News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन् ।
- उनले भ्रमणका क्रममा बीआरआई लगायत द्विपक्षीय सम्झौता अन्तर्गतका परियोजनाहरूमा केन्द्रित भई चिनियाँ समकक्षीसँग छलफल गर्नेछन् ।
- उनले नेपालको आर्थिक समृद्धिका लागि व्यापार, पर्यटन, पूर्वाधार, प्रविधि, ऊर्जा र कनेक्टिभिटी सरकारको प्राथमिकतामा रहेको बताए ।
३१, जेठ बेइजिङ । चीनको चारदिने भ्रमणका लागि आइतबार बेइजिङ आइपुगेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ समकक्षीसँग वाङ यीसँग बीआरआई वा अन्य द्विपक्षीय सम्झौता अन्तर्गतका परियोजना केन्द्रित छलफल गर्ने भएका छन् ।
चीनका परराष्ट्रमन्त्री वाङको निमन्त्रणामा आएका उनी आइतबार नेपाली समुदायले गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा मन्त्री खनालले बीआरआई लगायतका विषयमा आफ्ना प्राथमिकताबारे उल्लेख गरेका हुन् ।
उनले कुनै पनि परियोजना अघि बढाउँदा नेपाललाई कति प्रतिफल प्राप्त हुन्छ र त्यसको वित्तीय ढाँचा के हुन् भन्नेमा ख्याल गर्नुपर्ने बताए ।
‘हामीले २०१७ मा बीआरआईमा एमओयुमा हस्ताक्षर गर्यौँ र २०२४ मा एउटा ‘फ्रेमवर्क अग्रिमेन्ट’ भएको छ। बीआरआईभित्र विभिन्न परियोजनाहरू पहिचान भएका छन्। अहिले हाम्रो चासोको विषय भनेको बीआरआई वा द्विपक्षीय सम्झौतामार्फत आउने परियोजनाहरू नेपाललाई पक्कै पनि चाहिन्छन्, त्यसमा कुनै दुईमत नै छैन’ उनले भने,’तर, हामीले सोच्नुपर्ने र छलफल गर्नुपर्ने विषय- जुन पक्कै भोलि मेरो समकक्षीसँगको भेटमा पनि उठ्नेछ ।’
यस्ता परियोजनाहरू अघि बढाउँदा उनले मुख्यत तीनवटा प्रश्नहरूमा ख्याल गर्नुपर्ने बताए । उनका अनुसार नेपालले आफैँ पहिचान गरेका आवश्यकताहरू के हुन् ? ती परियोजनाहरूमा दुवै पक्ष सहमत हुनसक्ने ‘फाइनान्सियल मोडालिटी’ (वित्तीय ढाँचा) कस्तो हुन्छ ? परियोजनाको नेपाललाई आर्थिक प्रतिफल के हुन्छ ? भन्ने ख्याल गर्नुपर्छ ।
‘पारस्परिक सहमति भएका परियोजनाहरू कसरी अगाडि बढाउने भन्ने तहमा अब ‘प्रोजेक्ट स्पेसिफिक’ (परियोजना केन्द्रित) छलफलहरू हुन सक्छन्’ मन्त्री खनालले भने,’यो द्विपक्षीय सम्बन्धको एउटा आधारभूत पक्ष हो।’
नेपालले आवश्यक ठानेका कनेक्टिभिटी, इन्फ्रास्ट्रक्चर, ट्रेड, टुरिजम र टेक्नोलोजीसँग सम्बन्धित विषयहरूमा चीनसँग सहकार्य गर्ने उनले बताए ।
‘जुन अहिलेको नेपाल सरकारको प्राथमिकताका विषय हुन्- तिनमा सहकार्य गर्न चाहन्छौँ। यो सन्देश मैले यहाँहरूलाई मात्र होइन, भोलि मेरो औपचारिक भेटघाटमा दिने सन्देश पनि यसैमा केन्द्रित हुनेछ’ मन्त्री खनालले भने ।
उनले यो भ्रमणमा आफूले दुईटा विषयलाई प्रमुख प्राथिमकता राखेको बताए ।
भ्रमणको प्राथमिकता व्याख्या गर्दै उनले भने-
पहिलो, छिमेकी राष्ट्रहरू र अन्य मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ गाढा र प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । दुई देशबीचका उच्चस्तरीय भ्रमणहरूले निरन्तरता पाऊन् र दुवै पक्षबाट (हाम्रो तर्फबाट पनि र यताबाट पनि) होऊन् भन्ने मेरो चाहना हो । किनभने, त्यसले सम्बन्धलाई प्रगाढ बनाउँछ भन्ने मान्यताका आधारमा मेरो पहिलो प्राथमिकता यो हुनेछ ।
दोस्रो, नेपालको एउटा विशेष परिस्थितिमा हामी चुनावमा गयौँ । चुनावपछि एउटा बलियो सरकार निर्माण भएको छ र त्यसले ठूलो जनादेश प्राप्त गरेको छ। हाम्रा आफ्नै पनि प्राथमिकता छन्, सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौँ, देखेका छौँ। त्यो प्राप्त गर्नका लागि दुई देशबीचको सहकार्यलाई अगाडि बढाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश लिएर म नेपाल सरकारको प्रतिनिधित्व गर्दै यहाँ आएको हुँ।
मन्त्री खनालले मूल रूपमा आर्थिक समृद्धिका लागि सरकारले ६ वटा क्षेत्र व्यापार, पर्यटन, पूर्वाधार, प्रविधि, ऊर्जा र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
प्रतिक्रिया 4