१२ असार, काठमाडौं । यसै महिनाको सुरुतिर जापानले फिलिपिन्सको सबैभन्दा उत्तरी प्रान्तमा प्यारासुट अभ्यासका लागि आफ्ना एलिट एयरबोर्न ब्रिगेड (विशेष विमानचालक दल) का सदस्यहरू गुपचुप रूपमा तैनाथ गर्दा दुवै पक्षका अधिकारीहरूले यसलाई ठूलो प्रचार गरेनन्।
बतानेस प्रान्तमा भएको यो अभ्यास ‘कामान्दाग’ को एक हिस्सा थियो। फिलिपिन्स र अमेरिकी मरिन्सद्वारा संयुक्त रूपमा आयोजित यो देशव्यापी मिसन गत बुधबारसम्म सञ्चालन भएको थियो। करिब २ हजार सैनिकहरू संलग्न यस अभ्यासको उद्देश्य युद्धको पूर्वतयारी, अन्तर-सञ्चालनशीलता (इन्टरअपरेबिलिटी) र गुप्तचर सूचना आदानप्रदानमा सुधार गर्नु थियो।
तर, बतानेसमा भएको त्यो शान्त सैन्य अवतरणलाई यदि एसियाभर लगभग एकै समयमा भइरहेका अन्य चारवटा सैन्य अभ्यासहरूसँग जोडेर हेर्ने हो भने यसले एउटा ठूलो रणनीतिक परिवर्तनको संकेत गर्छ। विश्लेषकहरूका अनुसार, यी अभ्यासहरूले अमेरिकी प्रतिरोध र उसको ‘फर्स्ट आइल्यान्ड चेन’ रक्षा नीतिमा नयाँ चरणलाई प्रतिविम्बित गर्छन्।
यससँगै विकसित भएका अन्य सैन्य परिदृश्यहरू छन् ।
पहिलो, रेसोल्युट ड्रागन २०२६ । टोकियो र वासिङ्टनले क्युशु र ओकिनावामा आगामी मंगलबारसम्म ९ हजार सैनिकहरू सम्मिलित यो अभ्यास गरिरहेका छन् । जसको उदेश्य जापानको दक्षिण-पश्चिमी टापुहरूको रक्षा गर्नु हो।
दोस्रो,भ्यालियन्ट शिल्ड २०२६ । पूर्वतर्फ गुआम, उत्तरी मारियाना टापु र वरपरका जलक्षेत्रमा करिब १० हजार सैनिकहरूले बुधबारसम्म यस अभ्यासमा भाग लिए। यो अमेरिकी सेनाको ‘टायफन’ मध्यम दुरीको मिसाइल प्रणालीको पहिलो अभ्यास तैनाथी पनि हो।
तेस्रो,रिम अफ द प्यासिफिक । हवाईमा ३१ राष्ट्रका २५ हजार भन्दा बढी सैनिकहरू जुलाई ३१ सम्म चल्ने यस द्विवार्षिक अभ्यासमा सहभागी छन् । जसको उद्देश्य सामुद्रिक सहयोग सुदृढ गर्नु र ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिक’ को रक्षा गर्नु हो।
र चौथो, ताइवानको अभ्यास । यसै हप्ता ताइवानले पनि ताओयुआनमा आफ्नो आन्तरिक ‘तत्काल युद्ध पूर्वतयारी अभ्यास’ ( इमिडिएट कम्ब्याट रेडिनेस एक्सरसाइज ) संचालन गर्यो, जहाँ एक लाख सैनिकहरूले द्रुत परिचालनको परीक्षण गरे।
अमेरिकी रणनीति र विज्ञहरूको विश्लेषण
यति धेरै अभ्यासहरू एकैसाथ हुनु कुनै योजनाबद्ध रणनीति हो वा संयोग मात्र भन्नेमा विश्लेषकहरू विभाजित छन्। लोवी इन्स्टिच्युटका ‘साउथइस्ट एसिया प्रोग्राम’ का निर्देशक हन्टर मार्स्टन हालैका अपरेसनहरूको ढाँचाले वासिङ्टनले आफ्नो ‘फर्स्ट आइल्यान्ड चेन’ नीतिलाई दिएको प्राथमिकतालाई स्पष्ट पार्ने बताउँछन्।
‘फर्स्ट आइल्यान्ड चेन’ भन्नाले पूर्वी र दक्षिण चीन सागरको पूर्वी किनारमा रहेका टापुहरूको शृंखलालाई बुझाउँछ । जुन जापानी द्वीपसमूह र र्यु क्यु टापुहरूदेखि दक्षिणमा ताइवान र फिलिपिन्स हुँदै ग्रेटर सुन्डा टापुसम्म फैलिएको छ। बेइजिङले आफ्नो आक्रामक सामुद्रिक रणनीति मार्फत यी जलक्षेत्रहरूमा प्रभुत्व जमाउन खोजिरहेको मानिन्छ।
मार्स्टनले ‘दिस वीक इन एसिया’ लाई भने, ‘अमेरिकी प्यासिफिक कमान्डका लागि फर्स्ट आइल्यान्ड चेनमा रहेका सहयोगीहरूको सुरक्षाप्रतिको अमेरिकी प्रतिबद्धता सर्वोपरि छ।’ रणनीतिक जलमार्गहरूमा शत्रुको सामुद्रिक र हवाई नियन्त्रणलाई रोक्नु लामो समयदेखि एसियामा अमेरिकाको मुख्य सुरक्षा उद्देश्य रहँदै आएको छ। सन् २०२६ को राष्ट्रिय रक्षा रणनीतिले पनि प्यासिफिकमा यसै प्रतिरोधलाई वासिङ्टनको प्राथमिक उद्देश्यको रूपमा पहिचान गरेको छ।
मार्स्टन थप्छन्, ‘अमेरिकाले जापानलाई थप सक्रिय सुरक्षा भूमिका खेल्न प्रोत्साहित गरेको छ, जसले गर्दा यो ट्रम्प प्रशासनको सुरक्षा भार बाँडफाँड ( बर्डन शेयारिंग ) को नीतिसँग मेल खान्छ।’
ब्रिटेनको युनिभर्सिटी अफ सेन्ट्रल ल्यान्काशायरकी राजनीतिक विश्लेषक सिल्भिया मोनिका गोर्स्काका अनुसार, अमेरिकी र सहयोगी सेनाको रणनीतिमा पहुँच रोकथाम (एक्सेस प्रिवेन्सन) बाट हटेर विभिन्न स्थानहरूमा निरन्तर परिचालन नियन्त्रण कायम गर्नेतर्फ परिवर्तन आएको छ।
उनले भनिन्, ‘सामुद्रिक वा हवाई क्षेत्रमा पूर्ण नियन्त्रण राख्न केन्द्रित हुनुको सट्टा हालैका अभ्यासहरूले सेनाको पहिचान गर्ने, लक्षित गर्ने, थप बल पठाउने र उनीहरूलाई टिकाइराख्ने क्षमताको विकासमा जोड दिएका छन्।’ भविष्यका द्वन्द्वहरू निरन्तर अवरोधहरूका बीच हुने र त्यसमा सामुद्रिक वा हवाई सर्वोच्चता केवल अस्थायी र स्थानीय स्तरमा मात्र सीमित हुने अनुमानका आधारमा यी अभ्यासहरू गरिएको उनको तर्क छ।
तनावको दृष्टिकोणले ताइवान सबैभन्दा संवेदनशील क्षेत्र रहे पनि हालको अमेरिकी रणनीतिले यसलाई मात्र एकमात्र परिदृश्य मान्दैन। बरु यसको ध्यान फर्स्ट आइल्यान्ड चेनमा प्रतिरोध बढाउने र सहयोगीहरूलाई क्षेत्रीय सुरक्षाको बढी जिम्मेवारी बोक्न सक्षम बनाउनेतर्फ मोडिएको छ।
