News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तान सरकारले अफगानिस्तानभित्र गरेको हवाई आक्रमणमा २९ जना 'आतंककारी' मारिएको दाबी गरेको छ ।
- सूचना मन्त्री अत्ताउल्लाह तरारका अनुसार सुरक्षाबलले गोप्य सूचनाका आधारमा आइतबार राति डुरान्ड रेखा नजिक सैन्य अभियान सञ्चालन गरेको थियो ।
- तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त आक्रमणमा सर्वसाधारण मारिएको आरोप लगाउँदै यसलाई 'कायरतापूर्ण' कार्यको संज्ञा दिएका छन् ।
१५ असार, काठमाडौं । पाकिस्तान सरकारले अफगानिस्तानमा पुन: हवाई आक्रमण गरेको छ । आक्रमणमा २९ जना ‘आतंककारी’ मारिएको पाकिस्तानको दाबी छ ।
पाकिस्तानका सरकारी अधिकारीहरुका अनुसार सुरक्षाबलले गोप्य सूचनाका आधारमा आइतबार राति अफगानिस्तानभित्र सैन्य अभियान सञ्चालन गरेको थियो ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा लेखिएअनुसार सेनाले डुरान्ड रेखा नजिक योजनाबद्ध स्थलगत अभियान सञ्चालन गरेको थियो । त्यसपछि जमात–उल–अहरार तथा तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का क्षेत्र र शिविरहरूमा लक्षित हवाई आक्रमण गरेको थियो ।
उनका अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा सञ्चालन गरिएको स्थलगत अभियानमा ‘आतंककारी’ कमाण्डर खान फ्रोस (जबाल) सहित जमात–उल–अहरारका अन्य तीन सदस्य मारिएका छन् भने अन्य केही घाइते भएका छन् ।
यता, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानी आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको आरोप लगाएका छन् ।
उनले महिलासहित बालबालिका पनि मारिएको र घाइते भएको दाबी गर्दै आक्रमणको निन्दा गरेका छन् । उनले यसलाई ‘कायरतापूर्ण’ कार्यको संज्ञा दिएका छन् ।
बीबीसीका अनुसार पाकिस्तानी हवाई आक्रमण अफगानिस्तानको कुनार प्रान्तको पूर्वी भाग तथा पक्तिया र पक्तिका प्रान्तका चामकानी र ज्ञान जिल्लामा गरिएको थियो ।
सबैभन्दा बढी क्षतिको विवरण पक्तिया प्रान्तको मण्डीखेल गाउँमा भएको छ । तालिबान सरकारका सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले त्यहाँ करिब १०० जना मारिएका वा घाइते भएको जनाएको छ ।
पाकिस्तान र तालिबान सरकारका दाबीहरू एकअर्कासँग बाझिएका छन् भने स्वतन्त्र स्रोतबाट घटनाको पुष्टि हुन सकेको छैन ।
प्रतिक्रिया 4