News Summary
Generated by OK AI. Editorially reviewed.- हेफर इन्टरनेशनल नेपालको समन्वयमा सात महिला कृषि सहकारीले व्यवसाय विस्तारका लागि बैंकहरूसँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् ।
- निर्यातकर्ता कम्पनी एक्विस्टा नेपालले सहकारीहरूले उत्पादन गर्ने कृषि उपज खरिद गर्न ९ करोड रुपैयाँ बराबरको अग्रिम सम्झौता गरेको छ ।
- कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीमा आधारित बजार र वित्तीय प्रणाली आवश्यक रहेको बताउनुभयो ।
६ असार, काठमाडौं । कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित सात महिला सहकारी संस्थाले कृषिमा लगानी बढाउनको लागी बैंक तथा वित्तीय संस्थासँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् ।
हेफर इन्टरनेशनल नेपालको पहलमा आयोजित ‘फ्रम फार्म टु फाइनान्स’ राष्ट्रिय पिचिङ कार्यक्रममा दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका सात महिला कृषि उद्यमी सहकारीले आफ्नो व्यवसाय विस्तार योजना प्रश्तुत गर्दै २० लाख रुपैयाँदेखि ४ करोड रुपैयाँसम्मको ऋण तथा लगानी सहयोगको प्रस्ताव गरेका हुन् ।
कार्यक्रममा सहभागी सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका थिए । लमही नगरपालिका दाङमा रहेको निलकमल समाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक पुनम भण्डारीले १ करोड ५० लाख रुपैयाँको लगानी प्रस्ताव गरे ।
दुग्धजन्य पदार्थको उत्पादन र बजारीकरण गर्नको लागि सो रकम खर्च गरिने उनको भनाइ छ ।
उनका अनुसार सहकारीले २०७३ सालमा डेरी स्थापना गरी किसानको दुध खरिद गर्दै आएको छ । सहकारीले कच्चा दुध मात्रै नभई आईसक्रिम, कुल्फी, पनीर, खुवाको उत्पादन गर्न थालेको छ । सहकारीले यसलाई प्याकेजिङ र ब्राण्डिङ गरेर बेच्ने लक्ष्य राखेको उनले बताइन् ।
‘अहिले हाम्रो सहकारीको कूल पूँजी ८ करोड ८ करोड ५० लाख भन्दा माथि रहेको छ भने शेयर सदस्य हाम्रो ५१ जना शेयर सदस्यबाट सञ्चालन भएको सहकारीमा अहिले १५३५ जना शेयर सदस्य हुनुहुन्छ । उहाँहरुबाट ५ करोड ९३ लाख भन्दा माथि हाम्रो बचत रहेको छ भने हामीले बाह्य ऋण पनि लिएर सहकारीमा सञ्चालन गरेका छौं,’ उनले जानकारी गराइन् ।
सदस्यहरुलाई लगानी गरेर सदस्यहरुको आर्थिक उन्नतिसँगै सहकारीको पनि व्यवसायमा वृद्धि हुन्छ भन्ने उद्देश्यका साथ अगाडि बढेको उनले बताइन् ।
समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था दाङकी व्यवस्थापक राजकुमारी चौधरीले तरकारीको उत्पादन र बजारीकरणको लागी चार करोड रुपैयाँको लगानी प्रश्ताव गरे ।
उनले किसानले अत्याधिक रुपमा तरकारी उत्पादन गर्ने भएकोले १ करोड रुपैयाँ कोल्डस्टोर निर्माणको लागि र ३ करोड रुपैयाँ कृषकहरुलाई उत्पादनमा सहजीकरणको लागि उक्त रकम खर्च गरिने बताए ।
‘हाम्रो बचत ६ करोड ८८ लाख छ भने हाम्रो शेयर पुँजी ३२ लाख छ, अनि हाम्रो लगानी ४ करोड ८३ लाख र जगेडा कोषमा पनि ३२ लाख ९९ हजार रुपैयाँ छ । हाम्रो तरलता २० प्रतिशत छ । अहिले हामीलाई चाहिँ ४ करोडको लगानी पायौँ भने हामीले हाम्रो सहकारीलाई अझै व्यवस्थित रुपमा, व्यवसायिक रुपमा अगाडि बढाउन सक्छौं,’ उनले भने ।
गण्डकी प्रदेशको नवलपुरस्थित सकलादेवी सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड ४९ लाख रुपैयाँ र कुल निक्षेप ३ करोड ७१ लाख रुपैयाँ छ । यसले एक करोड रुपैयाँ माग गरेको छ । कास्कीको माछापुर्च्छ्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारीको वासलात ५ करोड ९९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ३० लाख रुपैयाँ छ
प्रतिभा सहकारीले १ करोड ऋण माग गरेको छ । मधेस प्रदेशको सर्लाहीस्थित हरिपुर सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड १९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ८० लाख रुपैयाँ छ । यसले पनि एक करोड रुपैयाँ नै ऋण माग गरेको छ ।
बागमती प्रदेशको सिन्धुलीस्थित कमलामाई सामाजिक उद्यमी महिला सहकारीको वासलात १ करोड ९३ लाख रुपैयाँ छ, यसले ५० लाख रुपैयाँ लगानी प्रश्ताव गरेको छ । पाल्पाको गल्धा सामाजिक उद्यमी महिला सहकारीको वासलात ४ करोड ७५ लाख रुपैयाँ छ यो सहकारीले २० लाख रुपैयाँको ऋण माग गरेको छ ।
ग्लोवल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थालगायत वित्तीय निकायले सहकारीहरूको व्यवसायिक योजनामा ऋण लगानी गर्न तयार रहेको बताएका छन् । निर्यातकर्ता कम्पनी एक्विस्टा नेपालले ती सहकारीहरूले उत्पादन गर्ने कृषि उपज खरिद गर्न ९ करोड रुपैयाँ बराबरको अग्रिम खरिद सम्झौता गरेको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीमा आधारित वित्तीय तथा बजार प्रणाली अपरिहार्य रहेको बताए ।
सहकारीहरूलाई उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्न वित्तीय पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘सहकारीमा आधारित बजार प्रणाली र सहकारीमा आधारित फाइनान्सिङ मेकानिजम जबसम्म हुँदैन हामीले ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्न निकै गाह्रो छ । सहकारीसँग सबैथोक हुँदाहुँदै पनि फाइनान्सिङ मेकानिजम बलियो नहुँदाखेरी व्यवसाय विकास र बजारीकरणमा अलिकति हामी पछि परेका छौं,’ उनले भने ।
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले कृषि क्षेत्रको रूपान्तरणका लागि बैंक, निजी क्षेत्र, सहकारी र सरकारी निकायबीच व्यापक साझेदारी आवश्यक रहेको बताउनु भयो । उहाँले साना किसानलाई वित्तीय पहुँच, बजार र प्रविधिसँग जोड्न सके कृषि क्षेत्रलाई दीगो आर्थिक आधार बनाउन सकिनेमा जोड दिए ।
‘कृषिको परिवर्तनको कुरा बैंक र वित्तीय संस्थाको बिचमा मात्रै भएर पुग्दैन । यो लगानी पनि यो दुईटाको बिचमा आइसोलेसनमा भएर मात्र पुग्दैन । कृषकलाई साच्चै चाहीँ सफल बनाउनका निमित्त त्यसमा योगदान दिन सक्ने धेरै स्टेक होल्डरलाई धेरै सरोकारवालालाई यसमा समेट्नु पर्छ,’ उनले भने ।
बैंकको एउटा लगानीलाई त्यसको सुरक्षाको सुनिश्चितताका लागि पनि धेरै सहकार यो सरोकारवाला सहभागी नभएसम्म त्यो खालको रिस्कलाई त्यो खालको चाहिँ जोखिमलाई पनि न्युनिकरण गर्न नसकिने उनले बताए ।
कार्यक्रममा सहभागी सहकारीहरूले आफूहरू अब वचत तथा ऋण कारोबारमा मात्र सिमित नरही उत्पादनमुखी कृषि उद्यममा रूपान्तरण हुने चरणमा पुगेको बताए ।
प्रतिक्रिया 4