+
+
Shares

मदन पुरस्कार विजेता डा. लम्साल अमेरिकामा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदन पुरस्कार विजेता साहित्यकार डा. नवराज लम्साललाई नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइनाले शनिबार संयुक्त रूपमा सम्मान गरेका छन्।
  • सम्मान ग्रहण गर्दै डा. लम्सालले 'साहित्य सबैका लागि लेखिनुपर्छ' भन्दै समय, समाज र संवेदनालाई काव्यले उठाउन सक्नुपर्ने धारणा राखेका छन्।
  • कार्यक्रममा साहित्यकारहरूले डा. लम्सालको बहुआयामिक व्यक्तित्व र सिर्जनात्मक उचाइको प्रशंसा गर्दै आफ्ना विभिन्न रचनाहरू वाचन गरेका छन्।

१५ असार, नर्थ क्यारोलाइना । मदन पुरस्कार विजेता साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल अमेरिकामा सम्मानित भएका छन्। केही सातादेखि अमेरिका भ्रमणमा रहेका डा. लम्साललाई नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइना (एनसीएनसी) ले शनिबार संयुक्त रूपमा सम्मान गरेको हो।

समारोहमा समाजका अध्यक्ष शिखर दुलाल, एनसीएनसीका अध्यक्ष ददीन पाण्डे र समाजका सल्लाहकार ईश्वर देवकोटाले डा. लम्साललाई खादा ओढाएर सम्मान गरेका थिए।

नेपाली महाकाव्य विधामा विशिष्ट योगदान पुर्‍याएका लम्सालको ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार प्राप्त गरेको छ। उनका हालसम्म ४ महाकाव्यसहित १० कृति (४ महाकाव्य, ३ कविता सङ्ग्रह, २ गीत सङ्ग्रह र १ उपन्यास) प्रकाशित छन्।

सम्मान ग्रहणपछि बोल्दै डा. लम्सालले साहित्यले मानिसलाई दुःखबाट मुक्त गर्ने सामर्थ्य राख्नुपर्ने बताए। ‘साहित्य सबैका लागि लेखिनुपर्छ।

अरू विधा बाहिर फर्किन्छन्, तर काव्य विधा मानिसको भित्री चेतना र अनुभूतितर्फ फर्किन्छ,’ उनले भने, ‘समय, समाज र संवेदनालाई काव्यले उठाउन सक्नुपर्छ। सुकेको छातीमा प्रेम उमार्नु नै काव्यको जग हो।’

उनले नर्थ क्यारोलाइना साहित्य समाजका गतिविधिबाट आफू निकै प्रभावित भएको समेत उल्लेख गरे ।

समारोहमा साहित्यकार डा. ऋषि बस्ताकोटी र ईश्वर देवकोटाले डा. लम्सालको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मनोज प्रधानले संस्थाको परिचय दिँदै लम्सालको वाचन कला र सिर्जनात्मक उचाइको प्रशंसा गरे।

सो अवसरमा कविहरू डा. शरद परासर मरहट्टा, शिव पलाँस, भूमि नेपाली, पेशल पोखरेल, कृष्णराज खनाल, मनोज प्रधान, प्रभा पोखरेल, नम्रता गुरागाईं र ऋषि बस्ताकोटीले आ-आफ्ना रचना वाचन गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?