News Summary
Generated by OK AI. Editorially reviewed.- गुगल अर्थले लामो समयदेखि कम्प्युटर एपमा सीमित राखेको आफ्नो चर्चित 'फ्लाइट सिमुलेटर' फिचरलाई पहिलोपटक इन्टरनेट ब्राउजरमा उपलब्ध गराएको छ ।
- यो फिचरका माध्यमबाट प्रयोगकर्ताले कुनै झन्झटिलो सफ्टवेयर डाउनलोड नगरी ब्राउजरबाटै विश्वभर भर्चुअल्ली आकाशमा सयर गर्न सक्नेछन् ।
- गुगल अर्थको वेब संस्करणमा यो फिचरसँगै जमिनको उचाइ नाप्ने 'एलिभेसन प्रोफाइल' र नक्सासम्बन्धी थप डाटा लेयरहरू पनि थपिएका छन् ।
४ असार, काठमाडौं । गुगल अर्थभित्र लामो समयदेखि ओझेलमा परेको एउटा रमाइलो फिचर ‘फ्लाइट सिमुलेटर’ अब विश्वभरका प्रयोगकर्ताका लागि इन्टरनेट ब्राउजरमै उपलब्ध भएको छ ।
अब भर्चुअल्ली आकाशमा सयर गर्नका लागि कुनै झन्झटिलो सफ्टवेयर डाउनलोड गरिरहनु पर्दैन, इन्टरनेट चल्ने एउटा ब्राउजर भए पुग्छ ।
गुगल अर्थले आफ्नो वेबसाइटलाई अझ बलियो बनाउन र केही प्रो-लेभल (व्यावसायिक) फिचरहरू थप्ने क्रममा यो फ्लाइट सिमुलेटरलाई पनि ब्राउजरमा ल्याएको हो ।
यससँगै जमिनको उचाइ नाप्ने ‘एलिभेसन प्रोफाइल’ र नक्सा सम्बन्धी काम गर्नेहरूका लागि थप डाटा लेयरहरू पनि थपिएका छन् । अरू फिचरहरू सम्बन्धित क्षेत्रकालाई काम लाग्ने भए पनि जहाज उडाउने खेल भने विशुद्ध मनोरञ्जन र रमाइलोका लागि मात्रै हो ।
सन् २००७ देखि नै गुगल अर्थको कम्प्युटर एपभित्र रहेको यो फिचर पहिलोपटक वेबसाइटमा उपलब्ध गराइएको हो ।
कसरी प्रयोग गर्ने ?
सबैभन्दा पहिले गुगल अर्थको वेबसाइटमा जाने र दायाँ कुनाको माथि रहेको ‘एक्सप्लाेर अर्थ’ बटनमा क्लिक गर्ने । त्यसपछि सर्च बारमा गएर आफू संसारको जुन ठाउँमा जहाज उडाउन चाहने हो, त्यो ठाउँ खोज्ने ।

ठाउँ भेटिएपछि माथि रहेको ‘टुल्स’ मेनुमा क्लिक गर्ने । त्यसको सबैभन्दा तल ‘फ्लाइट सिमुलेटर’ भन्ने अप्सन देखिन्छ ।
खेल सुरु भएपछि स्क्रिनमा जहाज कसरी चलाउने भनेर बटनहरू देखाइँदैन । तर यसलाई कन्ट्रोल गर्ने तरिकाहरू निकै साधारण छन् । जहाजलाई दायाँ-बायाँ मोड्न वा तल-माथि लैजान माउस वा किबोर्डको एरो कि प्रयोग गर्न सकिन्छ । जहाजको स्पिड (गति) बढाउन पेज अप र गति घटाउन पेज डाउन बटन थिच्नुपर्छ ।
तर यसमा जहाजको सन्तुलन सहजै गुम्नसक्छ, जसले गर्दा कम्प्युटरको स्क्रिन नै फन्फनी घुम्न सक्छ । यदि हाज भुइँमा ठोक्कियो (क्र्यास भयो) भने खेल सकिन्छ ।
यो खेल ‘माइक्रोसफ्ट फ्लाइट सिमुलेटर’ वा ‘एस कम्ब्याट’ जस्ता ठूला र व्यावसायिक भिडियो गेमहरू जस्तो जटिल र भित्रसम्म पुगेर खेलिने खालको त होइन । तर, यसको सबैभन्दा ठूलो फाइदा भनेको यसमा गुगल अर्थको संसारभरिको नक्सा उपलब्ध छ । यसको मद्दतले तपाईं संसारको जुनसुकै कुनामा पुग्न र त्यहाँका प्रसिद्ध ठाउँहरू हेर्न सक्नुहुन्छ ।
यसमा कुनै मिसन पूरा गर्नुपर्ने, अंक जोड्नुपर्ने वा लेभल पार गरेर अगाडि बढ्नुपर्ने झन्झट हुँदैन ।
तर, मानौँ, यदि तपाईंलाई कुनै समय अमेरिकाको ‘गोल्डेन गेट ब्रिज’ को मुनिबाट जहाज छिराउने रहर थियो भने, अब ब्राउजर खोलेर त्यो रहर पूरा गर्ने पालो तपाईंको हो ।
प्रतिक्रिया 4