+

कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?

२०८३ जेठ  ३१ गते २१:५६ २०८३ जेठ ३१ गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीले आइतबार कुराकाओविरुद्ध खेल्दै विश्वकप २०२६ को अभियान शुरू गर्ने भएको छ ।
  • पहिलो पटक विश्वकप खेल्न लागेको कुराकाओले डिक एड्भोकाटको नेतृत्वमा छनोट चरणमा एक खेल पनि हारेको थिएन ।
  • काल्फ इन्जुरीबाट पीडित ४० वर्षीय भेट्रान गोलकिपर म्यानुअल नुयुर पहिलो खेलमा मैदान उत्रने सम्भावना बलियो छ ।

३१ जेठ, काठमाडौं । आइतबार कुराकाओविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्न लागेको जर्मीनको एउटै लक्ष्य हुनेछ, विश्वकप इतिहासकै सबैभन्दा ठूलो ‘अपसेट’बाट बच्ने ।

विश्वकप २०२६ का फेबरेट्सको कुरा गर्दा चारपटकको च्याम्पियन जर्मनीको नाम आइरहेको छैन । किनभने टोली पछिल्ला दुई संस्करण समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले टोली कुराकाओविरुद्ध साइकोलोजिकल दबाबमा हुनेछ ।

यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ । पछिल्ला ९ खेलमा जर्मनीले विपक्षीलाई हराएको छ । यसै वर्ष भएका चार मैत्रीपूर्ण खेलमा जर्मनीले स्विट्जरल्यान्ड, घाना, फिनल्यान्ड र सह–आयोजक अमेरिकालाई हरायो ।

जर्मनीले कुराकाओपछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ । यसपाली पनि जर्मनी समूह चरणबाटै बाहिरिने हो भने फुटबल सरोकारवालाहरुका लागि यो आश्चर्यको विषय हुनेछ । किनभने यसपटक तेस्रो स्थानमा रहने टोलीसँग पनि उत्कृष्ट ‘थर्ड रनर्स–अप’का आधारणमा नकआउट चरणमा पुग्ने अवसर छ ।

कुराकाओसँग जर्मनीलाई जितबाहेक अन्य विकल्प छैन । बराबरीको नतिजाले पनि टोली आलोचनाको शिकार बन्नेछ । उता समूह ‘इ’को प्रतिस्पर्धामा पहिलो विश्वकप अनुभव लिइरहेको कुराकाओ ऐतिहासिक नतिजाको लक्ष्यमा हुनेछ ।

कुराकाओ भने विना दबाब मैदानमा प्रस्तुत हुनेछ । गत नोभेम्बरमा कुराकाओले कन्काकाफ छनोट प्रतियोगिताअन्तर्गत पहिलो र दोस्रो चरण दुवैमा शीर्ष स्थानमा रहँदै पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो । डिक एड्भोकाटको नेतृत्वमा रहेको कुराकाओले यो यात्रामा एक खेल पनि हारेन । त्यसैले कुराकाओ जर्मनीसँग डराइहाल्नुपर्ने टोली होइन ।

विश्वकपअघिको वार्म अप (मैत्रीपूर्ण) खेलमा कुराकाओले स्कटल्यान्डसँग ४–१ को हार बेहोर्यो । तर, अन्तिम मैत्रीपूर्ण खेलमा टोलीले अरुबालाई ४–० ले हरायो । फिफा वरीयतामा ८२औं स्थानमा रहेको कुराकाओका लागि जर्मनीविरुद्ध एक अंक खोस्नु पनि जित्नु सरह नै हो ।

जर्मनीका खेलाडीहरु सबै फिट छन् । तर, पछिल्लो समय भेट्रान गोलकिपर म्यानुअल नुयुरलाई भने काल्फ इन्जुरीले सताएको छ । यद्यपि ४० वर्षीय नोयर कुराकाओविरुद्ध पहिलो रोजाईमै खेल्ने सम्भावना छ ।
जर्मनीलाई उपाधिको दाबेदारका रुपमा नहेरिएपछि योसुवा किमिच, जोनाथन ताह, लेरोई साने, जमाल मुसियाला र फ्लोरियन विर्ट्ज जस्ता स्टार खेलाडीले टोलीको स्क्वाड डेप्थ निकै बलियो छ ।

च्याम्पियन्स लिग फाइनलमा गोल गरेका आर्सनलका फरवार्ड काइ ह्याभर्ट्जले जर्मनको अग्रपङ्क्ति सम्हाल्नेछन् । २७ वर्षीय ह्याभर्ट्जले राष्ट्रिय टोलीमा कूल २२ गोल गरेका छन् ।

कुराकाओमा पनि इन्जुरीका कुनै पनि समस्या छैनन् । एस्टन भिल्लाका पूर्व मिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानी जिम्मेवारी सम्हाल्दैछन् । ३४ वर्षीय लियान्ड्रोलाई उनका भाइ जुनिन्हो बाकुनाले मिडफिल्डमा साथ दिनेछन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय