१० असार, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आफ्नो सबैभन्दा ठूलो एकीकृत सैन्य कमाण्डको नाममा ‘इन्डो‘ शब्द थपेको आठ वर्षपछि त्यसलाई हटाउने निर्णय गरेसँगै भारतप्रतिको अमेरिकी प्रतिबद्धतालाई लिएर प्रश्नहरू खडा भएका छन्।
जुन १६ मा ‘इन्डो-प्यासिफिक कमाण्ड’ को नाम परिवर्तन गर्ने घोषणा गर्दै अमेरिकी अधिकारीहरूले यस कदमलाई ‘सम्मान’, ‘गौरव’ र ‘ऐतिहासिक जरा’ को कदरका रूपमा चित्रण गरेका थिए।
तर, विश्लेषकहरूका अनुसार नयाँ दिल्लीले यसलाई वासिङ्टनको रणनीतिक प्राथमिकतामा भारतको स्थान खुम्चिँदै गएको एउटा सानो तर स्पष्ट संकेतका रूपमा बुझ्नेछ।
युनिभर्सिटी एट अल्बानीका राजनीतिशास्त्रका सह-प्राध्यापक क्रिस्टोफर क्लेरीले भने, ‘नाम परिवर्तनबाट प्राप्त हुने क्षणिक मनोबलको तुलनामा यसले पृथ्वीकै सबैभन्दा बढी जनसंख्या भएको देशसँगको अमेरिकी सम्बन्धमा पुर्याउने प्रतीकात्मक क्षति निकै ठूलो छ।’
‘यो नामकरण विवेकहीन छ। आलोचकहरूले यो कदम चीनलाई खुसी पार्नका लागि चालिएको हो कि भनेर शंका गर्नु स्वाभाविक हो, जुन यस प्रशासनको एसिया नीतिको नियमित विशेषता जस्तै बनेको देखिन्छ,’ उनले थपिन ।
सन् २०१८ को मे महिनामा गरिएको सुरुवाती नामकरण ‘हिन्द र प्रशान्त महासागरबीचको बढ्दो कनेक्टिभिटीलाई मान्यता दिँदै’ गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा फेरेका पाँच रक्षा मन्त्रीहरूमध्येका पहिलो जेम्स म्याटिसले त्यतिबेला यो कुरा बताएका थिए।
त्यसको केही समयपछि अवकाश पाएका २४औँ पाकोम कमाण्डर एडमिरल ह्यारी ह्यारिसले उक्त वर्षको नाम परिवर्तनलाई ‘इन्डो-प्यासिफिक क्षेत्रमा भइरहेको स्वतन्त्र र दमनकारी दृष्टिकोणहरू बीचको भू-राजनीतिक प्रतिस्पर्धा’ सँग स्पष्ट रूपमा जोडेका थिए। तर, आठ वर्षपछि क्लेरीका अनुसार ‘विगतको गौरवलाई उजागर गर्ने केही अस्पष्ट चाहना’ बाहेक अन्य कुनै स्पष्टीकरणबिना नै त्यो औचित्य मेटाइएको देखिन्छ।
‘अनावश्यक चोटहरू’
सतही रूपमा हेर्दा, पेन्टागनका अधिकारीहरूले तुरुन्तै औंल्याए झैँ यो नाम परिवर्तन धेरै हदसम्म प्रशासनिक मात्र हो। अमेरिकाको पश्चिमी तटदेखि भारतसम्म फैलिएको पाकोमको जिम्मेवारी क्षेत्र यथावत् छ।
तैपनि, कमाण्डको शीर्षकबाट ‘इन्डो’ शब्द हटाउने कार्य अमेरिका-भारत सम्बन्ध निकै संवेदनशील मोडमा रहेका बेला भएको छ। दुई देशबीचको सम्बन्ध पहिले नै भन्सार महसुल विवाद, स्ट्रेट अफ हर्मुजमा भएको घातक आक्रमण र मस्कोसँगको नयाँ दिल्लीको ऊर्जा सम्बन्धका कारण तनावग्रस्त छ।
युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाका राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेरेक ग्रोसम्यानका अनुसार ट्रम्पले भारतले पहिले जस्तो विशेषाधिकार पाएको स्थिति अब नरहेको संकेत बारम्बार गरिसकेका छन्।
