+
+
Shares

पत्ता लाग्यो अल्जाइमर्सका बिरामीको मस्तिष्क सफा गर्ने प्रणालीलाई सक्रिय बनाउने औषधि

कपरमा आधारित एउटा नयाँ औषधिले मस्तिष्कमा जम्मा हुने विषाक्त प्रोटिनलाई सफा गरेर बिरामीको स्मरणशक्ति सफल भएको एक अनुसन्धानले देखाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १६:०१

२ असार, काठमाडौं । कपरमा आधारित एउटा नयाँ औषधिले मस्तिष्कमा जम्मा हुने विषाक्त प्रोटिनलाई सफा गरेर बिरामीको स्मरणशक्ति सफल भएको एक अनुसन्धानले देखाएको छ।

अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकहरूले प्रयोगशालामा गरेको परीक्षण अनुसार ‘Cu(ATSM)’ नामक कपर कम्पाउन्डले अल्जाइमर्स रोगका कारण कमजोर बनेको मस्तिष्कको फोहोर फाल्ने प्रणालीलाई पुनः सक्रिय बनाउँछ।

यस प्रक्रियाले मष्तिस्कमा हानिकारक ‘एमाइलोइड-बिटा’ प्रोटिन जम्न दिँदैन र मस्तिष्कको फोहोर फाल्ने प्रणालीलाई पुनः सक्रियका कारण हराउँदै गएको स्मरणशक्तिलाई पुनः बलियो बनाउन मद्दत गर्दछ। यो औषधि यसअघि नै पार्किन्सन र एएलएस जस्ता अन्य न्युरोलोजिकल समस्याका लागि मानिसमा परीक्षण भइसकेकाले अल्जाइमर्सको उपचारका लागि पनि यसको क्लिनिकल ट्रायल छिट्टै सुरु हुन सक्ने विश्वास गरिएको छ।

अल्जाइमर्स रोग लाग्दा मस्तिष्कमा विषाक्त एमाइलोइड-बिटा प्रोटिन बिस्तारै जम्मा हुन थाल्छ, जसलाई सफा गर्ने काम रक्त-मस्तिष्क अवरोध (ब्लड-ब्रेन ब्यारियर) मा रहने विशेष प्रकारका ‘पी-ग्लाइकोप्रोटिन’ (P-gp) पम्पहरूले गर्छन्। अल्जाइमर्सका बिरामीमा यी पम्पहरूले काम गर्न छोड्ने भएकाले मस्तिष्कमा फोहोर थुप्रिँदै जान्छ र नसाहरूले काम गर्न छोड्छन्।

मोनाश इन्स्टिच्युट अफ फार्मास्युटिकल साइन्सेजका प्रमुख लेखक डा. जे प्युनका अनुसार, यो नयाँ कपरयुक्त औषधिले ५६ दिनको उपचार अवधिमा ती पम्पहरूको सङ्ख्या २४ प्रतिशतले बढाएको र जम्मा भएको विषाक्त प्रोटिनलाई ४२ प्रतिशतले घटाएको पाइएको छ। यसको सकारात्मक प्रभाव स्वरूप प्रयोगशालामा मुसाहरूको सिक्ने र सम्झने क्षमकपर झन्डै ४४ प्रतिशतले सुधार आएको थियो।

वैज्ञानिकहरूका अनुसार यस कपर औषधिको प्रभावकारिता केवल पम्पहरू मर्मत गर्ने कुरामा मात्र सीमित छैन। यसले मस्तिष्कको रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘माइक्रोग्लिया’ कोषहरूलाई पनि सक्रिय बनाउँछ, जसले विषाक्त प्लाकहरूलाई खाएर नष्ट गरिदिन्छन्।

अनुसन्धान टोलीका वरिष्ठ प्राध्यापक जोसेफ निकोलाज्जोले यस औषधिको सुरक्षा परीक्षण पहिले नै भइसकेकाले यसले अल्जाइमर्सको प्रारम्भिक लक्षण देखिएका बिरामीहरूका लागि आशालाग्दो नयाँ उपचारको ढोका खोलेको बताएका छन्।

हाल विश्वभर र विशेष गरी अस्ट्रेलिया जस्ता देशमा डिमेन्सिया र अल्जाइमर्स मृत्युको प्रमुख कारण बनिरहेका बेला यस खोजलाई चिकित्सा विज्ञानमा एउटा ठुलो उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?