News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा उत्पादित वार्षिक ७० लाख किलोग्राम अर्थोडक्स चिया निर्यातमा अत्यधिक निर्भर रहेकाले आन्तरिक बजार र उपभोग संस्कृति विकास गर्न आवश्यक देखिन्छ ।
- दैनिक १ करोड नेपालीले १ कप नेपाली अर्थोडक्स चिया पिउने बानी बसालेमा नेपालको सम्पूर्ण उत्पादन देशभित्रै खपत हुन सक्ने सम्भावना छ ।
- नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तार र व्यापारिक अवरोध समाधानका लागि सरकारले तत्काल 'अन्तर्राष्ट्रिय चिया प्रवर्द्धन कार्यदल' गठन गर्नुपर्ने आवश्यकता छ ।
नेपाल विश्वका उत्कृष्ट अर्थोडक्स चिया उत्पादन गर्ने मुलुकमध्ये एक हो। हिमाली हावापानी, उच्च उचाइ, जैविक सम्भावना र मिहिनेती किसानका कारण नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष पहिचान बनाउँदै आएको छ।
विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाले विश्वका विभिन्न देशका उपभोक्ताको मन जितिरहेको छ। तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि नेपाली चिया क्षेत्र आज विभिन्न संकट र चुनौतीको सामना गरिरहेको छ।
हामी प्रायः उत्पादन बढाउने, नयाँ बजार खोज्ने र निर्यात बढाउने विषयमा चर्चा गर्छौं। तर एउटा अत्यन्त महत्वपूर्ण प्रश्नमाथि पर्याप्त बहस भएको देखिँदैन- नेपालमै उत्पादन भएको चिया नेपालभित्र किन पर्याप्त रूपमा खपत हुन सकेको छैन ?
नेपालमा वार्षिक रूपमा करिब ७० लाख किलोग्राम अर्थोडक्स चिया निर्यात हुन्छ। सामान्य रूपमा हेर्दा यो संख्या ठूलो लाग्न सक्छ। तर यदि यसको उपभोग क्षमतालाई विश्लेषण गर्ने हो भने एउटा रोचक तथ्य अगाडि आउँछ। १ किलोग्राम अर्थोडक्स चियाबाट औसतमा ४०० कप चिया बनाउन सकिन्छ। त्यस आधारमा नेपालको वार्षिक उत्पादनबाट करिब २ अर्ब ८० करोड कप चिया तयार गर्न सकिन्छ।
अब अर्को हिसाब गरौं। यदि १ करोड मानिसले दिनमा केवल १ कप नेपाली अर्थोडक्स चिया पिउने बानी बसाले भने, नेपालको वार्षिक उत्पादन भएको सम्पूर्ण चिया लगभग २८० दिनभित्र देशभित्रै खपत हुन सक्छ।
यो तथ्यले स्पष्ट संकेत गर्छ, नेपाली चिया क्षेत्रको समस्या केवल उत्पादन वा निर्यातको मात्र होइन, आन्तरिक बजार विकास र उपभोग संस्कृतिको पनि हो।

निर्यातमा अत्यधिक निर्भरता: अवसर कि जोखिम ?
विगत केही दशकदेखि नेपाली अर्थोडक्स चिया उद्योग मुख्यतः निर्यात केन्द्रित रहँदै आएको छ। विशेषगरी भारतीय बजार नेपाली चियाको प्रमुख गन्तव्य बनेको छ। यसले उद्योगलाई बजार उपलब्ध गराएको छ, तर अत्यधिक निर्भरताले ठूलो जोखिम पनि सिर्जना गरेको छ।
जब भारतीय पक्षले नयाँ परीक्षण, प्रमाणीकरण वा व्यापारिक प्रक्रिया लागु गर्छ, त्यसको प्रत्यक्ष असर नेपाली उद्योग, किसान र श्रमिकमाथि पर्छ। हाल देखिएको निर्यात अवरोधले यही यथार्थ उजागर गरेको छ। उद्योगमा तयार चिया थन्किएको छ, नगद प्रवाह प्रभावित भएको छ, किसानको हरियो पत्तीको भुक्तानीमा असर परेको छ र हजारौं श्रमिकको रोजगारी असुरक्षित बन्न पुगेको छ।
यदि नेपालको घरेलु बजार बलियो भएको भए यस्ता बाह्य झट्काको प्रभाव धेरै कम हुन सक्थ्यो। कुनै पनि उद्योग दीर्घकालीन रूपमा सफल हुन निर्यात र आन्तरिक बजारबीच सन्तुलन आवश्यक हुन्छ।
नेपालीले नेपाली चिया किन कम पिउँछन् ?
