१२ असार, काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा बैंकहरूको ऋण लगानी बढेपनि कर्जा खाता भने ७ हजार भन्दा धेरैले घटेका छन् । वैशाख महिनामा मात्रै एक अर्ब ऋण थप भएर चालु आर्थिक वर्ष १० महिनासम्म कुल ३ खर्ब १२ अर्ब कर्जा थपिएको छ ।
कर्जाको माग नबढेका कारण नयाँ कर्जा खाता नथपिएको, पुरानो कर्जा असुलीमा बैंकहरू केन्द्रित भएको र लामो समय पेन्डिङमा रहेको कर्जा खाता बन्द भएको बैंकर बताउँछन् ।
यसअघि पनि जेनजी आन्दोलनपछि कात्तिकसम्म करिब ४ हजार ऋण खाता घटेको थियो । कर्जाका लागि खाता खोलेका व्यक्तिले पनि कर्जा नलिई खाता बन्द गरेकाले संख्या घटेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
‘जेनजी आन्दोलनपछि व्यवसायीहरूको आत्मबल कमजोर भयो, केही कर्जा खाता पनि बन्द भए,’ ती अधिकृतले भने,‘नयाँ उद्योग व्यवसाय सुरु गर्ने वा भएको उद्योग व्यवसायलाई विस्तार गर्ने उपयुक्त वातावरण नहुँदा कर्जाका लागि खोलिएका कतिपय खाता ऋण नै नलिइ बन्द गरिएका हुन् ।’
कर्जा खाता घटेको चालु आवको वैशाख महिनामा मात्रै होइन । चालु आवको कात्तिक महिनामा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा खाता घटेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।
पुराना, पेन्डिङ भएका, सानो आकारको कर्जा भएका खाता बैंकहरूले बन्द गर्ने निर्णय गरेकाले कर्जा खाता घटेको ती अधिकृतको भनाइ छ । त्यसैगरी कर्जाका लागि प्रक्रिया पुगेर खाता खुलेका तर भुक्तानी नभइसकेका केही खाता ग्राहकले नै बन्द गराएको उनले बताए । ‘यसको अर्थ बैंकहरूको कर्जा उठेर असुली बढेको होइन,’ उनले भने ‘केही कर्जा चुक्ता भएको र प्रक्रिया नपुगेका खाता बन्द भएकाले धेरै देखिएको हो ।’
अर्का एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार कर्जा तिरेर खाता बन्द गर्छु भन्ने ग्राहक बढेर ऋण खाता बन्द भएको होइन ।
‘नियमित रुपमा कर्जा भुक्तानी सकिने वा अपलेखन भएका कर्जा खाता बन्द हुँदा संख्या घटेको हुन सक्छ,’ उनले भने,‘ कर्जाको माग बढेको छैन, भइरहेको तिरेर बन्द गरौँ भन्ने पनि छैन, नयाँ नभएपछि पुरानो राफसाफले पनि कर्जा खाता बन्द हुन्छ ।’
नयाँ नहुने र पुरानो घट्दा उच्च दरमा कर्जा खाता बन्द भएको हुन सक्ने उनको अनुमान छ । कर्जा माग्न प्रक्रिया पूरा गरेका तर भुक्तानी नभइसकेका केही खाताहरू बन्द भएकोमा उनी पनि सहमत देखिए ।
पछिल्लो समयमा बैंकका शाखा मर्जरका कारणले पनि कर्जा खाता घटेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताए । ‘शून्य एकाउन्ट भएका, एकदमै नोमिनल लोन भएका, जीरो लोन भएका तर खाता बन्द गर्नुपर्ने प्रक्रियामा पुगेका खाता बन्द भएको देखिन्छ,’ पौडेलले भने, ‘बैंकहरूले नियमित ढंगले कर्जा अपलेखन गर्छन्, त्यस्तो अवस्थामा सञ्चालक समितिले निर्णय गर्नुपर्ने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले एकै पटक देखिएको हो ।’
केन्द्रीय बैंकका अनुसार चालु आवको वैशाखमा ७ हजार १७७ संख्यामा कर्जा खाता बन्द भएको छ । बन्द भएको सो संख्या बीच–बीचको निर्णय एकैपटक वैशाखमा कार्यान्वयन गर्दा संख्या धेरै देखिएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै ४ हजार भन्दा धेरै कर्जा खाता घटेको केन्द्रीय बैंकको तथ्याङकले देखाएको छ । वैशाखमा कर्जा खाता घटे पनि निक्षेप खाता भने ३ लाख भन्दा धेरैले बढेको केन्द्रीय बैंकको तथ्याङक छ । वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाका कर्जा र निक्षेपका कुल खाता संख्या ६ करोड २७ लाख २३ हजार पुगेको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म कर्जा खाता २० लाख ३७ हजार ४ सय ३५ पुगेको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म यस्तो संख्या २० लाख ४४ हजार ६ सय १२ थियो।
यसअघि असोज महिनाको तुलनामा कात्तिकमा कर्जा खाता घटेको थियो । बैंक तथा वित्तीय संस्थाका कर्जा खाता असोज महिनासम्म १९ लाख ९८ हजार ४ सय ९१ रहेका थिए । त्यसपछि कात्तिक महिनासम्म यस्तो संख्या १९ लाख ९४ हजार ९ सय १२ वटामा झरेको थियो ।
२०८२ वैशाख महिनासम्म बैंक तथा वित्तीय संस्थामा कुल कर्जा खाता १९ लाख ५३ हजार थिए । २०८२ असारसम्ममा बैंक तथा वित्तीय संस्थाका कर्जा खाता संख्या १९ लाख ६१ हजार ४६९ रहेका थिए । सो अवधिमा मात्रै ८ हजार भन्दा धेरै कर्जा खाता थपिएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4