News Summary
Generated by OK AI. Editorially reviewed.- यस वर्ष 'स्वस्थ उमेरका लागि योग' भन्ने नाराका साथ जुन २१ मा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदै छ ।
- नेपालमा सन् २०११ मा ८.१३ प्रतिशत रहेको ज्येष्ठ नागरिकको जनसङ्ख्या सन् २०२१ मा बढेर ३८.२ प्रतिशत पुगेको छ ।
- नियमित योग अभ्यासले वृद्धावस्थामा देखिने शारीरिक तथा मानसिक समस्याहरूलाई न्यूनीकरण गरी स्वस्थ बुढ्यौली कायम राख्न मद्दत पुर्याउँछ ।

सदाझैँ यसवर्ष पनि जुन २१ तारिखका दिन (२०८३ असार ७ गते) ‘स्वस्थ उमेरका लागि योग’ भन्ने नाराका साथ १२औं अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउने कार्यक्रम रहेको छ । नेपालमा भने विश्व योग दिवसबाहेक प्रत्येक वर्ष माघ महिनाको १ गते राष्ट्रिय योग दिवस समेत मनाउने गरिन्छ । यो अहिले एउटा राष्ट्रिय पर्वको रूपमा स्थापित पनि भएको छ ।
योग चिकित्सा संसारको सबैभन्दा महत्वपूर्ण चिकित्सा पद्धतिका रूपमा स्थापित भएको छ । यसले अब व्यक्ति औषधिको सहारामा बाँच्ने होइन कि योगको सहारामा बाँच्ने हो भन्ने सन्देश दिएको छ ।
नियमित योग गर्नाले शरीरमा रोगको प्रवेश हुन नपाउने र रोग लागिसकेको अवस्थामा समेत त्यसलाई गभ्मीर अवस्थामा पुग्न नदिने कुरा अनुसन्धानहरूबाट पुष्टि भएको छ । विश्व योग दिवसको तात्पर्य नै विश्वभरका मानिसहरू स्वस्थ रहुन् भन्ने चाहना हो ।
विश्वभरका सबै मानिस एकै हौं र सबै सँगै बाँचौं भन्ने सामाजिक एकताको प्रक्रियालाई पनि पूर्वीय दर्शनले विश्वास गर्दछ । गतवर्ष २१ जुनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विश्व योग दिवस मनाउने वातावरण तयार भयो । नेपालका पनि योगका विभिन्न अभियन्तासँगै राष्ट्रयोगी मानसाग्निको अभियानले विश्व योग दिवस सार्थक हुनपुग्यो ।
पूर्वीय दर्शनका अध्येता ऋषितुल्य व्यक्तित्वको सम्झना यस पवित्र दिनमा गर्नुपर्ने हुन्छ, अन्यथा योगका कुरा गर्नु निरर्थक हुनेछ ।
योगको इतिहास
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभामा विश्व योग दिवसका बारेमा गरेको प्रस्ताव ११ डिसेम्बर २०१४ पारित भयो । त्यसपछि २०१५ जुन २१ तारिखका दिनदेखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालियो ।
पहिलो विश्व योग दिवस भारतको नयाँदिल्ली स्थित राजपथमा ३५ हजार ९८५ जना सहभागीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्दै मनाएको थियो।
योग दिवसको सन्दर्भ पारेर देशका विभिन्न ठाउँमा विभिन्न सप्ताहव्यापी कार्यक्रमहरू गर्ने गरिन्छ ।
के हो योग ?