यो प्रश्नको उत्तर केवल उपभोक्ताको रोजाइमा सीमित छैन। यसको पछाडि नीति, बजार, प्रचारप्रसार र उपभोग संस्कृतिसँग सम्बन्धित अनेक पक्ष छन्।
नेपालमा अधिकांश मानिस दैनिक चिया पिउँछन्। तर तीमध्ये धेरैले कुन चिया पिइरहेका छन् भन्ने विषयमा खासै चासो राख्दैनन्। गुणस्तरीय अर्थोडक्स चिया र साधारण धुलो चियाबीचको अन्तर धेरै उपभोक्ताले बुझ्न सकेका छैनन्।
अर्कोतर्फ, नेपाली बजारमा विदेशी पेय पदार्थ, कफी, विभिन्न प्रकारका प्याकेट पेय पदार्थ तथा आयातित चियाको प्रचार अत्यधिक देखिन्छ। तर नेपाली अर्थोडक्स चियाको राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने कुनै प्रभावकारी अभियान अहिलेसम्म सञ्चालन हुन सकेको छैन।
हामीले चिया उत्पादन गर्छौं, निर्यात गर्छौं, विदेशी मुद्रा आर्जन गर्छौं भन्ने चर्चा धेरै गर्छौं। तर नेपाली चियाको गुणस्तर, स्वास्थ्य लाभ, स्वाद र पहिचानबारे आफ्नै नागरिकलाई पर्याप्त जानकारी दिन सकेका छैनौं।
पर्यटन र चिया: प्रयोग नगरिएको अवसर
नेपालमा प्रत्येक वर्ष लाखौं पर्यटक आउँछन्। उनीहरू हिमाल, संस्कृति, प्रकृति र स्थानीय उत्पादनको अनुभव लिन चाहन्छन्। तर अधिकांश पर्यटकले नेपाली अर्थोडक्स चियाको वास्तविक अनुभव लिने अवसर पाउँदैनन्।
विश्वका धेरै देशहरूले आफ्नो राष्ट्रिय पेय पदार्थलाई पर्यटनसँग जोडेर ठूलो आर्थिक लाभ लिएका छन्। नेपालले पनि चिया पर्यटनलाई प्राथमिकता दिन सक्छ।
इलाम, कन्याम, श्रीअन्तु, फिक्कल, धनकुटा, पाँचथर जस्ता क्षेत्रहरूलाई चिया पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। चिया बगान भ्रमण, चिया स्वाद परीक्षण, चिया उत्पादन प्रक्रिया अवलोकन, होमस्टे र चिया संस्कृतिलाई पर्यटनसँग जोड्न सकिन्छ।
यसले चियाको मूल्य वृद्धि मात्र गर्दैन, ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउँछ।

सरकारले के गर्नुपर्छ ?
यदि नेपालले आफ्नै चियाको खपत बढाउन चाहन्छ भने यसलाई केवल निजी क्षेत्रको जिम्मेवारी मानेर पुग्दैन। सरकार, निजी क्षेत्र, सहकारी, किसान र उपभोक्ता सबैको साझा प्रयास आवश्यक हुन्छ।
सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, अस्पताल, सुरक्षा निकाय तथा सार्वजनिक कार्यक्रमहरूमा नेपाली चियाको प्रयोगलाई प्राथमिकता दिन सकिन्छ।
‘एक नेपाली, एक कप नेपाली चिया’ जस्ता राष्ट्रिय अभियान सञ्चालन गर्न सकिन्छ। विद्यालय तहदेखि नै नेपाली चियाको महत्वबारे जानकारी दिने कार्यक्रम ल्याउन सकिन्छ।
त्यसैगरी होटल, रेस्टुरेन्ट तथा क्याफेहरूमा नेपाली अर्थोडक्स चिया प्रवर्द्धन र प्रोत्साहन गर्न सकिन्छ। आन्तरिक बजार विस्तारका लागि विशेष कर छुट, प्रचार सहयोग तथा ब्रान्डिङ कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष कार्यदल आवश्यक
नि:सन्देह, नेपाली चियाले अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुपर्छ। चीन, जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, मध्यपूर्व लगायतका नयाँ बजारहरूमा नेपाली चियाको पहुँच बढाउन आवश्यक छ। तर केवल नयाँ बजार खोज्नु मात्र पर्याप्त हुँदैन। त्यसका लागि राज्यको नेतृत्वमा व्यवस्थित, दीर्घकालीन र परिणाममुखी संयन्त्र आवश्यक छ।
