गत फागुन २१ को निर्वाचनले नेपालका पुराना पार्टीहरूको राजनीतिक नक्सा नै परिवर्तन गरिदियो। चुनावअघि देशकै सबैभन्दा शक्तिशाली दल नेकपा एमाले अभूतपूर्व रूपमा कमजोर बन्न पुग्यो।
जनताको बहुदलीय जनवादलाई अङ्गीकार गरेको यो पार्टीको साङ्गठनिक संरचना पनि कम आकलन गर्न सकिन्न। केन्द्रदेखि टोलसम्म फैलिएको र गहिरो जरा गाडिएर अब्बल सङ्गठन भएको एमाले किन २५ सिटमा खुम्चिनु पर्यो ? किन इतिहासमै यति ठूलो धक्का खानु पर्यो ? यसको वस्तुनिष्ठ ढङ्गले समीक्षा हुनुपर्दछ।
एमालेले आज खेप्नुपरेको सङ्कटका कारणलाई यसरी पनि बुझ्न सकिन्छ:
नीतिभन्दा व्यक्ति प्रधान : पछिल्लो समय एमालेमा व्यक्तिपूजनको लहर चल्यो। कार्यकर्ताहरूले नेता, नेताहरूले नेता र नेताहरूले महानेताको वरिपरि घुम्ने शृङ्खला बढ्यो। यो खाले पक्षपाती व्यक्तिवादी चिन्तन हावी भयो। आन्तरिक पार्टी जीवनमा खटपट र जनमानसमा नराम्रो असर पर्न गयो। पार्टीप्रति जनविश्वास घट्न थाल्यो।
गुटगत सङ्कीर्णता : विशाल साङ्गठनिक संरचना भएको एमालेमा गुटगत मनोविज्ञानले नकारात्मक असर पर्न गयो। केन्द्रदेखि स्थानीय तहसम्मको अधिवेशनमा बालकोटको हवाला दिएर इतिहास भएका व्यक्तिहरूलाई पाखा लगाउने काम गरियो। सही व्यक्ति छान्ने मनसाय बोकेका प्रतिनिधिलाई लोभ-लालच र धाक-धम्की दिने निकृष्ट कार्य भए।
पराजितलाई दुश्मनको रूपमा लिई शत्रुताको व्यवहार गर्दै पार्टीका गतिविधिबाट वञ्चित गराउने काम जारी रह्यो। यो प्रवृत्तिलाई नेतृत्वले बुझ्ने कोसिस कहिल्यै गरेन। बरु तलसम्मै एकलौटी पार्टी कब्जा गर्ने योजना बनाइयो। गुटगत सङ्कीर्णताले पार्टीलाई कमजोर बनायो।
सही सुझावको उपेक्षा : पार्टी हित र अध्यक्ष हितको निम्ति सुझाव राख्ने नेता-कार्यकर्ताप्रति अध्यक्षका वरिपरि घुम्ने व्यक्तिहरूले कटाक्ष मात्र गरेनन्, ‘पार्टी छोड्’ भन्नसम्म भ्याए। नेतृत्वले पनि भक्तिभाव र देवत्वकरण गर्नेलाई खबरदारी होइन, उल्टै पुरस्कृत गर्ने नीति अपनायो। पार्टीलाई मजबुत बनाउने इच्छा लिएका तमाम कार्यकर्ताहरूको भावनाप्रति आघात पुर्याउने दुष्प्रयास गरियो।
ग्याङ अफ फाइभ : चीनमा सन् १९४९ मा क्रान्ति सफल भएपछि १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्तिका नाममा ‘ग्याङ अफ फोर’ समूह सक्रिय भयो; जसले सिङ्गो देशमा र पार्टीको आन्तरिक जीवनमा सांस्कृतिक क्रान्तिका नाममा विभिन्न अभियान चलायो। के गरेन ? गर्ने-नगर्ने सबै गर्यो। यही मौकामा पार्टीका धेरै इमानदार नेता-कार्यकर्ता पाखा लगाउनेदेखि सफायासम्म गरिन्थ्यो। यतिसम्म कि देङ स्याओपिङ जस्ता नेतालाई समेत सम्पूर्ण जिम्मेवारी खोसेर जिम्मेवारीविहीन बनाइएको थियो।
एमालेमा पनि यस्तै प्रकृतिको ‘ग्याङ अफ फाइभ’ सक्रिय भए। उनीहरूको नाम सार्वजनिक गर्न वाञ्छनीय ठानिएन, किनभने अहिले केही बाहेक धेरैको बुद्धि फर्किए जस्तो आभास भइरहेको छ। यो समूहले चीनमा देङ स्याओपिङप्रति जस्तो हर्कत गरेको थियो, एमालेमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई त्यही किसिमको व्यवहार गर्यो। उनीहरूले पार्टीको अवस्थाबारे सही विश्लेषण कहिल्यै गरेनन्। सधैं नेतृत्वको प्रशंसा गरिरहे। कतिसम्म भने केपी ओलीको उचाइ मोदी र सी चिनफिङको जस्तै भएको र ‘ओली विना एमाले सम्भव छैन’ भन्न समेत बाँकी राखेनन्।
सत्ताकेन्द्रित राजनीति
एमाले सत्ताकेन्द्रित राजनीतिमा केन्द्रित मात्र भएन, सत्ता प्राप्तिको निम्ति, सत्ता टिकाइराख्नको निम्ति र शक्तिको नियन्त्रणलाई कायम राख्नको निम्ति जस्तोसुकै कदम चाल्न पनि पछि परेन। जोसुकैसँग गठबन्धन गरियो। पार्टीहरूको यस्ता गलत हर्कतले जन हित, सुशासन र लोकतान्त्रिक मूल्यहरूलाई बेवास्ता गरियो र पार्टीहरूप्रति जनविश्वास घट्यो। जब जनअपेक्षा, जनताका चाहना र आशा निराशामा परिणत हुन्छ, तब असन्तुष्टिले सीमा नाघ्छ। जनताले विकल्प खोज्न थाल्छन्। भ्रष्टाचार र नातावाद उत्तिकै चुलियो। अस्थिर सरकार र चाँडोचाँडो फेरिइरहने सरकारहरूप्रति न कर्मचारीले टेरे, न अनेकौं धन्दामा लिप्तहरू नै डराए।
चुनौती र अवसर
फागुन २१ को निर्वाचन पश्चात् एमालेले व्यहोर्नुपरेको धक्काले सिर्जित चुनौतीलाई कसरी लिने र फेरि पार्टी उठाउने भन्ने सवाल प्रमुख विषय हो। जनतासँग टुटेको सम्बन्ध र अविश्वासलाई बदल्नु चुनौती बनेको छ।
युवापुस्तालाई आकर्षित गर्नुपर्ने टड्कारो देखिन्छ। गुटबन्दीको अन्त्य गर्नुपर्नेछ। स्थानीय तहदेखि केन्द्रसम्म सङ्गठन सुदृढीकरण गर्दै वाम एकता र गठबन्धनका लागि भरपर्दो जग तयार गर्नुपर्नेछ। नयाँ राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्नु मुख्य चुनौती हुनेछ। यसतर्फ ध्यान दिएर योजना बनाउनुको विकल्प छैन।
अर्को महत्त्वपूर्ण विषय ‘पार्टी पुनर्गठन’ हो। यो विषय पेचिलो बन्दै गएको छ र अनिवार्य छ। तमाम नेता-कार्यकर्ता र जनतालाई यो प्रश्नले घचघच्याइरहेको छ। पार्टी केन्द्रीय सचिवालय बैठकमा १९ जना पदाधिकारीमध्ये १५ जनाले पुनर्गठनको पक्षमा मत राख्नुभयो।
तर जतिसुकै कमजोरी भए पनि अध्यक्ष ओलीले नेतृत्व छोड्न चाहनुभएको छैन। बरु उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा ‘निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदल’ गठन गरेर तत्काललाई सङ्कट टार्ने काम गर्नुभयो। तर कार्यदलको प्रारम्भिक कामकारबाही हेर्दा अझै पनि पुनर्गठनको विषय अल्पमतमा पार्ने षड्यन्त्र भइरहेको शङ्का उब्जेको छ।
यदि यस्तो भए एमालेको अलि-अलि बाँकी साख पनि माटोमा बिलाउन्न भन्न सकिन्न। त्यसकारण पार्टी अध्यक्ष कमरेड ! एमाले जस्तो विशाल पार्टीलाई पुनर्जीवित गर्न तपाईंकै अगुवाइमा केन्द्रदेखि स्थानीय तहसम्म पुनर्गठन होस्। साथै नेतृत्व हस्तान्तरण पनि तपाईंकै इच्छामा होस्।
निष्कर्ष
एमाले नेपालको सबैभन्दा ठूलो सङ्गठनात्मक शक्ति भएको पार्टीमध्ये एक हो। तर सङ्गठनको बल मात्र पर्याप्त हुँदोरहेनछ भन्ने कुरा गत चुनावको परिणामले देखाइसकेको छ।
अब समयअनुकूल नेतृत्व, विचार र कार्यशैली परिवर्तित हुनु जरुरी हुन्छ। यदि पार्टीले आत्मसमीक्षाका आधारमा पुनर्गठनको साहसिक कदम चाल्न सक्यो भने गुमेको जनविश्वास पुनः उठ्न सक्छ। अन्यथा इतिहासमा शक्तिशाली सङ्गठन भएका, तर परिवर्तनको आवश्यकता नबुझेका धेरै दल जस्तै एमाले पनि क्रमशः खुम्चिने जोखिमबाट मुक्त रहने छैन ।
प्रतिक्रिया 4