१५ असार, बुटवल । लुम्बिनी प्रदेशमा असार १२ गतेसम्म २०.५ प्रतिशत धान रोपाइ भएको छ ।
प्रदेशभर धान खेती हुने ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये ६२ हजार ६७०.५७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।
यो कुल धान खेतीयोग्य क्षेत्रफलको २०.५ प्रतिशत हो । लुम्बिनी प्रदेश कृषि मन्त्रालयका बागबानी अधिकृत सन्देश धितालका अनुसार हालसम्म प्रतिशतका हिसाबले सबैभन्दा बढी धान रोपाइँ अर्घाखाँचीमा ११.२ प्रतिशत भएको छ। त्यसपछि बर्दियामा ११.३१ प्रतिशत, गुल्मीमा ७ प्रतिशत, प्युठानमा ५.५ प्रतिशत, नवलपरासी (पश्चिम) मा ५ प्रतिशत, रोल्पामा ४ प्रतिशत, पाल्पामा ४ प्रतिशत, रुकुम (पूर्व) मा २.५ प्रतिशत, दाङमा १.५ प्रतिशत, कपिलवस्तुमा १.५५ प्रतिशत र बाँकेमा ०.५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कअनुसार धान उत्पादनका प्रमुख जिल्लामध्ये रुपन्देहीमा २७ हजार ३२६.५ हेक्टर (४३ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने नवलपरासी (पश्चिम) मा १० हजार ४४३.५ हेक्टर (५० प्रतिशत) क्षेत्रमा रोपाइँ सकिएको छ।
प्रदेशका अधिकांश जिल्लामा पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँ अघि बढाउन सकेका छैनन्। विशेषगरी सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान आकाशे पानीकै भरमा रहेकाले रोपाइँ प्रभावित भएको कृषि मन्त्रालयको भनाइ छ ।
विगतका वर्षहरूमा मध्य असारसम्म करिब आधा क्षेत्रमा रोपाइँ सकिने भए पनि यस वर्ष मनसुन कमजोर हुँदा रोपाइँ सुस्त बनेको मन्त्रालयले जनाएको छ। बागबानी अधिकृत धितालले असार १४ देखि वर्षा शुरु भएकाले रोपाइँको मात्रा वृद्धि भए पनि हरेक शुक्रबार मात्र तथ्यांक अद्यावधिक हुने बताए ।
प्रतिक्रिया 4