वास्तवमा योग भनेको जोड हो । योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माको रुपमा रुपान्तरण गर्दछ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त्य हुनुका साथै शरीरलाई मजबुत बनाउनछ ।
फलस्वरुप व्यक्तिको आन्तरिक तथा बाह्य क्षमता बलियो हुनपुग्छ र स्वस्थकर जीवनशैलीमा जीवन परिणत हुन्छ । योगको सुरुवात हजारौं वर्ष पहिलादेखि नै भएको मानिन्छ । संसारको सबैभन्दा पुरानो ग्रन्थ वेदका अनुसार संसारमा पहिलोपटक योग गर्ने व्यक्ति भगवान शिवलाई मानिएको छ।
शिवले पाएको उक्त ज्ञान सप्तऋषिहरूलाई हस्तान्तरण गरेको र ती ऋषिहरूले योगको ज्ञानलाई संसारभर फैलाएको भनाइ पाइन्छ । त्रेतायुगमा भगवान् रामचन्द्र योगी थिए, द्वापर युगमा श्रीकृष्ण भगवान् त योगका प्रणेता नै बने । भगवान बुद्ध योगी थिए, धनवन्तरी, महर्षि पतञ्जलि लगायत अहिले ओशो, मानसाग्नि, रामदेव, आचार्य बालकृष्ण, भानु गुरु, रमेश नेपाल, विकासानन्द हुँदै धेरै व्यक्तिहरू योगीका नामले चिनिन्छन् ।
हाल संसारका सबैजसो राष्ट्रमा योगसम्बन्धी पठनपाठन र अभ्यास हुनेगर्छ । हाल यसले एउटा विज्ञानको रुप लिएको छ ।
योग केवल अभ्यास मात्र होइन कि व्यक्तिको सर्वाङ्गीण विकास गराउने माध्यम पनि हो । योग स्वस्थ् जीवनको एक आधार हो भन्ने कुरा अहिले विश्वभर स्थापित भइसकेको छ ।
योग भनेको शरीर मात्र होइन मन, मस्तिष्क सफा गर्ने माध्यम हो भन्ने मानिन्छ । आध्यात्मिक चिन्तन गर्ने माध्यम, शान्तिका लागि अघि बढ्ने माध्यम र पूर्ण स्वस्थ भई जीवनयापन गर्न सकिने महत्वपूर्ण माध्यम योग हो भन्ने कुरा सर्वमान्य बनेको छ ।
योगलाई धेरैले शारीरिक अभ्याससँग मात्र जोडेर हेर्ने गर्छन् जुन गलत सोचको परिणाम हो । योग भनेको शारीरिक अभ्यास वा व्यायाम पनि हो तर यस सँगै योगका अन्य सातवटा मार्ग ओझेलमा पर्ने गरेका छन् ।
ऋषि पतञ्जलिले योगसूत्रमा योगका लागि अष्टांग योग मार्ग भनेर आठवटा बुँदामा उल्लेख गरेर प्रष्ट बाटो देखाइदिएका छन् । ती हुन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि ।
यदि यो बाटो अनुसार चल्ने हो भने आसन वा व्यायाम त तेस्रो नम्बरमा मात्र आउँछ । त्यसपछि पनि पाँचवटा मार्ग रहेका छन्, जुन सबै अनुसरण गर्ने व्यक्तिलाई मात्र योगी भनिन्छ । तर आजकाल योग भन्नाले जिम गर्ने, दौडने, उफ्रने, स्याँ स्याँ गर्ने, पसिना निकाल्ने, आसनहरू गर्ने र शरीरलाई निचोर्ने पद्धति भनेर मात्र मानिएको छ । यो योगबारेमा रहेको अल्पज्ञान हो, साँघुरो दृष्टिकोण हो ।
संक्षेपमा भन्नुपर्दा योग भनेको लक्ष्य हो भने व्यायाम त एउटा उद्देश्य मात्र हो भनेर बुझ्दा राम्रो होला ।
योग अभ्यास गर्दा बिहान अमृत समय वा ब्रह्म मुहूर्तमा (बिहान ४–५ बजे) उठी दिसा पिसाबबाट निवृत्त भएपछि, मनतातो पानी पिएर, खाली पेटमा, हल्का वस्त्र धारण गरेर, राम्रो योगम्याटमा र खुला ठाउँमा बसेर मात्र गर्नुपर्छ ।
योग अभ्यास गर्दा जानेको व्यक्तिबाट सिकेर आफ्नो शरीरको अवस्थालाई हेरेर शरीर तताउने हल्का अभ्यास गरेपछि मात्र सकेको मात्रामा आसन, प्राणायाम र ध्यानका साथ गर्नुपर्छ । योग गर्दा प्रतिस्पर्धा नगरी आफ्नो शरीरको क्षमता अनुसार गर्नुपर्छ किनकि योग प्रतिस्पर्धा होइन एक साधना हो।
यसरी नियमित रूपमा योग अभ्यास गर्नाले अनगिन्ति स्वास्थ्य लाभहरू प्राप्त गर्न सकिन्छ । यसका साथै आफ्ना परिवारका साथमा वा समूहमा बसेर योग अभ्यास गर्दा थप सन्तुष्टि मिल्न सक्छ । यस कारण सकभर परिवारका सदस्यहरू वा समूहसहित योग गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
योगबाट हुने लाभका सम्बन्धमा के भन्न सकिन्छ भने–
–शरीर एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्दछ जुन योगबाट प्राप्त हुन्छ ।
–हातगोडा, टाउको र शरीर चलाइ अभ्यास गर्नु मात्र योग होइन कि मनलाई समेत आनन्दित राख्न सक्नु नै योग हो ।
–शरीरको अँध्यारो कुनामा रहेका अपवित्र सोच र वस्तुलाई चेतनारुपी उज्यालो छर्कन सक्नु नै योग हो, जुन योग अभ्याससँगै गरिने प्राणायामबिना पूरा हुनै सक्दैन ।
–चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त र चातुर्य बाटो नै योग हो ।
–योगले जति फाइदा आत्मालाई पुर्याउँछ, त्यति फाइदा शरीरलाई दिनै सक्दैन । त्यसकारण आत्माको महत्वपूर्ण खुराक नै योग हो ।
–सामाजिक एकता, आध्यात्मिक विकास, मानसिक कल्याण र शारीरिक स्वास्थ्यको परिपूरक नै योग हो ।
बढ्दो उमेर र शरीरमा देखापर्ने प्रभावहरू
वृद्ध हुनु एक प्रक्रिया हो, जसलाई रोक्न सकिंदैन । बुढ्यौली के कारणले हुन्छ भन्दा पनि यो एक प्राकृतिक देन हो, जहाँ व्यक्ति जन्मेपछि क्रमशः परिपक्व हुने र लामो समयपछि कमजोर भई अन्त्यमा मृत्यु हुन्छ । त्यसो त मानिस ३० वर्षको भएपछि बिस्तारै काम गर्ने क्षमतामा कमी आउन थाल्छ र ६० वर्षको भएपछि अन्य समस्याहरू थपिन थाल्छन् ।
बुढ्यौली वातावरण, खानपान, रहनसहन, परिश्रम जस्ता कुराहरूमा पनि भरपर्दछ । बुढेसकाल लागेपछि शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक रुपमा विभिन्न प्रभाव तथा असरहरू स्वभाविक रुपमा देखिन थाल्छन् ।
जस्तै:- छालाको स्वरुप र रङमा परिवर्तन आउने, पातलो लचकदार हुने र चाउरी पर्ने, अनुहारमा धर्का देखिने हुन्छ । ४० वर्ष कटेपछि आँखाको वरपर सुन्निएको जस्तो देखिने, दृष्टि कमजोर हुने, रङ छुट्याउन नसक्ने, मोतीबिन्दु र आँखाका अन्य समस्या देखापर्ने समस्या देखिन्छ ।
हाडजोर्नी कमजोर हुने, दुख्ने, शरीर कमजोर हुने र दाँत झर्ने, टाउको ठूलो देखिने, नाक कानको लम्बाई बढ्ने, पिसाब थैलीमा पिसाब जम्मा हुने क्षमता घट्ने, छिटो छिटो पिसाब लाग्ने र पिसाब छान्ने क्षमतामा ह्रास आउने पनि वृद्धावस्थाको अर्को समस्या हो ।
सुन्ने क्षमता घट्ने, मुटु र फोक्सोमा समस्या परी स्वाँ स्वाँ हुने, यौन अक्षमता बढ्ने र यौन इच्छा भएरपनि सम्पर्क राख्न नसक्ने, रौं फुल्ने, शरीर कुप्रो पर्ने, फरक सोचाइ आउने आदि । यी बाहेक वृद्धावस्थामा सबैले भोग्ने साझा समस्याहरू खानेकुरा खाँदा अड्किने, असजिलो तकियाले निद्रामा समस्या आउने, खुट्टा र पिँडौला फर्कने तथा खुट्टाका पैताला झमझमाउने आदि हुन्छ ।
यस्ता समस्या जो कोहीलाई हुनसक्ने हुँदा वृद्धावस्थाको व्यवस्थापनमा घर परिवार, समुदाय तथा राज्य सबैले ध्यान दिन आवश्यक छ । सम्पन्न देशहरूलाई वृद्ध समाज बन्न सयौँ वर्ष लाग्यो किनकि उनीहरूले स्वास्थ्य, सामाजिक सुरक्षा र बुढ्यौली व्यवस्थापनका लागि राम्रो तयारी गरे । तर नेपालमा भने आर्थिक रुपमा सबल नबन्दै वृद्ध जनसंख्या बढ्दै गइरहेको छ । त्यसैले अहिले नै स्वस्थ बुढ्यौली, जीवनशैली सुधार र ज्येष्ठ नागरिकको स्वास्थ्यमा काम नगरे आगामी केही वर्षमै ठूलो चुनौती थपिने निश्चित छ ।
