+

‘न्युबर्न स्क्रिनिङ’ ले हजारौं नवजात शिशुको जीवन बचाउन सक्छ

२०८३ असार  १४ गते १५:४५ २०८३ असार १४ गते १५:४५

नेपाल सरकारको सीमित बजेटबाट कार्यक्रम सञ्चालन भइरहेको छ । तर अन्य अस्पतालबाट आउने सेवाग्राहीले सरकारले तोकेको शुल्क तिरेर सेवा लिन सक्छन् ।

‘न्युबर्न स्क्रिनिङ’ ले हजारौं नवजात शिशुको जीवन बचाउन सक्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले नवजात शिशुमा हुने जन्मजात रोग पत्ता लगाउन २०८१ साल श्रावणदेखि मेटाबोलिक न्युबर्न स्क्रिनिङ सेवा सुरु गरेको छ।

बच्चा जन्मिँदा स्वस्थ देखिनु मात्रै उसको पूर्ण स्वास्थ्यको सुनिश्चितता होइन । केही गम्भीर जन्मजात रोग पनि हुन सक्छन् । यस्तो समस्याको लक्षण जन्मिएलगत्तै देखिँदैन तर समयमै पहिचान हुन नसके बच्चाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पर्न सक्छ । यस्ता रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गरी उपचार सुरु गर्ने प्रभावकारी उपाय हो– न्युबर्न स्क्रिनिङ ।

नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सुरु गरेको यो सेवाले हालसम्म हजारौं नवजात शिशुको परीक्षण गरिसकेको छ । न्युबर्न स्क्रिनिङ किन आवश्यक छ, यसबाट कुन–कुन रोग पत्ता लाग्छ, यसको अवस्था र चुनौती के छन् भन्ने विषयमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश:

न्युबर्न स्क्रिनिङ भनेको के हो ?

न्युबर्न स्क्रिनिङ भनेको बच्चा जन्मिएलगत्तै उसको शरीरमा जन्मजात रूपमा रहेका रोग वा समस्या प्रारम्भिक अवस्थामै पहिचान गर्ने परीक्षण हो । धेरैजसो बच्चा जन्मिँदा पूर्णरूपमा स्वस्थ देखिए पनि शरीरभित्र केही यस्ता जन्मजात समस्या हुन सक्छन्, जसको लक्षण तत्काल देखिँदैन । समयमै पत्ता नलाग्दा ती समस्याले पछि गम्भीर शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता, दीर्घकालीन जटिलता वा मृत्यु समेत निम्त्याउन सक्छ ।

यही कारणले जन्मेको प्रत्येक नवजात शिशुमा गरिने प्रारम्भिक परीक्षणलाई न्युबर्न स्क्रिनिङ भनिन्छ । यसको उद्देश्य रोग लागेको पुष्टि गर्नु होइन, सम्भावित जोखिम भएका बच्चालाई पहिचान गरेर समयमै थप परीक्षण तथा उपचार सुरु गर्नु हो ।

यसअन्तर्गत आँखाको दृष्टि, श्रवण क्षमता, जन्डिस, रगतमार्फत हुने मेटाबोलिक तथा जेनेटिक रोगहरूको समेत परीक्षण गर्न सकिन्छ ।

नेपालमा यो सेवा कहिलेदेखि सुरु भयो ?

नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ साल श्रावणदेखि मेटाबोलिक न्युबर्न स्क्रिनिङ सेवा सुरु गरेको हो ।

यो नेपालकै पहिलो कार्यक्रम हो । विकसित देशहरूमा यो सेवा धेरै वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ भएपनि नेपालमा यसअघि यस्तो कार्यक्रम थिएन । हामीले दुई वर्षको अवधिमा करिब १० हजार नवजात शिशुको स्क्रिनिङ गरिसकेका छौं ।

अहिले यो स्क्रिनिङमार्फत कुन–कुन रोगको परीक्षण भइरहेको छ ?

हाल सातवटा प्रमुख जन्मजात मेटाबोलिक तथा जेनेटिक रोगको परीक्षण गरिरहेका छौं । तीमध्ये प्रमुख रोगहरू यस्ता छन् ।

–जन्मजात थाइराइड ग्रन्थीको कार्यक्षमता कम हुने समस्या

–जन्मजात एड्रिनल ग्रन्थीको असामान्य वृद्धि तथा हर्मोनसम्बन्धी विकार –जी–६–पीडी इन्जाइमको कमी हुने समस्या

–फिनाइलकेटोनयुरिया शरीरले फिनाइलएलानिन नामक एमिनो एसिडलाई सही रूपमा प्रशोधन गर्न नसक्ने जन्मजात रोग ।

–सिस्टिक फाइब्रोसिस शरीरमा बाक्लो श्लेष्मा बन्ने जन्मजात रोग

–बायोटिनिडेज इन्जाइमको कमी हुने समस्या

–अन्य एक जन्मजात मेटाबोलिक विकार

भविष्यमा यो संख्या अझ बढाउने योजना छ ।

यी रोग समयमै पत्ता नलागे के हुन्छ ?

