+
+
Shares
फ्राइडे प्लेलिस्ट :

विरह, नेपाली व्यापारी, लाहुर, खै पैसो…

अन्तत: आफ्नो मौनता ठोड्दै/श्रोताहरूको प्रतिक्षाको कदर गर्दै लक्ष्मीले नयाँ गीत लिएर आएकी छिन् ।

सापेक्ष सापेक्ष
२०८३ असार १२ गते १६:१९

विरह : लक्ष्मी थापा

उनी त्यस्ती गायिका हुन्, जसले एउटा मास्टरपिस गीत गाइन् । र लामो समय नेपथ्यमै बसिन् । बिल्कुलै स्वेइच्छाले । श्रोताहरूको पर्खाइ उनको नयाँ गीत र उनको उपस्थितिका लागि सधैं रहिरह्यो । ठेगान थिएन : उनको नयाँ गीत निस्कन्छ/निस्कँदैन । अन्तत: आफ्नो मौनता ठोड्दै/श्रोताहरूको प्रतिक्षाको कदर गर्दै लक्ष्मीले नयाँ गीत लिएर आएकी छिन् : विरह ।

लोक भाकामा आधारित रहेर स्थानीय बिम्बहरूको प्रयोग गरेर एकदमै मिनिमलस्टिक शैलीमा गाइएको यो गीत पक्कै पनि धेरै अर्थबाट उत्कृष्ट छ । यसको म्युजिक भिडियो पनि नोस्टालिक बनाउने छ । अहिलेको फोरके अथवा एचडीको जमानामा पुरानो जमानाको झिल्को दिने गरी भिडियो बनाइएको छ ।

पाखाभरि बुकी फूल
देउरालीलाई चढाई राखें
पाखभारि बुकी फूल
देउराली चढाई राखें
भाकल राखी देऊ देउकीलाई
सँगै मरुँ बाँचु

कोरेका पाना : द दोस्त्याज्

केही समयअघि बनेको ब्यान्ड द दोस्त्याजको यो नयाँ गीत हो । यो गीतमा ब्यान्डले साउन्डमा केही प्रयोग गर्न खोजेको छ । केही क्लासिकल टच दिएर रक भर्सनको पनि फिल गराउन सक्नु यो गीत खुराक देखिन्छ । त्यसमा सितारको भाग बडो सुन्दर सुनिएको छ । गीतको मात्र गर्दा यसमा अधुरो प्रेम, पर्खाइ र वियोग गाइएको छ । कसैको प्रतीक्षामा कोरेका पाना, गाएका गीत र सँगै जिउने देखेका सपनाहरू अन्ततः अधुरै रहँदा सिर्जना भएको एक्लोपन र पीडालाई गीतमा गाइएको छ ।

कोरें पाना कति तिम्रै लागि
गाएँ गीत कति तिम्रै लागि
देखें सपनाहरू तिमी सँगै
तिम्रो प्रतीक्षामा

मनले नबोले पनि अगन्य भावहरू छ नि
मनलाई दोष यो किन मनले सोच्ने त होइन
खुसी म कसरी हुनु खुसीमा तिमी नै छैनौ
चिमाटी आफैँलाई सोधें सपना हो कि यो भनी

 

मैनाम : करण राई

कविता, फिल्म र संगीत । यो यही त्रिवेणीको समिश्रण हो । त्यसैले यसको नाम पनि पोएटिक म्युजिकल फिल्म दिइएको छ । यसको सुरुआत लिम्बु धार्मिक अनुष्ठानदेखि सुरु भएर कविता हुँदै सुन्दर गीतसम्म जान्छ । एक जना कोही छ । जसलाई कोही मन पर्छ । तर परिस्थिति साथक बन्दैन । त्यही परिस्थिति यो पोएटिक म्युजिकल फिल्ममा गाइएको छ । देखाइएको छ ।

भेटिएला याद न भेटिएला
सम्झनाको भंगालोमा
छुट्दै छुट्दै छुट्दै बगिजानेलाई

कुनै छालमा वा कुनै पाटको नागबेली बाटोमा
कुनै दहमा वा कुनै किनारको कतैपट्टि
भेटिन्छ कि भनेर हो
वर्षौंपछि मलाई यसरी बग्दै–बग्दै बगिजाने रहर लागेको छ

लाहुर : समकालीन

लाहुर सम्बन्धीको गीतहरू नेपालमा धेरै छन् । पछिल्लो समयमा भने यस विषयमाथि गीत बन्ने क्रम घटेको थियो । तर काठमाडौंमा आधारित ब्यान्ड समकालिनले फेरि यही विषयवस्तुलाई टिपेर नयाँ गीत निकालेको छ । मुलत यो दोधार सम्बन्धीको हो । यसमा एउटा ठोस उद्देश्य गाइएको छ ।

बस भौँतारिरहेको मन, सोच र परिस्थिति यसमा गाइएको छ । समकालीनबारे कुरा गर्दा यो काठमाडौंमा आधारित ब्यान्ड हो । यो गीतमा ब्यान्डले अलि नोस्टालिक बनाउने म्युजिक दिएको छ ।

आँसुको मूल्य हुन्थ्यो भने
संसारकै धनी हुन्थेँ म
पीडाले युद्ध जित्ने भए
विश्वमा राज गर्थेँ म

जे गर्‍यो फेल
जिन्दगी झेल
कहिल्यै नमिल्ने
कस्तो यो मेल
अब जाम कि क्या हो
म नि लाहुर

निशब्द : मिजम/डोल्मा

यो गीतमा मिजम सिंह कुँवरले र्‍याप र डोल्मा ठोकरले मेलोडी गाएका छन् । गीत प्रेम विषय माथि नै छ । प्रेमले दिने एक प्रकारको छटपटी, पीडा, वेदना नै यो गीतमा गाइएको छ । सोही कुरा नै म्युजिक भिडियोमा पनि देखाउन थालिएको छ । एउटा निश्चित विषयमा दुई फरक शैलीको संगीतलाई ब्लेन्ड गरिदाँ यो सुन्न गीत सुन्दर बन्न पुगेको छ।

दु:खिराछ छ मन
माया सम्झन्छु झन्
आतिराछ मन
मरेर जान्छु…

दिनभरि : एमसी फ्लो

नेपाली र्‍याप सिनमा एमसी फ्लोको छुट्टै पहिचान छ । विशेषगरी प्रेम सम्बन्धलाई उनले आयामिक तरिकाले सरल शब्दहरूको प्रयोगमार्फत गाउने गरेका छन् । सोही सिङ्नेचर स्टाइल यो गीतमा पनि सुन्न सकिन्छ । यो र्‍यापमा साउन्ड लाउन्ड छैन । सिम्पल बिटमा क्लियर भोकलमा सरल शब्दमा प्रेम मात्र गाइएको छ । यदि तपाईं र्‍यापको फ्यान हुनुहुन्छ भने यो पक्कै पनि तपाईंको प्ले लिस्टमा थपिन सक्छ ।

म निदाइ उठेछु
आँखा मिची तिम्रो नै नजिक
म तिमीलाई छुनेछु
पुग्नेछु म
फूलहरूको बीच

खै पैसो : नवाज अन्सारी

यो गीतको समग्र विषयवस्तु सुरु हुँदै गर्दाको मोनोलगले प्रष्ट पारेको छ । अझ भन्दा शीर्षकले नै । पक्कै पनि नेपाली संगीतमा पैसा केन्द्रित गीतहरू धेरै आएका छन् । त्यसमा फरक शैलीको विशेषतासहित यो गीत अटिन पुगेको छ । यो गीतमा मेलोडी र र्‍याप मिसाइएको छ । त्यसमा बाजामा पनि केही नयाँ गर्न खोजिएको छ ।

खै पैसो
जुत्ता किन्दै सकिसक्यो्
खै जुत्तो
बाटो हिन्दै घिस्रिसक्यो
खै बाटो
मलाई थाहा भए राम्रै हुन्थ्यो

नेपाली व्यापारी : चुम्बक

पूर्व नेपाल इटहरीदेखि उदाएको – चुम्बक – पछिल्लो समयमा असाध्यै राम्रै गर्दै गइरहेको ब्यान्ड हो । एग्रेसिभ रक, एक्सपेरिमेन्टल, हार्ड कोर रक र एक प्रकारको छुट्टै लगाबका कारण यो ब्यान्डका गीतहरू रक श्रोताहरूलाई तान्दै गइरहेको छ ।

यसपटक यो ब्यान्डले सामाजिक र राजनैतिक विषयवस्तु उठान गर्दै नयाँ गीत लिएर आएको छ । यो गीत ब्यान्डको नयाँ एल्बम – नेपाली गतिविधि – को पहिलो ट्य्राक हो । यसमा एक नेपाली कसरी फँस्दै गइरहेको छ भन्ने गाइएको छ ।

सबैलाई थाहा नै छ
जताजतै बेचिराछ सस्तो मस्तो हामी जस्तो
खोक्राएर लाँदै छ देखाउँदै सपना कत्रोकत्रो
पत्याउने फेरि हामी कस्तो…

त्यस्तै योगेन्द्र उपाध्य/बिनु परियारको अरु कोही, साइड प्रोजेक्ट नेपालको २० देखि ३०, निश्चल गुरुङको आउँछु, निख्यालको जुनतारा, तारा देवी/योगेश वैद्यको तिमीलाई के भयो (रिमास्टर), नैतुना रेलैमा, सिक्का नोटैमा, जाम डाँडै काटेर, पातली लगायतका गीतहरू पनि सुन्न सक्नुहुन्छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?