त्यसैले नेपाल सरकारले तत्काल ‘अन्तर्राष्ट्रिय चिया प्रवर्द्धन कार्यदल’ गठन गर्नुपर्ने आवश्यकता देखिन्छ। यो कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपालस्थित विदेशी नियोगहरूसँग सम्बन्धित निकायहरू तथा चिया क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ।
कार्यदलमा सरकारी प्रतिनिधि मात्र नभई चिया किसान, चिया उद्योगी, निर्यातकर्ता तथा चिया व्यवसायीहरूको पनि प्रत्यक्ष प्रतिनिधित्व हुनुपर्छ। किनभने, बजारको वास्तविक अवस्था, अन्तर्राष्ट्रिय खरिदकर्ताको आवश्यकता, गुणस्तरका चुनौती र निर्यातका व्यावहारिक समस्याबारे सबैभन्दा बढी जानकारी निजी क्षेत्रसँग हुन्छ।
यस कार्यदलको मुख्य जिम्मेवारी विश्वका सम्भावित बजारहरूको पहिचान, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा व्यापार मेलामा नेपालको सहभागिता, विदेशी खरिदकर्तासँग व्यापारिक सम्बन्ध विस्तार, नेपाली चियाको राष्ट्रिय ब्रान्डिङ, बजार अनुसन्धान, निर्यात सहजीकरण तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक पहल गर्नु हुनुपर्छ।
आज नेपालले चिया उत्पादन गर्न सिकिसकेको छ, गुणस्तरीय चिया बनाउन पनि सक्षम छ। अब गर्नुपर्ने काम भनेको विश्व बजारमा नेपाली चियाको उपस्थितिलाई संगठित र आक्रामक रूपमा विस्तार गर्नु हो। त्यसका लागि अन्तर्राष्ट्रिय चिया प्रवर्द्धन कार्यदल केवल एउटा विकल्प होइन, नेपाली चिया क्षेत्रको दीर्घकालीन अस्तित्व र प्रतिस्पर्धात्मक भविष्यका लागि अनिवार्य आवश्यकता बनेको छ।

घरेलु उपभोग
विश्व बजारमा कुनै पनि समय नीति परिवर्तन, व्यापारिक अवरोध वा आर्थिक मन्दी आउन सक्छ। त्यसैले बलियो घरेलु बजार नै उद्योगको सबैभन्दा ठूलो सुरक्षा कवच हो।
यदि नेपाली उपभोक्ताले नेपाली चियालाई प्राथमिकता दिन थाले भने उद्योगहरूलाई स्थिर बजार प्राप्त हुनेछ, किसानले उचित मूल्य पाउने छन्, श्रमिकको रोजगारी सुरक्षित हुनेछ र विदेशी बजारमा आउने उतारचढावको प्रभाव कम हुनेछ।
नेपाली चिया क्षेत्रको सबैभन्दा ठूलो चुनौती उत्पादनको अभाव होइन। चुनौती बजार विस्तार, उपभोग संस्कृति निर्माण र मूल्य शृङ्खलालाई बलियो बनाउनु हो।
आज हामी ७० लाख किलोग्राम चिया उत्पादन गरिरहेका छौं। तर यदि १ करोड मानिसले दिनको एक कप नेपाली अर्थोडक्स चिया पिउने बानी बसाल्न सके भने नेपालको सम्पूर्ण उत्पादन देशभित्रै खपत हुन सक्ने सम्भावना छ। यो केवल एउटा तथ्यांक होइन, यो नेपाली चिया क्षेत्रको भविष्य बदल्न सक्ने सम्भावनाको संकेत हो।
अब समय आएको छ- नेपाली चियालाई केवल निर्यातको वस्तु होइन, राष्ट्रिय गौरव, स्वास्थ्यकर पेय पदार्थ र घरेलु अर्थतन्त्रको आधारका रूपमा स्थापित गर्ने।
(नेउपाने प्रस्तुति उद्योग प्रालिका सञ्चालक हुन्।)
प्रतिक्रिया 4