गोर्स्का भन्छिन् , ‘अब अमेरिकी योजनाले सम्भावित तनाव कहाँ, कुन स्तरमा र कुन दिशाबाट बढ्छ भन्ने कुरा पहिले नै अनुमान गर्न सकिँदैन भन्ने मानेर काम गर्छ। त्यसैले उद्देश्य कुनै एउटा परिदृश्यका लागि मात्र तयार हुनु होइन । बरु, विभिन्न परिस्थितिहरूमा काम लाग्ने सैन्य क्षमताको विकास गर्नु हो।’
सिंगापुरको एस. राजारत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका रिसर्च फेलो मुहम्मद फैजल बिन अब्दुल रहमान भने अमेरिकाले आफ्ना इन्डो-प्यासिफिक सहयोगीहरूलाई सैन्य तयारी सुदृढ गर्न दबाब दिइरहेको बताउँछन्। यद्यपि, यसको अर्थ अमेरिकाले यी सबै अभ्यासहरू एक्लै समन्वय गरिरहेको छ भन्ने नभई चीनसँगको निरन्तर तनाव र भू-राजनीतिक अनिश्चितताका बीच ती सहयोगी राष्ट्रहरू पनि आफ्नै राष्ट्रिय हितबाट प्रेरित भएर अघि बढेका हुन्।
एसिया प्यासिफिक फाउन्डेसन अफ क्यानडाकी अनुसन्धान तथा रणनीति उपाध्यक्ष विना नाजिबुल्लाह भन्छिन्, ‘अबको उदीयमान मोडेल भनेको एउटा यस्तो विस्तृत गठबन्धन हो जहाँ जापान, फिलिपिन्स, अष्ट्रेलिया र अन्य साझेदारहरूले पूरक क्षमताहरू ल्याउँछन् र व्यापक भौगोलिक क्षेत्रमा पहुँच प्रदान गर्छन्।’
के यो केवल संयोग मात्र हो?
यी सामूहिक सैन्य अभ्यासहरू यस्तो समयमा भइरहेका छन् जब बेइजिङले पनि आफ्नो सैन्य गतिविधि बढाएको छ। चीनको ‘लियाओनिङ’ विमानवाहक युद्धपोत समूहले हालै पश्चिमी प्रशान्त महासागर ( जसमा फिलिपिन्स र ताइवानको पूर्वी जलक्षेत्र समेत पर्छ )त्यहाँ प्रत्यक्ष फायर (लाइव- फायर) अभ्यास गरिरहेको छ।
विश्लेषक फैजलका अनुसार, यी अमेरिकी नेतृत्वका अभ्यासहरू चीनसँग सैन्य द्वन्द्व हुन सक्ने सम्भावित क्षेत्रहरूमा ‘प्रतिरोध र प्रतिक्रियाका लागि परिचालन तयारी’ हुन्। अर्कोतर्फ, विश्लेषक गोर्स्का यो एकै समयमा भएको ओभरल्याप संयोग मात्र हुन नसक्ने र यसले हालका वर्षहरूमा तीव्र बनेको सैन्य गठबन्धनकै निरन्तरतालाई देखाउने बताउँछिन्।
विना नाजिबुल्लाहका अनुसार, यस सामूहिक कदमको सन्देश स्पष्ट छ । अबको सैन्य प्रतिरोध केवल एक ठूलो अमेरिकी उपस्थितिको भरमा मात्र हुने छैन। बरु यो क्षेत्रभरि फैलिएको, लचिलो र अन्तर-सञ्चालनयोग्य गठबन्धन ( डिस्पर्स्ड, रिजिलियन्ट एन्ड इन्टरअपरेबल कोअलिसन) मा आधारित हुनेछ जसले शत्रुको योजनालाई जटिल बनाउनेछ।
उनले भनिन्, ‘यसले देखाउँछ कि अमेरिकाले परम्परागत एकल कूटनीतिक केन्द्र (हब एन्ड स्पोक्स) प्रणालीलाई विस्थापित गर्दै थप नेटवर्कयुक्त सुरक्षा संरचना (नेटवर्क्ड सेक्युरिटी आर्किटेक्चर ) निर्माण गर्ने प्रयास गरिरहेको छ।’
प्रतिक्रिया 4