ग्रोसम्यानले ‘फरेन अफेयर्स’ मा लेखेका छन्, ‘गत वर्षदेखि नै ट्रम्पले आफ्ना अन्य उद्देश्यहरू पूरा गर्न भारतसँगको सम्बन्धमा गम्भीर तनाव उत्पन्न गर्ने जोखिम मोल्न तयार रहेको देखाएका छन्।’
उनका अनुसार अमेरिकी राष्ट्रपतिले गत वर्ष भारतमा तय भएको ‘क्वाड’ शिखर सम्मेलनबाट हात झिकेर दिल्लीलाई अप्ठ्यारोमा पारेका थिए। साथै, रुसी तेल खरिदलाई लिएर नरेन्द्र मोदी सरकारमाथि दबाब बढाउँदै गत वर्ष भारत र पाकिस्तानबीचको छोटो संघर्षमा युद्धविराम गराएको श्रेय आफैँले लिने प्रयास गरिरहेका छन्।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पाकिस्तानसँगको निकटता पनि बढाएका छन् । जसलाई भारतले आतंकवादको राज्य-प्रायोजित संरक्षक मान्छ।
हालैका दिनहरूमा अमेरिका-भारत सम्बन्ध ‘सबैभन्दा खराब’ अवस्थामा पुगेको टिप्पणी गर्दै क्लेरीले जनवरीमा सेर्जियो गोर अमेरिकी राजदूतका रूपमा भारत नियुक्त भएपछि सम्बन्धमा नयाँ पाना पल्टिने आशा राखेका थिए। उनले थपे, ‘यद्यपि, अमेरिकाले नयाँ दिल्लीसँगको आफ्नो सम्बन्धमा अनावश्यक चोटहरू थप्ने काम जारी राखेको छ।’
गत शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकोमको नाम परिवर्तनको विषयलाई ‘गम्भीरतापूर्वक विचार भइरहेको’ बताएका थिए। अस्ट्रेलियाको लोवी इन्स्टिच्युट थिङ्क ट्याङ्ककी भारत प्रमुख श्रुति पण्डलाईले यस कदमलाई धेरै हदसम्म प्रतीकात्मक भनेकी छन्।
उनका अनुसार, अमेरिकी सैन्य बजेटको माग मुख्य रूपमा चीनमा केन्द्रित रहेको र वर्तमान सैन्य योजनाहरूले ‘इन्डो-प्यासिफिकको महत्त्वलाई कम नगरेको संकेत गर्ने भएकाले यो नयाँ दिल्लीका लागि केही राहतको विषय’ हो।
तैपनि, यसले दुवै पक्षद्वारा दुई दशकभन्दा बढी समय लगाएर निर्माण गरिएको विश्वासको वातावरणलाई जोखिममा पार्ने र वासिङ्टनप्रति भारतीय जनतामा नकारात्मक भावना भड्काउन सक्ने उनले बताइन्।
युनिभर्सिटी अफ वेस्टरन अस्ट्रेलियाको डिफेन्स एन्ड सेक्युरिटी इन्स्टिच्युटका रिसर्च फेलो ट्रोय ली-ब्राउनले पनि कमाण्डको उद्देश्य परिवर्तन नभएको उल्लेख गर्दै यसैका आधारमा वासिङ्टनको रणनीतिमा परिवर्तन आएको भनी विश्लेषण गरिहाल्नु चाँडो हुने बताए।
उनले थपे, ‘तर प्रमुख रणनीति दस्तावेजहरू र यस्तै अन्य ठाउँहरूमा ‘इन्डो-प्यासिफिक’ शब्दावली रहन्छ कि रहँदैन भन्ने कुराको खोजी गर्नु चाखलाग्दो हुनेछ।’
सन् १९४७ मा स्थापना भएको र हवाइमा मुख्यालय रहेको पाकोम प्रशान्त महासागरदेखि पूर्वी हिन्द महासागरसम्म फैलिएको आधा विश्वभर तैनाथ सबै अमेरिकी सशस्त्र बलहरूको जिम्मेवारी सम्हाल्ने निकाय हो।
प्रतिक्रिया 4