राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि चुनाव हुँदैछ । पहिलो चरणको चुनाव सकिएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुन्छ ।
९९ सदस्यीय केन्द्रीय समितिका लागि भने सयौँ आकांक्षी लाइनमा छन्। विधान संशोधन मस्यौदा समितिका संयोजकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपिन आचार्यले केन्द्रीय सदस्य (खुलातर्फ) उम्मेदवारी दर्ता गराएका छन्। यसैसन्दर्भमा अनलाइनखबरका दिनेश गौतमले विपिन आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईं पार्टीको सहमहामन्त्री हुनुहुन्छ, संस्थापक सदस्य पनि हुनुहुन्छ। धेरैले यस विषयमा चासो र जिज्ञासा राखिरहेका छन्- विधानअनुसार पहिले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मात्र पदाधिकारी लड्न पाइने व्यवस्था छ। केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि तपाईंको दाबी पदाधिकारीको कुन पदमा रहन्छ ?
अहिलेका लागि म केवल केन्द्रीय समितिको सदस्यको उम्मेदवार मात्र हुँ। म जहिले पनि प्रक्रियागत राजनीति र पद्धतिमा विश्वास गर्ने व्यक्ति भएकाले अहिले मेरो सम्पूर्ण ध्यान र दाबी केन्द्रीय सदस्यमै केन्द्रित छ।
केन्द्रीय सदस्यको चुनाव लड्दै गर्दा पार्टीका महाधिवेशन प्रतिनिधि र सदस्यहरूले मलाई कति माया र विश्वास दिनुहुन्छ, त्यसकै आधारमा मैले आगामी निर्णय लिने हो। अहिलेका लागि मेरो निर्णय केन्द्रीय सदस्यसम्म मात्रै हो, पदाधिकारीको सोचसम्म म अहिले पुगेकै छैन।
त्यसो भए अहिलेका लागि तपाईंको एक मात्र ध्येय केन्द्रीय सदस्य जित्ने नै हो। त्यसपछाडिको रणनीतिबारे पक्कै पनि नेताहरूसँग सल्लाह गरिरहनुभएको होला। तर, हामीले बन्दसत्रको हल बाहिर महाधिवेशन प्रतिनिधिहरूसँग कुरा गर्दा धेरैले ‘विपिनजी महामन्त्रीमा आउनुपर्छ’ भन्दै शुभेच्छा प्रकट गरिरहेका छन्। के तपाईंको भित्री दाबी महामन्त्री पदमै हो ?
मैले अघि भर्खर पनि भनेँ नि, तपाईंले जति घुमाएर प्रश्न सोधे पनि मेरो उत्तर दिने शैली यही नै हो । अहिलेका लागि मैले केवल केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।
म जहिले पनि विधि र पद्धति मान्ने व्यक्ति हुँ। यदि मैले नै त्यो विधिको मर्म र पद्धतिको बहसलाई सम्मान गरिनँ भने अरू कसैले पनि गर्दैन। मलाई पार्टीको विधान संयोजन गर्ने जुन ठूलो जिम्मेवारी मिलेको थियो, त्यो विधानको प्रारूपले नै के भन्छ भने- पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको मात्र निर्वाचन हुनेछ। पदाधिकारी चयनको प्रक्रिया त त्यसपछिको दोस्रो चरणमा मात्र सुरु हुन्छ। त्यसैले, म आफैँ पहिलो चरणको चुनावी प्रतिस्पर्धामा होमिएका बेला, दोस्रो चरणको विषयलाई लिएर अहिले नै गफ गर्नु वा दाबी प्रस्तुत गर्नु त्यति व्यावहारिक र उचित हुँदैन।
पार्टीभित्र अहिले पदाधिकारी चयनका विषयमा दुईथरी मत देखिन्छ। कतिपयले पदाधिकारीहरू सर्वसम्मत चयन गर्नुपर्छ भनिरहेका छन् भने कतिपय निर्वाचनकै पक्षमा छन्। यसमा तपाईंको व्यक्तिगत धारणा चाहिँ के हो ?
ठ्याक्कै चुनावको मुखमा मैले आफ्नो व्यक्तिगत धारणा राख्दा त्यसले समग्र निर्वाचनको मर्मलाई कतै न कतै कमजोर (डाइलुट) बनाइदिन्छ। म पार्टीको जिम्मेवार नेतृत्वमा रहेका कारण, उम्मेदवारी दर्ता चलिरहेको यस्तो संवेदनशील घडीमा व्यक्तिगत राय दिनु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हितमा हुँदैन।
अघि मैले भनेझैँ, पहिले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरौँ। पार्टीका महाधिवेशन प्रतिनिधिहरूले माया गर्नुभयो भने मलाई केन्द्रीय सदस्यका रूपमा देख्नुहुनेछ। यदि माया पाइएन भने केन्द्रीय सदस्यमा निर्वाचित नहुन पनि सक्छु। त्यसलाई मैले स्वाभाविक रूपमा लिनेछु र ‘मैले अझ बढी मिहिनेत गर्नुपर्ने रहेछ, नागरिकको मनमा बस्न अझै बाँकी रहेछ’ भन्ने सिकाइका रूपमा ग्रहण गर्नेछु। त्यसैले मैले अहिले नै त्यति टाढाको सोचिसकेको छैन।
तपाईंले भर्खरै पार्टीमा एउटा निकै महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नुभयो। तपाईं विधान संशोधन मस्यौदा समितिको संयोजक हुनुहुन्थ्यो। पार्टीभित्र एउटा चर्चा पनि छ नि- तपाईंको नेतृत्वमा रहेको समितिले विभिन्न पार्टी वा समूहबाट आउनेहरूलाई ‘समायोजन’ गर्न अनुकूल हुने गरी विधान संशोधन गर्यो भन्ने गुनासो छ, यसलाई कसरी हेर्नुहुन्छ ?
रास्वपाको संस्थापक हुनुको नाताले मेरो र हाम्रो प्रमुख दायित्व भनेकै नेपाली राजनीतिमा आएको परिवर्तनको मूल मर्मलाई विधानमा समेट्नु हो। पार्टी स्थापनाको प्रारम्भिक सन्दर्भलाई जोड्दै मलाई यो कुरा भन्न कुनै अप्ठ्यारो छैन- आज नेपाली नागरिकले रास्वपालाई जुन ठुलो भरोसा र मत दिइरहेका छन्, त्यसको पछाडिको एउटा मुख्य कारण छ। नागरिकहरू रास्वपा सबै व्यक्ति, समूह र हामीसँग समान विचार राख्ने राजनीतिक दलहरूलाई समेट्न सक्ने एउटा उन्नत र फराकिलो पार्टी बनोस् भन्ने चाहन्छन्। देशैभरिका नागरिकको मत र चाहना त्यही हो।
नागरिकको त्यो मत र भरोसाप्रति सम्मान गर्दै रास्वपाले आफ्नो विधान र राजनीतिक चरित्रलाई समावेशी बनाउनैपर्छ। समायोजनका सबै सही अवयवहरूलाई आत्मसात् गरेर अगाडि बढ्नु हाम्रो जिम्मेवारी हो। त्यसैले, हामीले अवलम्बन गर्ने नीति र विधान यस्तो हुनुपर्छ, जसले गर्दा हामीसँग जोडिन आउने हरेक व्यक्ति वा समूहले रास्वपामा आउँदा आफ्नै घरमा आएको जस्तो महसुस गरोस्।
हामीलाई विश्वास गरेर हाम्रो नेतृत्वमा जोडिन आउने साथीहरूलाई कतै पनि अन्याय नहोस् भन्नेमा हामी सचेत छौँ। यो हाम्रो अझ बढी दायित्व पनि हो। त्यसैले, पार्टीको ऐतिहासिक महाधिवेशनको पूर्वसन्ध्यामा हामीले जुन विधान प्रस्तुत गर्यौँ, त्यसले यदि नयाँ आउने व्यक्तिहरूका लागि ढोका अलि बढी खोलिदिएको छ भने यसको संस्थापकका रूपमा मलाई गर्व छ। किनभने, हामीले बनाउन खोजेको पार्टी नै यस्तै हो।
तर एउटै पद र हैसियत भएको व्यक्तिमध्ये कोही चाहिँ निर्वाचित भएर आउनुपर्ने, कोही चाहिँ मनोनीत भएर आउने गर्दाखेरि त्यहाँ कतै नमिलेको जस्तो वा असन्तुलन भएको जस्तो लाग्दैन तपाईंलाई ?
यस्तो हो, म राजनीतिमा सधैँ वैज्ञानिकता खोज्ने व्यक्ति हुँ। तर राजनीति आफैँमा एउटा विशिष्ट विधा पनि हो, जसले कतिपय अवस्थामा समाजका विविध अवयवहरूलाई समेट्नुपर्ने हुन्छ।
चार वर्षअगाडि स्थापना भएको पार्टी र यस अवधिमा राजनीतिक यात्रा तय गरेका साथीहरू तथा थोरै अगाडि आएका अन्य सदस्य साथीहरू- जसले समाजको एउटा ठुलो जनमत (म्यान्डेट) बोकेर आएका छन्, उनीहरू सबैलाई सुरुमै एउटै डालोमा राखेर प्रतिस्पर्धा गराउनु पनि पूर्ण रूपमा न्यायसङ्गत (फेर) नहुन सक्छ। किनभने, त्यो समय र योगदानको भिन्नतालाई हामीले कतै न कतै समायोजन त गर्नैपर्छ नि।
हामीले त के बुझ्नुपर्छ भने, पार्टीमा भर्खरै जोडिएका नयाँ साथीहरू र पार्टीको सङ्गठनमा लामो समयदेखि भिजेका पुराना साथीहरूलाई सिधै एउटै प्रतिस्पर्धामा उतार्नु आफैँमा न्यायपूर्ण नहुन सक्छ। एउटा निश्चित विन्दुमा पुगेपछि त सबैजना एउटै लोकतान्त्रिक प्रक्रियाबाट जानु नै हुनेछ। तर, फागुन २१ को निर्वाचनपछिको यो ऐतिहासिक घडीमा नागरिकहरूले हामीप्रति जुन ठुलो भरोसा र सम्मान देखाएका छन्, त्यसका सबै पक्षलाई समेट्नु हाम्रो जिम्मेवारी हो। त्यसैले, यसलाई ‘अन्यायपूर्ण विधि’ भन्नुभन्दा पनि सबैलाई समेट्ने एउटा विशेष विधिको रूपमा बुझ्नु बढी सान्दर्भिक हुन्छ।
प्रतिक्रिया 4