यही नै सबैभन्दा महत्वपूर्ण कुरा हो । धेरै बच्चा जन्मँदा सामान्य देखिन्छन् । तर केही हप्ता, केही महिना वा केही वर्षपछि मात्रै समस्या देखिन सुरु हुन्छ ।

उदाहरणका लागि जन्मजात थाइराइडको कमी भएका बच्चामा सुरुमा कुनै लक्षण देखिँदैन । पछि–तौल अत्यधिक बढ्ने, विकास ढिलो हुने, बोल्न ढिलो हुने, उचाइ कम तथा शारीरिक बुद्धिको विकासमा कमी हुने, सिकाइ क्षमता घट्ने, जीवनभर मानसिक अपाङ्गता हुन सक्ने अवस्था आउँछ । तर यही रोग जन्मिएलगत्तै पत्ता लागेमा साधारण औषधि खुवाएर बच्चालाई पूर्णरूपमा सामान्य जीवन दिन सकिन्छ ।

जन्मजात एड्रिनल ग्रन्थीको विकार किन खतरनाक मानिन्छ ?

यो निकै गम्भीर रोग हो । कतिपय बच्चामा जन्मिएको एक सातादेखि १० दिनभित्रै बान्ता, पखाला, अत्यधिक रुनु, शरीरमा नुनको मात्रा घट्नु, मुटुको धड्कन बिग्रिनु जस्ता समस्या देखिन्छन् । यदि समयमै रोग पत्ता लागेन भने बच्चाको अचानक मृत्यु समेत हुन सक्छ ।

हल्का प्रकारका बिरामीमा पनि पछि वृद्धि विकासमा समस्या, बौद्धिक क्षमता कमजोर, शरीरमा अत्यधिक रौँ आउने, महिला शिशुमा यौनाङ्गको असामान्य विकास जस्ता दीर्घकालीन समस्या देखिन्छन् ।

जी–६–पीडी इन्जाइमको कमी के हो ?

यो शरीरमा हुने एउटा महत्वपूर्ण इन्जाइमको कमी हो । जन्मिँदा बच्चा सामान्य देखिन्छ । तर पछि केही खानेकुरा, विशेषगरी केही गेडागुडी, केही औषधि तथा मलेरियाको औषधिले रगत फुट्ने , जन्डिस बढ्ने र मृत्यु समेत हुन सक्छ । यदि जन्ममै रोग पत्ता लाग्यो भने ती खानेकुरा र औषधि प्रयोग नगरेर बच्चालाई सहज रूपमा स्वस्थ राख्न सकिन्छ ।

यो परीक्षण कहिले गरिन्छ ?

सामान्यतया बच्चा जन्मेको २४ घण्टापछि परीक्षण सुरु गरिन्छ । २४ घण्टाभन्दा अगाडि गर्दा परीक्षणको विश्वसनीयता कम हुन्छ । आदर्श रूपमा जन्मेको ७२ घण्टाभित्र स्क्रिनिङ सम्पन्न गरिसक्नुपर्छ ।

परीक्षण कसरी गरिन्छ ?

यो निकै सरल प्रक्रिया हो । बच्चाको कुर्कुच्चाबाट सानो सुईमार्फत  केही थोपा रगत निकालिन्छ । त्यो रगत विशेष फिल्टर पेपरमा राखिन्छ । त्यसपछि प्रयोगशालामा परीक्षण गरिन्छ । यसले बच्चालाई सामान्य सुई लागेजत्तिकै मात्र पीडा हुन्छ।

 

रिपोर्ट आउन कति समय लाग्छ ?

सामान्यतया ५ देखि ७ दिनभित्र प्रारम्भिक रिपोर्ट आउँछ । यदि रिपोर्टमा कुनै रोगको सम्भावना देखियो भने पुनः परीक्षण गरिन्छ । त्यसपछि आवश्यक परे पुष्टिका लागि परीक्षण गरिन्छ । कतिपय परीक्षण नेपालमै हुन्छन् भने केही जेनेटिक परीक्षण विदेश पठाउनुपर्ने अवस्था पनि आउँछ ।

अहिले सबै बच्चाको स्क्रिनिङ भइरहेको छ ?

सबैको छैन । हाम्रो अस्पतालमा वर्षमा करिब २२ हजार बच्चा जन्मिन्छन् । तर स्रोत–साधन सीमित भएकाले हाल करिब ५ हजारदेखि ६ हजार बच्चाको मात्रै स्क्रिनिङ गर्न सकिरहेका छौं । दुई वर्षमा जम्मा १० हजार बच्चाको परीक्षण गर्न सफल भएका छौं । हाम्रो लक्ष्य भने सबै नवजात शिशुको परीक्षण गर्नु हो ।

सबै बच्चामा परीक्षण किन आवश्यक छ ?

किनभने यी रोग जन्मँदा कसैलाई पनि बाहिरबाट देखिँदैन । जोखिम भएका बच्चा छुट्याएर मात्रै परीक्षण गर्न मिल्दैन । त्यसैले यसलाई युनिभर्सल स्क्रिनिङ भनिन्छ । जन्मेको हरेक बच्चामा यो परीक्षण हुनुपर्छ ।

अहिले सेवा निःशुल्क छ ?

हाम्रो अस्पतालमा जन्मिएका बच्चाका लागि यो सेवा निःशुल्क छ । नेपाल सरकारको सीमित बजेटबाट कार्यक्रम सञ्चालन भइरहेको छ । तर अन्य अस्पतालबाट आउने सेवाग्राहीले सरकारले तोकेको शुल्क तिरेर सेवा लिन सक्छन् ।

यो कार्यक्रम सञ्चालन गर्दा के–कस्ता चुनौती आइरहेका छन् ?

नेपालमै पहिलो पटक कार्यक्रम सुरु भएकाले धेरै चुनौती थिए । दक्ष जनशक्ति तयार गर्नु, प्रयोगशाला स्थापना, परीक्षण विधि सिक्नु, मेसिन सञ्चालन, गुणस्तरीय रिपोर्ट निकाल्नु, सबै कुरा नयाँ थियो । धेरै पटक तालिम, पुनः परीक्षण र अनुभवबाट अहिले सफलतापूर्वक सञ्चालन गरिरहेका छौं ।

अहिले अन्य अस्पतालमा पनि यो सेवा विस्तार भइरहेको छ ?

वीरगन्जको नारायणी अस्पतालले हाम्रो सहकार्यमा कार्यक्रम सुरु गरिसकेको छ । मधेश प्रदेश तथा धनगढी लगायतका स्थानमा पनि तयारी भइरहेको छ । कतिपय निजी अस्पतालले समेत सेवा सुरु गरेका छन् । हामी उनीहरूलाई तालिम र प्राविधिक सहयोग गरिरहेका छौं ।

नेपालमा यो कार्यक्रम किन अझै विस्तार गर्न आवश्यक छ ?

नेपालमा नवजात शिशु मृत्युदर धेरै वर्षदेखि प्रति हजार जीवित जन्ममा करिब २१ को हाराहारीमै स्थिर छ । जन्मजात मेटाबोलिक रोगका कारण पनि केही बच्चाको मृत्यु भइरहेको हुन्छ । यदि देशभर न्यूबर्न स्क्रिनिङ लागू गर्न सकियो भने नवजात मृत्यु घटाउन, अपांगता रोक्न, मानसिक विकास जोगाउन, समयमै उपचार गर्न, परिवारको आर्थिक भार घटाउन, ठूलो योगदान पुग्छ ।

नियमित स्वास्थ्य परीक्षण र न्युबर्न स्क्रिनिङमा के फरक छ ?

सामान्य स्वास्थ्य परीक्षणले बच्चाको बाहिरी अवस्था हेर्छ । जस्तै–बच्चा सक्रिय छ कि छैन, मुटुको चाल, सासप्रश्वास, जन्डिस, तौल, शरीरको अवस्था । तर न्युबर्न स्क्रिनिङले शरीरभित्र रहेका जेनेटिक, मेटाबोलिक, श्रवण तथा दृष्टिसम्बन्धी जन्मजात रोग पत्ता लगाउँछ । त्यसैले दुवै परीक्षण उत्तिकै आवश्यक छन् ।

अन्त्यमा अभिभावकलाई के भन्न चाहनुहुन्छ ?

न्युबर्न स्क्रिनिङ एउटा अत्यन्त प्रभावकारी जीवनरक्षक कार्यक्रम हो । धेरै रोग जन्मँदा देखिँदैनन् । तर समयमै पत्ता लागेमा सामान्य औषधि वा साधारण व्यवस्थापनबाट बच्चाको जीवन पूर्णरूपमा बचाउन सकिन्छ । त्यसैले सबै अभिभावकले आफ्नो बच्चाको न्युबर्न स्क्रिनिङ गराउनुपर्छ ।

सरकारले पनि यसलाई राष्ट्रिय कार्यक्रमका रूपमा विस्तार गरी सबै नवजात शिशुसम्म पुर्‍याउन आवश्यक छ । साथै जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम, स्वास्थ्य संस्था, विद्यालय तथा समुदायस्तरबाट व्यापक अभियान सञ्चालन गर्नुपर्छ।

नवजात शिशु न्युबर्न स्क्रिनिङ
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय