारले टोलीगत कार्य, सम्मानजनक संवाद र सहयोगात्मक सिकाइ संस्कृतिलाई कमजोर बनाउने जोखिम हुन्छ ।

स्वास्थ्य पेशा मूलतः सेवामुखी र मानवीय पेशा हो । बिरामीको पीडा बुझ्ने क्षमता, सहानुभूति, धैर्यता, नैतिकता, जिम्मेवारीबोध र सम्मानजनक व्यवहार जस्ता गुणहरू यस पेशाका आधारभूत अपेक्षाहरू हुन् । यदि भर्ना प्रक्रियामा यी पक्षहरूलाई पूर्ण रूपमा बेवास्ता गरियो भने, भविष्यमा प्राविधिक रूपमा दक्ष तर बिरामी र समाजसँग प्रभावकारी रूपमा जोडिन नसक्ने जनशक्ति उत्पादन हुने सम्भावना रहन्छ ।

यसैले प्रश्न केवल ‘कसले बढी अंक ल्यायो ?’ भन्ने मात्र होइन, ‘कसले स्वास्थ्य पेशाको मूल्य, जिम्मेवारी र मानवीय पक्षलाई आत्मसात् गर्न सक्छ ?’ भन्ने पनि हुनुपर्छ । किनकि आज स्वास्थ्य शिक्षा संस्थाले भर्ना गरेका विद्यार्थीहरू नै भोलि लाखौं नागरिकको स्वास्थ्य, सुरक्षा र जीवनसँग प्रत्यक्ष जोडिनेछन् । त्यसैले प्रवेश प्रक्रियाले ज्ञानसँगै व्यावसायिक अभिवृत्ति, नैतिकता र सेवामुखी सोचलाई पनि उचित महत्व दिनु समयको आवश्यकता हुन सक्छ ।

स्वास्थ्य सेवाको गुणस्तर केवल ज्ञानमा निर्भर हुँदैन । त्यसमा मानवीयता, सहानुभूति, नैतिकता र सेवाभावको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले नेपालले अब स्वास्थ्य शिक्षा प्रवेश प्रक्रियामा यी पक्षहरूको मूल्यांकन आवश्यक छ कि छैन भन्ने विषयमा गम्भीर राष्ट्रिय बहस प्रारम्भ गर्नुपर्छ ।

अंक नंतिकता परीक्षा स्वास्थ्य शिक्षा
डा. दीर्घराज जोशी
लेखक
डा. दीर्घराज जोशी
औषधि रसायन विज्ञ

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै