+

यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

२०८३ असार  १६ गते ११:४७ २०८३ असार १६ गते ११:४७
Shares
यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बढ्दो उमेरसँगै देखिने प्रोस्टेट ग्रन्थी वृद्धिको समस्यालाई बेवास्ता नगरी समयमै पहिचान र उपचार गरेमा अधिकांश बिरामीले सामान्य र स्वस्थ जीवन बिताउन सक्छन्।

राति पटक–पटक उठेर पिसाब फेर्न जानुपर्छ ? पिसाबको धार पहिलेभन्दा कमजोर भएको छ ? पिसाब गरिसकेपछि पनि अझै बाँकी भएजस्तो लाग्छ ? धेरै पुरुषले यस्ता समस्या भोगिरहेका हुन्छन् । बढ्दो उमेरसँगै देखापर्ने यस्तो समस्यलाई सामान्य भनेर बेवास्ता गर्छन् । तर यी लक्षणहरू प्रोस्टेट ग्रन्थी बढेको संकेत हुन सक्छन्।

अध्ययनअनुसार ५० वर्ष पार गरेका विश्वभरका करिब आधा पुरुषमा प्रोस्टेट बढ्ने समस्या देखिन्छ भने ८० वर्षको उमेरसम्म पुग्दा झन्डै ८० प्रतिशत पुरुषमा कुनै न कुनै स्तरको प्रोस्टेट वृद्धि पाइन्छ । यद्यपि, समयमै पहिचान र उपचार गरिएमा अधिकांश बिरामीले सामान्य र स्वस्थ जीवन बिताउन सक्छन् ।

प्रोस्टेट भनेको के हो ?

प्रोस्टेट पुरुषको शरीरमा मात्र पाइने एउटा सानो ग्रन्थी हो, जसको आकार सामान्यतया ओखरजस्तो हुन्छ। यो मुत्राशयको तल र मलाशयको अगाडि अवस्थित हुन्छ । यसले वीर्यको तरल पदार्थ उत्पादन गरी प्रजनन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ।

उमेर बढ्दै जाँदा यो ग्रन्थी विस्तारै ठूलो हुन थाल्छ । चिकित्सकीय भाषामा यसलाई बेनेन प्रोस्टेटिक हाइपरप्लासिया (बीपीए) भनिन्छ । प्रोस्टेट ठूलो हुँदा पिसाब निस्कने बाटो साँघुरो हुने भएकाले विभिन्न समस्या देखा पर्छन्।

प्रोस्टेट बढ्दा देखिने ९ प्रमुख लक्षण

१. पिसाबको धार कमजोर हुनु

पिसाब पहिलेजस्तो बलियो धारमा नआएर सानो धारोमा वा थोपा–थोपा आउन थाल्छ। कतिपय अवस्थामा पिसाब सुरु हुन नै केही समय लाग्न सक्छ।

२. पिसाब गरिसकेपछि पनि थैली खाली नभएको महसुस हुनु

पिसाब गरिसकेपछि पनि अझै केही पिसाब बाँकी छ जस्तो महसुस हुनु प्रोस्टेट बढेको महत्वपूर्ण संकेत हो।

३. बारम्बार पिसाब लाग्नु

विशेषगरी दिनभरि सामान्यभन्दा धेरै पटक पिसाब फेर्न जानुपर्ने हुन्छ।

४. राति पटक–पटक उठेर पिसाब फेर्न जानु

रातिको समयमा एक वा धेरै पटक उठेर पिसाब फेर्न जानुपर्ने अवस्था प्रोस्टेट बढेको सबैभन्दा सामान्य लक्षणमध्ये एक हो । यसले निद्रामा बाधा पुर्‍याएर थकान र जीवनस्तरमा असर पार्न सक्छ ।

५. पिसाब फेर्न बल लगाउनुपर्ने अवस्था

पिसाब सुरु गर्न वा पूरा गर्न पेटमा जोड लगाउनुपर्ने अवस्था देखिन सक्छ । यो पिसाबको बाटो साँघुरो भएको संकेत हो।

६. पिसाब सुरु गर्न ढिलाइ हुनु

पिसाब लागेको महसुस भए पनि तुरुन्त पिसाब नआउने, केही समय पर्खिनुपर्ने वा जोड दिनुपर्ने अवस्थालाई हेसिटेन्सी भनिन्छ । यो प्रोस्टेट बढेको प्रारम्भिक लक्षणमध्ये एक हो।

७. अचानक र तीव्र रूपमा पिसाब लाग्नु तथा पिसाब चुहिनु

एक्कासी रोक्नै नसकिने गरी पिसाब लाग्नु र कहिलेकाहीँ शौचालय पुग्नुअघि नै पिसाब चुहिनु पनि प्रोस्टेट बढेको संकेत हुन सक्छ ।

८. पिसाबमा रगत देखिनु

कहिलेकाहीँ पिसाबमा रगत मिसिएको देखिन सक्छ । यस्तो अवस्थामा ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनुपर्छ।

९. पिसाब गर्दा पोल्ने वा दुख्ने

कतिपय व्यक्तिमा पिसाब गर्दा असहजता, पोल्ने वा दुख्ने समस्या हुन सक्छ । विशेष गरी संक्रमण पनि भएमा यस्तो समस्या देखापर्छ ।

कसलाई बढी जोखिम हुन्छ ?

–५० वर्षभन्दा माथिका पुरुष

–परिवारमा प्रोस्टेट समस्याको इतिहास भएका

–मधुमेह वा उच्च रक्तचाप भएका

–मोटोपन भएका

–कम शारीरिक गतिविधि गर्ने

–धूम्रपान तथा मदिरा सेवन गर्ने

प्रोस्टेट बढ्दा किन समस्या हुन्छ ?

प्रोस्टेटले मुत्रनलीलाई चारैतिरबाट घेरेको हुन्छ । जब यो ठूलो हुन्छ, पिसाब निस्कने बाटो साँघुरो हुन्छ । परिणामस्वरूप पिसाब रोकिएजस्तो हुने, थैलीमा पिसाब बाँकी रहने, संक्रमण हुने, पत्थरी बन्ने तथा दीर्घकालमा मिर्गौलामा समेत असर पर्ने जोखिम रहन्छ ।

कसरी पत्ता लगाइन्छ ?

प्रोस्टेटको समस्या पत्ता लगाउन चिकित्सकले लक्षणसँगै विभिन्न परीक्षण गर्न सक्छन्

–पिसाब परीक्षण

–रगतमा पीएसए परीक्षण

–अल्ट्रासाउन्ड

–पिसाबको बहाव जाँच (युरोफ्लोमेट्री)

आवश्यक परे एमआरआई वा बायोप्सी

उपचार

सबै बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन । धेरै बिरामीमा औषधि र जीवनशैली सुधारले नै राम्रो परिणाम दिन्छ।

जीवनशैलीमा ध्यान दिनुपर्ने कुराहरू

–राति सुत्नुअघि धेरै तरल पदार्थ नपिउने

–चिया, कफी र मदिराको सेवन कम गर्ने

–पिसाब धेरैबेर नरोक्ने

–नियमित हिँडडुल र व्यायाम गर्ने

–कब्जियत हुन नदिने

–तौल नियन्त्रणमा राख्ने

प्रोस्टेटका कारण हुने तल्लो मूत्रमार्गका लक्षणको उपचारका लागि मुख्यतः दुई प्रकारका औषधि प्रयोग गरिन्छ । कतिपय बिरामीमा दुवै प्रकारका औषधि एकैसाथ प्रयोग गरिन्छ।

अल्फा-ब्लकर औषधि

जस्तै टाम्सुलोसिन, अल्फुजोसिन र सिलोडोसिन । यी औषधिले पिसाबको बाटो खुकुलो बनाएर पिसाब सहज बनाउन मद्दत गर्छन्।

फाइभ-अल्फा रिडक्टेज इनहिबिटर औषधि

जस्तै फिनास्टेराइड र डुटास्टेराइड । यी औषधिले समयसँगै प्रोस्टेटको आकार घटाउन मद्दत गर्छन्।

कुन अवस्थामा शल्यक्रिया आवश्यक हुन्छ ?

–पिसाब पूर्ण रूपमा बन्द हुनु

–बारम्बार संक्रमण हुनु

–पिसाबमा रगत दोहोरिनु

–मुत्राशयमा पत्थरी बन्नु

–मिर्गौलामा असर पर्न थाल्नु

–औषधिबाट सुधार नआउनु

प्रोस्टेटको अपरेशन कसरी गरिन्छ ?

–टीयूआरपी (ट्रान्सयुरेथ्रल रिसेक्सन अफ प्रोस्टेट)

यो विश्वभर सबैभन्दा धेरै गरिने शल्यक्रिया हो । मुत्रनलीबाट उपकरण प्रवेश गराएर अतिरिक्त प्रोस्टेट हटाइन्छ ।

–लेजर शल्यक्रिया वा ओपन वा रोबोटिक शल्यक्रिया

प्रोस्टेट बढ्नु र प्रोस्टेट क्यान्सर एउटै हो ?

धेरै पुरुषमा पाइने प्रोस्टेट बढ्ने समस्या अर्थात् बेनेन प्रोस्टेटिक हाइपरप्लासिया (बीपीएज) र प्रोस्टेट क्यान्सर एउटै रोग होइनन् । बीपीएज उमेरसँगै प्रोस्टेट ग्रन्थीको हुने गैर-क्यान्सरजन्य वृद्धि हो । यसको विपरीत, प्रोस्टेट क्यान्सर प्रोस्टेटका कोषहरू अनियन्त्रित रूपमा बढेर हुने घातक रोग हो, जुन प्रारम्भिक अवस्थामा कुनै लक्षण नदेखिई पनि हुन सक्छ ।

दुवै रोगका केही लक्षण उस्तै हुन सक्ने भएकाले केवल लक्षणका आधारमा छुट्याउन सम्भव हुँदैन । त्यसैले पीएसए परीक्षण, चिकित्सकीय परीक्षणमार्फत सही निदान गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । राम्रो पक्ष के हो भने, समयमै पहिचान र उपचार गरिएमा दुवै अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ ।

धेरै पुरुषहरू लाज, डर वा बेवास्ताका कारण प्रोस्टेटका लक्षण लुकाएर बस्छन् । समयमै जाँच, सही उपचार र स्वस्थ जीवनशैली अपनाएमा प्रोस्टेटका अधिकांश समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले शरीरले दिएको संकेतलाई बेवास्ता गर्नुहुँदैन ।

पिसाब प्रोस्टेट मुत्रथैली मुत्ररोग
डा. रोजन अधिकारी
लेखक
डा. रोजन अधिकारी
मूत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ

डा. रोजन अधिकारी मूत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन् । उनी हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत छन् । (एमबीबीएस, एमआरसीएस, एफसीपीएस युरोलोजी तथा मिर्गौला प्रत्यारोपण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

एक महिनासम्म चिनी छोड्दा शरीरमा देखिन सक्छन् यस्ता परिवर्तन

एक महिनासम्म चिनी छोड्दा शरीरमा देखिन सक्छन् यस्ता परिवर्तन

नेशनल प्याथ ल्याबले गरिमा बैंकका कर्मचारी, सेवाग्राहीलाई विशेष छुट दिने

नेशनल प्याथ ल्याबले गरिमा बैंकका कर्मचारी, सेवाग्राहीलाई विशेष छुट दिने

दहीचिउरा : नेपाली परम्परा, स्वाद र पोषणको उत्कृष्ट संगम

दहीचिउरा : नेपाली परम्परा, स्वाद र पोषणको उत्कृष्ट संगम

हरेक कुरामा ‘हुन्छ’ भन्ने बानीले निम्त्याउन सक्छ मानसिक स्वास्थ्य समस्या

हरेक कुरामा ‘हुन्छ’ भन्ने बानीले निम्त्याउन सक्छ मानसिक स्वास्थ्य समस्या

‘न्युबर्न स्क्रिनिङ’ ले हजारौं नवजात शिशुको जीवन बचाउन सक्छ

‘न्युबर्न स्क्रिनिङ’ ले हजारौं नवजात शिशुको जीवन बचाउन सक्छ