News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे संसद्मा दिएको आफ्नो विवादास्पद अभिव्यक्तिको बचाउ गर्दै राष्ट्रियतामाथि शङ्का नगर्न आग्रह गरे ।
- चितवनमा आयोजित रास्वपाको महाधिवेशनमा उहाँले बेलायती शासनकालको प्रमाण जुटाउन खोजेको तर बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको स्पष्ट पारे ।
- गत १७ जेठमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको र सीमा विवाद समाधानका लागि बेलायतसँग कुरा गरेको अभिव्यक्ति दिएका थिए ।
७ असार, चितवन । प्रधानमन्त्री बालेन शाहले गत १७ जेठमा प्रतिनिधिसभा रोस्ट्रममा उभिएर नेपालको सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिका कारण अहिलेसम्म तरंगित भइरहेको राष्ट्रवादी कित्तालाई बल्ल उनले आज चितवनबाट जवाफ दिएका छन् । उनले सीमा विवादबारे आफूले दिएका दुई अभिव्यक्तिको रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा जवाफ दिए ।
१७ जेठमा बालेनले के भनेका थिए ?
प्रधानमन्त्री बालेन शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको उल्लेख गरेका थिए । त्यही क्रममा उनले विवादित भनाइ आयो- ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । यो विषयमा दुई पक्ष बसेर हेर्नुपर्नेछ ।’
उनले योसँगै अर्को अभिव्यक्ति पनि दिएका थिए । ‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ’ उनले भनेका थिए,’ यो बारेमा इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’
प्रधानमन्त्री बालेनका यी दुवै भनाइ विवादमा परे । विपक्षीहरूले लगातार यो विषयमा संसद्मा प्रधानमन्त्रीको बोली रेकर्डबाट हटाउनुपर्ने माग गरे । प्रधानमन्त्रीको यो भनाइ आए लगत्तै त्यही दिन साँझ परराष्ट्र मन्त्रालयले भनाइको आसय के हो भन्ने स्पष्टीकरण सहितको विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ क्रेस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको उल्लेख गरियो ।
तर विपक्षीहरूले यो कुरा चित्त बुझाएनन् । बेलायतसँग पनि कुरा गर्नुपर्छ भन्ने अभिव्यक्ति परराष्ट्रमन्त्री शिशिर खनालले भारतमा पुगेर सच्चाइदिए । भारतले पनि दुई देशको मामिलामा तेस्रो मुलुकको मध्यस्थकर्ता आवश्यक नरहेको भन्दै यो विषयमा आफ्नो धारणा बाहिर ल्यायो ।
तर प्रधानमन्त्री बालेन संसद्मा आएर आफ्नै भनाइको आसय स्पष्ट पार्न चाहेनन् । संसद् निरन्तर अवरुद्ध भएपछि समाधान खोज्ने सिलसिलामा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा प्रधानमन्त्रीतर्फबाट जवाफ दिए । त्यसपछि संसद् खुलेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिप्रतिको सदन र सडकको आपत्ति हटिसकेको थिएन ।
तर आज चितवनबाट प्रधानमन्त्री बालेनले आफ्नो अभिव्यक्तिको आसय स्पष्ट पारेका छन् ।
चितवनमा के भने ?
प्रधानमन्त्री बालेनले सीमाबारे प्रश्न उठाउनेहरूलाई कालापानी र लिपुलेकको विषयमा नेपालसँगै प्रमाण रहेको उल्लेख गरे ।
‘हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिसले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौँ भनेका हौँ । ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसित आफैँ कुरा गरेर मिलाउँछौँ ।’
प्रधानमन्त्री बालेले सीमामा मध्यस्थकर्ताको हिसाबले कसैलाई पनि ल्याउन नचाहेको उल्लेख गरे ।
उनले नेपालले भारतको सीमा मिचेको भन्ने विषयमा भारतीयहरूसँग नै प्रमाण मागेको उल्लेख गरे । उनले यो विषय उठाउँदा उनको राष्ट्रियताप्रतिको प्रतिबद्धतामा पनि प्रश्न उठाएका थिए । जुन कुराको बालेनले खण्डन गरे ।
उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’
प्रतिक्रिया 4