जनसांख्यिकिको एउटा महत्वपूर्ण पक्ष ज्येष्ठ नागरिकहरूको संख्या पनि हो । किनकि यो वर्ग आश्रित वर्ग हो र यसले कुनैपनि देशको सामाजिक, आर्थिक तथा अन्य पक्षहरूमा प्रभाव पार्दछ । औषधि उपचार, विज्ञानमा भएको प्रगति र गुणस्तरीय जीवनशैलीका कारण मानिसको औसत आयुमा वृद्धि भई वृद्धहरूको जनसंख्या बढिरहेको छ ।
सन् २०११ को जनगणनाको प्रतिवेदन अनुसार नेपालमा वृद्धहरूको जनसंख्या ८.१३ प्रतिशत रहेकोमा सन् २०२१ मा बढेर ३८.२ प्रतिशत पुगेको छ । वार्षिक वृद्धिदर ३.२९ प्रतिशत रहेको देखिन्छ ।
यसबाट अनुमान लगाउन सकिन्छ कि नेपालमा वृद्धहरूको जनसंख्या बढ्ने क्रम द्रुत गतिमा भइरहेको छ
स्वस्थ बुढ्यौली र योगको आवश्यकता
अहिलेको विश्व परिवेशमा कुरा गर्दा विश्व स्वास्थ्य संगठनले समेत स्वस्थ बुढ्यौलीलाई प्राथमिकतामा राखेको छ । पहिला यसलाई सक्रिय बुढ्यौली भनिन्थ्यो भने अहिले स्वस्थ बुढ्यौली भन्ने गरिन्छ । स्वस्थ बुढ्यौली भनेको ६० वर्षभन्दा माथि लाग्दा पनि, शारीरिक रूपमा रोग भएर पनि त्यो नियन्त्रणमा हुनु वा यस्ता रोगका कारण हिँडडुल गर्न, मन लागेको काम गर्न सकिरहेको अवस्था भन्ने बुझिन्छ ।
सामान्यतया वृद्धावस्थामा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक समस्याहरू सबैलाई हुनसक्ने भएता पनि घरपरिवार, समुदाय र राज्यबाट उचित सम्बोधन हुनसके वृद्धावस्था पनि स्वस्थकर र व्यवस्थित हुनसक्ने कुरामा दुईमत छैन।
यसका साथै वृद्धहरूले पनि आफ्नो स्वास्थ्य स्वस्थकर बनाइ दीर्घजीवी हुन नियमित कसरत, धुम्रपान/मद्यपान त्याग गर्ने र तनाव घटाउने प्रयास गर्ने गर्नुपर्छ । समाजमा सक्रिय हुने, धेरै व्यक्तिसँग सम्बन्ध बढाउने, हतार नगर्ने, चिकित्सकको सहयोग लिने, नियमित रुपमा योगासन गर्नु आवश्यक हुन्छ ।
रोग देखापरिहालेमा उपचार गरिहाल्ने, मनोरञ्जनका साधनको प्रयोग गर्ने, भजनमा रमाउने, गफगाफ गर्ने र वृद्धहरूको समूहमा रमाउने आदि गर्नुपर्ने हुन्छ ।
डर, रिस, ईर्ष्या, घमण्ड, घृणा र पछुतो जस्ता कुराहरू छाडेर नियमित योग, ध्यान, घुमफिर, स्वस्थकर खानपिन, सामाजिक तथा पारिवारिक सम्बन्ध मजबुत बनाउने प्रयास गर्नुपर्छ । योगका आसनहरूमा जबर्जस्ती सकी नसकि गर्ने अभ्यास होइन । बसेर गरिने कुर्सी आसन, हात गोडाको सूक्ष्म व्यायाम, वृक्षासन, बक्रासन, वीरभद्रासन, ध्यान, प्राणायाम तथा हास्यासन जस्ता योग अभ्यासहरू गर्न राम्रो मानिन्छ ।
यसलाई नियमित रुपमा व्यवहारमा अपनाउँदा स्वस्थकर वृद्धावस्था हुनसक्छ र माथि उल्लिखित विभिन्न स्वास्थ्य समस्याहरू पनि हट्ने वा पीडारहित अवस्था आउनसक्छ । त्यसकारण स्वस्थकर वृद्धावस्था कायम राख्ने हो भने नियमित योग अभ्यासमा लाग्नु आवश्यक छ जुन यस वर्षको विश्व योग दिवसको सन्देश पनि हो ।
अन्तमा सुस्वास्थ्य, वुद्धिको विकास, स्वस्थकर उमेर र विश्व शान्तिका लागि एकदिन योग दिवस मनाउन मात्र होइन कि नियमित रुपमा योग गरौँ, योगलाई दैनिक जीवनको एक अंग बनाऔं, योगमा बाँचौँ र योगलाई नै स्वास्थ्यका लागि भरपूर विश्वास राखौँ, स्वस्थ र सुखी बनौँ । अस्तु
(लेखक जीवनशैली व्यवस्थापन (योग, भोजन र तनाव व्यवस्थापन) सम्बन्धी विषयमा विद्यावारिधि प्राप्त प्राध्यापक, योग अभियन्ता तथा जनस्वास्थ्यविद् हुन्),
प्रतिक्रिया 4